‘बालेन्द्र सरकारले दलाई लामाको जन्मदिन मनाउन दिनु नेपालको स्थापित एक चिन नीतिका विरुद्ध ’

 

काठमाडौं । बालेन्द्र सरकारले दलाई लामाको जन्मदिन मनाउन दिनु नेपालको स्थापित एक चिन नीतिका विरुद्ध छ भन्दै नेपालका विभिन्न राजनैतिक दलका नेताहरु र कुटनैतिक अनुभव लिइसकेका व्यव्तिहरुले विरोध गरेका छन् । ‘एक चीन नीतिमा दृढ बनौं, नेपालको भूूमि चीन विरुद्ध प्रयोग गर्न नदिऔं ! ’ भन्दै नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक वक्तव्य जारी गरेका छन् । वक्तव्यमा भनिएको छ –
“यही जुलाई ६, २०२६ (असार २२, २०८३) का दिन नेपालको स्थापित एक चिन नीतिका विरुद्ध चीनबाट सन् १९५९ मै भागेर विदेशमा शरण लिएर बसेका पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन बालेन्द्र सरकारले नेपालको ईतिहासमै पहिलो पटक निर्लज्जता पुर्वक अनुमति दिएको छ । स्वयम्भु स्थित नाम्ग्याल निम्न माध्यामिक विद्यालयमा उक्त आयोजना गर्न दिएर नेपाल र चीन बीच दौत्य सम्बन्ध स्थापना भए देखि नै रहि आएको सुमधुर सम्बन्धलाई खल्बल्याउने राष्ट्र हित विरोधि काम गरेको छ ।

उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अष्ट्रेलियाली राजदुतको समेत उपस्थिति हुनु अत्यन्त गम्भीर र आपत्तिजनक कुरा हो । पश्चिमा शक्तिहरु नेपाललाई चीन विरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्रि षडयन्त्रमा लागी रहेका छन भन्ने कुरामा हामी अनविज्ञ छैनौँ । नेपाल भुमिमा आएर हाम्रो भुमि छिमेकीहरुका विरुद्घ कसैलाई पनि प्रयोग गर्ने अधिकार छैन । बालेन सरकारको यो राष्ट्रहित विरोधि र साम्राज्यवाद परस्त नीतिलाई सम्पुर्ण नेपाली जनता कडा शब्दमा विरोध गर्दछन् । आम नेपाली जनता, यो देशका समस्त देशभक्तहरु एक चीन नीतिका पक्षमा दृढता पुर्वक उभिदैं आएका छन् र उभिने छन् । साथै जनवादी गणतन्त्र चीन र गणतान्त्रिक भारत दुवै छिमेकी संग सुमधुर र रचनात्मक सम्बन्ध विकास गर्न चाहन्छन् ।

देशलाई विश्व बैंक र एडिविको खर्बौंको ऋण भार बोकाउनु पश्चिमाहरुको हित अनुसार त होला तर नेपाल र नेपालीको हितमा हुन्न भन्ने कुरा बालेन सरकारले समय मै बुझे राम्रो । नेपाली जनता हाम्रो मातृभूमिलाई द्वन्दको अखडा बनाएको देख्न चाहदैनन् । आफैंले निर्वाचित गरेका सरकारहरुलाई जनताको हित विरुद्घ जाँदा नेपाली जनताले उखेलेर हटाएको कुरालाई बालेन्द्र सरकारले संस्मरण गर्नु राम्रो हुन्छ । नेपाली जनता चाहन्छन छिमेकी चीनसँगका सम्बन्धहरु अझ प्रगाढ बनाओस र चीन सँगको सहयोगलाई अझ गहिरो बनाओस ! यो नै नेपाल र नेपाली जनताको तत्कालिन र दिर्घकालिन हितमा हुनेछ । ”

नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले २०८३ असार २४ गते एक वक्तव्य जारी गर्दै बालेन सरकारले दलाई लामाको जन्मजयन्ती मनाउन दिएको अनुमतिलाई विरोध गरेका छन् । वक्तव्यमा सिंहले भनेका छन् –

“यही असार २२ गते सरकारको स्वीकृति अनुसार दलाई लामाको जन्म दिन मनाउन छुट दिएको कुराप्रति पनि हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । नेपालको राजनीतिक इतिहासमा नै प्रथमपल्ट सरकारद्वारा अनुमति लिएर त्यो जन्म दिन मनाइएको हो। त्यो कार्यलाई अरु घटनाहरूसित पनि जोडेर हेर्नुपर्ने आवश्यकता छ । भाद्रको जेनजी आन्दोलनको बेलामा टीओबी बिल्ला लगाएका दलाई लामाका समर्थकहरू खुला रूपमा सडकमा आएका थिए । जेन्जी आन्दोलनपछि अन्तरिम सरकार बनेपछि दलाई लामाले प्रथमपल्ट त्यसलाई शुभकामना पठाएका थिए। त्यो सरकारले दलाई लामाका प्रतिनिधिलाई राजकीय सम्मानका साथ स्वागत गरेको थियो।

‘स्वतन्त्रतिब्बत’सित सम्बन्धित व्यक्तिलाई गृहमन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा नियुक्त गरिएको थियो। एकपल्टबर्खास्त भइसकेपछि पनि उनलाई त्यही मन्त्रालयमा पुनःनियुक्त गरिएको थियो । त्यो सामान्य घटना होइन र त्यसका पछाडि अमेरिकी साम्राज्यवाद वा सीआईएको नै मुख्यभूमिका रहेको कुरामा कुनै शङ्का रहन्न । त्यसका पछाडि अमेरिका वा सीआईएको तिब्बतमा आक्रमण गरेर दलाई लामालाई त्यहाँ पुनर्स्थापना गर्ने र त्यसका लागि नेपाललाई युद्धभूमि बनाउने रणनीतिले काम गरेको कुरामा कुनै शङ्का रहन्न । त्यसरी आफ्‌नो कुनै सरोकार नभएको विषयमा नेपाल अनावश्यक रूपले युद्धभूमि बन्नेछ र त्यसबाट नेपाललाई ठुलो धनजनको क्षति हुनेछ ।

त्यही उद्देश्य पूरा गर्न नै भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धका विरुद्ध स्वतः स्फुर्त रूपमा उठेको जेन्जीहरूको सही र न्यायपूर्ण आन्दोलनलाई हाइज्याक गरेर चुनावको घोषणा गरिएको थियो र वर्तमान कठपुतली सरकारको स्थापना गरिएको छ । अहिले दलाई लामाको जन्मजयन्ती मनाउने जुनकार्य गरियो, त्यो पनि त्यही लामो सिलसिलाको एउटा कडी हो र भविष्यमा अमेरिकाको त्यो रणनीतिका कैयौँ गम्भीर परिणामहरू हुँदै जाने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ ।

वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध र प्रशासन सुधारको दिशामा छिटोछिटो कैयौँ कार्यहरू गरिरहेको देखाउँदैछ र त्यसरी जनताको समर्थन जुटाउने प्रयत्न गरिरहेको छ । तर यो सरकारको त्यो नै मुख्य पक्ष होइन, यो थाहा भएकै कुरा हो कि संसारका सबै तानाशाहहरूले बा़य रूपमा जुन विकास वा जनकल्याणकारी कार्यहरूको प्रदर्शन गर्ने गर्दछन्, हिटलरले पनि आफ्‌नो समयमा त्यहाँ विकास सम्बन्धी कैयौँ कार्यहरूमा जोड दिएको थियो र उसको नेतृत्वमा जर्मनीले थोरै समयमा नै धेरै विकास गरेको थियो । तत्कालीन राजा महेन्द्रले पनि एकातिर राष्ट्रियता र अर्कातिर विकास सम्बन्धी कैयौँ कार्यहरूमा धेरै जोड दिने गरेका, उनले दौडाहा टोलीहरूको गठन गरेर गाउँगाउँमा जालीफटहाहरूका विरुद्ध कैयौँ कार्यहरू गर्ने गरेका थिए । गाउँ फर्कको गठन गरेर गाउँहरूको विकासमा पनि जोड दिने कोसिस गरेका थिए ।

उनले समाजवादी देशहरूको मद्दतमा कैयौँ सार्वजनिक उद्योगहरूको स्थापना गरेका थिए । तर हिटलर वा राजा महेन्द्रका यी सबै कार्यहरू गौण थिए र मुख्य कुरा उनीहरूको तानाशाही व्यवस्था नै थियो । त्यही कुरा अहिलेको सरकारबारे पनि सत्य हो । त्यसले बा़य र प्रकट रूपमा विकास वा प्रशासनमा सुधारहरूका कामहरूको जति प्रदर्शन गरे पनि त्यसको प्रधान पक्ष अमेरिकी साम्राज्यवादको रणनीतिको सेवा र त्यसका लागि देशमा फासिष्ट शासनको स्थापना नै हो । वर्तमान सरकारका कारवाही र अहिलेको दलाई लामाको जन्मजयन्तीबाट पनि त्यो कुरा प्रष्ट भएको छ ।”

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले असार २५ गते प्रतिनिधिसभा बैठका समय लिएर बोल्दै दलाई लामाको जन्मोत्सव नेपालमा मनाइएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।‘दलाई लामाको ९१औँ जन्मोत्सव नागार्जुन नगरपालिकाको कुनै एउटा विद्यालयमा सम्पन्न गरियो भन्ने खालका समाचार आएका छन् । त्यसमा विदेशी कूटनीतिहरूसमेत संलग्न भए भन्ने कुरा आएको छ । यसमा नेपाल सरकारको धारणा के हो ?’ उनले भने ।सांसद हमालले यस विषयले नेपाल र चीनको सम्बन्धको विषय के कस्तो असर गर्दछ भनेर ख्याल गर्नुपर्ने बताए । त्यसरी नै असार २५ गतेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले बालेन सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन दिएर नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए ।उनले लामाको जन्मोत्सवका अवसरमा असार २२ गते स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रमले नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भए देखिको सुमधुर सम्बन्धलाई खलबल्याउने काम गरेको बताए ।

चीनका लागि नेपाली पूर्व राजदूतहरुले परराष्ट्र नीतिको प्रतिबद्दतालाई दृढतापूर्वक पालना गर्न अपिल गरेका छन् ।
उनीहरुले संयुक्त प्रेस वक्तव्य जारी गर्दै सात जना पूर्व राजदूतहरूले गत असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।पूर्व राजदूतहरू राजेशवर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालले सधैँ दृढतापूर्वक पालना गर्दै आएको र नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा नदिने प्रतिबद्दता व्यक्त गर्दै आएको स्मरण गराएका हुन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित