बुटवल । राष्ट्रघाती एमसीसी परियोजना खारेज गराउन रुपन्देहीमा नेपाल कम्युनिस्ट पार्टी (मशाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा २०८० भदौ १० गते र भदौ १३ गते विरोधसभा र मशाल जुलुश सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा रुपन्देहीको मुर्गिया बजारमा एमसीसी कार्यान्वयन होइन, खारेजीको माग गर्दै विरोध कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा (मशाल) रुपन्देही जिल्ला प्रवक्ता बाबुराम आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्य प्रवेश नेपाली र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य सरद ओलीले मन्तब्य राखेका थिए । यसैगरी रुपन्देही कै कञ्चनको हरैया बजारमा नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपलको संयुक्त आयोजनामा मशाल जुलुस र कोणसभा सम्पन्न भएको छ । कोणसभालार्ई नेकपा (मशाल) का प्रतिनिधि दिपक पौडेल सम्बोधन गरेका थिए ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आयोजनामा २०८० भदौ १० गते बुटवलमा एमसीसी विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मशाल) का प्रतिनिधि दिपक पौडेलले एमसीसी कुनै अनुदान नभै लगानी हो, चीन विरुद्ध गतिविधि बढाउने अमेरिकी षडयन्त्र हो । शैन्य रणनीतिको एक अंग हो । यो असंलग्न परराष्ट्रनीति विपरीत छ, त्यसकारण यसलाई कार्यान्वयन होइन खारेज गर्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सचिव प्रेम सुवेदीले एमसीसी साम्राज्यवादी योजना अन्तर्गत नेपालमा भित्राइएको र यसले नेपलको स्वाधीनतामा प्रहार गरेको कुरा औंलाउदै सम्पुर्ण देशभक्त नेपाली एकजुट भएर खारेज गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी रुपन्देही सेक्रेटरी बिरेन्द्रल एमसीसी संझौताका राष्ट्रघाती प्रावधानको ब्याख्या गर्दै नेपालको संविधान भन्दा माथि एमसीसी संझौता रहेको हुनाले त्यसलाई कुनै पनि हालतमा स्विकार्न नसकिने भन्दै एमसीसी परियोजना खारेजीमा जोड दिएका थिए । कार्यक्रम बुटवल ब्लड बैकबाट नाराजुलुस सहीत नयाँ बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

