– नरेन्द्रबहादुर थापा
आज २०८३ साल भाद्र ११ गते शाहीद शोभाखर धनन्जय (भुसाल )कमरेड सरोज शर्माको ४१औँ स्मृति दिवस हो । यस अवसरमा सर्वप्रथम श्रद्धेय शहीद कामरेड सरोज शर्माप्रति श्रद्धा सुमन अर्पण गर्दछु ।शहीद शोभाखर धनञ्जय (भुसाल) कमरेड सरोज शर्मा होनहार क्रान्तिमा प्रखर योगदानका प्रस्तुतकर्ता, जनपक्षीय पत्रकारिता र क्रान्तिकारी आन्दोलनमा सहादत प्राप्त गर्ने एक वीर युवा शाहीद हुन्।
कमरेड सरोज शर्माको जन्म विक्रम सम्वत २००१ साल असार ५ गते अर्घाखाँची जिल्लाको साविक किमुडाँडा गा।वि।स। वडा नम्बर ( ९ ९हाल सन्धिखर्क नगरपालिका–वडा नम्बर २,कुर भन्ने गाउँमा बुवा तिलकराम भुसाल र आमा हरिकला भुसालको कोखबाट दोश्रो सन्तानको रूपमा भएको थियो। उहाँहरु ३ दाजुभाइ र ५ दिदीबहिनीहरु हुनुहुन्थ्यो । उहाँकी एक बहिनी सक्रिय राजनीतिक कार्यकर्ता कमरेड यमुना भुसाल हुनुहुन्थ्यो । यद्यपि उहाँको केही वर्ष अँघि नै मृत्यु भइसकेको छ।
कमरेड सरोज शर्माको विवाह साबिक ढाकावाङ गा।वि।स।मा मोतीलाल खनालकी छोरी शान्ता खनालसँग भएको थियोे । उहाँका सन्तानमा दुई छोरीहरू, जेठी इन्दिरा र कान्छी सिर्जना भुसाल मात्र रहेका छन् । एक छोराको मृत्यु भइसकेको पारिवारिक श्रोतद्वारा बताइएको छ । यही नै उहाँको पारिवारिक विवरण हो ।
कामरेड सरोज शर्मा विक्रम सम्वत् २०४० सालमा ूहाँक साप्ताहिकू को संस्थापक प्रधान सम्पादक तथा प्रकाशक बन्नुभएको थियो। जुन पत्रिका अहिले पनि ूकू श्रेणीको स्तरमा निरन्तर सञ्चालनमा रहेको छ। शैक्षिक योग्यतामा उहाँले भारतको वाराणसीबाट स्नातक तह ९शास्त्री ० को परीक्षा उतीर्ण गरेको कुरा उहाँको पारिवारिक श्रोतले जनाएको छ । उहाँ शिक्षण पेशामा पनि संलग्न भएर सिन्धुपाल्चोकको एक विद्यालयमा अध्यापन गर्नुभएको थियो। त्यति बेला हामी शनिबार वा कुनै पनि बिदाको दिन प्रायः काठमाडौंमा भेटहुने पनि गर्दथ्यौँ । त्यतिबेला मैले त्रिभुवन विश्व विद्यालयको केन्द्रीय क्याम्पस किर्तिपुरमा अध्ययन बिदामा अध्यय गर्दै गरेको थिएँ ।
यो भन्दा पहिले कमरेड भुसालले नेपाली कांग्रेस पार्टीको राजनीतिलाई समर्थन गर्नुहुन्थ्यो । त्यतिबेला उहाँले तत्कालीन सरकारको निजामती सेवामा लोकसेवाको ढोकाबाट खरदारको जागिरमा प्रवेश गर्नुभएको थियोे । यद्यपि उहाँले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवामा चासो राख्ने र जनताको सेवामा चाहना राख्ने स्वभावले गर्दा नेपाली कांग्रेस पार्टीको समर्थन सहित खरदारको जागीर छाडेर रामराजा प्रसाद सिंहको राजनीतिक पार्टीमा प्रवेश गर्नुभएको थियो । त्यसपछि माओत्सेतुङका कम्युनिस्ट राजनीतिक किताब पढेपछि उहाँले नयाँ जनवादी क्रान्तिको बाटो हुँदै समाजवाद र साम्यवादमा पुग्ने प्रेरणा प्राप्त गर्नुभयो र तत्कालीन नेकपा ९मसाल ०मा प्रवेश गर्नुभएको थियो ।
कमरेड शोभाखर धनञ्जय तत्कालीन नेकपा (मसाल) को नेता हुनुहुन्थ्यो र क्रान्तिकारी विचारको उच्चतम स्तरमा सक्रिय भूमिका निभाउनु भएको थियो। उहाँ अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कार्यालय इन्चार्ज , सक्रिय संगठक , ‘नेपाली एकता माषिक’का सहसम्पादक , लेखक समेत रहनुभएको तत्कालीन नेपाली एकतामा उल्लेख भएको अभिलेख पाइएको छ ।
कामरेड शोभाखर धनन्जय २०४२ सालमा रामराजा प्रसाद सिंहले गरेको बम काण्डपछि भुमिगत रहनु भएको थियो । त्यही अवस्थामा उहाँलाई पार्टीले भारतमा काममा खटाएको थियोे र सोही आधारमा भारतमा काम गर्दै आउनुभएको थियोे ।
विक्रम सम्वत् २०४३ भाद्र ११ गते ( तदनुसार २७ अगस्ट १९८६ का दिन उहाँलाई भारतको नयाँ दिल्ली स्थित बेलारोडमा रहस्यमय ढंगले हत्या गरिएको थियो। त्यो दिन कामरेड सरोज शर्माले तिजको मेलाको अवसरमा ‘नेपाली एकता’पत्रिका वितरण गर्नुका साथै संगठन सम्बन्धि कार्य गरेर फर्किरहेको अवस्थामा उहाँको हत्या भएको थियो र उहाँले शहादत प्राप्त गर्नुभएको थियो ।
जनमुक्ति आन्दोलनमा संलग्न उहाँलाई तत्कालीन पञ्चायती तानाशाही सत्ताका गुण्डाहरुको साँठगाँठमा सुनियोजित योजनाबद्ध तरिकाले निर्मम हत्या गरिएको थियो।
शाहीद कामरेड सरोज शर्माको जीवनशैली , व्यक्तित्व र संघर्षको छाप जनगायक जीवन शर्माले ूपातलो एउटा शरीरू भन्ने गीतमा उजागर गरेर उहाँलाई अमर तुल्याएका छन् ।
सरोज शर्माले सहादत प्राप्त गरेको आज ४० वर्ष बितिसकेको छ र ४१ वर्षमा प्रवेश गरेको छ। विश्वको क्यालेन्डर सहित नेपाली नेपाली पात्रोका पानाहरू पनि फेरिए, पुस्ताहरू फेरिए, राजनीतिक परिस्थितिहरू फेरिए। समयले धेरै कुरा बिर्साउँदै लग्यो। तर केही स्मृतिहरू यस्ता हुन्छन्, जसलाई समयले मेट्न सक्दैन। सहिद सरोजको स्मृति त्यस्तै अमिट स्मृति हो।
४१ वर्षअघि एउटा युवाको जीवन समाप्त भयो, तर उनको एउटा सपना समाप्त भएन। एउटा शरीर ढल्यो, तर एउटा विचार जीवित रह्यो। इतिहासको कुनै कालखण्डमा युवावस्थामै आफ्नो जीवन राष्ट्र, जनता र परिवर्तनको आकांक्षाका लागि समर्पण गर्नेहरू केवल परिवारका सदस्य वा कुनै संगठनका कार्यकर्ता मात्र रहँदैनन्—उनीहरू कालान्तरमा समाजको साझा स्मृतिका पात्र बन्छन्।
सहिद सरोज शर्मालाई सम्झनु केवल विगतलाई सम्झनु होइन। उहाँ किन शहीद हुनुभयो ?उहाँले कस्तो समाजको सपना देख्नुभएको थियो?उहाँको बलिदानले खोजेको परिवर्तन कहाँ पुग्योरु र आजको पुस्ताले उहाँको सपनाबाट के सिक्नुपर्ने हो? यी प्रश्नहरू हरेक स्मृति दिवसमा अझ गम्भीर भएर हाम्रो अगाडि उभिन्छन्।
आज ४१औँ शहीद सरोज स्मृति दिवस मनाइरहँदा उहाँको तस्वीरमा माल्यार्पण गर्नु र केही औपचारिक शब्द बोल्नु मात्र पर्याप्त हुँदैन। शहीदको वास्तविक सम्मान उहाँले देखेको सपनाको अर्थ बुझ्नु र त्यसलाई वर्तमानको यथार्थसँग जोडेर हेर्नु हो।
समयले शहीदको शरीर खोस्न त खोस्यो , तर उहाँको बलिदानको अर्थ खोस्न सक्दैन। त्यसैले ४१ वर्षपछि पनि सरोजलाई सम्झनुको अर्थ एउटै छ—उहाँको बलिदानले बोकेको सपना अझै हाम्रो सामु एउटा प्रश्न बनेर उभिएको छ।त्यही प्रश्नको उत्तर खोज्नु नै आजको पुस्ताको जिम्मेवारी हो।
आज हामीले यहाँ शहीद सरोज शर्माको ४१औं स्मृति दिवस मनाइरहँदा वीर शहीद कमरेड सरोज शर्माले अवलम्बन गरेको सिद्धान्त , बाटो , नीति ,कार्यक्रम , कार्यदिशा तथा सांगठनिक गतिविधि र अनुशासनमा कति इमानदारी पूर्वक लागिएको छ भन्ने कुराले मात्र हामीले चाहेको सामाज परिवर्तन हुने कुरा निश्चित हुनेछ । त्यसैले हामी सबैले शहीद शोभाखर धनन्जयको सपना साकार पार्न कर्तब्यनिष्ट भएर दाइत्व बहन गर्नु पर्ने भएको छ । यस विषयमा हामी सबै गम्भीर र अनुशासित बन्नै पर्दछ । अन्त्यमा शहीद सरोज शर्मा कामरेड शोभाखर धनन्जय प्रति पुनः श्रद्धा सुमन अर्पण गर्दै सम्मान ब्यक्त गर्न चाहन्छु ।
मितिः २०८३ भदौ ११ गते

