फोहोरको दीर्घकालीन व्यवस्थापनमा ध्यान देऊ

काठमाडौँ उपत्यकाको फोहोर फाल्ने बन्चरे डाँडामा स्थानीयले साउन १ गतेबाट फोहोर फाल्न रोकेका छन् । यो समाचार आएसँगै फेरि काठमाडौँका चोकचोकमा फोहोर थुप्रीने, दुर्गन्ध फैलिने डर र सडकमा हिंड्दा पनि मुख थुनेर हिँड्नु पर्ने भयो भनेर काठमाडौँबासी चिन्तित भएका छन् ।

घिनलाग्दो, दुर्गन्धित, सडेगलेको चीज नै फोहोर हो । मानव वस्तीबाट मानव निर्मित वा मानव सिर्जित फोहोर निस्कन्छ । मानव सृजित फोहोरलाई मानिसले नै ब्यवस्थापन गर्नु पर्दछ । फोहोर ब्यवस्थापन गरिएन भने समाजमा त्यसले रोग ब्याधी निम्ताउँछ ।

जनसङ्ख्या बढेकाले फोहोरमा वृद्धि भएको हो । तर त्यो भन्दा ठूलो कारण मानव व्यबहारका कारण फोहोर बढेको हो । अव्यवस्थितरुपमा बसोबास, शहरीकरण, औधोगिकरणले फोहोर बढाइरहेकोछ । मानव वस्ती कहाँ राख्ने र कहाँ नराख्ने भन्ने कुनै योजना नहुनु, सरसफाईमा मान्छेले पर्याप्त ध्यान नपुर्याउनु, फोहोरको असरको बारेमा जानकारी नहुनु, स्थानीय तह, राज्य संरचना र केन्द्रिय सरकारले फोहोरको गम्भीरतालाई ध्यान नदिनु, जहाँ पायो त्यहीँ फोहोर फाल्ने गलत संस्कृति, आनिबानी, फोहोरको पृथकीकरण नगर्ने अर्थात कुहिने र नकुहिने फोहोर नछुट्टाउने जस्ता कमजोरीले गर्दा फोहोरको समस्या गम्भीर बन्दै गएको छ ।

फोहोर ब्यबस्थापनको लागि दीर्घकालीन योजना बन्नु पर्दछ । त्यसका लागि पहिलो काम घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फरक फरक भाँडोमा राख्नु पर्दछ । कुहिने फोहोरलाई घरमा नै सडाएर कम्पोष्ट मल बनाउने र आम रुपमा गमला खेती गर्ने र उत्पादित कम्पोस्ट मल प्रयोग गर्ने संस्कृतिको विकास गर्ने हो भने फोहोरको झण्डै आधा समस्या समाधान हुन सक्छ । त्यसका लागि महानगर, उपमहानगर र नगरपालिका, वडा, टोल विकास संस्थामा छलफल चलाउनु पर्दछ । अर्को उपाय नगरपालिकाले फोहोर प्रशोधन गरेर मल उत्पादन गर्ने, फोहोरबाट ग्याँस निकाल्ने, विजुली निकाल्ने जस्ता फाइदाजनक काम गर्न सक्दछ । कतिपय विकसित देशमा नगरपालिकाले आफू भन्दा बाहिरका फोहोर समेत किनेर त्यस प्रकारका प्रयोगमा ल्याएका हुन्छन् ।

अर्को उपाय, फोहोर भनिएका चिजलाई पुन: प्रयोगमा ल्याउन ध्यान दिनु पर्दछ । नसड्ने चिजहरूलाई तिनीहरूको प्रकृति अनुसार अलग्गै छुट्टाएर रिफाइनिङ गरेर पुन: प्रयोगमा ल्याउन सकिन्छ ।

विभिन्न स्वार्थ समूहले फोहोरलाई विषय बनाएर कसैलाई असफल बनाउन खोज्ने, बार्गेनिङ गरेर तुच्छ स्वार्थ पूरा गर्ने जस्ता फोहोरी राजनीती पनि हाम्रो देशमा हुँदै आएकोछ ।

फोहोरको व्यवस्थापनमा कुनै एक व्यक्ति, संस्था, समाजले पहल गरेर हुने देखिँदैन । गर्न खोजेर सम्भव पनि हुँदैन । फोहोर अहिले सफा मानिएका गाउँघर जाताततै पुगेका छन् । जहाँ पनि नकुहिने फोहोर प्लाष्टिक जन्य फोहोर भरिएको छ । पहिले सफा रहने खोल्सा खोला खोँच जहाँ पनि फोहोरको डङ्गुर मात्रै देखिन्छन् । नसड्ने सामानहरू जताततै छन् । शहर गाउँको सुन्दरतालाई मेटाएको छ । मानवको चेतना स्तरलाई, मानवको फोहोर प्रतिको वेवास्तापनलाई देखारहेको छ । यहाँको स्थिति केहो भनेर हेर्दा कुनै गाउँमा वा शहरमा जानु पर्दैन त्यहाँको कुनै एक ठाउँको चोकमा हेर्दा थाहा हुन्छ ।

फोहोर मानव जीवनका लागि अति हानीकारक छ । मानवले यो विषयमा ध्यान नदिने हो भने तत्कालै र दीर्घकालमा असर पार्न सक्छ । माटो र वातावरणमा असर पार्न सक्छ । फोहोर गाउँ र शहर सबैको चिन्ताको विषय बनिरहेको छ । शहरको ठूलो समस्या अहिले फोहोर रहेको छ । काठमाडौँको ठूलो समस्या फोहोर व्यवस्थापन रहेको छ । काठमाडौँको फोहोर व्यवस्थापनको स्थान सिसडोल तथा बञ्चरेडाँडामा स्थानीयको पटक पटक अवरोेध हुँदा उनीहरूका मागको सुनुवाई नहुँदा फोहोरका गाडीहरू फर्किएका हुन्छन् । शहर बासीको फोहोर घरमै महिनौँ सम्म रहने स्थिति रहेको छ । विगतमा पनि यस्तो हुने गरेको थियो । बञ्चरे डाँडाले पनि केही वर्षको लागि मात्रै फोहोर धान्न सक्ने केही वर्ष पछि अन्यत्र व्यवस्थापनमा जाानुपर्ने कुरा आइरहेको छ । कतिसम्म धान्न सक्ने त ? फोहोर अब धान्नै नसक्ने अवस्थामा पुगेको स्थिति आउन थालेको छ । यसका लागि फोहोरको दीर्घकालीन व्यवसथापनमा सबैको ध्यान जानु पर्दछ । राज्यनै यसको लागि गंभीर हुनु पर्दछ । राज्यले आफ्ना देशका नागरिकलाई फोहोर मुक्त राख्न दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्दछ ।

केही समय पहिले काठमाडौ महानगरपालिकाका मेअर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने भने पछि विवाद निस्किएको थियो । सर्वोच्चले महानगरपालिकालाई सिंहदरबारको फोहोर फाल्न निर्देशन नै जारी गर्नु परेको थियो । फोहोर ब्यबस्थापन जस्तो सामुहिक समस्यालाई राजनीतिक खिचातानीको विषय बनाउनु हुँदैन । सबैले मिलिजुली समाधानमा जानू पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित