–पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
० गत निर्वाचन बाहिष्कार आन्दोलनमा प्रहरीले तपाईलाई कहिले कहाँबाट गिरफ्तार गरेको थियो ?
–सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको नगरपालिका चोकमा २०८२ माघ १६ गते दिउँसो साढे १२ बजेतिर कोणसभा गरी सकेर सिन्धुलीको भिमानतिर फर्कने क्रममा म प्रहरीबाट पक्राउमा परे । छोरा नितम खड्काको बाइकमा बसेर चोकबाट माथि धरान जाने मूल सडकमा आएको थिएँ । दिउँसो आकाशमा बादल लागिरहेको थियो । बाइकमा भन्दा साथीहरु सित सँगै जाउँ भनेर छोरालाई पठाएर म साथीहरुलाई पर्खिरहेको थिएँ । मान्छेहरु जम्मा भएको देखेर पर्चा बाँडे । त्यो हुलमा दुईजना सिभिल डे«समा प्रहरी रहेछ । एक क्षण छलफलभयो । सिभिल प्रहरी दुई जनाले जाउँ जाउँ सर प्रहरी कार्यालयमा भनेर जोड गरे । म किन जाउँ ? मैले पर्चा बाँडेको हुँ, कुनै गैरकानुनी काम गरेको छैन, म जाँदैन भनेर अड्डी कसें । त्यहाँ भीडमा छलफललाई रमिता मानेर मान्छेहरु हेरिरहेका थिए । तपाईलाई केही हुन्न कार्यालयमा भेटेर फर्किनु होला भन्दै धेरै जोड गरेपछि म गएँ । चौकीबाट फर्कन दिएनन् मुद्दा लगाएर राखे । दुधौली चौकीमा लगे ।
० दुधौली चौकीमा लगेपछि कस्तो व्यवहार गरे ?
–दुधौली चौकीमा स.ई बस्दो रहेछन् । मलाई लगेको केही समयपछि सपना खड्का इन्स्पेक्टर त्यहाँ चौकीमा आइन् उनी खड्का, म पनि खड्का भएकाले मलाई दाई भनी सम्बोधन गरिन । मलाई एउटा कोठामा राखेर अब यसरी हुँदैन, राजा लिउन पर्छ दाई भनिन मेरो झोलाका किताब, औषधि र झोलालाई टेबुल फिँजाएर , मलाई मास्क लगाउन दिएर भिडियो बनाइन । स.ईले मेरो हुलिया लिने काम गरे । तपाईहरुले के के गर्नुभयो भनेर सोधेका थिए । मैले प्रचारप्रसार कोणसभा गरेको कुरा बताएँ । १६ गते बेलुकी मलाई दुधौली चौकीबाट सिन्धुली कै डकाहा इलाका प्रहरी कार्यालयमा ल्याए । बेलुकी ६ बजेतिर साँझमा ल्याएका थिए । डकाहा इलाका प्रहरी कार्यालय ल्याएपछि मलाई फेरि उही बाटोबाट फर्काएर दुधौलीको नगर अस्पतालमा पु¥याएर स्वास्थ्य चौकीमा मेरो स्वास्थ्य जाँच गरे । स्वास्थ्य जाँचपछि डकाहा इलाका प्रहरी कार्यालयमा लिएर राख्यो । निल्नै नसकिने अगतिलो खाना खुवाओ । ३ जना सहकारी ठगी र कालो बजारी वालाहरुसित इ.प्र.का. हिरासतमा राख्यो । १७ गते दिनभरी मलाई कुनै सोधपुछ गरेन । त्यहाँ दुई वटा कोठा रहेछन् हिरासतमा । एउटा महिलाका लागि र अर्को पुरुषका लागि । महिला रहेन छन् । दुईवटा कोठामा हामी ७ जना पुरुष थियौं । १ जनालाई हिरासत मुक्त ग¥यो । १८ गते म सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली सदरमुकाम ल्याए ।
डकाहाबाट सदरमुकाम सिन्धुली माडी आउन डेढ घण्टा जति गाडीमा लाग्दो रहेछ । मलाई त्यहाँ ल्याए । अरुलाई सरकारी वकील कार्यालय र अदालतमा तारिख थप्न लगाएर फेरि डकाहा नै फर्काए । तर मलाई सिन्धुली माडी जिल्ला सदरमुकामको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखे ।
० सिन्धुली माडी ल्याएपछि के के भयो त ?
–सिन्धुलीमाडी ल्याएपछि जिल्ला प्रहरी कार्यालयबाट सरकारी वकिलको कार्यालय लगे । सरकारी वकिल कार्यालयमा मलाई प्रहरीले देखाउने काम मात्र गरे । सरकारी वकिलले खासै प्रश्न गरेनन् । हाजिर गराउने काम मात्र गरे । माघ २९ सम्म नै मलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । त्यसबीचमा ३ पटक मलाई जिल्ला सरकारी वकिलको कार्यालय र जिल्लाअदालतमा हाजिरी गराउने काम गरे । त्यसैबीचमा जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा पटकपटक लगेर वयान लिने काम गरे । एस.पी.ले आफ्नै कार्यकक्षमा लगेर चिया खुवाउँदै भने “तपाईलाई मुद्दा परेको छ । हामीले छोड्न सक्दैनौं । माथि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ । अदालतले जे भन्छ त्यही हुन्छ । यहाँ तपाईका साथी आए पनि पक्रन्छु । सी.पी. दाई (सी.पी. गजुरेल) ले पनि फोन गर्नु भएको थियो । सुरेश श्रेष्ठ भनेका को हुन्, उनी अलि चर्को रहेछन् । उनले पनि फोन गरेका थिए ।” चिसोको कारणले हिरासतमै विमार भएँ । औषधि खाएपछि झन खानै मिठो भएन । म नसाको रोगी मलाई ऐन्टिभाइटिक खुवाएर राख्ने ? भनेर झगडा गरें । एस.पी.ले उपचार गराउँछु भने । यदि उपचार गराउने हो भने मैले पोहोर साल काठमाडौं टिचिङमा उपचार गराएको हुँ । त्यही पठाउ, हस्पीटलको डकुमेन्ट काठमाडौं छ । उतै पठाऊ भने । चिसो ठाउँ भएकाले नसाको विमार उकल्झियो भनेर अलि कडा रुपमा प्रस्तुत भएपछि माघ २९ गते मलाई अदालतमा उपस्थित गराइयो । प्रहरीले मुद्दा तयार गरेको रहेछ । त्यसैको आधारमा अदालतमा मुद्दा सहित मलाई उपस्थित गरायो । न्यायाधीशले मलाई यहाँ प्रहरीले किन ल्याएको हो भनेर सोधे । मैले जवाफ दिएँ–“संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण तरिकाले पर्चा बाँड्ने काम गरेको थिएँ र मलाई यहाँ ल्याएका छन्” भने ।
न्यायधीशले अर्को प्रश्न सोधे–“तपाईलाई के मुद्दा लागेको छ ?” मैले भने, “मलाई राज्यविरुद्धको कसुर” भनिएको छ ।”
त्यही दिन मलाई जिल्ला अदालतमा न्यायधीश अगाडि वकिल राख्नुहुन्छ कि भनेर कर्मचारीले सोधेका थिए । मैले वकिल राखेन माघ २९ गते ४ बजेतिर १० हजार धरौटीमा छाडिदिए । तर मेरो मोबाइल, नागरिकता, झोला कितावहरु जिल्ला अदालतमै प्रहरीले प्रमाणका रुपमा पेश गरेको थिएँ, अझै दिएका छैनन् । म अहिले पनि “राज्यविरुद्ध कसुर” को मुद्दामा तारिख लिइरहेको छु । फागुन २८, चैत्र २५ गते तारिखिमा गएँ र अब वैशाख २५ गते अर्को तारिख छ । २५ गते साँक्षी वकाउने कुरा छ । मैले साँक्षी राखेको छैन । सरकार पक्षले साक्षी ल्याउने होला । देशमा यस्तो शासन छ । अदालतले के गर्छ ? थाहा छैन ।
० शान्तिपूर्ण कार्यक्रम गर्दा पनि यति दुःख यातना दिन नपर्ने हो । किन यसरी दुःख दिइरहेको छ जस्तो लाग्छ ?
पछिल्लो चरणमा साम्राज्यवादको डिजाइनमा बनेको सरकार छ । जनता र क्रान्तिकारीहरुलाई आतंकित पार्ने काम भएको छ । मुख्य दुश्मन क्रान्तिकारी शक्तिलाई देखेका छन् । तसर्थ उनीहरु क्रान्तिकारी शक्तिलाई दमन गर्न लागेका छन् । संसदीय पार्टीहरुको भ्रष्टाचार र कुशासनले गर्दा साम्राज्यवाद र त्यसका एजेण्टहरुले राजनीतिमा अगाडि आउने मौका पाए । जिल्ला प्रहरी कार्यालयमा हिरासतमा हामी ३३ जना थियौं । उनीहरुको बीचमा कुरा गर्दा मजाले मेरा कुरा सुन्थे । हिरासतमा बस्दासम्म मैले थुनुवाहरुसित देशको राजनीतिबारे धेरै कुरा गरें । उनीहरुले मेरो कुरामा चासो दिएर सुने । हाम्रो राजनीति सही छ । जनताले हाम्रो कुरालाई गलत भन्दैनन् । हाम्रो राजनीति सही छ । हामी जनताका बीचमा जान सकेका छैनौं । जनताका बीचमा जाने हो भने जनताले सहयोग गर्छ । हिरासतमा मलाई निकै माया गरें । माघको ठण्डीमा मलाई कपडा ओढ्ने, विछ्याउने समेत दिएर सहयोग गरे । उनीहरुले हिरासतबाट छुटेपछि हाम्रो घर गइदिनु भन्थे । देशको संसदवादी पार्टीहरु निकम्मा परे । रास्वपाले फासिष्ट शासन ल्याउन खोजेको हो भन्ने देखिएकै छ ।
० जनयुद्धकालमा जेल पर्नुभयो त्यो अनुभव पनि सुनाउनु न ।
–२०५३ साल वैशाख १६ गते सैलुङ नजिकै दोलखा जिल्लाको नाम्चेत दुधपोखरी गाविस वडा नं. २ बाट म गिरफ्तारीमा परे । त्यसबेला राज्यविरुद्ध, खरखजना, बन्दोबस्ती र डिटोनेटर चोरी जस्ता मुद्दा लगाइएको थियो । त्यतिबेलामा ९ वर्ष ८ महिना जेल बस्नु परेको थियो ।
४० दिन हिरासत र ३ महिना दोलखाको चरिकोट कारागारका राख्यो । त्यसपछि भद्रगोल जेल काठमाडौं ल्यायो । भद्रगोल, सेन्ट्रल, डिल्लीबजार जेलमा राखे ।
२०६२ साल मंसिर १० गते मात्र म रिहा भएको थिएँ ।
० जेलमा बस्दाका स्मरणीय घटना छन् कि ?
– जेलमा म काठमाडौंमा सेन्ट्रल जेल, भद्रगोल जेल, डिल्लीबजार कारागारमा बस्नुप¥यो । छुटेपनि फेरि पक्रिएर हनुमानढोका प्रहरी कार्यालयमा लगेर थुन्थ्यो र अर्को मुद्दा लगाएर जेल हाल्थ्यो । जेलबाट छुटेका बन्दीहरुलाई छुटेपछि पक्रने अनि मुठभेडमा मरेको भन्दै मार्ने काम गरिरहेको थियो सरकारले । डिल्ली बजार कारागारमा एक पटक मैले पूरै हल्ला गरें । म बाहिर जाँदै जान्न । बाहिर गएर छोपेर फेरि मुद्दा लगाउने भए म किन जाने भनेर ३ दिन अटेरी गरें । त्यसो भए मलाई यही कारागार मै पक्राउ पुर्जी देऊ भने । जेलरले त्यसो गरिदिन भएन मेरो जागीर जाने भयो भने । अन्तमा जेलभित्रै फेरि पक्राउ पुर्जी दिए ।
०तपाई सबैभन्दा पहिले कहाँ कसरी राजनीतिमा प्रवेश गर्नुभयो ?
–२०४३ सालमा दोलखा जिल्लाको मालु गाउँ पंचायतको उपप्रधानपञ्चको स्वघोषित जनपक्षीय उम्मेदवार बनेको थिएँ । ७ जना उपप्रधानपञ्चको उम्मेदवार थिए । मैले थोरै मतले हारें । २०३६ सालमा बहुदलको पक्षमा निलो रंगमा मतदान गरेको थिएँ । बहुदल आएपछि नेकपा (माले) को अखिल नेपाल किसान संघमा आबद्ध भएको थिएँ । २०४७ मा नेकपा (एमाले) बनेपछि त्यस पार्टीको पार्टी सदस्य बनेको थिएँ । म नेकपा (एमाले) इलाका सचिव बनेर काम गरें । २०४९ मा काठमाडौंमा (एमाले) को पाँचौं महाधिवेशनले जवज पारित गरेपछि नेकपा (एकताकेन्द्र) तर्फ लाग्यौं । देवी पोख्रेल, यादव पोख्रेल र म पूर्ण बहादुर खड्का मालु गाविसबाट र जुँग गाविसका रितबहादुर खड्का नेकपा (एमाले) बाट नेकपा (एकताकेन्द्र) मा प्रवेश ग¥यौं । २०४९ को स्थानीय चुनावमा नेकपा (एकताकेन्द्र)को वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको तर्फबाट मालु गाविसको अध्यक्षको उम्मेदवार बनेको थिएँ । सजमोको तर्फबाट दोलखा जिल्लामा २०४९ मा गाविस अध्यक्ष उम्मेदवार उठेको जिल्लाभरीमै म मात्र थिएँ । प्रेम श्रेष्ठले संजमोको तर्फबाट दोलखा गाविसको वडा नं. २ बाट वडा अध्यक्ष जित्नु भएको थियो । हाँसो ठट्टामा हामीले प्रेम श्रेष्ठजीलाई हाम्रो दोलखाको सांसद भन्थ्यौं ।
० संयुक्त जनमोर्चाको राष्ट्रियस्तरको भेला–सम्मेलनमा जानुभयो कि ?
–काठमाडौंको भृकुटी मण्डपमा भएको संयुक्त जनमोर्चा नेपालको राष्ट्रिय सम्मेलनमा दोलखाबाट प्रतिनिधि भएर म, हेम श्रेष्ठ, पर्यवेक्षक शंकर लामा, चित्र नारायण श्रेष्ठ आएका थियौं । त्यो सम्मेलनबाट बाबुराम भट्टराई संजमोको अध्यक्ष भएका थिए ।
० जनयुद्धको प्रारम्भिक दिनको सम्झना के छ ?
–जनयुद्ध शुरु हुनुभन्दा पहिले त्यसको तयारीमा लागेका थियौं । २०५२ साल पौष ३० गते दोलखा बजारमा मुक्ति प्रधानको घरमा बैठक बसेका थियौं । दोलखा जिल्लामा एक्सन लिने तयारी गरेका थियौं । त्यो बैठक बसाल्न केन्द्रबाट यानप्रसाद गौतम (का. आलोक) जानु भएको थियो । आलोकले जनयुद्धको लागि हतियार चाहिएको छ भन्नुभयो । दोलखा चिसो ठाउँ, माथितिर हिउँ परिरहेको थियो । बैठक सकिएपछि का. आलोकलाई गाडी चढाएर काठमाडौं पठाइयो । हामी ५ जना म पूर्णबहादुर खड्का, शंकर लामा, हेम श्रेष्ठ, गंगा कार्की र रितबहादुर खड्का २०५२ माघ ३ गते जिलु गाविसको (चरिकोट नजिकै) लामा साँघु जिरी सडकको बंकर हाउसबाट ४२ हजार थान डिटोनेटर कब्जा ग¥यौं । गोदामबाट निकाल्यौं । राती त्यहाँ बसेका चौकीदारहरुले थाहा पाएनन् । का. आलोकले ती सामाग्रीहरु काभ्रे ल्याउनु भन्नुभएको थियो । चरिकोट नजिकैबाट बाटो छलेर पाखाको बाटो सैलुङतिर लाग्यौं । सैलुङमा पूरै हिउँ परेको थियो । भारी बोकेर हिउँ परेको बाटो डाँडा काट्नु परेको थियो । पटकपटक लड्डैपड्दै हामी दोलखाकै ताम्चेत दुधपोखरी गाविसको, २ नम्बर वडा गैरी भन्ने ठाउँमा ४ गते बेलुकी बास बस्न पुगेका थियौं । चिरीबहादुर तामाङको घर (हाम्रो शंकर लामाको ज्वाई) को मा बास बस्न पुग्यौं । माघ ५ गते विहान बास बसेका घरका मानिसले मकै भुटिदिए र मकै खाँदै भारी बोकेर उज्यालो नहुँदै गाउँ काट्यौं । चौडी खोलाको किनारै किनार हिंडेर दिउँसो १२ बजेतिर काभ्रे जिल्लाको नाङरे गाविसको दुतीको पैरो भन्ने ठाउँमा खाना खान पुग्यौं । त्यो बाटो भएर तिब्बतबाट नेपालको मधेश र भारतसम्म नै कपडाहरु र अन्य चिनियाँ सामानहरु ओसारपसार गर्ने रुट रहेछ । स्थानीय जनताले हामीलाई त्यस्तै ठाने । स्थानीय जनताको सहयोगमा कुखुरा खोजेर कोदाको ढिंडो र मासु खाएर अगाडि हिंड्यौं र बेलुकीपख काभ्रेको माझीफेदी आइपुग्यौं । रातभरी हतियारको प्रशिक्षण लियौं । एक क्षण सुतेर माघ ६ गते कामरेड आलोकको घरमा काभ्रेको चौडे कात्तिके आएर बास बस्यौं ।
तत्कालै त्यहाँबाट हामीले लिएका सामाग्री आलोकहरुले वितरण गर्नुभयो । माघ ७ गते त्यही बाटो नफर्किएर अर्को बाटो रामेछाप हुँदै दोलखा फर्कियौं । सामान हराएकोमा हामीलाई शंका गरेनन् । कांग्रेसले एमालेलाई, एमाले कांग्रेसलाई गाउँमा शंका गर्थे । कसैले माछा मार्न लगे कि भन्थे ।
० २०५२ फागुन १ गते जनयुद्धको पहिलो दिन कहाँ हुनुहुन्थ्यो ?
– फागुन १ गते जनयुद्ध प्रारम्भको पहिलो दिन हामीले काभ्रेको चोकतारमा एकजना सुदखोरलाई कार्वाही गर्ने कार्यक्रम थियो । उसका जाली तमसुकहरु च्यात्ने काम भयो । हामीले जाली तमसुक च्यातेर त्यस क्षेत्रमा जनयुद्ध थालनी गरेका थियौं ।
० जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याइयो। जनयुद्धदेखि शान्ति प्रक्रियासम्मलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
–थालनीको अवस्थामा जनताले आशा, भरोसा गरेका थिए । पार्टीमा माथि हुने विवाद तल पनि आउँथे । प्रचण्ड चतुर नै रहेछन् । जनसेनाका माथिल्ला मानिसहरुलाई आफ्नो नियन्त्रणमा राखेर आन्दोलनलाई गलत ठाउँमा पु¥याए। आन्दोलनमाथि धोका भयो । कम्युनिस्टको लोगो देखाएर दक्षिणपन्थीहरुले धोका दिए । बाबुराम–प्रचण्ड किनिए । किरण र गौरव जेलमा भएकाबेला १२ बुंदे गरे । जनयुद्धको त्याग, बलिदानलाई दक्षिणपन्थीहरुले प्रयोग गरेका छन् । यसलाई चिरेर स्पष्ट गरेर जानुपर्दछ ।
० प्रचण्डले त क्रान्तिलाई निर्णायक तहमा पु¥याएनन् भने अब त क्रान्तिको सपना नदेखाए हुन्छ भनेको सुनिन्छ नि ?
–मालेमा भनेको त विचार हो । परिवर्तन वर्ग संघर्ष र क्रान्तिकारी सिद्धान्तले हुने हो । कसैले क्रान्ति हुँदैन भन्ने घोषणा गर्दैमा क्रान्ति रोकिंदैन । क्रान्ति समाज विकासको नियम हो । समाजमा चल्ने वर्गहरु बीचको अन्तर्विरोधले क्रान्ति निम्त्याउँछ । इतिहासमा जनताका दुश्मन र अवसरवादीहरुले धेरै पटक क्रान्ति हुन्न भनेर घोषणा गरे तर क्रान्ति हुँदै आएको छ ।
० क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन के गर्नुपर्छ, ठान्नुहुन्छ ?
– पार्टीका नेता, कार्यकर्ताहरु जनताको घरघरमा पुग्नु प¥यो । समाजको अन्तर्विरोधको पहिचान गर्नुप¥यो । जनताबाट सिक्ने र जनतालाई दिने नीति अपनाउनु पर्दछ । पार्टीका निर्णयलाई कार्यान्वयन गर्नुपर्दछ । प्र्रतिक्रियावादी र अवसरवादीहरुको देश र जनता विरोधी कार्यको भण्डाफोर गर्नुपर्दछ । संघर्षको कार्यक्रमलाई व्यवस्थित गर्दै जानुपर्छ ।
० बालेन सरकारको गतिविधिलाई कसरी हेर्नुहुन्छ ?
–बालेन जनतामा भिजेर आएको नेतृत्व होइन । विचार, दर्शनले नेतृत्व गरेका छैनन् । बालेन सरकार साम्राज्यवादको छाँया हो । साम्राज्यवादी निर्देशनमा नेतृत्व गरेको छ । परिवर्तन विचारले हुन्छ । वैचानिक खालको विचार छ । विकल्प भनेको बालेन हैन, विकल्प भनेको क्रान्तिकारी आन्दोलन हो ।
राजनीतिक संकटको निकास क्रान्तिकारी आन्दोलनबाट मात्र सम्भव छ
Comments

