क्यान्सरका बिरामीका आफन्तले गरे स्वास्थ्यमन्त्रीसँग गुनासो

चितवन, २७ भदौ । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरुले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।
मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरेका थिए ।

मोरङबाट उपचारका लागि आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन । उनले सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानुपर्ने बताइन ।
यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गरे । उनले अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको बताए । उनले स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको गुनासो गरे ।
गुल्मीबाट बिरामी लिएर आएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उनले मन्त्रीका सामु आक्रोश पोखे । बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो गरे ।

सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था आएको पीडा सुनाउँदै भनिन् “गाउँलेको सहयोगमा उपचार गराइरहेकी छु, अब कति दुःख दिनु”, गाउँबाट सहयोग गरिरहने दिदीले काठमाडौँ जानुपर्ने भयो अब कसरी उपचार गर्ने उनको गुनासो थियो । अस्पतालमा बिजुलीदेखि खानेपानी, शौचालयसम्म र चमेना गृहसम्मको गुनासो मन्त्री बस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।

बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने बताए । मन्त्री बस्नेतले भने “योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भनसुनका आधारमा उपचार नभई सबैलाई एउटै तवरले व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिए । मानवीयतासँग जोडिएको कुरामा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै उनले अस्पताललाई क्षति हुने गरी काम गर्न छुट कसैलाई पनि नहुने बताए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित