बजेट दलालहरुको पक्षमा छ ः महासचिव गजुरेल

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले आर्थिक वर्ष २०८३÷८४को बजेट गरिब दुःखीको हितमा नरहेको बताउनु भएको छ । वहाँले बजेट तल्लो वर्गको हितमा नरहेको बताउनु भयो । क्रान्तिकारी किसान महासंघको दोस्रो राष्ट्रिय भेलाको प्रमुख अतिथिको आसनबाट भेला सफलताको शुभकामना दिँदै महासचिवले सो कुरा बताउनु भएको हो । महासचिवले सरकार जसले गठन गरेका हुन् उनैको पक्षमा बजेट आएको बताउनु भएको छ । अहिलेको सरकार बन्नुमा साम्राज्यवादी तथा विस्तारवादीहरुको हात रहेको भन्दै उनैलाई हित गर्ने खालको बजेट सरकारले ल्याएको उल्लेख गर्नु भयो । बजेट दलाल र विचौलियाहरुको हितमा आएको बताउनु भयो । किसान, मजदुर तथा श्रमजीविको पक्षमा बजेट नरहेको कुरा औंल्याउँदै महासचिवले किसान मजदुर तथा श्रमजीविहरुले यो विषयलाई गम्भीरतापूर्वक मनन गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । वहाँले बजेटमा किसानहरुका समस्या समाधानको प्रमुखता पर्नु भन्दा बाँदरको विषय प्रमुखतामा परेको बताउनु भयो । साम्राज्यवादीहरुले आत्मनिर्भर भएर रहेका देशहरुलाई आत्म निर्भर हुन नदिने, समस्यामा पारिदिने बजार उसको हितमा प्रयोग गर्ने गरेको बताउँदै सरकारले भूमिबैंकको अवधारणा ल्याएर किसानहरुलाई भूमि विहीनतामा पु¥याउन चाहेको बताउनु भयो ।“अहिले देशमा रोजगारी चाहिएको छ रोजगारी नपाएर किसानका छोराछोरी विदेश पुग्न बाध्य छन् । सरकारले युवाहरुलाई विदेश जान एयरपोर्टमा धकेलिदिने काम गरेको छ ,बजेटमा युवाहरुलाई रोजगारी सिर्जना गर्ने कुनै योजना नै छैन। अब नेपाली युवाहरुलाई थप विदेश जान दिनु नेपालीको हितमा छैन” महासचिवको भनाइ रहेको थियो । महासविचवले क्रान्तिकारी आन्दोलन अत्यन्त कमजोर अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट पार्टीले क्रान्तिकारी आन्दोलन अगाडि बढाउन गम्भीरतापूर्वक विचार,चिन्तन मनन गर्नु पर्ने कुरामा जोड दिनु भयो । वहाँले यो अवस्थामा किसानहरुको भेलामा आउनु भएका किसान नेताहरुले गम्भीर चिन्तन गर्नुहुनेछ र सल्लाह सुझाव दिनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । वहाँले विगतको नेपालको किसान आन्दोलनको स्मरण गर्दै विगतमा नेपालमा ठूला ठूला किसान आन्दोलन चलेको बताउनु भयो । कम्युनिष्ट आन्दोलन किसानविना असम्भव रहेको बताउँदै महासचिवले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले किसान आन्दोलनलाई ,किसानका हक हितलाई प्राथमिकतामा राखेको बताउनु भयो । वहाँले किसान आन्दोलनलाई उठाउन पार्टीले के गर्नु पर्छ गर्न तयार रहेको बताउँदै ठोस रुपमा योजना बनाएर परिणाम आउने गरी काम गर्न निर्देशन पनि दिनु भयो । फरक प्रसंगमा वहाँले अहिले अवसरवादी,दलाल नोकरशाही पुँजीपतिहरु क्रान्तिकारी पार्टी भत्काउन लागि परेको , पार्टी फुटेर जाने संस्कृति मौलाएको बताउनु भयो । वहाँले अहिले क्रान्तिकारी आन्दोलन अगाडि बढाउने परिस्थिति निकै जटील रहेको जनाउँदै अहिले अफ्ठ्यारो अवस्थामा हामीले क्रान्तिलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नौ नं व्यूरो इन्चार्ज दिनेश शर्माले अहिलेको बजेट माथिल्लो तहको वर्गलाई स्थापित गर्ने र मजदुर किसानलाई विस्थापित गर्ने किसिमले ल्याएको बताउनु भयो । क्रान्तिकारी महिला संगठनका सह संयोजक शारदा महतले किसानहरुको समस्या जटील भइरहेको बताउँदै महिलाहरुले कृषि क्षेत्रमा अत्यन्त मिहेनत गरे पनि उचित पारिश्रमिक उत्पादनको उचित मूल्य पाउन नसकेको बताउनु भयो । नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा.जगदीश चन्द्र भण्डारीले किसानहरुको भेला साँच्चिकै श्रमिक वर्गको भेला भएको बताउँदै भेला सफलताको शुभकामना दिनु भयो । वहाँले क्रान्तिकारी किसान महासंघको छुट्टै पहिचान छ भन्नु हुँदै मुलुकलाई फेर्ने ,राष्ट्रिय स्वाधीनताको निम्ति संघर्ष गर्न निर्देशित छ भन्नु भयो । शासनको माथिल्लो तहमा बसेका कम्युनिष्ट नामधारीहरु तत्वहरु दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्ट आन्दोलनलाई धुमिल्याएको बताउनु भयो ।उहाँले साम्राज्यवादबाट निर्माण भएको शक्तिले मुलुकलाई फासीवादतर्फ लैजाँदै छ भन्नु हुँदै त्यसको विरोधमा क्रान्तिकारीहरु एक हुुनु पर्ने औंल्याउनु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सल्लाहकार समितिका सचिव कमल चौधरीले वर्तमान अवस्थामा किसान आन्दोलन शिथिल हुन पुगेको बताउँदै किसानमा वर्गीय दृष्टिकोण पस्न नसकेको बताउनु भयो । क्रान्तिकारी किसान महासंघको अध्यक्ष सीताराम तामाङको अध्यक्षता,महासचिव धनेश्वर पोख्रेलको सञ्चालनमा अगाडि बढेको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमल्सिना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ रहनु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपाली अतिथि रहनु भएको थियो । इच्छुक साँस्कृतिक प्रतिष्ठानमा जेठ १७ गते शुरु भएको भेला १८ गते समापन हुँदैछ । भेलाले नेतृत्व चयनलगायत महत्वपूर्ण निर्णय गर्दैछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित