पंचायती व्यवस्थाले देशलाई बर्बादीतिर धकेल्दैछ (अन्तर्वार्ता)

 

अभिलेख

–गोविन्द सिंह थापा, अध्यक्ष, अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समिति

(भोक, रोग र दरिद्रताले छटपटिएर भारत पसेका करिब ६० लाख नेपालीहरलाई गोलबद्ध बनाउने उद्देश्य र उनीहरुका हक, हित र इज्जतको संरक्षण र सम्बद्र्धन गर्न २०३५ सालमा जन्मिएको अखिल भारत नेपाली एकता समाज आज निकै विशाल र सशक्त छ । उक्त संस्थामा अध्यक्ष भै आउनु भएका श्री गोविन्द सिंह थापासँग हाँक साप्ताहिकका सहयोगी प्रतिनिधिले लिनु भएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छः सं)

० भारतमा बस्ने नेपालीहरुका मुख्य समस्या के कस्ता छन् ? ती समस्यालाई एकता समाजले कुन रुपमा हेरेको छ ?
भारतमा बस्ने नेपालीहरुका समस्या यति जटिल छन् कि ती सबैको चर्चा गर्नु यहाँ सम्भव छैन । तर पनि नेपालीहरुलाई जीवन निर्वाहका साधनहरु प्राप्त गर्न परेका कठिनाई, उनीहरुमाथि परेका ठगी, लुट, हत्या तथा महिलाहरुको बिक्री र उनीहरुले बिताउन परिरहेको कठिन जीवन, जीउधनको असुरक्षाका साथै नेपाल सरकारद्वारा यी समस्या प्रति गरिएको उपेक्षा आदि प्रवासी नेपालीहरुका समस्याका केही रुप हुन् । यी समस्याहरुको समाधानका लागि श्री ५ को सरकारले स्वदेशमै रोजगारीको व्यवस्था, पुनर्वासको व्यवस्था आदि कुराहरुमा योजनाबद्ध ढंगले कदम चाल्नु पर्ने आवश्यकता छ । जसरी वर्माबाट नेपालीहरुलाई देश निकाला गरे जस्तैः भोलि पनि भारतले यत्रो विशाल नेपालीहरुको समूहलाई भारतबाट हटाउँदा तिनीहरुको के अवस्था होला? यसबारे गम्भीरतापूर्वक ध्यान दिनु पर्ने आवश्यकता छ ।

० अ.भा.ने.ए. समाजले अहिलेसम्म के कस्ता गतिविधिहरु गरेको छ र आगामी कार्यक्रम के छ ?
–अ.भा.ने.ए.स. ले खास गरेर निम्न कार्यक्रमहरुलाई ध्यान दिएको छ । (१) भारतस्थित नेपालीहरुका हकहित र इज्जतका लागि प्रयत्न (२) नेपालका जन आन्दोलनलाई सहयोग र समर्थन (३) प्रगतिशील आधारमा भारतीय जनतासित एकताका लागि प्रयत्न(४) नेपाली जनतामा प्रगतिशील चेतनाको विगुलको लागि प्रयत्न ।
भारतस्थित नेपालीहरुको अत्यन्त ठूलो संख्यामाथि ध्यान दिंदा अहिलेसम्म हामीले उक्त दिशातिर गरेका प्रयत्नहरु अत्यन्त कम छन्, तैपनि हामीहरु आफ्नो क्षमता र साधनले भ्याएसम्म ती उद्देश्य पूर्तिको लागि प्रयत्नशील छौं र भविष्यमा पनि प्रयत्न गर्दै जानेछौं ।

० यहाँहरुले भारतस्थित नेपालीहरुका समस्या उठाउँदा सरकारी स्तरबाट कुनै सहयोग प्राप्त गर्नुभएको छ ?
–हामीलाई नेपाल वा भारत सरकारबाट कुनै सहयोग मिल्ने गरेको छैन । भारतस्थित नेपालीहरुका समस्याबारे बढी ध्यान दिनुपर्ने नेपाल सरकारले नै हो तर नेपाल सरकार वा भारतस्थित नेपाली दुतावासले प्रवासी नेपालीहरुका समस्या र तिनीहरुको पिर मर्का वा तिनीहरुमाथि हुने अन्याय, अत्याचारका लागि केही वास्ता गर्दैनन् । बरु नेपालीहरुको विरोध गर्न पछि पर्दैनन् ।

० त्यसो भए एकता समाजले कहाँबाट आफ्ना सहयोग र समर्थन जुटाएको छ ?
–एकता समाजले नेपालका समस्त न्यायप्रेमी जनताहरु, प्रगतिशील देशभक्त तथा जनतान्त्रिक शक्तिहरु र भारतका प्रगतिशील जनताहरुबाट प्रशस्त सहयोग र समर्थन जुटाएको छ तर यो पनि आवश्यकताको तुलनामा अत्यन्त कम छ । हामीले भारतमा पनि यी नै शक्तिहरुको सहयोग र समर्थनमा समय समयमा प्रशस्त आन्दोलनहरु उठाउँछौं हामीले उठाएको आन्दोलनलाई विश्वका न्याप्रेमी जनताहरुले पनि समर्थन गर्दछन् ।

० तपाईहरुले उठाउने आन्दोलन के नेपालको जनतन्त्र प्राप्तिको आन्दोलनसँग सम्बन्धित छ ? यदि छ भने नेपालको जनतान्त्रिक आन्दोलनबारे यहाँको दृष्टिकोण स्पष्ट पारिदिनु हुन्छ कि ?
–प्रथमतः हामीले उठाउने आन्दोलन नेपालको जनतान्त्रिक आन्दोलनसँग सम्बन्धित छ । दोस्रो कुरा, नेपालको जनतान्त्रिक आन्दोलनप्रतिको दृष्टिकोण यस प्रकारको छ ः नेपालमा भएको सामन्ती तथा औपनिवेशिक शोषणको शिकार भएका लाखौं लाख नेपालीहरु विदेशमा आउनु परेको छ । त्यसकारण नेपालीहरुले देश भित्र वा बाहिर भोग्नु परिरहेका सबै आधारभूत समस्याहरुको समाधानका लागि सर्वप्रथम नेपालमा सामन्ती, औपनिवेशिक शोषणको अन्त हुनुपर्छ । त्यही दृष्टिकोण अनुसार नै हामीले सामन्तवाद र साम्राज्यवादको विरुद्ध नेपालमा चल्ने जनआन्दोलनलाई समर्थन र सहयोग गर्दछौं । त्यसका साथै नेपालका देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरुद्वारा मौलिक अधिकार, राजनैतिक बन्दीहरुको रिहाई, सबै प्रकारको दमनको विरोध, सामन्ती व्यवस्थाको दमनको विरोध, सामन्ती व्यवस्थाकाअन्त्य तथा जनतान्त्रिक प्रणालीका स्थापनाको लागि चल्ने जनआन्दोलनलाई समर्थन गर्दछौं । तर आजको विश्वमा कुनै पनि जनआन्दोलन त्यस देशको राष्ट्रिय प्रश्न नभएर अन्तर्राष्ट्रिय स्वरुप हुन्छ। त्यसकारण हामीले भारत र सबै देशहरुमा चल्ने प्रगतिशील जनआन्दोलन सित एकता कायम गर्न चाहन्छौं । अ.भा.ने. ए.स. सामाजिक संस्था हो तर पनि उपरोक्त मागहरु कुनै राजनैतिक दलहरुको मात्र होइन आज सामाजिक संस्था वा आम जनतान्त्रिक सम्बन्धित कुरा हुन् । त्यसकारण हामीले आफ्नो घोषणा पत्रमा ती कार्यहरुलाई समर्थन गर्ने कुरामा विशेष जोड दिएका छौं ।

० वर्तमान नेपालको अवस्थाबारे के कस्तो मूल्यांकन गर्नु भएको छ र हाल घटेका घटनाहरुबारे केही भन्नु छ कि?
–कथित सामन्ती पंचायती व्यवस्थाले देशलाई बर्बादितिर धकेलीरहेको छ । नेपालमा भइरहेको कथित विकासले व्यापक शोषित, उत्पीडित र मेहनतकस जनतालाई फाइदा पुग्न सकेको छैन । र उल्टो उनीहरुमाथि व्यापक शोषण भइरहेको छ । देश र जनताको यो बर्बादी मुख्य ३ कुरामा भइरहेको छ । (१) जनताको राजनैतिक स्वतन्त्रता तथा मौलिक अधिकारको बढ्दो हनन (२) देशको सार्वभौमिकता र स्वतन्त्रता माथि बढ्दो खतरा (३) नेपालका अर्थतन्त्रमा विदेशी पुँजीपतिहरुको आधिपत्य र राष्ट्रिय पुँजीपतिहरुको शोषण । सौदाबाजी, तस्करी आदिले देशको स्थिति झन गम्भीर बन्दै गइरहेको छ । हालको हिरोइन, बैंक र वनकाण्डहरुले वर्तमान व्यवस्थाको भ्रष्ट रुपको गम्भीरतालाई बताउँछ । देश र जनताको यसप्रकारका बर्बादीका लागि आन्तरिक रुपमा नेपालको सामन्ती व्यवस्था नै मुख्य रुपमा जिम्मेवार छ ।

० नेपालमा हाल चलिरहेको शिक्षक संघर्ष सम्बन्धमा तपाईले कुन रुपमा मूल्यांकन गर्नुभएको छ ? के शिक्षक संघर्ष सफल होला ?
–शिक्षकहरुले आफ्ना ४ वटा जायज मागहरु लिएर संघर्षमा उत्रेपछि यसलाई असफल बनाउन सरकारले आफ्नो शक्ति शिक्षक संघर्ष रोक्नमा केन्द्रित ग¥यो । भोलिका कर्णाधार तयार गर्ने हाम्रा आदरणीय गुरुहरुको थाप्लोमा लाठी बुट, अश्रुग्याँस प्रयोग गर्दै कैयौं शिक्ष्ँकहरुलाई बाटोमा पल्टाइदिने, पुलिसलाई शिक्षक कुट्न निर्देशन दिएर घाइते भएका शिक्षकलाई अस्पतालमा जाँदा पनि त्यही फेरि पुलिसलाई शिक्षक कुट्ने निर्देशन दिई जेलमा कोच्ने, कैयौं शिक्षकको जागिर खोस्ने इत्यादिले गर्दा देशमा रहेका नेपाली दाजुभाई मात्र नभएर प्रवासमा रहेका नेपाली दाजुभाईलाई पनि उत्तिकै चोट परेको छ । शिक्षकका यी घाउ, चोटहरु शिक्षकका मात्र नभएर देश र विदेशमा बस्ने आम नेपालीका घाउ चोट हुन् । भारत तथा अन्य देशमा जहाँ नेपाली दाजुभाईहरु बसे पनि उनीहरुले भोलिको आफ्नो सन्ततीको भविष्य अवश्य हेर्नुपर्छ हामी प्रवासमा बस्ने सारा नेपाली दाजुभाईहरुको मुख्य आकांक्षा नै के छ भने भोलि हाम्रा सन्ततीलाई एक टुक्रा जमिन एक आङ कपडा र एक ट्वाबलेट भोलिका पिंढीले हामीलाई झै प्रवासमा आइ दुनियाँको गुलामी गरेर गोरुको जीवन बिताउन नपरोस् तसर्थ शिक्षकका यी सर्वमान्य मागहरु पूरा गराउन अति कठोर परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । शिक्षकहरुले दिएको कार्यक्रममा धेरै समयको अन्तराल भएको हुनाले यो समयमा सरकारले प्रलोभन देखाउने, धम्की देखाउने आदि थुप्रै कामहरु गर्न सक्छ तसर्थ जुन कुनै परिस्थितिमा पनि शिक्षकहरु विचलित नहोउन सबैको समर्थन पाउने छन् ।

० अन्त्यमा एक प्रश्न–भारतमा नेपाली चेलीवेटीहरुलाई बेश्या बन्न बाध्य हुनुपर्ने स्थितिबारे यहाँको संगठनको के धारणा छ ?
–धेरै बताइरहनु पर्ने आवश्यकता छैन कि यसबारे मूल रुपमा नेपालको सामन्ती, आर्थिक, सामाजिक अवस्था वा महिलाहरुलाई हेर्ने दृष्टिकोण तथा अन्त्यमा महिलाहरुको किन बेच्नप्र्रति वर्तमान व्यवस्थाको गैर जिम्मेवारी नीति जिम्मेवार छ ।
त्यसकारण सर्वप्रथम त्यो सामन्त सरकारका नीतिका विरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता छ । जसले महिलाहरुलाई पतनको दिशामा लैजान्छन् त्यो दीर्घकालीन आन्दोलन हो । त्यसका साथै तत्कालीन रुपमा जुन भारतमा बेश्या जीवन बिताउन बाध्य भैरहेका महिलाहरुको उद्धार र मुक्तिका लागि पनि प्रयत्न गर्नुपर्ने आवश्यकता छ । तर त्यो प्रयत्नका लागि पनि सर्वप्रथम बाधा यो छ कि बेश्या कोठीबाट निस्केका ती महिलाहरु कहाँ जाने ? समाजले उनीहरुलाई सामाजिक सम्मान दिन तयार छैन । जीवन निर्वाहका लागि आधार नवदाम्पत्य सुख । त्यसैले एकपल्ट पतितको अवस्थामा पुगिसकेका सम्बन्धित महिलाप्रति हाम्रा सामन्ती समाजको जन्म भरको लागि नै पुनः सामाजिक सम्मान दिन तयार छैन । हाम्रो समाजका महिलाहरुको एउटा सानो गल्ती पनि अक्षम्य हुन्छ र त्यसै कारण अपमानित र प्रताडित हुनुपर्दछ । धेरै बताइरहनु पर्दैन कि यो कट्टरपन्थी दृष्टिकोणका विरुद्ध पनि संघर्ष नगरिकन भारतमा बेश्या जीवन बिताउन बाध्य भैसकेका महिलाहरुको उद्धार र मुक्तिका लागि प्रारम्भिक प्रकारको प्रयत्न सम्भव छैन ।

(नोटः थापाको यो अन्तर्वार्ता हाँक साप्ताहिक वर्ष २, अंक २७, २०४१ फागुन १२ गते प्रकाशित भएको थियो ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित