जातीय तथा धार्मिक विद्वेष नफैलाउन र सामाजिक सद्भाव कायम राख्न अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आह्वान

काठमाडौं । जातीय तथा धार्मिक विद्वेष नफैलाउन र सामाजिक सद्भाव कायम राख्न अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आम जनसमुदायसित आह्वान गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीले प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गर्नु भएको हो । २०८३ श्रावण १६ गते जारी गरेको प्रेस वक्तव्य यस प्रकार छ –

जातीय तथा धार्मिक विद्वेष नफैलाऊँ, सामाजिक सद्भाव कायम राखौँ ।
सुनसरी जिल्लाको देवानगञ्ज – ३, कप्तानगञ्जमा ‘हिन्दू’ र ‘मुस्लिम’ समुदायका जनताबिच सडक चोकमा धार्मिक कार्यक्रम गर्ने विषयमा द्वन्द्व हुँदा त्यसले निकै ठूलो धार्मिक विद्वेष निम्त्याएको छ । देवानगञ्जमा सल्किएको धार्मिक द्वन्द्वको आगो यतिवेला पूर्वी तराइका मोरङ, सिराहा, धनुषा हुँदै पर्साको विरगञ्जसम्म फैलिएको छ । यस अप्रिय घटनाप्रति हाम्रो सांस्कृतिक सङ्गठन ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’को गम्भीर ध्यानाकर्षण भएको छ ।
धर्म जनताको वैयक्तिक स्वतन्त्रताको विषय हो । नेपाल वहुजाति, वहुधार्मिक र वहुसांस्कृतिक जनताको सामूहिक, मैत्रीपूर्ण र सद्भावपूर्ण तरिकाले मिलिजुली बसोवास गरिएको मुलुक हो । शताब्दियौँदेखि विभिन्न जातजाति र धार्मिक आस्थाका जनताको मैत्रीपूर्ण एवम् सहिष्णु व्यवहारप्रति केही वर्ष यता राष्ट्रद्रोही देशी–विदेशी कुतत्वबाट सामाजिक सद्भाव खल्बल्याएर देशलाई धार्मिक, जातीय र क्षेत्रीय द्वन्द्वमा फसाउने विभिन्न षड्यन्त्रहरू भइरहेका छन् । कप्तानगञ्जमा भएको ‘हिन्दू’ र ‘मुस्लिम’ समुदायका बिच भड्काइएको द्वन्द्व पनि देशलाई अस्थिर र अन्त्यहिन साम्प्रदायिक युद्धमा धकेल्ने नियोजित षड्यन्त्र त भइरहेको छैन भन्ने विषयमा गम्भीररूपले अध्ययन अनुसन्धान गर्नुपर्ने भएको छ । हाम्रो सङ्गठन यसप्रकारको धार्मिक द्वन्द्वप्रति खेद व्यक्त गर्दछ । जनताले स्वतन्त्र रूपमा विभिन्न धर्मका आआफ्नै चाडपर्व मनाउनु उनीहरूको स्वतन्त्रताको विषय हो । एक धर्मले अर्को धर्मका जनताको आस्था र विश्वासमा ठेस पु¥याउने कुनैपनि गतिविधि क्षम्य विषय होइनन् । यस्तो मामिलामा स्थानीय जनप्रतिनिधिहरू, स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी प्रशासन तथा सचेत नागरिकहरूले चनाखो भएर धार्मिक, जातीय एवम् क्षेत्रीय विद्वेष फैलिन नदिन सचेत रहनुपर्छ ।
गतवर्ष भदौमा कथित् ‘जेन जी’ युवाका नामबाट गराइएको विध्वंशपछि देशमा साम्राज्यवादी हस्तक्षेप नाङ्गो तरिकाले बढिरहेको छ । षड्यन्त्र, जालझेलका विभिन्न तानावानाका बिच गराइएको संसदीय निर्वाचनको नौटङ्कीपछि देशमा गैरजिम्मेवार एवम् निरङ्कुश सरकार निर्माण भएको छ । ऊ राष्ट्रघात र जनताघात गर्न उद्धत छ । यस्तो वेलामा सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनता राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजिविकाका निम्ति एकजुट भएर दलाल सत्ता र व्यवस्थाका विरुद्ध लड्न सङ्गठित हुनुपर्ने समयमा धार्मिक द्वन्द्वमा फस्नु देश र स्वयम् ती धर्मावलम्बी जनताका निम्ति पनि शुभसङ्केत होइन । हाम्रो सङ्गठनले कुनैपनि धर्म र वर्णाश्रम व्यवस्थामा आधारित जातप्रथाप्रति विश्वास गर्दैन । तथापि जनताको धार्मिक स्वतन्त्रताको सम्मान गर्दछ । तसर्थ शताब्दियौँदेखि विभिन्न धर्म र सम्प्रदायका बिचमा भएको सद्भावलाई खल्वल्याएर धमिलो पानी बनाएर माछा मार्ने देशी–विदेशी षड्यन्त्रप्रति खबरदारी गर्दछ । देवानगञ्ज हुँदै वीरगञ्जसम्म फैलिएको धार्मिक विध्वंशपूर्ण हिंसात्मक आन्दोलन रोकेर सबै धर्मकाप्रति सद्भाव राख्दै सहिष्णु रहन र शान्ति स्थापना गर्न सम्पूर्ण जनतामा हार्दिक अपिल गर्दछ । साथै द्वन्द्वमा मारिएका जनताका परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरूको सम्पूर्ण उपचार निशुल्क गर्न र घटनाको सर्वदलीय सर्वपक्षीय छानविन टोली गठन गरी निष्पक्ष छानविन गर्न र दोषीहरूलाई हदैसम्मको कार्वाही गर्न सरकारसमक्ष जोडदार माग गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित