– नरेन्द्रबहादुर थापा
सहिद दिवसको सन्दर्भमा कुरा गर्दा ूशहीदू शब्दको अर्थ स्पस्ट बुझ्नुपर्ने हुन्छ । देश र जनताको स्वतन्त्रता,सार्वभौमिकता , स्वाधीनता, लोकतन्त्र र कुनै नयाँ परिवर्तन र महान आदर्शका लगि आफ्नो अमुल्य जीवन बलिदान गर्ने वीर व्यक्तिलाई शहीद भनिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार शहीद भन्नाले आफ्नै देश ,संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको निम्ति जीवन बलिदान गरी लोकहितमा लाग्ने अमर व्यक्तित्वलाई बुझिन्छ। जसरी हरेक दिन आकाशका तारा झर्ने गर्छन् , मानिसहरुले आफ्नो दैनिकी सुरु गर्छन् , त्यसैगरी मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपुतहरूको बलिदान रहेको छ । आज त्यही दिन र तिनै महान शहीदहरुको सम्झना गर्दै हामी यो दिवस मनाइरहेका छौँ । तर ती शहीदहरुको सपना अझैसम्म पनि विपनामा परिणत हुन सकेन ।
नेपाली इतिहासको त्यो पवित्र दिन, जुन दिन हामी स्वतन्त्रता, समानता,राष्ट्रियता ,राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र मानवीय गरिमाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अमर शहीदहरुलाई उत्साहपूर्वक सम्झन्छौं,त्यही दिन हो आज विक्रम सम्बत २०८२ साल , माघ १६ गते। तिनै सपुतहरूको सम्झना र सम्मान गर्ने शहीद दिवस हो आज ।आजको यस सन्दर्भमा नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडिदेखि नै विभिन्न कार्यक्रम गरेर मनाउने गरिँदै आएको छ। आजको दिन केवल शहीदहरु प्रति पुष्पार्पण गरेर औपचारिकता निभाउने मात्र होइन, बरु शहीदहरुका सपना पूरा गर्न आफ्नो तर्फबाट हामीले के कति त्याग, तपस्या र बलिदान गर्यौं रु त्यसको आत्मसमीक्षा गर्ने, बिगतको इतिहासको समिक्षा गर्ने, इतिहाससँग संवाद गर्ने र त्यसको लेखाजोखा गर्दै भविष्यप्रति प्रतिबद्ध हुने दिन हो आज ।
नेपालको निरङ्कुश जहानीया राणा शासन विरुद्ध जनचेतना जगाउनको लागि न्यायको मशाल बाल्ने क्रममा आफ्नो जीवन बलिदान दिएर जीवन उत्सर्ग गर्ने शहीदहरु मध्ये नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ। थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले गरेका कुकृत्य र अन्याय विरुद्ध जनता माझ प्रचारप्रसार गरेको अभियोगमा विक्रम सम्वत १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्डाएर मारिएको थियो। थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए।श्रद्धेय शहीद थापा प्रति नमन ।
दशरथ चन्द ठाकुर , धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा बिक्रम सम्बत १९९७ माघ १० गतेदेखि १६ गतेसम्मको अवधिमा अमानवीय ढंगले क्रूर हत्या गरिएको थियो । नेपाल र नेपालीको स्वतन्त्रता, समानता र सार्वभौमिकताका लागि ती शहीदहरूले दिएको बलिदानको संझना अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रूख लगायतका रुखहरु र घटनाक्रमले दिने गरेका छन् । त्यसैले यी शहीदहरू नेपाली क्रान्तिको इतिहासका पहिलो नक्षत्रहरु नै हुन् । उनीहरु कुनै पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको स्वतन्त्रता, समानता र न्यायका लागि मृत्युलाई अँगाल्न कुनै विनाहिचकिचाहट तत्परताका साथ तयार भएका थिए। देश र जनताको लगि परिवर्तन ल्याउनका लागि र भावी पुस्ता र देशको मुहार फेर्नको लागि आफ्नो ज्यान अर्पण गर्ने ती ज्ञात–अज्ञात सम्पूर्ण शहीदहरुमा नमन।
यी शहीदहरुका सपना के थिए ? र ती सपनालाई हामीले कति साकार पार्न सकेका छौं ?भन्ने कुरा नेपाली राजनीतिक नेतृत्वले सोच्नु पर्नेमा अहिलेसम्म सोंचिएन। शहीदका परिवार अनि घरहरू लगायत शहीद परिवारका सदस्यहरूको अवस्थाको बारेमा ध्यान दिनुपर्नेमा दिइएको छैन । अब शहीद परिवारका आँसु राज्यले पुछ्न सक्नुपर्दछ।
सहिदहरूको (सपना) स्वतन्त्रता मात्र होइन , गरिमामय जीवन पनि हो ।शहीदहरूको बलिदान केवल राणाशासन अन्त्यका लागि मात्र सीमित थिएन। उनीहरूले देखेको सपना थियो जनताको अधिनायकत्वमा विधिको शासन , समाजिक न्याय, शोषणविहीन समाज र राष्ट्रिय स्वाधीनतालाई स्थापित गर्नु ।
शुक्रराज शास्त्रीले खुला सभामा निरंकुशताको विरोध गर्दा निरङ्कुश शासन ढाल्न उत्साहपूर्ण साहस देखाएका थिए । उनलाई विक्रम सम्वत १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। धर्मभक्त माथेमाले ती निरंकुश शासकलाई निर्भििक भएर चुनौती दिएका थिए । उनलाई शिफलको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। त्यस्तै दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई माघ १४ गते राति १० बजे शोभा भगवतीमा लगेर खंबामा बाँधेर गोली हानी हत्या गरिएको थियो। उनीहरूले मृत्युलाई हाँसी हाँसी अँगाल्दै जनतालाई दिएको सन्देशले आज पनि हामीलाई सोधिरहेको छ कि ‘हामीले उनीहरूको सपना पूरा गरिरहेका छौं कि छैनौं ’
अब यहाँ प्रश्न उठ्छ – शहीदको इतिहासको सम्मान कि औपचारिकता मात्र ?
दुःखद यथार्थ त के छ भने, आज शहीद दिवस देशका धेरै ठाउँमा भाषण गर्ने , माल्यार्पण गर्ने र औपचारिक कार्यक्रममा मात्र सिमित हुँदै गएको छ। शहीदका नाममा राजनीति गर्ने , तर शहीदले लडेको मूल्य र आदर्शमाथि नै प्रहार गर्ने प्रवृत्ति पनि बढ्दो अवस्थामा छ। अहिलेसम्म पनि भ्रष्टाचार, दण्डहीनता, सामाजिक असमानता , बेरोजगारी र परनिर्भरता जस्ता विकृति र विसंगतिहरु सबै शहीदहरूका सपना विरुद्धका चुनौतीहरू यथावत रहेका छन् ।यदि शहीदहरूको बलिदानलाई साँच्चै सम्झना गर्ने हो भने, हामीले प्रश्न गर्नैपर्छ –शहीदको रगतले सिंचित यो देश किन अझै अन्याय र असमानताबाट मुक्त हुन सकेन ?
यो प्रश्न मात्र होइन , सिधा अर्थमा यसको उत्तर पनि हामी सबैलाई थाहा छ। यो देशमा शहीदहरुको अपमान हुने गरेको छ । २००७ सालको आन्दोलनले ल्याएको प्रजातन्त्रको घाँटी निमोठेर २०१७ सालमा राजा महेन्द्रले निरंकुश राजतन्त्रात्मक पञ्चायती ब्यवस्थाको स्थापना गर्दै तत्कालीन शहीदहरुको घोर अपमान गरिएको थियो । अहिले पनि शहीदका सपनालाई उल्टो दिशातिर धकेलिँदै छ । दलाल संसदीय ब्यवस्थाको विकल्पमा सुशासन र भ्रष्टाचारको अन्त्य गर्दै शासन ब्यवस्थामा आमूल परिवर्तनको माग राखेर ७६ जना होनहार युवाहरूले शहादत प्राप्त गर्दै सफलता हासिल गरेको जेन्जी आन्दोलनको घाँटी निमोठेर सम्राज्यवादद्वारा प्रायोजित कथित संसदीय निर्वाचनको बहानामा राष्ट्रघाती र जनघाती दलाल संसदीय ब्यवस्थालाई टिकाइराख्ने षड्यन्त्र भएको छ , जुन जेन्जी आन्दोलनका शहीदहरुको घोर अपमान हो ।
आजको पुस्ताको दायित्व अब नेपाली प्रजातान्त्रिक इतिहासमा वीर शहीदहरूको बारेमा केही कुरा गरौं । १०४ वर्षको लामो निरंकुश जहानीया राणा शासन विरुद्धमा प्रजातन्त्र बहालिका लागि शहीदहरूको बलिदान दिएकोमा विक्रम सम्वत २००७ सालको प्रजातन्त्रको स्थापना पश्चात २०१७ सालमा पुनः निर्देलीय पञ्चायती व्यवस्थाको स्थापना लगायत ३६ सालको जनमतसंग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनासम्ममा धेरै ज्ञात(अज्ञात नेपाली आमाका छोराछोरीहरू शहीद भएका छन् । त्यसपछिका कालखण्डमा सशस्त्र द्वन्द लगायतका विभिन्न आन्दोलनहरुमा भएका हिंसाको शृङ्खला लामो छ। अझै धेरै नेपालीहरू बेपत्ताको सूचीमा छन् भने दोषी निर्दोषी सबै नेपाली जनताको वीर गतिको विवरण पनि लामो छ। यसरी निरन्तर शहीदहरुको बलिदान भइरहँदा पनि देश र जनताको भविष्य अहिलेसम्म पनि अधुरै छ । यसको मूल कारण हो, देशीविदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रद्वारा शहीदहरुको अपमान गर्दै आन्दोलन प्रति धोका हुनु । अहिले पनि साम्राज्यवाद द्वारा प्रायोजित संसदीय निर्वाचनको भ्रमपूर्ण षड्यन्त्र गरेर जेन्जी आन्दोलन प्रति धोका भएको छ। यस्तो अवस्थामा साम्राज्यवाद , विस्तारवाद बिरोधि सबै देशभक्त ,न्यायप्रेमी नेपालीहरुले राष्ट्रिय राजनीतिक सम्मेलनद्वारा शुशिला कार्कीको कठपुतली सरकार खारेज गरी स्वाधीन संयुक्त सरकार गठन गरी जन संबिधान निर्माण गर्न यो निर्वाचनको बहिष्कार गर्नुको विकल्प छैन ।
शहीद दिवस केवल इतिहासतिर फर्केर आँसु झार्ने दिन मात्र होइन । यो दिन वर्तमान सुधार्ने र भविष्य निर्माण गर्ने दिन हो। आजको पुस्ताले शहीदहरुलाई सम्झनु भनेको अन्याय विरुद्ध बोल्नु, सत्यको पक्षमा उभिनु, भ्रष्टाचार र दमनलाई अस्वीकार गर्नु र देशलाई आत्मनिर्भर, न्यायपूर्ण र सम्मानित बनाउने संकल्प गर्नु हो ।
शहीदहरू मरेका होइनन्, उनीहरु हाम्रो चेतनामा, संघर्षमा र जिम्मेवारीमा जीवित छन् । त्यसैले आजको यो विषम परिस्थितिमा केवल श्रद्धाञ्जली होइन , संकल्प समेत चाहिन्छ। माघ १६ मा मैनबत्ती बाल्नु मात्र पर्याप्त हुँदैन , शहीदहरूको सपना पूरा गर्ने सङ्कल्प नै साँचो श्रद्धाञ्जली हो। जबसम्म देशमा अन्यायको अन्त्य हुँदैन। जबसम्म जनताको आवाज सुन्ने अवस्था बलियो हुँदैन, तबसम्म शहीद दिवसको ऐतिहासिक अर्थ अधुरै रहन्छ ।
अहिले देशले फेरी अझै पनि आमूल परिवर्तन खोजेको छ । देशभक्तहरूका लागि शहीद एउटा मर्यादा हो र विश्वास पनि हो । त्यसैले आजको यो परिस्थितिमा देश कै पहिलो सहिद लखन थापा , त्यसपछि २०९७ सालका शहीदहरु दशरथ चन्द, धर्मभक्त, शुक्रराज र गङ्गालाल लगायत २०४६र४७ को जनआन्दोलनपछिको अधुरो प्रजतन्त्र पुनर्बहाली गराउँदाका संपूर्ण शहीदहरु , २०६३र ६४ पछि गणतन्त्रमा प्रवेश गर्दा भएका नेपालका सम्पूर्ण शहीदहरु र गत भदौ २३ र २४ को जेन्जी विद्रोहमा ज्यान उत्सर्ग गर्ने ४६ जना शहीदहरु समेत ज्ञात( अज्ञात समस्त अमर शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली तथा नमन १
बिगतदेखि हालसम्मका शहीदहरुको बलिदानले देखाएको बाटोबाट विचलित नहुने प्रण आजको शहीद दिवसमा गरौं।
वीर शहीद –अमर रहुन ।
शहीदको सपना –साकार पारौं ।
कथित संसदीय निर्वाचन – बहिष्कार गरौं ।
स्वाधीन संयुक्त सरकार –गठन गरौं ।
मिति ः२०८२ माघ १६ गते

