काठमाडौँ, १७ पुष । जापानको टोकियो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुई विमान एकआपसमा ठोक्किँदा कोस्ट गार्डको विमानमा सवार ६ मध्ये पाँच जनाको मृत्यु भएको छ ।
विमान अवतरण गरेपछि विमान अर्को विमानसँग ठोक्किएको बताइएको छ। जापान एयरलाइन्स (जेएएल) विमानमा आगलागी भएपछि सयौं यात्रुलाई बाहिर निकालिएको थियो । एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि थिए ।
भिडियो फुटेजमा दमकलका कर्मचारीहरूले पानीको धाराले आगो निभाउन काम गरिरहेको देखाइएको छ। आगो विमानको धेरै भागमा फैलिएको थियो।
जिजी समाचार समितिका अनुसार सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तट रक्षक विमान प्रस्थान गर्न लागेको थियो । तट रक्षक विमान भर्खरैमात्र उत्तरी जापानी टापु होक्काइडोको साप्पोरा विमानस्थलबाट आएको थियो ।
Comments

