कम्युनिष्ट आन्दोलनमा दार्शनिक दृष्टिकोणको समस्या

शशिधर भण्डारी
मानव सभ्यताको इतिहासको उषाकालदेखि नै जीवन र जगतको सिर्जनको प्रश्नलाई लिएर पर्याप्त चिन्तन भएको पाइन्छ । चिन्तनको इतिहासमा जीवन र जगतको सिर्जन तथा जीवन पद्धतिको विषयमा मूलतः दुईवटा परस्पर विरोधी विश्व दृष्टिकोणहरु पाइन्छन् । एउटा दृष्टिकोणले पदार्थलाई आदित्व मान्छ भने अर्को दृष्टिकोणले चेतना र अलौकिकतालाई । विश्वका प्रथम दर्शनशास्त्री थेल्सदेखि हेराक्लाइटस हुँदै माक्र्स ऐंगेल्ससम्म आउँदा चिन्तनको इतिहासले एउटा लामो निरन्तरताको श्रृंखला सिर्जना गरेको देखिन्छ । प्रारम्भिक युनानी दार्शनिकले प्रकृतिलाई सर्वज्ञ मान्थे र द्वन्द्वात्मक दृष्टिकोण राख्थे । यस विषयलाई हेराक्लाइटसले सुस्पष्ट ब्याख्या गरेका छन् । जुन कुराले दक्षिण एशियाली दर्शन र चिन्तन धाराका विषयमा पनि मेल खान्छ, हेराक्लाइटससहित युनानका धेरै दार्शनिकहरुले जीवन र जगतको मूल तत्व पदार्थलाई नै मानेका छन् । जीवन तथा जगतको आदित्व वा सिर्जनको कारण अलौकिक सत्ता होइन, प्रकृति र पदार्थ होे भन्ने ऋषि तथा दार्शनिक दक्षिण एशियामा पनि थिए । स्वयं वृहस्पति ऋषिले ईश्वरको अस्तित्व र आत्माको अमरतालाई अस्वीकार गर्दथे । अर्का ऋषि भृगुले पनि पदार्थबाट सबै चीजको उत्पत्ति भएको र जीवनको मृत्युपश्चातको बाँकी चिज पदार्थमा रुपान्तरण हुने र प्रकृतिमा विलय हुने बताएका थिए । समाज विकास तथा मानव सभ्यताको विकासको सिलसिलामा वर्ग र वर्गसत्ताको उदय भयो । त्यसपछि प्रारम्भिक भौतिकवादीहरुको सरल भौतिक दृष्टिकोणमाथि आक्रमणको युग शुरु भयो । दक्षिण एसियाको विवेकवादी दर्शन चार्वाक वा लोकायतमाथि हमला भयो । भ्रान्ति, मिथक र रहस्य बोकेको चेतनालाई आदित्व मान्ने अर्को अधिभूतवादी वा आदर्शवादी विश्वदृष्टिकोण मूलतः सत्ता सञ्चालनको अंग तथा हतियारका रुपमा उदय भएको देखिन्छ । दर्शनशास्त्रको समग्र इतिहास हेर्दा पदार्थवादी चिन्तनधारा चेतनावादी दृष्टिकोणभन्दा जेठो देखिन्छ । दक्षिण एशियाको इतिहासमा मूलतः आत्मावादी वैदिक कर्मकाण्डादीबाट आरम्भिक भौतिकवादी चिन्तनमाथि भौतिकरुपमै आक्रमण भएको देखिन्छ । यूनानी दर्शन शास्त्रको इतिहासमा इलियावादी दार्शनिकहरुले आरम्भिक भौतिकवाद तथा सहज द्वन्द्वात्मकतालाई पूर्णरुपमा निषेध गर्न पुगे । इलियावादीहरुमा सबभन्दा ठूला दर्शनशास्त्री पार्मेनाइडिज र उनका चेला जेनो थिए ।
प्रारम्भिक भौतिकवादले पनि प्रकृति, पदार्थ र इन्द्रीयलाई आधारका रुपमा मानेर ज्ञानलाई इन्द्रियग्राह्य ठान्यो । त्यसका विरुद्धमा पार्मेनाइडिजले सत्यलाई इन्द्रीयद्वारा पत्ता लगाउन नसिकने विचार राखे । उनले जीवन र जगतलाई बुझ्न नसकिने अजन्मा, गतिहीन, निराकार, अविनाशी, स्थिर र अनन्तको रहस्यमय ब्याख्या गरे । उनले चेतनाको आदित्व मान्दै एउटा ईश्वरको सतत रुपको ब्याख्या गरे । यो आदर्शवादी तथा अधिभूतवादी चिन्तनको जग बन्यो । इशापूर्व छैठौं शताब्दी मानव जातिको चिन्तनको इतिहासमा एउटा गजबको घुम्तिको रुपमा उदाएको थियो । त्यो कालमा विश्वभरी विभिन्न चिन्तनधाराका दार्शनिकहरु पैदा भएका थिए, जसमा चीनका कन्फ्यूसियस र लाओत्से, भारतका महावीर, नेपालका गौतम बुद्ध, ग्रीसका एनाक्सिमेण्डर आदि पर्दछन् । पार्मेनाइडिज पनि यसै कालखण्डका दार्शनिक थिए । यी दार्शनिकहरुले मानव जातिको चिन्तनको इतिहासमा आ–आफ्ना भाष्यहरु निर्माण गरेका छन् । यिनीहरुको एकअर्कासँग सहमति वा असहमतिको विमर्श हुन सकेन । तिनका विचारले फरक–फरक प्रतिमान खडा गरे पनि जीवन र जगतलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने भौतिकवादी यथार्थवादी विश्वदृष्टिकोणमा उल्लेखित विचारले प्रभावी भूमिका खेल्न सकेनन् । बरु पार्मेनाइडजको अधिभूतवादी विचारलाई नै बल पु¥याए । यो परिघटना पश्चात विश्वमा ईश्वरवादी मिथक विचार सक्रियरुपमा अगाडि आयो । आफ्ना धर्म र ईश्वरका प्रतिमानहरु खडा भएर आज विश्वमा दश हजार धर्म छन् र तिनका बिसौं हजार भगवान, ईश्वर वा देवताहरुको पल्टन देखिन्छ । भौतिकवादी विचारमाथि दमनको श्रृंखला अगाडि आयो । अन्तरधार्मिक युद्धहरु भए । चेतनालाई आदित्व मान्ने आदर्शवादले दास युग र सामन्तवादी युगको जंजीरलाई बलियो बनाए । विश्वमा धर्म सत्ताहरु कायम भए, जनविरोधी राज्यसत्ताको प्रमुख वैचारिक हतियार धर्महरु भए । बौद्ध दर्शनको तटस्थता र सम्यक विचारमाथि समेत बेदान्तवादी प्रहार भयो । दक्षिण एशियामा ‘व्रम्ह सत्य जगत मिथ्या’ भन्ने शंकराचार्यको मतको जगमा मध्ययुगको अँँध्यारो काल शुरु भयो । जगत सत्य व्रम्ह मिथ्यालाई चिन्तनको आधार बनाउने विचार पछाडि पर्न गयो । आजभन्दा सवा दुई हजार वर्ष पहिले जिसस क्राइस्ट जन्मे, सातौं शताब्दीमा हजरत मोहम्मद जन्मे । यिनले ईश्वरको अवतारको संज्ञा प्राप्त गरे । १५ औं शताब्दीमा सिख धर्मको उदय भयो । गुरु नानकले पनि भगवानकै दर्जा प्राप्त गरेको देखिन्छ । अवतारवादको प्रकरणमा हिन्दु धर्मको भगवानको अवतारको कथा त कति लामो छ कति । मध्ययुगभरि इहलोकभन्दा परलोक वा स्वर्ग सुरक्षित गर्ने भ्रामक चिन्तनको खेती भइरह्यो । यो प्रश्नमा धर्म र सत्ताको रोचक कार्यगत एकता भएको देखिन्छ । पादरीहरुमात्र होइन राजा महाराजाहरु नै ईश्वरको अवतारको रुपमा प्रचारित हुन थाले । फ्रान्सका राजा लुईं चौधौंले आफूलाई ईश्वर घोषणा गरेका थिए । नेपाल र भारतको हिन्दू समुदायले पनि राजालाई विष्णुको अवतार मान्थ्यो ।
युरोपमा उठेको पुनर्जागरण आन्दोलनले ईश्वरको सत्तालाई चुनौती दियो । ज्ञानोदय कालमा तर्क, विज्ञान र मानवअधिकारको जोडदार आवाज उठ्यो । चिन्तनको इतिहासमा भौतिकवाद र द्वन्द्ववादका अधुरा विचारहरुको श्रृंखला पनि अगाडि बढेको थियो । त्यस्तो अवस्थामा माक्र्स ऐंगल्सले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई परिष्कृत गरेर दर्शनको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको दार्शनिक भाष्य खडा गरे । जुन भाष्य आरम्भिक भौतिकवादको विकसित र परिमार्जित स्वरुप वा आधुनिक वैज्ञानिक भौतिकवादी विचार हो । द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई आदित्व मान्छ, ईश्वरवादी धारणाको खण्डन गर्छ । माक्र्सले दुनियाँको ब्याख्या गर्ने कुरालाई मुख्य ठान्दैनन् बदल्ने कुरालाई मुख्य ठान्छन् । त्यसो त माक्र्सवादी दर्शनले टाउकाले टेकेको दुनियाँलाई खुट्टाले टेकेर उभ्याउने काम गरेको छ । माक्र्स–ऐंगेल्सले यस प्रकारको विचारको पैरवी गरेका छन् । त्यसकारण विश्वमा रहेका परस्पर विरोधी दुईवटा विश्वदृष्टिकोणमा एउटा आदर्शवादी चिन्तन हो जसले चेतनालाई आदित्व मान्छ । जीवन र जगतको सिर्जन र ईश्वरको कृपाबाट भएको ठान्छ भने द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई आदित्व मान्दछ र जीवन जगतलाई अलौकिकताको सहारामा होइन तथ्य, प्रमाण, अनुसन्धानको आधारमा विश्वदृष्टिकोण निर्माण गर्छ ।
दर्शनको क्षेत्रमा मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिकलगायत समग्र क्षेत्रमा माक्र्सवादले नयाँ धरातल निर्माण गरेको छ । कम्युनिष्ट आन्दोलनको जग नै माक्र्सवाद हो । यो श्रमजीवी जनताको पक्षमा उभिने चिन्तनधारा हो । यही माक्र्सवादी विचारलाई हतियार बनाएर सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भयो । लेनिनले माक्र्सवादको भण्डारलाई थप समृद्ध बनाउने काम गरे । विचार निर्माणको श्रृंखलामा दार्शनिक धरातल कुन हो ? भन्ने प्रश्नले नै आधारभूत महत्व राख्दछ । माक्र्सवाद लेनिनवादले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई सर्वहारा श्रमजीवी जनताको मुक्ति र हितको जीवन दर्शन बनाउँछ । धर्म र अन्धविश्वासका नाममा हुने सम्पूर्ण शोषण, दमन तथा अत्याचारको विरुद्धमा झण्डा उठाउँछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणको प्रथम प्रयोग रुसी भूमिमा भयो । लेनिन–स्टालिनको नेतृत्वमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचार श्रमजीवी जनताको जीवन दर्शनका रुपमा सोभियत रुसमा प्रयोगात्मकरुपमा विकास भयो । साहित्य र कलाको क्षेत्रमा समाजवादी यथार्थवादी विचारको उदय पनि तत्कालीन सोभियत संघमा भएको थियो । त्यसो त द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद वैज्ञानिक समाजवादी विश्व व्यवस्थाको जीवन दर्शनका रुपमा स्थापित हुन गयो । त्यसकारण वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण र विकासका लागि माक्र्स, ऐंगेल्स, लेनिन, स्टालिन र माओत्सेतुङ लगायत विश्वका क्रान्तिकारीहरुले सर्वप्रथम यो दर्शनलाई राम्रोसँग समाउनुपर्ने कुरामा जोड दिएका छन् ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्तको मार्गदर्शनमा सन् १९४९ मा चीनमा चिनियाँ विशेषतामा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । सन् १९५४ बाट समाजवादी संक्रमणको दिशामा गएको चीनमा प्रतिध्रुवीय मूल्यमा स्थापित द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई जीवन दर्शन बनाउने पक्षमा पार्टी केन्द्रमै जटिल समस्याहरु देखा परे माओलाई ‘पार्टी हेडक्वार्टरमाथि बम वर्षा गर’ भनेर आव्हान गर्नुप¥यो । चिनिया समाजमा मात्र होइन कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामा नै सडेगलेका पुराना विचार, आचरण तथा आदर्शवादी आनीबानीको अन्त्यको प्रक्रिया नै अगाडि बढ्न नसक्दा सन् १९६६ मा कमरेड माओको नेतृत्वमा महान सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डा उठ्यो । सोभियत संघमा सन् १९५६ पश्चात संशोधनवादको वर्चश्व स्थापित भएपछि कम्युनिष्ट दर्शनको प्रचार त गरियो तर यो दर्शनलाई समाउने, आत्मसात गर्ने र जीवन दर्शन बनाउने प्रश्नमा उदारवादी गल्ती भए । चीनको कम्युनिष्ट पार्टी र अनवर होक्जा तथा मेहोमद सेंहु नेतृत्वको अल्वानियाको कम्युनिष्ट पार्टीका बीचमा केही मतभेद थिए । ती मतभेद दर्शनलाई आत्मसात गर्ने र जीवन दर्शन बनाउने प्रश्नसित पनि सम्बन्धित थिए तर सोभियत संशोधनवादका विरुद्धको महान सैद्धान्तिक संघर्षमा अल्बानियाको कम्युनिष्ट पार्टीले माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीलाई साथ दिएको थियो । पछि उनले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई आत्मसात गर्ने र जीवन दर्शन बनाउने कुरामा उदार नीति बनाए । चीनको महान सर्वहारा सांस्कृतिक क्रान्तिको बिरुद्धमा विचारहरु प्रकट गरे । दर्शनलाई ठीकसँग नसमाउनुको परिणाम सन् १९८९ को प्रतिक्रान्तिपश्चात संशोधनवादका विरुद्धमा झण्डा उठाएको अल्बानिया युरोपको पहिलो मुस्लिम राष्ट्र पो भयो । यसले के बताउँछ भने अल्बानिया एउटा कम्युनिष्ट मुलुक भएर पनि सांस्कृतिक दार्शनिक रुपान्तरणको काम गरिएन । जसको परिणाम यति दुःखद हुनपुग्यो । परिवर्तनका लागि क्रान्तिमार्फत् सत्ता बदलेर मात्र पुग्दैन राज्यको सोच र चिन्तनप्रणालीमा पनि परिवर्तन ल्याउन सक्नुपर्दछ । नेतृत्व नबदलिएसम्म समाज बदलिन्न । इण्डोनेशिया कम्युनिष्टहरु सरकारमा गएको र विश्वको तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको देश हो । इण्डोनेशियामा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई आत्मसात गर्ने र वर्ग शत्रुको खतराबाट सतर्क रहने प्रश्नमा उदासीनता अपनाइयो । दर्शनको क्षेत्रमा प्रभावी काम भएन जहाँ साम्राज्यवादको पुठमा सुहार्तोको नेतृत्वमा सन् १९६५ मा सैनिक विद्रोह गराइयो । दशौं लाख कम्युनिष्टहरुको नरसंहार भयो । आज त्यो देश पनि एउटा मुस्लिम मुलुकमा परिणत भएको छ । भारतको पश्चिम बंगाल, त्रिपुरा र केरलमा निर्वाचनमार्फत दशकौंसम्म कम्युनिष्टहरुको राज्य सरकार स्थापना भयो । पश्चिम बंगालमा मुस्लिमलाई भोट बैंक बनाउन कम्युनिष्ट सरकारले मस्जिद निर्माणमा समेत लगानी ग¥यो । सिंगो कम्युनिष्ट पार्टीमा द्वन्द्वात्मक भौतिकवादी आचरण र विश्वदृष्टिकोणमा समस्या आयो । भारतमा हिजो कम्युनिष्ट गढ भएका स्थानमा भाजपाको उदय हुनु दार्शनिक दृष्टिकोणले मूल्याङ्कन गर्दा त्यो सामान्य विजोग होइन ।
नेपालको कम्युनिष्ट आन्दोलनको दशा योभन्दा खराब देखिन्छ । हिन्दू धर्मभित्रका सम्पूर्ण रुढिवाद, अन्धविश्वास, मिथक र गैरजीवनमुखी आदर्शवादी भाष्यलाई जीवन दर्शन बनाउने र लालझण्डा पनि बोक्ने दोराहको एउटा विचित्रको पथमा नेपाली कम्युनिष्ट आन्दोलनको मूल धारा देखिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा द्वन्द्वात्मक भौतिकवाद र आदर्शवादलाई फ्यूजन गराउन आवश्यक छ भन्ने उदेक लाग्दा विचारहरु पनि आए । नेपालमा कम्युनिष्टहरु सरकारमा गए, सरकारको नेतत्व गरे तर ती नेताहरुमा पुरानो आदर्शवादी सत्ता संस्कृतिभन्दा फरकपन आएन । कालो बोको काटियो, भद्रकालीमा आशीर्वाद थापियो । ज्योतिष हेराइयो, भैंसी पूजा गरियो । जेमदानलाई शान्त पारियो आदि इत्यादि ।
माक्र्स र ऐंगेल्सले विकसित गरेको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शन एउटा प्रतिधु्रवीय दर्शन हो । यो सर्वहारा श्रमजीवी जनताको मुक्तिको दर्शन हो । त्यसकारण एउटा सच्चा माक्र्सवादी हमेशा प्रतिध्रुवीय दर्शनको जगमा उभिएर झण्डा उठाउनुपर्दछ । माक्र्स ऐंगेल्सले आफ्ना कृतिहरुमा पटक–पटक सिद्धान्त र व्यवहार, मानसिक श्रम र शारीरिक श्रमका बीचको एकतामा जोड दिएका छन् । माक्र्स–ऐंगेल्सले वर्गविहीन समाज निर्माणको दिशामा अगाडि बढ्ने कुरामा सिद्धान्त र व्यवहारको एकता तथा दर्शनप्रतिको प्रतिबद्धताको पक्षमा लगातार जोड दिंदै आएका छन् । जुन कुरा लेनिन, स्टालिन र माओका सन्दर्भमा पनि सत्य हो । आजको चीनमा समेत कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्न द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जीवन दर्शन बनाउनु, नास्तिकताको प्रचार गर्नुलाई पहिलो शर्तका रुपमा लिइन्छ । लेनिन तथा स्टालिनहरुले राज्य संचालन गरेको रुसमा प्रतिक्रान्ति भयो तर त्यहाँ पुरानो द्वन्द्वात्मक भौतिकवादी ऐतिहासिक छापका कारण त्यहाँको समाज आज पनि त्यति धेरै धर्मभिरु छैन ।
नेपालको कम्युनिष्ट आन्दोलनमा ऐहिासिक द्वन्द्वात्मक भौतिवादी विश्वदृष्टिकोणको अभाव छ । सबैको गतिलो र मिठो हुन चाहने समन्वयवादको बेजोड प्रभाव छ । दर्शनप्रतिभन्दा सत्ता, सुख, नियुक्तिप्रति बौद्धिकहरुको एउटा प्लाटुन अशोभनीय अनुरागी रहँदै आएको छ । त्यसका साथसाथै माक्र्सवादी दर्शनलाई आफू अनुकूल ब्याख्या गर्ने भद्दा बौद्धिक दरिद्रता पनि छ । कतिपय नेपाली माक्र्सवादीले त पूर्वीय दर्शनलाई माक्र्सवादको पर्याय भन्न समेत नहिच्किचाएको पाइन्छ । दर्शनलाई आत्मसात गर्ने र जीवन दर्शन बनाउने प्रश्नमा ठूलो गडबडी पैदा भएकै कारण ठूलो त्याग र बलिदानको इतिहास बोेकेको नेपाली कम्युनिस्ट आन्दोनलको मूलधार कामको होइन नामको मात्र बन्न पुगेको छ ।
माओत्सेतुङले कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन र साम्यवादी समाज निर्माण गर्न हजारौं सांस्कृतिक क्रान्ति गर्नुपर्ने कुरा औंल्याएका छन् । चीनमा दश वर्षसम्म महान सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो । क.माओको निधनलगत्तै सो क्रान्ति पराजित भयो तर आज नेपाल मात्र होइन विश्वकै कम्युनिष्ट आन्दोलनमा महान सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकता र महत्व बढेको छ । अब कम्युनिष्ट आन्दोलनमा खतराका रुपमा आएको दार्शनिक विश्वदृष्टिकोणको समस्यालाई हल गर्न कम्युनिष्ट आन्दोलनभित्र सर्वहारा सांस्कृतिक क्रान्तिको सैद्धान्तिक परियोजना तयार पार्न आवश्यक छ । त्यसपछि विचारधारात्मक अभियान सञ्चालन गर्दै सांस्कृतिक क्रान्तिको झण्डा उठ्न जरुरी छ । युरोपमा १४ औंदेखि १७ औं सताब्दीसम्म महान सांस्कृतिक र बौद्धिक आन्दोलन चल्यो, जुन विश्व इतिहासमा पुनर्जागरण आन्दोलनका रुपमा परिचित छ । पुनर्जागरण आन्दोलन धर्मसत्ताका बिरुद्ध उठेको थियो । पुनर्जागरणले युरोपमा आविष्कारहरुको बाढी ल्यायो, त्यसपछिको ज्ञानोदयकालले राजनीतिक व्यवस्थापनको बिंडो उठायो । आजको युगको विज्ञान र प्रविधिको जग नै पुनर्जागरणको युग हो ।
तर दक्षिण एशियामा पुनर्जागरणकाल आएन । त्यसकारण दक्षिण एशियाको समाज आविष्कार होइन कथित चमत्कार र अन्धविश्वासका वरिपरि घुमिरह्यो । त्यसको परिणाम कम्युनिष्ट आन्दोलनभित्र वैज्ञानिक चेतना स्थापित हुन सकेन । त्योभन्दा चिन्ताको कुरा आजको युवा पुस्ता त झन एम.आर.आर.को प्रभावमा पर्दैछ । यसले हाम्रो समाजलाई कता लैजाला ? एम.आर.आर.उदय किन भयो ? कसका लागि भयो ? यसका पछाडिका रणनीति के हो प्रश्नहरु विचारणीय छन् ।
समाजमा देखा परेका सम्पूर्ण समस्याहरुलाई दार्शनिक रुपमा परास्त गर्ने दर्शन द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो भने राजनीतिकरुपमा परास्त गर्ने शास्त्र माक्र्सवाद–लेनिनवाद र माओविचार वा वाद नै हो । त्यसकारण कम्युनिष्ट आन्दोलनलाई सही दार्शनिक विश्वदृष्टिकोणबाट लैस बनाउन आवश्यक छ । यो काम असम्भव छैन, संभव छ । त्यसका लागि धेरै मेहनत, साधना र निरन्तर वैचारिक अभियान तथा संघर्षको आवश्यकता छ । नेपालको कम्युनिष्ट आन्दोलनमा दर्शनको अध्ययन र त्यसलाई जीवन दर्शन बनाएर रुपान्तरणको दिशामा अगाडि बढाउने काम प्राथमिकतामा परेन । श्रमजीवी वर्गचेतना, वर्गीय पक्षधरता, वर्गीय व्यवहार, आचरण, नैतिकता, आलोचनात्मक विवेक, समालोचनात्मकरुपमा इतिहासको सिंहावलोकन भएन । दर्शन अनुरुपको व्यवहार भन्ने कुरा कार्यसूचिमा परेन । जसको परिणाम कम्युनिष्ट आन्दोलनमा आदर्शवादी विचारको प्रभावमात्र होइन वर्चश्व नै रह्यो । त्यसकारण नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार परिष्कृत बुर्जुवा दृष्टिकोणको वरिपरि घुमिरहेको छ । यसलाई सर्वप्रथम दार्शनिक जीवन दर्शनको पथबाट अगाडि नबढाइकन कम्युनिष्ट आन्दोलन ठीक दिशामा अगाडि बढ्न सक्दैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित