अम्बिका चन्द ‘सुदृष्टि’
जब वसन्तऋतुको आगमन हुन्छ, रूखका बुढिएका पातहरूलाई स्थानच्यूत गर्दै नयाँ पालुवाहरू पल्लवित हुन थाल्छन् । मौसम नै यस्तो हुन्छ– हरेकको मनमा नवोदित उत्साह र मधुर आशाको सञ्चार हुने गर्दछ । अलि केही समय उराठलाग्दो पनि हुन्छ तर त्यही उराठलाग्दो पनसँगै एउटा सुरम्य वसन्त उदाउँदै गरेको हुन्छ । ठीक यही समयमा करिब दुई दशकदेखि काठमाडौँको अलि पर रामेछापको मन्थलीमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियानको जटिलतम् कार्यलाई सहजै अघि बढाइरहेका एक अधबैँसे माक्र्सवादी लेखक÷अभियन्ताको फोन आउँछ । निकै गह्रौँ भूमिका बाँध्दै मीठो बान्की पारेर उनी मलाई यसपटक पनि मन्थली बोलाउँछन् । सम्भावना रहेसम्म हामी सपरिवारै त्यता हानिन्छौँ । कवि तथा मुक्तिसेनाका योद्धा हितप्रसाद उपाध्याय र एक विद्रोही आमा जूनमाया सुवेदीको सम्झना गर्ने ‘हित–जून साहित्य प्रतिष्ठान’ छ मन्थलीमा । त्यहीँ भेटिन्छन् उल्लिखित तिनै अधबैँसे लेखक अशोक सुवेदी उर्फ ‘विप्लव’ जोसँग मेरो बर्सौंदेखिको कमरेड्ली मित्रता छ भने रामेछाप र मन्थली सिर्जनानगरसँग आत्मीय साइनो ।
हुनत म यसअघि पनि हुरीबतासझैँ भएर उनको निम्ता स्वीकार्दै सिर्जनानगर पुगेकी छु । करिब आधा दशकअघि अर्का अभियन्ता नरबहादुर कार्की र छोरी हिमांशुको साथ सिर्जनानगर पुगेर माओवादी नेता दीनानाथ शर्माकी जीवनसँगिनी सरला शर्माको जीवनको गोरेटो पुस्तक सामूहिक लोकार्पण गरी समीक्षा गरेर मनले मात्र भँगेरी चुम्दै फर्केकी छु तर पनि किनकिन सिर्जनानगरले गरेको आत्मीय आमन्त्रण अस्वीकार गर्न मन मान्दैन ।
२०८२ सालको चैत २४ गतेको दिन छ, ऐतिहासिक जनआन्दोलनको उत्कर्षको दिन । काठमाडौँ कोटेश्वरबाट निस्कँदा मध्याह्न १२ बजेको छ । हामी भक्तपुरदेखि धुलाम्मे सडक छिचोल्दै बनेपा भएर मन्थली जाँदैछौँ । हामीलाई भनेर मन्थलीबाटै अशोकले रिजर्भ गरिदिएको मोटर नयाँ, सफा र चिटिक्क छ । मोटरभित्र छौँ मेरो प्रिय मान्छे क. सुदर्शन अनि नेपाल राष्ट्र बैङ्कमा गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भैसक्नुभएका एक सरल व्यक्तित्व दीपेन्द्रबहादुर क्षेत्री, साहित्यिक तथा दार्शनिक व्यक्तित्व प्रा. डा. गोपीन्द्र पौडेल, समाजवादी कम्युनिस्ट पार्टीका नेता तथा मेरा बिसौँ वर्षदेखिका साथी तर साइनोले काका पूर्णबहादुर सिंह ‘समरजङ्ग’, माक्र्सवादी तथा प्रगतिशील विधामा कलम चलाउने पछिल्लो समयका उम्दा कवि रसुवाली कवि, खम्बु चन्द, माधव गौतम, विनोद थापा, मेरी आमा …, बहिनी … र छोरी हिमांशुसहितका अन्य क्रान्तिकारी कमरेडहरू ।
हामीले गफिँदै बसको झ्यालबाटै नियाल्यौँ बनेपा र आसपासको रहरलाग्दो आलु खेती । मेरी आमा भनिरहनुभएको थियो– ‘काठमाडाँै सहर धान्ने आलु त बनेपामै फल्ने रहेछ ।’ कतै धुलाम्मे त कतै सरर कालोपत्रे, कतै सल्ला सुसाइरहेका पाखाहरू, कतै सिमे घाँस अनि लटरम्म फलेका काला ऐँसेलुहरू देखेपछि एकपटक मलाई जन्मथलो जाजरकोटको सम्झना आयो । मेरो जन्मभूमि जाजरकोट अब फर्केर जाने दिन कहिले आउला तर बालापनका स्मृतिहरू दोहोरिएर आए र पटकपटक बालापन सम्झिँदै ‘नोस्टाल्जिक’ बनेँ ।
अलि तल पुगेपछि साथीहरू कोही गाडीमा मस्तले निदाए, कोही पुस्तकमा व्यस्त भए । मेरो भने लामो यात्रामा निदाउने उहिलेदेखिको बानी, निदाउँदै–ब्युँझँदै गर्दागर्दै सहिद ऋषि देवकोटा ‘आजाद’ को जन्मभूमि खुर्कोट पुगियो । चैतको प्रचण्ड गर्मी, तल नदीकिनारमा गोदाइला, एउटै मेसिनले निकालेका जस्तै बारीका मकै देखेर मन रमायो । अलि अगाडि बढेपछि वारिपारिका खुरिला डाँडाहरू पानीको प्यासमा काकाकुल भएर व्याकुल बनेको देख्दा सुख्खाजोर (सुकाजोर) जस्तै मन यसैयसै फुङ्ग उदास भयो ।
पोहोर साल बाढीले पुल बगाएपछि रामेछाप–सिन्धुलीको सम्बन्ध विच्छेद भएको थियो । तर फेरि उही भाँच्चिएको पुललाई टाक्कनटुक्कन जोडजाड पारेर मोटर हिँड्ने बनाइएको रहेछ । तामाकोसी र सुनकोसी मिलेर बगेको कोसी यो याममा पनि मैमत्त छ । हाम्रो गन्तव्य मन्थली यही कोसीको तीरैतीर गए छिनभरमै पुगिन्छ । तर हामी कोसी काटेर सेलेघाटबाट बेतिनीको उकालो चढ्याँै । साताव्यापी कार्यक्रममध्ये हाम्रो पहिलो गन्तव्य थियो भँगेरी । नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने पहिलो व्यक्ति पुष्पलाल र राणाविरोधी आन्दोलनमा सहर्ष फाँसी स्वीकार गर्ने बहादुर गङ्गालालको जन्मथलो भँगेरी । त्यसपछि मात्रै हाम्रो गन्तव्य थियो मन्थली । सेलेघाट–बेतिनी हुँदै आधा घन्टा–पैँतालीस मिनेटजस्तो खुरखुरे डाँडा चढेपछि ल्याङल्याङ, झगडेचौर हुँदै भँगेरी पुगिने रहेछ । खँडेरीले आकुलव्याकुल बनिरहेको बेतिनी र सुख्खाटारका मोडहरूमा मोटरले फन्का लगाइरहँदा झ्यालबाट देखिने राता डाँडा र उराठलाग्दा पाखाहरूले मनलाई विरक्त बनायो । यो भूगोल चीन, जनगणतन्त्र कोरिया वा अरू कुनै देशमा हुँदो हो त यसको स्वरूपै फरक हुन्थ्यो होला तर धिक्कार छ मेरो देशको शासन व्यवस्था ! तल कोसी मैमत्त छ तर माथि सुख्खाटार व्याकुल छ । क्या अजीवको ‘केमेस्ट्री’ सुनकोसी, तामाकोसी, दूधकोसी, लिखु, अरुण, तमोर हुँदै सप्तकोसी बनेको कथा सुनिरहेकी म कोसीहरूको तादात्म्य कस्तो अजीवको होला ! कल्पिरहेकी हुन्छु । हरेकपटक बीपी राजमार्गमा गुड्दा सात कोसी कसरी–कसरी बग्छन् ? कसरी–कसरी कहाँ–कहाँ मिल्छन् होला भनेर मेरा आफ्नै आँखाले दृश्यपान गर्ने ठूलो अभिलासा छ । यात्रा र सङ्घर्षको सङ्गम जीवनका कुनै तरेलीहरूमा ती दिन पनि आउलान्…मनमनै कल्पिन्छु ।
करिब ४ बजेतिर हामी पहिलो गन्तव्य भँगेरी पुग्छाँै । भँगेरी रामेछापको पुरानो सदरमुकाम निकटको सुन्दर गाउँ हो । त्यहाँ कोट–पाइन्टमा चिटिक्क सजिएर बसेका अशोक सुवेदीले पुरानै पारामा एक हातमा सानो फोन र अर्को हातमा डायरी लिएर हामीलाई न्यानो स्वागत गरे । साथमा थिए रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने, जर्बुट्टा कलाकार विश्वम्भर लामिछाने र अन्य साथीहरू ।
जीवनमा पहिलोपटक पुष्पलाल–गङ्गालाल जन्मिएको भूमिमा पुगियो । उहाँहरू जुन गोठमा जन्मिनुभयो त्यहीँ हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको पहल र ब्यानरमा २०७० सालमा एउटै शिलामा उहाँहरूको सालिक निर्माण गरिएको रहेछ । निरङ्कुश राणा शासनका विरुद्ध लड्दा हाँसीहाँसी सगौरव फाँसीको सजाय स्वीकार गरेका गङ्गालाल श्रेष्ठ जन्मेको ठाउँ हेर्ने लामो समयदेखिको हुटहुटी असाध्यै थियो, आज त्यो पूरा भएको थियो ।
पहिलोपटक भँगेरी पुगेको यो मौकामा म पुष्पलाल र गङ्गालालले पाइला टेकेको बारी–कान्लातिर विचरण गर्न निस्किएँ । पानीको अभावले किटकस्सिएका निरस, निस्वाद ऐँसेलु टिपेर खाएँ र लसुने पूmल टिपेर कानमा सिउरिएँ । सालिक भएको ठाउँमा केही जग्गा अधिग्रहण गरिएको रहेछ तर व्यवस्थित विकासको सारै खाँचो रहेछ । पछि एक स्थानीय भन्दै थिए, ‘यसको विकास कसैले गरेनन् बाबु ।’ यसलाई राम्रो व्यवस्थापन गर्न सक्ने हो भने राम्रो उद्यान, पार्क बनाएर पर्यटकहरूसमेत भित्र्याउन सकिने सम्भावना बोकेको ठाउँ रहेछ । सालिक भएको ठाउँमा ‘पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको उद्घाटन गर्ने’ पूर्वनिर्धारित कार्यक्रमसँगै दुई लालको सालिकमा अविरावरण र माल्यार्पणसहित मुठी उठाएर उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो । क. सुदर्शन, दीपेन्द्रबहादुर क्षेत्री, गोपीन्द्र पौडेललगायतले उहाँको योगदानको सम्मानसहित केही बोल्नुभयो । यसको सहजीकरण अशोकले गर्नुभयो । अशोकले पश्चिमी विषाक्त पुँजीवादी–साम्राज्यवादी हावाले मानिसहरूका मस्तिष्क खराब बनाइरहेको बेला माक्र्सवादी विश्वविद्यालय स्थापना गर्ने महाअभियान थालेको सुनाउँदा सहभागी गोपीन्द्र पौडेलले भने, ‘नेपालमा माक्र्सवादी विश्वविद्यालय चलाउन खोज्नु भनेको आइसल्यान्डमा सर्प पाल्नुजस्तै कठिन कार्य हो । अशोकले यो कष्टसाध्य काम आरम्भ गरेका छन् । भ्रूणका रूपमा उद्घाटन भएको यो विश्वविद्यालय सञ्चालनको अभियानले बिस्तारै आकार ग्रहण गर्नेछ । यो साहस गर्ने अशोकको काम सलामयोग्य छ ।’ पौडेलको यो भनाइले मलाई मात्र नभएर हामी सबैको मन छोएछ । पछि सबैले आआफ्नो मन्तव्यमा यो कुरा उद्धरण गरेपछि मलाई महसुस भयो । भँगेरीको पहिलो यात्रामै एउटा ऐतिहासिक कर्मको साक्षी बनियो र प्रतिबद्धता व्यक्त गरियो ।
कार्यक्रम सकिएपछि हामी काठमाडौँबाट गएको गाडीमै थपिनुभयो आयोजक अशोकसहित अन्य स्थानीय कमरेडहरू र फेरि मोटरमा बसेर भँगेरीलाई बिदाइ गर्दै लाग्याँै मन्थलीतिर ।
घाम डुबिसकेको थियो । अँध्यारोले गर्दा हामीले आँखाले बाहिरको भूगोल प्रत्यक्ष देख्न त पाएनौँ तर गाउँघर र बजारमा बलेका बत्तीहरू हेर्दैहेर्दै बाबियाखर्क हुँदै सुकाजोरतिर ओरालो झ¥यौँ । मोटरको अगाडि बसेका अशोकले करिब एक घन्टाको यात्रामा बाटाभरि हामीलाई त्यहाँको भूगोल, ऐतिहासिक तथ्यहरू धाराप्रवाह कथाकै लयमा सुनाए । बाटो दायाँबायाँको भूगोल हेर्न नपाउँदा तरकारीमा खुर्सानी छुटेको जस्तो भए पनि अशोकले कथा र किंवदन्तीहरू लयात्मक शैलीमा सुनाउँदै हामीलाई भरपूर स्वाद दिलाए । हामी अशोकको निजी निवाससमेत रहेको हित–जून युद्ध–कला सङ्ग्रहालय बनेको भवन सिर्जनानगर मन्थलीमा बेलुकी ८ बजेतिर पुग्यौँ । भवनको भुइँतलामा थिए बहिनीहरू इन्दिरा, रमा र सीताहरू । ठूलाठूला भाँडामा खाना बनाएर उनीहरू हामीलाई नै पर्खिरहेका थिए । छिटोछिटो हात धोएर भात खाइयो । भात कति स्वादले खाइयो भने बाहिरफेर त्यति खाना खान नरुचाउने मेरी छोरीले त तीनपटक खाना थपिन् । सङ्ग्रहालयको तेस्रो तलामा आरामदायी तरिकाले रात बितायौँ ।
अर्को दिन बिहानै उठेर साथीहरू बजारतिर निस्किएछन् । हामी दीपेन्द्रबहादुर क्षेत्री, गोपीन्द्र पौडेल, सुदर्शन, अशोक र आमासहितको टोली सिर्जनानगरको अवस्थिति नियाल्न खारखोलो हुँदै ठाडोबाटोबाट डाँडातिर उकालियौँ । हामीलाई त उकालो गाह्रो हुने कुरा खासै भएन तर मेरी आमा र उहाँभन्दा ८ वर्ष जेठा दीपेन्द्र सरलाई अलि गाह्रो भएको महसुस ग¥यौँ हामीले । उहाँहरू हामीलाई त्यस्तो अनुभूति हुन नदिँदै साथसाथै रमाउँदै उकालो लागिरहनुभयो । कुइनेटा पुगेपछि वरपीपलको छेउनिर उभिएर सिर्जनानगर बेसी देखिने गरी सामूहिक तस्बिर खिच्यौँ र तित्रीबोट हुँदै उपल्टारको बाटो सङ्ग्रहालय फर्कियौँ । हामी सङ्ग्रहालयमा फर्किंदा रसुवाली कवि भने सङ्ग्रहालयको बालकोनीमा एक्लै बसेर कविता कोरलिरहेका थिए । पछिल्लो समयका उदीयमान युवाकवि रसुवालीले नयाँ कविता सिर्जना गरेछन् । तामाकोसीलाई बिम्ब बनाएर लेखिएको कविता भोलिपल्ट कार्यक्रममा वाचन गर्दा गजबको स्वाद लियौँ । नवराज पराजुली, सुमन स्मारिका वा मनु मन्जिलका कविताहरूको लय मन पराउने म पछिल्लो समय रसुवाली कविका कविता मनपराउन थालेकी छु ।
नेपालको मध्य पहाडी जिल्ला रामेछाप आफैँमा एक इतिहास हो । समाज परिवर्तनको यात्रामा गङ्गालालको नाम इतिहासमा स्वर्णिम अक्षरले कोरिएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल अर्का जीवन्त इतिहास हुन् । एउटै घरबाट दुईजना हस्ती जन्मने कुरा पनि रामेछापका लागि गौरवको विषय हो । उता मकैको खेती पुस्तक लेखेर निरङ्कुश जहानियाँ राणा शासक चन्द्रशमशेरको सत्तालाई आछुआछु पार्ने र जेलमै बलिदान स्वीकार्ने प्रथम साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारी पनि मन्थलीकै कठजोरमा जन्मिएका रहेछन् । पछिल्लो समय १० वर्षसम्म चलेको भीषण जनयुद्धका क्रममा पहिलो सफल फौजी मोर्चा बेथानमा बलिदान गर्ने तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जन (तीफदि) को नाम रक्तिम इतिहास निर्माण गर्ने नाम हो भने दोरम्बामा बलिदान गर्ने २१ जना महान् सहिदहरू जन्माउने कहालीलाग्दो सन्दर्भ इतिहासमा बिर्सनै नसकिने घटना हो ।
२०६० सालमा दाङको हापुरेमा सरकार–माओवादी वार्ता चलिरहेको बेला तत्कालीन शाहीसेनाले दोरम्बा डाँडाकटेरीमा २१ जना योद्धाहरूलाई लाम लगाएर कञ्चटमा गोली हानी निर्मम हत्या गरेको थियो । बेथान र दोरम्बामा रहेका प्रतिक्रियावादी व्यवस्थाका प्रहरीचौकीमा जनमुक्ति सेनाका टुकडीले सफल फौजी आक्रमण गरेर विजय हासिल गरेका थिए । रामेछापको भूमिले गङ्गालाल, पुष्पलाल, कृष्णलालसहित अन्य एक सय साठीभन्दा बढी लालहरू जन्माएको थियो । यी साङ्केतिक घटनाहरूबाहेक समाज परिवर्तनको आन्दोलनमा रामेछापको भूमिका इतिहासमा उच्च छ । राप्तीभन्दा पूर्वको भूगोलमा पाइला नटेकेकी यो मनुवाको ‘उठे रामेछाप गोर्खा सिन्धुली, उठे कञ्चनपुर डोटी कैलाली …’ गीत रिलमा सुन्दा आङ सिरिङ्ग गर्दथ्यो । पूर्वका यी तुफानी किल्लाहरूका बारेमा चर्चा सुन्दा सिन्धुलीको भिमानमा जनमुक्ति सेना र शाहीसेनाको बारम्बारको भिडन्त सुनेकी थिएँ । पश्चिमबाट कार्यक्षेत्र लिएर रुकुम, रोल्पा, जाजरकोट, कालीकोट, बझाङ, बाजुराका साथीहरू पूर्वी नेपालका विभिन्न ठाउँमा गएर बलिदानको कोटा चुक्ता गरेका थिए । एकपटक पूर्वबाट आधारइलाका फर्केको जनमुक्ति सेनाका बिचका कलाकार महेश आरोहीसहितको टिमले ‘पश्चिमका उदाएका तारा पूर्वमा गएर ढले रे, देशले सुम्पेको अभिभारा सारा तिरेर गए रे…’ भन्ने गीत पूर्वबाट पश्चिम फर्केको जनमुक्ति सेनाको फर्मेसनमा गाउँदा सबै भावुक हुने अवस्था बनेको थियो ।
२५ गते अशोक सुवेदीको कासनपछि हामी खाना खाएर पङ्क्तिबद्ध भई ब्यानरसहित पैदल मार्च गर्दै मन्थली बजारमा रहेको नगरपालिकाको सभाहलमा प्रवेश ग¥यौँ । पुष्पलाल माक्र्सवादी विश्वविद्यायको उद्घाटन भयो । म, विनोद, माधवलगायत साथीहरूले विश्वविद्यालय सफलताको शुभकामना दियौँ । पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको पहिलो ब्याचको पहिलो कक्षा क. सुदर्शनको थियो । दर्शनशास्त्रका बारेमा उहाँले कक्षा लिएपछि प्रश्नोत्तर भयो र उक्त कक्षा आजका लागि विश्राम भयो ।
चैत २५ गते अपराह्न कवि हितप्रसाद उपाध्याय र जूनमाया सुवेदीको अर्धकदको सालिकमा श्रद्धाञ्जली अर्पणसहित अन्य औपचारिक कार्यक्रमको तालिका थियो । सालिकमा श्रद्धाञ्जली अर्पण गरी सङ्ग्रहालय अवलोकन गरेपछि सङ्ग्रहालय नजिकै रहेको हित–जून स्मृति हलमा असल छोरा–बुहारी सम्मान, अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान, लामो समयपछि गाउँ फर्केर बसोबास गर्ने परिवारलाई सम्मान, गीत–कविता प्रतियोगिताजस्ता नियमित कार्यक्रम छन् । पुरातन समाजका विरुद्ध विद्रोहको आगो ओकलेका अशोकले विभिन्न विद्वान्हरूलाई अगाडि राखेर आफूले सुरु गरेको अभियान र त्यसमा भोग्नुपरेका असजिलाहरू प्रस्ट्याए । उनी आफ्नो घरभित्र दलित साथी भित्र्याएको होस् वा दलित साथीको घरमा खाना खाएको होस्, आमाको काजक्रिया नयाँ तरिकाले गरेको विषय होस्, ४–४ पटक पानी काढ्ने कारबाहीमा परेका छन् । मलाई सम्झना भएसम्म म जन्मेको समाजमा पनि यस्तो चलन थियो । राजधानी र तराईबाट नजिकै रहेको शिक्षित समाजको बाहुल्य रहेको उक्त समाजमा अशोकले रूढिवादी पाखण्डका विरुद्ध विद्रोह गर्दा भोग्नुपरेको अपमानले उहाँ गल्नुभएन बरु नवीन ऊर्जा लिएर जबर्जस्त रूपमा अन्तर्राष्ट्रिय सर्वहारा संस्कृति लागू गर्ने अडानमा लागिरहनुभयो । रूढिवाद र बाहुनवादले जकडिएको समाजमा एक्लै विद्रोह गरी परिवर्तनशील वैचारिक–सांस्कृतिक यात्रा अघि बढाउने अशोकको यो काम सलामयोग्य छ ।
२६ गते बिहानै उठेर यताउति टहलिएँ । समाजवादी कम्युनिस्ट पार्टीका नेता पूर्णबहादुर सिंह हिजोँ साँझ खाना बनाएका ठूल्ठूला भाँडा माझिरहनुभएको थियो । मैले फोटो खिचेँ, भीडीओ बनाएँ । सबै मिलेर खाना पकाउने, लस्करै बसेर खाने र आफैँ भाँडा माझ्ने यो सङ्ग्रहालयको नियम नै छ । यसका लागि कसैलाई कर गरिँदैन, उत्प्रेरित गरिन्छ । ७८ वर्षीय दीपेन्द्रबहादुर क्षेत्रीले आँगनको डिलमा बसेर भाँडा माझ्दै गरेको दृश्य सम्झनलायक थियो । यो देखेर मलाई जनयुद्धकालीन दिनहरूमा चलेका कम्युनहरू र ठूल्ठूला मेसहरूको सम्झना आइरह्यो । आधारइलाकाहरू रोल्पा, रुकुम, जाजरकोट, कालीकोटमा चलेका जनकम्युनहरूको सम्झना बेस्सरी आयो र म फेरि भीषण जनयुद्धतिर फर्किएँ ।
२६ गते बिहानको खाजापछि हित–जून स्मृति हलमै फेरि अर्को कक्षा सुरु भयो । क. सुदर्शनले दर्शनशास्त्रको बाँकी दोस्रो कक्षा लिनुभयो । क. अशोक दर्शनजस्तो जटिल र शास्त्रीय विषय अरूले छिचोल्न सक्दैनन्, त्यसैले तपाईंले नै यो कक्षा लिनुपर्दछ भनेर पहिलेदेखि नै क. सुदर्शनसँग बल गर्नुहुन्छ । कक्षापछि खाना खाइयो । खाना खाएपछि हामी सबै नगरपालिकाको सभाहलतर्फ लाग्यौँ । गोपीन्द्र पौडेलले दोस्रो कक्षाका रूपमा माक्र्सवादी सौन्दर्यशास्त्र अध्यापन गर्न सुरु गरेपछि हामी भने देवकोटाचोकतिर फर्कियौँ किनभने पार्टी बैठकको तयारीका लागि आज हामीले जसैगरी काठमाडौँ फर्किनै पर्ने थियो । आजै दीपेन्द्रबहादुर क्षेत्रीले माक्र्सवादी अर्थशास्त्रको पनि कक्षा लिने कार्यक्रम थियो । पार्टीकामको चटारोका कारण हामी रोकिन सकेनौँ । बजार निस्केर दुई जर्किन जुनारको जुस र स्थानीय उत्पादन रामेछाप बिस्कुट बोकेर मोटरमा चढ्यौँ । दैनिक भात खान गारो परिरहको बेला अशोकले मोटरभाडासमेत व्यवस्था गरेपछि झन् राहत महसुस गरियो । फेरि पनि मोटरको झ्यालबाटै उही सिर्जनानगर, रनजोर, सुकाजोर, सानीमदौ, विनिताचोक, भँगेरी र बेतिनीलाई दृश्यपान गर्दै र त्यहाँको माया हृदयमा सँगाल्दै तामाकोसीको तीरैतीर सेलेघाट भएर खुर्कोट आइपुग्यौँ र सुनकोसीको तीरैतीर काठमाडाँैतिर हानियौँ । भँगेरी, मन्थली, हित–जून युद्ध–कला सङ्ग्रहालय अनि साथीहरू सबै त्यहीँ छोडेर केवल मीठा र अविस्मरणीय सम्झनाहरू मात्रै बोकेर हामी फर्कियौँ । गङ्गालाल–पुष्पलाल–कृष्णलाल–तीफदि जन्माउने अमर भूमिलाई सलाम र आइसल्यान्डमा सर्प पाल्नुजस्तै कठिन अभियानको आरम्भ गर्ने अधबैँसे लेखक÷अभियन्ता अशोक सुवेदीलाई भव्य सफलताको शुभकामना !
Comments

