सुस्तावासी जनतालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अभिनन्दन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुस्तावासी जनताद्वारा भारतीय ‘सीमा सुरक्षा वल’ को नेपाली भूमिमा प्रवेशलाई प्रतिकार गरेको देशभक्तिपूर्ण साहसिक कार्यलाई अभिनन्दन गरेको छ । २०८३ असार १ गते पार्टीका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै सुस्तावासीलाई अभिनन्दन गर्नु भएको हो । वक्तव्यको पूर्णपाठ यसप्रकार छ–“पुनः सुस्ताले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री बालेन्द्र साहले संसदमा ‘नेपालले पनि भारतको धेरै जग्गा मिचेको रहेछ’ भनी अभिव्यक्ति दिएको १२ दिनपछि सुस्तामा भारतीय ‘सीमा सुरक्षा बल’ प्रवेश गरेको छ । सुस्तावासी जनताले उक्त सुरक्षावलसँग नेपाली भूमिमा प्रवेश गर्नेवित्तिकै प्रतिकार गरेका छन् र उक्त बल आलटाल जवाफ दिदै त्यहाँबाट फर्कन बाध्य भएको छ । त्यसरी नै प्रधानमन्त्रीले सदनमा उपरोक्त अभिव्यक्ति दिएको दुई दिनपूर्व धनैया खोलामा नेपालले गर्न थालेको तटबन्ध रोक्न भारतीय ‘सीमा सुरक्षा बल’ ले धम्की दिएको थियो । सुस्ता बचाउन सुस्ताबासीले पटकपटक शहादतको कोटा समेत चुक्ता गरेका छन् ।
हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट यस्ता साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपप्रति मौन रहने दलाल पुँजीवादी, राष्ट्रघाती र फासीवादी सरकारको घोर भत्र्सना र निन्दा गर्दै सुस्तावासी जनताको राष्ट्रवादी प्रतिकारका लागि अभिनन्दन गर्दछ । हाम्रो पार्टी सुस्तावासी जनताको पक्षमा बोल्दै र भौतिकरुपमा जनतासँग रहेर राष्ट्रवादी आन्दोलनमा सहभागी हुँदै आएको छ तथा फेरि पनि नेपालको कुनै पनि स्थानमा एक इन्च भूभाग नछोड्ने तथा सुस्ता बचाऊ आन्दोलन जारी राख्ने प्रतिवबद्धता जाहेर गर्दछ । यसको साथै पार्टीका सम्बन्धित निकायलाई त्यहाँका जनताको राष्ट्रवादी आन्दोलनमा सहभागी हुन पनि निर्देशन गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित