नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर पाँच लाखदेखि पचास लाखसम्म रकम असुल गर्दै अर्बौं रकमको भ्रष्टाचारमा उच्च पदस्थ नेताहरुको समेत नाम जोडिन थालेपछि अहिले सरकार माथि भ्रष्टाचारीहरुलाई बचाउनका लागि दवाव बढ्न थालेको छ । “हावा नचली पात हल्लिँदैन।” भन्ने नेपाली उखानलाई मान्ने हो भने यो भ्रष्टाचार काण्डमा केही न केही भएको छ र उच्चपदस्थ नेताहरुको समेत संलग्नता छ भन्ने कुरा तथ्यहरुले बताइरहेका छन् । यसलाई भ्रष्टाचारको पराकाष्ठको रुपमा लिन सकिन्छ । यो काण्ड इतिहास मै नांगो र सबैभन्दा भयानक छ । राज्यको शीर्ष स्थानमा बसेर कसरी जनतालाई दोहन गरेर कमाइँदो रहेछ भन्ने कुरा पनि बताएको छ ।
तात्कालिन गृहसचिव टेक नारायण पाण्डे समेत यस काण्डमा मुछिए पछि के अनुमान गर्न सजिलो भएको छ भने गृह सचिवलाई निर्देशन दिने व्यक्ति उच्च पदस्थ नै हुनुपर्छ । किनकि हाम्रो देशका सचिवहरुले सामान्य जनतालाई भेटसम्म दिंदैनन्, कुरो सुन्ने त धेरै परको कुरो हो । जहाँसम्म मानव तस्करको प्रश्न छ, उनीहरुले गृह सचिवलाई संलग्न गराउन आँटदैनन् भन्ने होइन । तर माथिको निर्देशन विना गृहसचिवले त्यस्ता गिरोहलाई तत्कालै विश्वास गरिहाल्ने अवस्था देखिदैन । त्यसकारण उनी उपप्रधानमन्त्रीसम्मको निर्देशन आएपछि विश्वास गरेको हुनुपर्छ । नक्कली भुटानी शरणार्थीको नाममा भित्रभित्रै सयौं व्यक्तिहरुलाई अमेरिका पठाइसकेका छन् । गएका व्यक्तिहरु नेपाल फर्केर आफ्नो परिवार पनि लगिसकेका छन् । अहिले पनि सयौं व्यक्ति जानका लागि तयारी गरिरहेका छन् भन्ने सुनिन्छ । यही क्रममा लहरो तान्दा पहरो घर्केको छ । अहिले आरजु राणा, बालकृष्ण खाँण, उनकी श्रीमती मन्जु खाँण, रामबहादुर थापा, विष्णु पौडेल, टोपबहादुर रायमाझी लगायतका उच्चपदस्थ नेताहरुका छोराहरु संलग्न रहेको तथ्यहरु प्रहरीले सार्वजनिक गरिरहेको छ । प्रहरीको सक्रियता धेरै नै प्रशंसनीय रहेको छ । त्यो भन्दा माथिका नेताहरु पनि संलग्न रहेको आशंका देखिएको छ । तर प्रहरीले प्रमाण जुटाउन प्रयत्न गरिरहेको छ ।
प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कार्वाही गर्न म डराउन्न । अहिले यो त टे«लर मात्र हो । फिल्म देखाउन त बाँकी नै छ भनिरहेका छन् । निर्दोष नसमातिउन, दोषी नउम्किउन भन्नेमा हामी सचेत छौं भनेका छन् । यसले जनतालाई उत्साहित बनाएको छ । तर प्रधानमन्त्री आफ्नो वचनमा टिकिरहलान् त ? यसबारे अहिले केही भन्न सकिने अवस्था छैन । यसका केही पक्षबारे पनि अध्ययन गर्न आवश्यक छ । प्रथमतः, प्रधानमन्त्री प्रचण्ड कांग्रेसको समर्थनमा टिकेका छन् । कांग्रेसभित्र सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । यो अवस्थामा प्रचण्डलाई कुर्सीको रक्षा कसरी गर्ने भन्ने चिन्ता पनि छ । ठीक यही बेला आरजु राणा, बालकृष्ण खाँण तथा उनकी श्रीमती नै यदि दोषी ठहर भए भने प्रधानमन्त्री कुर्सीको बाजी लगाएर उनीहरुलाई कार्वाहीको सिफारिस गर्लान् ? द्वितीय, उनले यदि कार्वाहीको सिफारिस गरे भने जनार्दन शर्माले गरेको हेरफेर सम्बन्धी घटनाको फाइल खुल्यो भने त्यसबारे उनी के निर्णय गर्लान् ? तृतीय, स्वयं प्रधानमन्त्री माथि नै सेना समायोजनको बेला भ्रष्टाचार गरेको भन्ने आरोप छ । यदि त्यो आरोप सत्य हो भने त्यसैलाई आधार बनाएर फाइल खोल्न थालियो भने प्रधानमन्त्रीले त्यसको सामना कसरी गर्लान् ? चौथो, टोपबहादुर रायमाझी भैरहवाबाट भूमिगत भई फरार भएपछि पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री प्रचण्डलाई भेटन् गए । त्यहाँ उनले टोपबहादुर रायमाझीको बचाउ गरे । त्यो पनि प्रधानमन्त्रीलाई प्रतिपक्षको ठूलो दवाव थियो । पाँचौं, वाइडबोडी, ओम्नी, सेक्युरिटी प्रेस, समेतका दर्जनौं काण्डमा मुछिएका नेताहरु अहिले एघार दलमा सामेल छन् ।
ती भ्रष्टाचार काण्डबारे प्रधानमन्त्रीले के नीति अपनाउलान् ? यतिखेर प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको छ । यो परिक्षामा प्रधानमन्त्री र गृहमन्त्री दुधको दुध, पानीको पानी बनाएर छानवीन गरे भने इतिहासमा त्यो निकै ठूलो कार्य हुनेछ । जस्तो सुकै चुनौतीको पनि सामना गरेर प्रहरीलाई स्वतन्त्र ढंगले छानवीय गर्न र कार्वाही गर्न मद्दत गरे भने प्रचण्डका यस भन्दा अगाडिका गल्तीलाई जनताले माफ गरेर उनलाई जनताले स्याबासी दिने छन् । बाहिर कार्वाही गर्छु भन्ने तर भित्रभित्रै सबैसँग सम्झौता गरे भने यो परिक्षाले प्रचण्डलाई जिरोमा पु¥याउने छ ।
इतिहासले बारम्बार के देखाएको छ भने चाहे अख्तियार होस् वा सीआईबी होस् ले दोषी फेला पारेपछि नेताहरुबीच खैलाबैला हुने गरेको छ । कैयौं मन्त्रीहरुको फेरबदल र प्रहरी अधिकृत तथा सिडिओहरुको सरुवा हुन थाल्छ । माथिको दवावले पक्राउ परेकाहरु पनि छुट्ने गरेका छन् । अहिले त नेता वा कर्मचारी मात्र होइन, स्वयं अख्तियारका उच्चपदस्थ कर्मचारीहरु नै आफै भ्रष्टाचारमा मुछिएको कुरा आयो । अख्तियार त जनताको आँखोमा छारो हाल्ने साधन मात्र बन्न पुगेको रहेछ । ललिता निवास जग्गाकाण्ड, तैतीस किलो सुन काण्ड समेतका काण्डहरु त्यत्तिकै सेलाएर जानुले त्यसमा कसको भूमिका रहन गयो ? त्यसको खोजतलास हुनुपर्छ कि पर्दैन ? हो, ठीक त्यही प्रकारले यो भ्रष्टाचार काण्ड पनि सेलाएर जान सक्छ । भित्रभित्रै सबै मिलाउने काम हुन सक्छ । अपराधीहरु सबै चोखिने स्थिति आउन सक्छ । किनकि अहिलेका नयाँ भ्रष्टाचारीहरुलाई जेल हालियो भने पहिलेका बन्द फाइल फेरि खुल्न सक्छन् भन्ने मानसिकताले पनि काम गरेको हुन सक्छ । त्यसकारण अहिलेका भ्रष्टाचारीहरु कतैबाट उम्किन नपाउन् । उनीहरुलाई कडा कार्वाही होस् भन्नका लागि जनता जागरुक हुनु आवश्यक छ ।
दलाल पुँजीवादी संसदीय व्यवस्थाले आफ्नो भ्रष्ट चरित्र देखाएको छ । “वोय पेड खजुरका आम कैसे होय” भन्ने एउटा हिन्दी उखान छ । हामीले रगत पसिना बगाएर भ्रष्ट संसदीय व्यवस्थाको खजुरको विउ रोप्ने गल्ती गरेका रहेछौं । त्यसमा खजुर नै फल्ने हो । अर्थात् त्यसमा भ्रष्टाचार, महंगी, कालो बजारी, घुस, तस्करी, बेरोजगारी, डकैती, गुण्डागर्दी आदि फल्ने फुल्ने हो । शोषित उत्पीडित जनताको न्याय र समानताको पक्षमा सोच्ने शासकहरु फुर्सत नै छैन । हामीले त्यसबाट आँपको आसा ग¥यौं तर त्यो निरर्थक भयो । त्यसकारण अब कुनै भ्रष्ट नेताको बारेमा बहस गरेर देश सुध्रिदैन, यो संसदीय व्यवस्थाको विकल्प बारेमा बहस गरौं र भावी पुस्ताका लागि जनपक्षीय व्यवस्थाको कसरी व्यवस्था गर्ने ? भन्ने कुरामा चिन्तन मनन गरौं ।
Comments

