– जगदिश चन्द्र
तपाईं
कुन कालावधिमा
जन्मनु भएको हो
प्राचीन वा मध्यकाल
तपाईंका पोसाकको
रङ कसले चुन्छ
वा तपाईंकै
सोचको उपज हो ।
तपाईं
कहिले देखिनुहुन्छ
रातमा दिनमा
साँझमा बिहानमा
दिउँसो कि बेलुकी
तपाईंका
साथीसँगाती
पुरानै तस्कर
पुरानै दलाल
पुरानै नोकरशाह
सुन ठगीमा परेका
बाउबाजेका
सम्पत्तिमा मस्ती मारेका
छन्
अथवा विदेशी
नागरिकता लिएर फर्केका
अक्षम असफल अयोग्य
बुद्धिहीन छन् ।
मद माद उत्तेजक
विशेष पदार्थ सेवक हुन्
कि शुद्ध अफिम
पवित्र गाँजा पियक्कड छन्
तपाईंका हितचिन्तक
अहोरात्रका प्रियजन
तपाईंको भाषा
यतैतिरको कि
आयात गरिएको छ
बोल्न त सक्नुहुन्छ नि
कि जिभ्रोमा
कुनै शक्तिशालीको
तालाबन्दी छ ।
तपाईंको उठबस
कहाँ कहाँका
दुश्मनसँग छ
के के जलाउन
चाहनु भएको छ
मन दुःखी गरिब
सभ्यता सौन्दर्य
उपासना आस्था
अन्तःकरण मानवता
त्याग बलिदान
तपाईंका निम्ति
किन बैरि हुन्
भन्नोस् राजन !
केके छन्
गुप्ती कुरा
मानिसहरु
अतीव प्रश्नाकुल छन्
तपाईं
वंश परम्परामा
जन्मनु भएको हो
अथवा
संसदीय पद्धतिको
निर्वाचनको
वीर्याधानबाट
अकस्मात् निस्कनु भएको हो ।

