आठ बाल साहित्य एकै चोटी विमोचन

ललितपुर । बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिको एकसाथ विमोचन गरिएको छ। तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा २०८२ माघ १२ गते आयोजित कार्यक्रममा आचार्यका ‘डेढ गगरिया’‘ पाटे चितुवा’, ‘दसैँको आशिष’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’ र ‘किराँत’ र ‘सिद्धार्थ गौतम’ गरी आठ बालसाहित्यिक कृतिहरुको विमोचन गरिएको हो।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले लेखकलाई बधाइ दिँदै एकैपटक आठ वटा किताब प्रकाशन गर्नु महत्त्वपूर्ण भएको बताउनु भयो । वहाँले पुस्तक पाइसकेपछि नातिनीले पढेर यो पुस्तक अति राम्रो छ भनेको सुन्दा अति खुशी लागेको अनुभव पनि सुनाउनुभयो । वहाँले श्रष्टा आकाशभन्दा माथि धर्ती भन्दा मुनि जानसक्छ भन्दै जुनसुकै विधाका श्रष्टा पनि अनन्तसम्म पुग्न सक्ने क्षमता राख्ने बताउनु भयो र श्रष्टाको मष्तिष्कको सीमा हुँदैन भन्नु भयो । वहाँले श्रष्टाको काँधमा निकै ठूलो जिम्मेवारी हुने कुरा पनि उल्लेख गर्नु भयो ।

राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसम्पादक प्रमोद प्रधानले बालसाहित्यका बारेमा हाम्रो आफ्नो धारणाभन्दा पनि विश्वव्यापी अभ्यास र अवधारणालाई ध्यान दिनुपर्नेमा जोड दिनु भयो । विमोचन गरिएका पुस्तकहरुको समीक्षा गर्दै प्राध्यापक डा.गोविन्द पौडेलले आठवटा कृति आउनु कुनै चानचुने कुरा नभएको भन्दै इतिहासका कुरालाई सरल ढंगले प्रस्तुत गर्ने काम भएको बताउनु भयो । ‘डेढ गगरिया’ कृतिको बारेमा साहित्यकार कृष्णराज सर्वहारीले पाँच वटा लोककथा रहेको यस पुस्तकमा कथाहरूसँग प्रसङ्ग मिल्ने गीतहरू राखिएको भए अझै उचित हुने धारणा राख्दै पुस्तक थारु समुदायको बालबालिकाहरुका लागि उपयुक्त हुने भनाई राख्नु भयो ।

नाट्यकर्मी केदार श्रेष्ठले ‘सिद्धार्थ गौतम’ को बारेमा विद्यार्थीहरुलाई बुझाउन यो नाटकको निकै महत्व रहेको बताउँदै संसारमा गौतमबुद्धको बारेमा खोजीहरु भइरहँदा लेखकको यो कृति आउनु निकै सह्रानीय भएको बताउनु भयो । कार्यक्रममा बंगलादेशबाट आउनु भएका डा मिजानुर रहमान र वानैजा रहमान विशेष अतिथिको रुपमा रहनु भएको थियो । वहाँहरुले विजयराज आचार्यका बाल साहित्यलाई बंगाली भाषामा प्रकाशित गरेको बताउँदै आगामी दिनमा पनि यस्तै रचनाहरु आओस भन्दै शुभकामना व्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष भावेश भुवरीको अध्यक्षता ,उपाध्यक्ष जीवराज भट्टराइको स्वागत तथा कोषाध्यक्ष अस्मिता के.सीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित