फोहोर व्यवस्थापनका लागि सबै गम्भीर बनौं

देशमा दिनदिनै फोहोर व्यवस्थापनको चुनौती बढ्दो छ । बढ्दो अव्यवस्थित शहरीकरण, बाहिरी वस्तुको अत्यधिक प्रयोग गल्ने, कुहिने वस्तुहरूको प्रयोग भन्दा पनि वर्षौंसम्म पनि नकुहिने खालका सामाग्रीहरूको प्रयोग आफ्नै उत्पादनमा भन्दा पनि औद्योगिक र आयातित उत्पादनमा भर पर्ने प्रवृत्ति, एकचोटी प्रयोग भइसकेका पुनः प्रयोग गर्न मिल्ने सामानहरूको पुनः प्रयोग नगरिकन फाल्ने, बेवास्ता गर्ने प्रवृत्ति, गालेर, ढालेर, पगालेर पुनः नयाँ सामग्री बनाउने उद्योग वा कारखानाको अभाव, नीति निर्माताहरूको फोहोरबाट पुनः प्रयोग गर्न मिल्ने खालका वस्तु बनाउनुपर्ने भन्ने धारणाको अभाव, काँच, सिसा, प्लाष्टिक जस्ता नकुहिने बसड्ने वस्तुहरूको अत्यधिक उत्पादन र प्रयोग सड्ने, नसड्ने फोहोरको एकै ठाउँमा मिसावट,सड्ने नसड्ने फोहोरलाई छुट्टाछुट्टै जम्मा नगर्ने बानी, फोहोरलाई जथाभावी रुपमा फालिदिएर उम्कने र सफा भएको ठान्ने प्रवृत्ति, फोहोरलाई सडाउने निश्चित क्षेत्र, विधि र पद्धतिको अभाव फोहोरलाई नचिन्ने प्रवृत्तिका कारण फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेको छ ।

प्रकृति आफैमा निकै सुन्दर छ । यस सुन्दर प्रकृतिमा मानवीय गतिविधिल निकै प्रदुषित बनाइरहेको छ । मानवीय गतिविधिका कारण सिंगो धर्तीको माटो, हावापानी, जीवजन्तु मानव जीवन सबैमा नकारात्मक असर गरिरहेको छ । यस धर्तीमा सबैको स्वतन्त्र अस्तित्व र आवश्यकता दुवै छ । तर मानवीय गतिविधिले मान्छेका आनीबानीका कारण फोहोर जताततै बढिरहेका छन् । माटोलाई वातावरण दीर्घकालीन असर पार्दछ । फोहोर बढ्दा मानिसदेखि सारा जीवतन्तुको स्वास्थ्यमा असर पर्दछ । मानिसलाई अनेक खाले सरुवा रोगहरू लाग्न सक्दछ । फोहोरले वातावरण प्रदुषित भई जनताको स्वास्थ्यमा निकै असर पर्दछ ।

बढ्दो शहरीकरणका कारण मान्छेको चाँपले गर्दा फोहोर बढिरहेको छ कोठाभित्र, घरभित्रबाट एकै फ्ल्याट एकै डेराबाट दिनहुँ कैयौं किलो फोहोर निस्किइरहेको हुन्छ । तर त्यसलाई व्यवस्थापनको परम्परागत विधि कुहिनेलाई कुहाउने स्थान अभाव छ, स्थान भएपनि त्यस प्रति वेवास्ता गर्ने प्रवृत्ति छ । भने नकुहिने खालका फोहोरलाई व्यवस्थापनमा कसैको पनि ध्यान पुगेको छैन । यसले फोहोर थुप्रिन केही बेर लागिरहेको छैन । देशका ठूला शहरहरूले फोहोर थेग्न निकै गाह्रो भैरहेको छ । देशको राजधानी मै यहाँका नागरिकले वर्षौंदेखि फोहोरको समस्या झेलिरहेका छन् । खाली ठाउँ, खोला, नाला, जतासुकै फोहोरका थुप्रा र पोकाहरू देखिन्छन् । केही दिन, फोहोर उठाउन नआएमा चोक, गल्ली, सडक जतासुकै फोहोर भरिइहाल्छ ।

फोहोर संकलन गर्न नआएको समयमा महिनौंसम्म पनि घरबाट निस्केको फोहोर कोठामै, घरमै कुहिएर बसेको विगत छ । कोठामै फोहोर महिनासम्म पनि कुहिँदा कोठा, घर कति स्वस्थ बन्छ होला ? पक्कै पनि बन्दैन । हरेक शहरको समस्या फोहोर बनेको छ । भर्खरै काठमाडौं महानगर पालिकाले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रबाट निस्कने फोहोर, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास सित्तल निवासको फोहोरको फोहोर संकलन रोक्का गर्दा फोहोरको विषय सर्वोच्च अदालतसम्म पुग्यो । झट्ट हेर्दा यो विषय सामान्य जस्तो देखिए पनि फोहोरको विषय कति गम्भीर छ भन्ने यसबाट बुझ्न गाह्रो पर्दैन । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाको नाममा फोहोर संकलन गर्नका लागि अन्तरिम आदेश दिनुप¥यो । फोहोर नउठ्नु जनताको स्वास्थ्य र जीवनमा प्रत्यक्ष असर गर्ने भएकाले तत्काल फोहोर उठाउन आदेश भयो । यसपछि महानगरले फोहोर संकलन गर्न थाल्यो ।

सिंहदरबार, प्रधानमन्त्री निवास, बालुवाटार, सित्तल निवास जस्ता राष्ट्र प्रमुख सरकार प्रमुख रहने स्थानबाट फोहोर नउठनु सबैको चिन्ताको विषय बन्यो । १५ दिन पछि मात्रै काठमाडौं महानगरले फोहोर संकलन गरेको छ । तर जनता भने पटकपटक फोहोर नउठ्ने समस्याले पीडित छन् । महानगरको फोहोर संकलन रोक्काको यस घटनाले फोहोरको विषय निकै पेचिलो बनेको बुझ्न गाहे पर्दैन । फोहोरको कुरा एउटाको जिम्मा लगाइ दिएर पन्छिने प्रवृत्ति कायम छ तर फोहोर व्यवस्थापनको विषय त्यतिले मात्र सम्भव छैन ।

सफा र स्वस्थ वातावरणमा बाँच्न पाउनु नागरिकको अधिकार हो । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको वातावरण बहुत संवदेनशील विषय हो । यसका लागि सबै जना संवेदनशील बन्नु पर्दछ । फोहोर व्यवस्थापन एकल प्रयासले मात्र सम्भव हुँदैन त्यसका लागि, सबैले फोहोर उत्पादनमा सकभर कटौती गर्ने, पुनः प्रयोग गर्न मिल्ने सामानहरूको सकभर पुनः प्रयोग गर्ने, पुनः उत्पादन गर्न मिल्ने पुराना सामानहरूको पुनः उत्पादनमा जोड दिने, कुहिने र नकुहिने फोहोर छुट्याउने गर्नुपर्दछ । उद्योगबाट निस्कने प्लाष्टिकजन्य,काँचजन्य, नसड्ने फोहोरको उचित व्यवस्थापनमा जोड दिनु पर्दछ ।

धेरै पहिलेदेखि चलेको भनाई “फोहोरबाट मोहोर बनाउन सकिन्छ” भन्ने भनाईलाई व्यवहारमै लागु गर्न, जनस्तरदेखि नीति निर्मातासम्मले ध्यान दिनुपर्दछ । जनस्तरमै फोहोर घटाउन, जथाभावी फोहोर गर्न, फाल्न नहुने, कुराको चेतनाको विकास र व्यवहारमा लागु गर्न ध्यान दिनु पर्दछ । देश संचालनका नेतादेखि जनतासम्मले फोहोर व्यवस्थापनमा चासो दिनुपर्दछ । सबै जना, सबै पक्ष जिम्मेवार भए मात्र फोहोर व्यवस्थापन सहज बन्न सक्दछ र स्वस्थ र सफा वातावरणमा नागरिकले जिउन पाउँदछन् । नत्र कुनै कुनै निकाय कुनै तहको जिम्मा लगाएर मात्र यसको स्थायी समस्या समाधान हुन सक्दैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित