रिहा भए अभिनेता पल शाह

दमौली । नाबालिग  बलात्कार आरोप लागेका अभिनेता पल शाह २०७९ फागुन १५ गते रिहा भएका छन् । शाह उच्च अदालत पोखराको फैसलाअनुसार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर १५ फागुनमा रिहा भएका हुन् ।

तनहुँ कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै अभिनेता शाहले आफुलाई साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । “अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद । ” – परिवारका सदस्य र समर्थक शुभचिन्तकबाट घेरिएका शाहको भनाइ थियो ।

अभिनेता शाहलाई एक नाबालिक गायिकाले सुटिङका क्रममा आफुलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । आरोप लागेपछि शाहले २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिदै शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाका विरूद्ध अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालत पोखराले २०७९ फागुन १४ गते शाहलाई सफाइ दिएको थियो ।

स्मरण रहोस नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित भनिएको नाबालिका गायिकाले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित