हामी सुरक्षित छौं

–नेत्र के.सी. (हाल इजरायल)

नेपालमा म प्यूठान जिल्ला मान्डवी गाउँपालिका वडा नं ५ चकचके निवासी हुँ । म हाल इजरायलको रिसोन सिटीमा कार्यरत छु।इजरायलको राजधानी जेरुसेलमबाट करीब १ घण्टा टाढा बसबाट यात्रा गरेपछि रिसोन सिटी आउन सकिन्छ । इजरायलस्थित नेपाली दूतावासले जानकारी गराएअनुसार करिब ५हजार ५सय नेपालीहरु इजरायलमा रहेका छन् । धेरै जसो नेपालीहरु केयर गिभरको रुपमा ,केही कृषि क्षेत्रमा र केही विद्यार्थीहरु कार्यरत छन् । म पनि अहिले केयर गिभरको रुपमा काम गरेको छु । यहाँ गत जुन १३देखि इरान र इजरायलकोबीचमा युद्ध शुरु भए यता अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु भएको वा कुनै अप्रिय घटना सुन्नु परेको छैन । अहिले यहाँ इजरायलमा हवाइ जहाज, सार्वजनिक बस, स्कूल, कलेज सबैबन्द भएका छन् । हरेक घरमा बंकरको व्यवस्था गरिएको छ । मोबाइलमा होम फर फ्रन्ट कमाण्ड भन्ने एप्सको विकास गरिएको छ । मिसाइल आक्रमण हुन थाल्यो भने मोबाइलहरुमा सिग्नल आउँछ । त्यो सिग्नल अनुसार सबै मानिसहरु बंकर भित्र गएर बस्नु पर्दछ । त्यो एप्सले नै वम निस्क्रिय पारिसकिएको छ बंकरबाट बाहिर निस्कँदा हुन्छ भनेर एप्सले नै सिग्नल दिन्छ जसले गर्दा हत्या मृत्युका घटनाहरु कम हुने सम्भावना हुन्छ । हाइपर सोनिक मिसाइलले आक्रमण गरेका हुँदा कैयौं घरहरु ध्वस्त भएका छन् त्यसले समस्या पारेको छ । इजरायलको गुप्तचर संस्था मोसादको कार्यालयमाथि पनि इरानले आक्रमण गरेको हो तर पुरै ध्वस्त भएको छैन ।
नेपाली राजदूतावासले नेपालीहरुकोबीचमा समन्वय गर्नेकाम गरिरहेको छ ।इजरायलस्थित एन.आर.एन. र त्यसका अध्यक्ष कृष्ण भण्डारीले पनि सबै नेपालीहरुकोबीचमा समन्वय कायम गर्ने कोसिस गरिरहनु भएको छ । खाद्यान्न पसलहरु खुलै छन् भोकै बस्नु पर्ने स्थिति छैन । नेपाली राजदूतावासले नेपाल फर्कन चाहनेहरुलाई नाम दर्ता गर्न अनलाइन रजिस्टे«सन खुला गरेको छ । थाहा भए अनुसार करिब ८ सय नेपालीहरुले नेपाल फर्कनकालागि नाम दर्ता गराएका छन् । सिरिया र जोर्डनको सिमाना सम्म बसमा पुग्ने र त्यहाँबाट जहाजबाट नेपाल फर्किनेगरी नेपाली दूतावासले यात्रा अनुमति लिएको छ तर अहिलेसम्म कुनै पनि नेपालीहरु फर्किएका छैनन् । भारतीयहरुको पनि अवस्था त्यस्तै छ । उनीहरु पनि दूतावासमा नाम इन्ट्रि गरेर बसेका छन् । मैले नाम दर्ता गरेको छैन । स्थिति के हुन्छ हेरिरहेको छु । अमेरिकाले इरानको आणविक स्थललाई निशाना बनाइ हवाइ आक्रमण गरेपछिको स्थितिमा रुस र चीनको भूमिका के हुन्छ ? युद्धको अवस्था कुन रुपमा अगाडि आउँछ त्यसलाई विचार गरेर नेपाल फर्कने वा यही बस्नेबारेमा निर्णय दिनु पर्ला भन्ने सोचेको छु । फर्कने नेपालीहरुलाई इजरायलले रि इन्ट्रि भिसा दिन्छ कि दिँदैन ? त्यो पनि हेर्नु पर्ने छ ।
हमास, हेजबुल्लाह लगायतका जतिपनि आतंकवादी समुहहरुसित इजरायलले लडाइँ गर्नु परेको छ ती सबैलाई पाल्ने हुर्काउने काम इरानले गरेको हो भन्ने यहाँको सरकार र यहाका जनताको बुझाइ छ ।इरानले हतियार बनाउँदै आतंकवादीहरुलाई दिँदै गएपछि परमाणु हतियारहरुपनि तिनीहरुको हातमा प¥यो भने तिनीहरुले मानवता र विश्वलाई नै ध्वस्त पार्न सक्नेछन् ।त्यसकारण आणविक अस्त्रको विकास गर्न नदिन, इरानको आणविक अस्त्र विकासलाई कमजोर पार्नै पर्छ, ध्वस्त पार्न पर्छ भन्ने इजरायली सरकारको भनाइ छ ।
म बस्ने शहर रिसोनमा थुप्रै नेपालीहरु छन् । मसित नजिकै चितवनका २ जना नेपाली छन् । माल्डोभियन र फिलिपिनीहरु पनि छन्। दार्जलिङको नेपाली भाषी पनि छन् । उनी इजरायल आएको १ वर्ष भयो । बम आयो कसो गर्ने हो ,के गर्ने हो ? दाजु भनेर सोधिरहन्छन् । मैले आत्तिनु पर्दैन । बंकरभित्र बस्नु भन्ने गरेको छु । म मेरा घर परिवार ,इष्टमित्रहरुलाई नआत्तिन अनुरोध गर्दछु । हामी सुरक्षित छौं । मिडियाहरुमा प्रचार गरिए जस्तो इजरायल पुरै ध्वस्त भएको भन्ने होइन। यहाँ युद्धको आपतकालीन अवस्थामा कसरी जोगिने भन्नेबारे बंकर लगायत अन्य सुरक्षाको व्यवस्था गरिएको छ । विशेष कामले बाहेक बाहिर हिँडडुल नगर्न सरकारले भनेको छ । हामी त्यसरी बाहिर हिँडेका पनि छैनौं । स्थिति धेरै खराब हुँदै जान थाल्यो भने हामी राजदूतावासको समन्वयमा नेपाल फर्कने छौं ।

यो सामग्री रामबहादुर बुढा र जीतामित्र सुनारसितको गरिएको अनलाइन कुराकानीका आधारमा तयार गरिएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित