अम्बिका चन्द ‘सुदृष्टि’
जन्म र मृत्युको समयात्रामा आफ्नो जीवनलाई जसले महान् उद्देश्यसँग जोड्न सक्छन्, उनीहरू भौतिक मृत्युपछि पनि अर्थपूर्ण रूपले बाँचिरहेका हुन्छन् । उनीहरूको भौतिक जीवनको कर्म समयको स्मृतिमा बाँच्छ । त्यो समाजका लागि अमर योगदानका रूपमा दर्ता हुन्छ । जो आफ्नो निजी जीवनका खुसीहरू एवम् आफ्ना निजी सपनाको परिधिभन्दा अघि बढेर सामूहिक जीवनका लागि बाँचेका हुन्छन्, मृत्युपछि पनि ती अमर बन्छन् । मर्नु भौतिक जीवन समाप्त हुनु होइन, विचार र आशा समाप्त हुनु हो । मरेर पनि बाँचिरहेकाहरूलाई समाजले सम्झन्छ । सम्झने मात्रै होइन, उनीहरूको पथ अनुसरण गर्दछ । भौतिक शरीर खरानी बन्छ, आवाज मौन हुन्छ तर त्यसपछि नयाँ जीवनको आरम्भ हुन्छ । यहाँ त्यस्तै एक अमर योद्धा कमरेड दीपकबहादुर केसी अर्थात् मानसिंहका बारेमा सङ्क्षिप्त चर्चा र स्मरण गरिनेछ ।
पहाडी जिल्ला प्युठान, जनयुद्धको प्रभावी जिल्ला, मोहनविक्रम, मोहन वैद्यजस्ता कम्युनिस्ट आन्दोलनका होनहार प्रभावशाली नेताहरू जन्माउने जिल्लाको साबिक मरन्ठाना गाविस वडा नम्बर ४ मा १९९८ साल साउन २४ गते पिता डोरबहादुर केसी र आमा गोपनकुमारी केसीबाट दीपकबहादुर केसीको जन्म भएको थियो ।
मध्यम वर्गीय परिवारमा जन्मनुभएका केसी १६ वर्षको उमेरमा गाउँकै जनता माध्यमिक विद्यालय बाग्दुलामा कक्षा ७ मा भर्ना हुनुभयो र २०२१ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । पछि भारतको वनारसबाट स्नातकसम्मको अध्ययन गर्नुभयो । २०३३ सालमा स्थानीय भवानी बस्नेतसँग विवाह गर्नुभयो । केसीदम्पतीका ५ छोरी र २ छोराबाट १५ नातिनातिना भए । उहाँले रोल्पाको थबाङ, प्युठानको बाग्दुला, मरन्ठानालगायत विद्यालयमा २५ वर्ष अध्यापनमा समय बिताउनुभयो । विद्यालयमा अध्ययन गर्दा होस् वा अध्यापन गर्दा आफ्नो सम्पूर्ण जीवन देश, जनता र आन्दोलनमा समर्पण गर्नुभयो ।
त्यतिबेलाको समय आजको जस्तो थिएन । अवसरहरू सीमित थिए । शिक्षा दुर्लभ थियो जसले गर्दा दीपक केसीजस्ता व्यक्तिहरू १६ वर्षको उमेरमा विद्यालय भर्ना हुनुपथ्र्यो । सामाजिक चेतनाको क्षितिज साँघुरो थियो । ग्रामीण जीवन सामन्तवादको कुहिरोभित्र रुमल्लिएको थियो । बीएसम्मको अध्ययन पूरा गर्दा उहाँले शैक्षिक योग्यता मात्र हासिल गर्नुभएको थिएन, जीवनलाई हेर्ने दृष्टिकोण निर्माण गर्न अध्ययनको संसारलाई विश्वविद्यालयको पाठ्क्रमकाबाट फराकिलो बनाउनुभएको थियो । औपचारिक डिग्री प्राप्त गरेपछि दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास र समाजको गहिरो अध्ययन थाल्नुभयो जसको कारण उहाँलाई समाज र राजनीतिलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्ने बनायो । तत्कालीन समयमा निरङ्कुश पञ्चायती व्यवस्थाको क्रूरताका कारण आमूल परिवर्तनको चाहनाले लालायित भएका दीपकको चेतनामा जनताको दुःख, अभाव र सङ्घर्षले पक्कै पनि क्रान्तिकारी जागरण पैदा भएको हुनुपर्दछ ।
आन्दोलनभित्र जिम्मेवारी बहन गर्ने क्रममा उहाँ तत्कालिन नेकपा(माओवादी) एरिया तहको जिम्मेवारीबाट जिल्ला हुँदै क्षेत्रीय ब्युरो र केन्द्रीय सदस्यसम्म पुग्नुभयो । भुइँ तहबाट नै केन्द्रीय तहमा पुग्नुभएका दीपकमा जति जिम्मेवारी बढ्दै गयो उति नै उहाँभित्रको सरलता र प्रतिबद्धता बढेर गयो । पार्टी सङ्गठनमा माथिल्लो जिम्मेवारी प्राप्त गर्नु उहाँका लागि व्यक्तिगत गौरवको विषयभन्दा देश, जनता र आन्दोलनप्रतिको थप उत्तरदायित्वको विषय बन्यो ।
२०५२ सालदेखि २०६२ सम्म सञ्चालित जनयुद्ध विश्व कम्युनिस्ट आन्दोलनमै एउटा ऐतिहासिक परिघटना थियो । त्यो हजारौँ मानिसको जीवनले तिरेको मूल्यको गौरवशाली इतिहास थियो । मानसिंह त्यही इतिहासका एक साक्षीका रूपमा मात्र नभई एक जुझारु योद्धाका रूपमा महान् वर्गसङ्घर्षमा लामबद्ध हुनुभयो । उहाँको जीवनबाट नयाँ पुस्ताले ग्रहण गर्ने कुरा हो– जब मानिस विचारसहितको एउटा आस्थाले पे्ररित हुन्छ, उसले जीवनका कठिन घडीहरूमा सतिसालझैँ आफूलाई टिकाउँछ, अँध्यारा रातहरूमा पनि भोलिको बिहान देख्छ, मेरो भन्नेबाट हाम्रो बनाउँछ र त्यही आस्थाले हरेकको स्मृतिमा जीवित रहन सक्दछ । मानिसको जीवनको वास्तविक मूल्य ऊ कति वर्ष बाँचेको थियो भन्नेमा मात्र सीमित हुँदैन, बरु उसले बाँचेको समयमा कति अर्थपूर्ण काम ग¥यो भन्नेमा हुन्छ । दीपकले ज्ञानको दीप बाल्नुभयो, सामूहिक चेतनाको निर्माण गर्नुभयो, परिवर्तनको आन्दोलनमा सपरिवार आफूलाई समर्पित गर्नुभयो ।

मानिससँग इच्छाशक्ति भयो भने आफ्नो सम्पूर्ण जीवन कसरी सङ्घर्षको बाटोमा अर्पण गर्न सक्दोरहेछ भन्ने एउटा जीवन्त आख्यान दीपक केसी अर्थात् मानसिंहको जीवन हो । जनयुद्धको समयमा उहाँसँग मेरो धेरैपटक सहकार्य भयो । काँधमा गम्छा हालेर हिँड्ने उहाँको बानी थियो । आज उहाँलाई सम्झँदा आँखाअघि त्यही गम्छा भिरेर हिँड्ने कमरेड मानसिंहको सम्झना आउँछ । आज पनि उहाँ रोल्पा, रुकुम र सल्यानका गाउँहरूमा हिँडिरहनुभएको होलाजस्तो लाग्छ । मानसिंहको दुःखद् निधन २०८३ साल साउन २४ मा भयो । भदौ ५ गते हामी प्युठानस्थित मरन्ठानामा रहेको बूढो घरमा उहाँको स्मरण गर्न पुग्यौँ । १३ दिनको परम्परागत काम सकिने दिन सबैखाले मानिस जम्मा भएका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा (नाताले दीपकका सम्धी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता क. सुदर्शनसहित प्युठानस्थित विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरू कार्यक्रममा सहभागी थिए । मृत्युपर्यन्त क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सल्लाहकार रहनुभएका मानसिंहको श्रद्धाञ्जलीसभामा पुगेपछि थाहा भयो–उहाँको परिवारले भने पुरानो संस्कारलाई निरन्तरता दिएको रहेछ । काजकिरिया गर्ने परम्पराअनुसार विधिविधान सकेपछि औपचारिकताका लागि अन्तिममा सानो श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । मानसिंह क्रान्तिकारी कम्युनिस्ट पार्टीका सल्लाहकार हुनुको नाताले मैले उक्त पार्टीको त्यहाँको ब्युरो र स्थानीय पार्टी समितिसँग कुरा गर्दा परिवारका एक हर्ताकर्ता सदस्य मानसिंहका ज्वाइँ विश्वबन्धु थापाले परिवारका सदस्यको आयोजना भनेर पार्टीलाई आयोजक बन्न दिएनछन् । परिवारको आयोजनामा भन्दै उनी औपचारिक कार्यक्रमको सञ्चालक बनेर मनलाग्दी गरेको गुनासो सहभागीहरूबीच गाइँगुइँ सुनियो । कार्यक्रममा सहभागी कतिपय मानिस मानसिंहको अपमान गरेको भनेर दुखित बनेको भान भयो । यो देखेर मलाई लाग्यो–दीपक सरको योगदानको सच्चा सम्मान भएन । आफ्नो जीवनसँगिनीको मृत्युमा परम्परागत संस्कार नगर्नुभएका दीपकको मृत्युमा भने अन्याय गरियो । नेपाली कम्युनिस्ट आन्दोलनमा भएको प्रतिक्रान्तिसँगै सांस्कृतिक प्रतिक्रान्तिको प्रभाव अनुभूति भयो । जसले जीवनभर जुन व्यवस्थाभित्रको संस्कारका विरुद्ध लड्नुभयो, मृत्युसंस्कारमा त्यसकै सिकार हुनुभयो !
दीपकलाई सम्झने कार्यक्रमका वक्ताहरूले उहाँका बारेमा विभिन्न कोणले चर्चा गरे । उहाँका योगदानहरूलाई सम्झिए । महरा सरले नाताले सम्धी र सहपाठी दीपकको मृत्युपछि आफूले उक्त परिवारको अभिभावकत्व ग्रहण गर्ने घोषणा गर्नुभयो भने सुदर्शनले दीपक सरको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँले नेपालमा नामधारी अरू ठूला पार्टी भए पनि संसद्वादी पार्टीमा नलागेर क्रान्तिकारीहरू खोज्दै हिँडेको र जीवनको अन्तिम क्षणसम्म क्रान्तिकारी बनेरै मृत्युवरण गरेकोमा सम्मान व्यक्त गर्नुभयो । सहयोद्धा र दीपक सरका प्रिय साथी प्युठानी नेता धनेश्वर पोख्रेल ‘शिशिर’ ले आफ्नो सहपाठी गुमाएकोमा भावुक हँुदै दीपक सरको जीवनीसहित उहाँको योगदानको चर्चा गर्नुभयो । सबै पार्टीका प्रतिनिधि, शिक्षक र बुद्धिजीवीहरूले दीपक सरको योगदानको चर्चा गरे । इतिहासको सुन्दरता नै यही हो ।
मानिसको सबै योगदान अभिलेखमा नरहन पनि सक्ला तर ती जीवितहरू व्यवहारमा बाँच्छन् । कतिपय स्मृतिमा, कतिपय संस्कारमा, कतिपय विचारमा र कतिपय मौन श्रद्धामा । कमरेड मानसिंहको जीवन पनि त्यही मौन श्रद्धाको एउटा उज्यालो अध्याय बनिरहेको थियो । उहाँको भौतिक शरीर अस्ताएपछि उहाँलाई सम्झनु भनेको केवल विगत सम्झनु होइन, त्यसलाई वर्तमानमा अनुसरण गर्नु हो । उहाँको सपनाको रक्षा गर्नु हो । उहाँलाई सम्झनु भनेको उहाँको तस्बिरमा फूल चढाउनु मात्र होइन, उहाँले जीवनभर बोकेको निष्ठालाई, कठिन समयमा पनि जोगाएकोे विश्वास र महान् उद्देश्यसँग जोडिएको कर्मलाई सम्झने हो । दीपक सरको योगदानलाई सम्मान छ । उहाँको आस्थालाई सलाम छ । उहाँले छोडेर गएको बाटोमा निरन्तर यात्राको प्रतिबद्धतासहित हार्दिक श्रद्धाञ्जली !
२०८३ भदौ
Comments

