मनु वि.क.
बारा जिल्ला जितपुर सिमरा उपमहागरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलत्कार पछि विभत्स हत्या भएको अवस्थामा तीन दिनमा छिमेकीको खाली घरमा शव फेला प¥यो । २०८३ साउन ३१ गते बिहानदेखि हराएकी गरिमाको २०८३ भदौ २ गते मात्रै एक खाली घरमा शव भेटिएको थियो । यो हत्याको जति नै निन्दा र भत्सर्ना गरे पनि कमी हुन्छ । तीन वर्षीया बालिका जसलाई मान्छेको बानी व्यवहार, खराब मान्छेभित्र रहेको पशुपन, घृणित सोचाइ के कस्तो हुन्छ केही पनि थाहा हुँदैन । मान्छेले कसरी व्यवहार गर्छ कस्तो मान्छे सही हो ? कस्तो मान्छे गलत हो ? कस्तो मान्छेलाई विश्वास गर्ने कस्तोलाई नगर्ने ? केही थाहा हुँदैन । कसैले माया गरेर बोलाएमा उसैको काखमा जाने,उसैलाई आफ्नो ठान्ने उमेर । जोजसले माया गर्छन् उसैलाई तोते बोल्दै रमाइलो बनाउने उमेर । नाँच्दै आउने पुतलीसँग आफु पनि उसरी नै नाँच्न खोज्ने उमेर । भर्खर गर्भबाट यो संसारमा जन्म लिएर पाइला ताते ताते गर्दै गरेको नानीलाई बलत्कार गरी विभत्स हत्या गरेको अवस्थामा भेटिनु आमाबाबु,आफन्ती समाज र देशकोलागि निकै नै पीडाजनक विषय हो । यो विषयले हाम्रो समाजमा बर्बरता कुन स्तरसम्म कायमै छ भन्ने देखाउँछ । हुन त छोरीजातिको सुरक्षा निकै नै चुनौतीपूर्ण रहँदै आएको छ । भ्रुण,गर्भमा नै मारिनु पर्ने, जन्मिए पछि पनि महिला भएकै कारण असमानता र हिंसा सहनु पर्ने हुर्कदै गर्दा नै बलत्कार, हत्या,अपमान,कुटपिट,बेचविखन सबै सहनु पर्ने कुरा नयाँ होइन । बालिका हुन या वृद्ध महिला बलत्कारको शिकार भएका छन् । बालिकाहरु बलत्कार र हत्या गर्ने कार्य सामान्य जस्तो भएको छ । समाज, राज्य नारीजाति छोरी जातिमाथि हुने यस्ता अपराध भएको केही दिनसम्म अपराधी खोजेजस्तो गर्ने, अपराधी पत्ता लागेजस्तो गर्ने ,दण्ड सजाय पनि दिए जस्तो गर्ने तर समाज कहिल्यै नसुध्रने देखिएको छ । समाजमा पटक पटक बालिकाहरुमाथि भएका यस्ता घटनाले त्यही कुरा बोलिरहेका छन् । अपराधीलाई अपराध कर्मको सजाय दिलाउनु भनेको अपराधकर्मको सजाय भोगाउनु मात्रै होइन त्यसबाट पाठ सिकेर समाजमा थप अपराध कर्म नहोस भन्ने कुरा पनि हो । तर समाजमा यस्ता अपराध कर्महरु कमी नभएको प्रमाण पछिल्लो गरिमाको बलत्कार र हत्या हो । यो हत्या पछि समाजमा अपराधी मानसिकता कति गम्भीर रुपमा छ भन्ने देखाएको छ । यो राज्यमा कानुनी राज्य भएको छ कि छैन भन्ने भएको छ । कानुनी राज्यमा कानुन अपराधीलाई मात्रै नभइ थप अपराध कर्म नहोस भन्नकोलागि पनि हो तर समाजको मनोविज्ञानले सिकेको छैन भन्ने कुरा प्रमाणित भएको छ ।
जाने बुझेका कानुन नै पढेका होस या उच्च ओहोदामा बसेका मानिसहरु होउन् या जे सुकै होउन् वा सामान्य मानिस होउन् महिलामाथिको हिंसामा कमी आउन सकेको छैन । कतिपय अवस्थामा अपराधी समेत पत्ता लगाउन राज्य असफल भएको छ कञ्चनपुरकी निर्मला पन्तको २०७५ साल साउन १० मा बलत्कार पछि हत्या भएको यति लामो समय भयो । पटक पटक यो विषयमा कुराहरु उठे पनि आज सम्म अपराधी पत्ता लगाउन असफल भएको छ । अपराधीलाई लुकाउन वा अपराधकर्मलाई लुकाउन प्रहरी नै परिचालन भएको यो अत्यन्त निन्दनीय घटना हो । जुन निकायबाट शान्ति सुरक्षा र प्रमाणहरुको संरक्षण गरी अपराधी पत्ता लगाउनु पर्ने थियो उनीहरु नै अपराधीको प्रमाण नष्ट गर्न लागेको थियो । अपराधी अहिलेसम्म पत्ता लाग्न नसक्दा राज्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नाजवाफ हुनुपरेको छ । बलत्कार र हत्याका घटनाहरु नेपालको पूर्व, पश्चिम, उत्तर, दक्षिण जुनसुकै स्थानमा घटिरहेका छन् । बलत्कार र हत्याको विवरणहरु संकलन गर्ने हो भने लामो श्रृङखला बन्छ ।
गरिमाको बलत्कारको घट्नामा एक जना १५ वर्षीय किशोरले अपराध स्वीकार गरेको छ । उसँगै अर्का २४ वर्षीय पुरुष पनि अपराधमा संलग्न रहेको बयान आएको छ । अहिलेसम्म प्रहरीले ९ जनालाई गिरफ्तार गरी अनुसन्धान जारी राखेको छ । १५ वर्षको उमेर भनेको केटाकेटी उमेर हो ।यो उमेरमा अपराध गर्न सक्दैनन् ,जानेर अपराध गर्दैनन् भन्ने विश्वास गरिन्छ । तर गरिमामाथिको अपराध गर्न सक्यो । अर्को २४ वर्षीय पुरुषले पनि त्यो बालिकामाथि कसरी अपराध गर्न सक्यो ? दिमागमा कस्तो अपराध भरिएको हो ? त्यो बाहेक अन्यलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान जारी राखेको भए पनि उनीहरुको कुन स्तरको संलग्नता छ भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन । ती दुवै जनाको संलग्नतामा ३ वर्षीय बालिकाको ज्यान गयो । आमाबुबाहरुले आफ्नो सन्तान गुमाउन पुगे । देशले एक प्यारी छोरी गुमायो । बलत्कार र हत्याको घटनाले राज्य ,देश बालिका सुरक्षामा असफल छ भन्ने देखायो । बालिकाहरुकालागि आकाश खुला छैन भन्ने देखायो । कसरी अपराध गर्न सकेको बालिकामाथि ? कोही कसरी कसैमाथि निर्दयतापूर्वक बलत्कार गर्न सक्छ र कसरी मार्न सक्छ ? २४ वर्षीय पुरुषकोलागि त गरिमा छोरी बराबर हुन् । आफ्नो छोरी जस्तो बालिकामाथि कसरी त्यो हदको अपराध गर्न सकेको ? हाम्रो समाजले बालकहरुलाई कसरी हुर्काएको छ भन्ने पनि यसले देखाएको छ । किशोर नै मुख्य अपराधी हो या त्यो पुरुष, अहिले बाहिर आएको छैन । सामुहिक रुपमा कसरी गर्न सकेकोे? के उनीहरुलाई समाज,माया,दया, भावना केही थाहा छैन ? के उनीहरुलाई कानुन नियम केही थाहा छैन ? यो कर्म अपराध हो यस्तो गर्नु हुँदैन भनेर कसैले सिकाएको छैन ? हैन पुरुषहरुलाई घरपरिवार समाजले के सिकाइरहेको छ ?मुलुकमा अस्थिरता मच्चाउन चाहनेहरुले यस्तो किसिमको घट्ना घटाइरहेका त छैनन् ?केही २०८३ साल साउन १० गते रातीको सुनसरीको कप्तानगञ्जको घट्ना र तराइँका अधिकांश जिल्लाहरुमा फैलिएको आगजनी तोडफोड तथा दंगा पछि तत्कालै यो घट्ना भएको छ । यसमा कहीँ कतै कप्तानगञ्ज घटनासँग बालिका बलत्कार र हत्या पनि जोडिएको त छैन ?कुनै पनि स्वार्थ पूरा गर्न चाहनेहरु जो जुनस्तरको भए पनि अशान्ति फैलाउन चाहनेहरु वा समाज भाँड्न चाहनेहरु जो जो भएपनि यसको मारमा पर्ने भनेका आखिर महिला ,बालबालिका हुन् यो पनि अनुसन्धान हुनुपर्ने देखिन्छ ।
बालिका हराएको केही घण्टामा नै आमाले प्रहरीमा खबर गरेको बताउँदा पनि प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिएको देखिएको छ । घटना घटिसकेको अवस्थामा अर्थात गरिमाको शवबाट गन्ध आउन थालेको अवस्थामा मात्रै खोजी अगाडि बढाएको भन्ने खबर आएका छन् । यो खबर सत्य हो भने प्रहरीले अपराध हुनुभन्दा अगावै सचेतता अपनाउन चुकेको देखिन्छ । अपराध गर्छु भनेर अपराधीले सोचिसकेपछि जुनसुकै अवस्थामा घट्ना हुन सक्ने भन्ने आँकलन गर्न नसक्दा घटना हुने गर्दछन् । गरिमाको बलत्कार र हत्याको घट्नामा प्रहरीको लाहपरवाही देखिएको छ । लाहपरवाही किन हुन्छ त ? छोरी हराएको,कुटिएको पिटिएको वा बेचिएको घटना हाम्रो समाजमा घटना नै होइनजस्तो गर्ने प्रवृति छ । छोरीहरु रुनु,कराउनु वा आँसु बगाउनु सामान्य नै मानिन्छ । उनीहरुलाई जे गरेपनि हुन्छ भन्नेजस्तो व्यवहार समाजले गर्छ । परिवारमा छोरी होउन् या नहुन् तर छोरा चाहिँ जस्तोसुकै भए पनि हुनु नै पर्ने मानसिकताले जरा गाडेर बसेको छ । छोराहरु समाजका सर्वेसर्वा हुन् भनेर सिकाउने र त्यही अनुसारको व्यवहारले गर्दा समाजमा छोरीहरुको अवमूल्यन हुँदै आएको छ । यसले गर्दा छोरीहरुमाथि हिंसा, हत्या, बलत्कार,मार्ने जस्ता अपराध घटिरहेका छन् ।
छोरीहरुको सुरक्षाको विषय व्यक्ति, समाज, देश ,संघ, संगठनले विशेष ध्यान दिनु पर्ने विषय हो । जहाँ छोरीहरुको सुरक्षा हुन सक्दैन त्यो समाज सभ्य समाज होइन । छोरीहरुको भ्रुणदेखि नै सुरक्षा हुन नसकेमा आमा कहाँ पाउने? बुहारी,श्रीमती कहाँ पाउने ? आमा नै नभएपछि मानव अस्तित्व कहाँ जान्छ ? आमा ,बुहारी, श्रीमतीको रुपमा मात्रै छोरी जातिलाई बुझ्दा हिंसा बढेको छ । महिला आमा हुन नसकेमा उनीमाथि हिंसा हुनु ठीक हो भनेको होइन,बुहारी,श्रीमती हुन नसकेमा पनि उनीहरु सुरक्षित हुन पाउनु पर्छ । उनीहरुले यो संसारमा बाँच्न पाउनु पर्छ । महिलाहरुले पुरुष समान अधिकार पाउनु पर्छ । महिलाको मानवअधिकारको सुरक्षा हुनु पर्छ ।
तर त्यो अधिकार किन पाउन सकिरहेका छैनन् त यो विषयमा गम्भीर अध्ययन हुनु जरुरी छ । महिला भएकै कारण पछि पारिनु, असमानता भोग्नु पर्ने, छोराहरुको मूल्यलाई उच्च मूल्याङकन गर्ने तथा छोरीलाई दोस्रो दर्जा प्रदान गर्ने,छोरीलाई अंशीय तथा वंशीय अधिकार नदिने । सबै कुराहरुबाट वञ्चित गर्ने हेला होचो गर्ने गर्दा गर्दै छोरीहरु अबला, अशक्त, अनागरिकको रुपमा व्यवहार गरिँदा गरिँदै छोरीहरुप्रति नै नराम्रो दृष्टिकोण बन्दै गयो । त्यही दृष्टिकोणको शिकार भ्रुणदेखि नै महिलाजाति हुँदै आएका छन् बलत्कार, हत्या पनि त्यसको नै उच्च रुप हो । गरिमा बलत्कार पछिको हत्या पनि त्यही नै हो । छोरी भएर जन्मिएकै कारण बलत्कार र हत्या भइ बाँच्न सम्म नदिने कुरा छोरीजातिकोलागि अति नै दुःखदायी कुरा हो । जो यसको शिकार भए उनीहरु त दुष्टहरुको हात र व्यवहारबाट मारिए जो बाँचिरहेका छोरीहरु छन् उनीहरुलाई डर त्रासले सँधै मरिरहने बनाएको हुन्छ । छोरी भएकै कारण बाँच्न नपाएपछि यो संसारमा के नै बाँकी रह्यो र?
गरिमा हत्याको घटनापछि समाजमा छोरीमाथिको अपराधमा कुनै कमी आएको छैन भन्ने थप प्रष्ट भएको छ । छोरीहरुको सुरक्षामा सबैको गम्भीर ध्यान जानु पर्नेछ भन्ने देखिएको छ । छोरीजातिको सुरक्षाकोलागि घरबाटै छोराहरुमा राम्रो शिक्षादिक्षाको खाँचो छ । बालकहरुलाई शिक्षा दिनकोलागि घर परिवार,समाज तथा देशले गम्भीरता देखाउनु पर्छ । समाजमा पछिल्लो समयमा सामाजिक संजाल, सूचनाप्रविधिको पहुँचको कारण सबैले सबै कुराको पहुँच पाइरहेका छन् । त्यहाँ आउने राम्रा तथा नराम्रा कुराहरुको पहुँचमा बालबालिकाहरु सबै नै पुगिरका छन् । यसबाट बालबालिकाहरुले के राम्रो कुरा के नराम्रो कुरा सिकिरहेका छन् भन्ने थाहा पाउन निकै नै गाह्रो छ । सामाजिक संजाल सहित सूचनाप्रविधको कारण आउने जेजस्ता सकरात्मक नकरात्मक कुराहरुले अहिले समाजलाई निकै लठ्याएको छ । यसले अपराध कर्मलाई बढवा दिइरहेको छ । यसलाई निगरानी तथा नियमन हुनुपर्दछ । मानिस कति समयसम्म डिजिटल स्क्रिनमा बस्ने भन्ने विषयमा प्रशिक्षणको खाँचो छ ।
छोरीहरुलाई तल्लो बनाउने पुरानो मूल्य मान्यताहरुमा परिवर्तनको खाँचो छ । पुरानो मूल्य मान्यताहरुलाई सुधार गर्नुपर्छ । छोराले नै मर्दा दागबत्ती दिने चलनको अन्त्य हुनुुपर्छ । अन्धविश्वासी कुराहरुलाई वैज्ञानिक ढंगले चिरफार गर्नु पर्छ । जे जे सही छन् तिनीहरुलाई ग्रहण गर्ने तथा नचाहिने कुरालाई त्याग्ने गर्नु पर्छ ।
महिलाहरुलाई अंशीय तथा वंशीय अधिकार हुनुपर्छ । महिलाहरुलाई क्षमतावान बनाउनु पर्छ । क्षमतावान बनाउन राज्यले नै हरेक स्थानमा सुविधा दिनु प¥यो । विगतमा छोराले नै बुढेसकालमा बा आमा हुर्नुपर्छ भन्ने धारणामा अहिले केही परिवर्तन आएको छ । छोरीहरुले पनि कमाउने भएका छन् पैसा ल्याउने , स्वदेश तथा विदेशमा रोजगारी गर्ने श्रमको मूल्य पाउने हुँदा उनीहरु आर्थिक रुपमा सबल हुन पुगेका छन् । जसको कारण छोराहरु भन्दा केही कमी नदेखिएपछि छोरीहरुले पनि सबै गर्न सक्छन् भन्ने विकास हुँदैगएको छ । छोरीहरु पनि बुढेकालको सहारा बन्न सक्छन् भन्ने धारणाको क्रमशः विकास हुँदै गएको छ । तर पनि मरेपछि स्वर्ग नर्कको डरमा छोरा नै चाहिने भन्ने मानसिकतामा परिवर्तन हुन अझै धेरै मिहेनत गर्नु पर्ने भएको छ ।
छोरीहरुको सुरक्षालाई प्राथमिकतामा राखेर पाठ्यक्रमहरुमा समावेश गर्नु पर्छ । छोराहरुलाई नैतिक शिक्षा दिनु पर्छ । यौन कौतुहलतालाई मेटाउने शिक्षाको आवश्यकता छ । यौनको विषय निकै नै गम्भीर विषय हो । यो विषयमा सानै उमेरदेखि शिक्षाको खाँचो छ । कोही जबरजस्ती किन गर्छ ? कोही बालिकाहरुमाथि किन बलत्कार गर्छ ? यो मनोविज्ञानलाई राम्रोसँग केलाएर त्यसको नकरात्मक असरको गम्भीर अध्ययन गरी सो नगर्न शिक्षा दिनु पर्छ ।
अहिले समाजमा राजनीतिक तथा सांगठनिक प्रशिक्षण गर्ने, संगठनको माध्यमबाट शिक्षा दिने कुराहरु ओझेलमा पर्दै गएका छन् । समाजको आमूल परिवर्तन तथा समाज सुधारमा विश्वास गर्ने राजनीतिक संघ संगठनहरुको सक्रियतामा कमी आएको छ । निषेधको राजनीतिक संस्कारको विकास गर्न खोजिँदैछ । यो अवस्थामा समाज सुधारको विषयमा कुरा गर्ने र त्यो मान्यतालाई स्थापित गर्ने कुरालाई सम्पूर्ण रुपमा वेवास्ता गर्न खोजिँदैछ । पुराना जानेबुझेका मान्छेहरुलाई अनेक लान्छना लगाएर पन्छाउन खोजिँदैछ । यसले समाजलाई अराजकतातर्फ लैजाँदैछ । यसको शिकार छोरी चेलीहरु हुने देखिन्छ । समाजमा लागूऔषधको कारोबार तथा लागूऔषध प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दैछ । यसले महिलाहरुको सुरक्षा चुनौती थपेको छ । जंगल, खोला किनार कहीँ कतै पनि लागूऔषधमा लठ्ठिएका युवाहरु भेटिने पो हुन् कि ? लागूऔषधको नसामा लठ्ठिएको तालमा जुनसुकै कदम चालेर छोरीहरुको जिउ ज्यान जाने पो हो कि भन्ने चिन्ता थपिएको छ ।
महिलाहरु सूचनाप्रविधिको प्रयोग हुँदा महिलाहरुमाथि साइबर अपराध बढिरहेका छन् । सामाजिक संजालको प्रयोग सूचना प्रविधिको प्रयोगबाट छोरीहरुमाथि हत्या, हिंसा,बेचबिखन बढिरहेको छ । महिलाहरुकोलागि नत पुरानो समाज सुरक्षित रह्यो नत सूचनाप्रविधिको युग नै सुरक्षित देखियो । यो अवस्थामा महिलाहरुको सुरक्षाकोलागि छोरीहरुको सुरक्षाकोलागि सबैको अत्यन्त ठूलो पहल,प्रयास तथा सतर्कताको आवश्यकता छ । जसले छोरीहरुलाई आफु सुरक्षित छु है भन्ने महसुस होस । गरिमाको परिवारले न्याय पाउन् । गरिमाको जस्तै अवस्था अरु छोरीहरुको कहिल्यै नहोस् । छोरीहरुको जीवन सुरक्षित होस् । बर्बर मानसिकताको तत्काल अन्त्य होस् । महिलाहरुलाई हेर्ने दृष्टिकोणमा सबैको परिवर्तन आओस् ।
२०८३ भदौ ९ गते काठमाण्डौ

