काठमाण्डौ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ ।
राष्ट्रिय सुरक्षा ,राष्ट्रिय प्रतिरक्षा अध्ययन ,साइबर सुरक्षा ,भूराजनीतिक सुरक्षा जस्ता विषयहरुलाई अध्ययन अध्यापन गराउने उद्देश्य सहित स्थापना गर्न थालिएको भनिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमाथि छलफलमा सांसदहरुले विश्वविद्यालय राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्नेमा जोड दिनु भएको छ । प्रधानमन्त्री कुलपति, रक्षामन्त्री सह–कुलपति तथा विश्वविद्यालयका विभिन्न पदाधिकारी नियुक्तिमा राजनीतिक तथा बाह्य प्रभाव रहने गरी ल्याएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक राजनीतिक हस्तक्षेपबाट मुक्त नहुने सांसदहरुले स्पष्ट पार्नु भएको छ ।
प्रतिनिधिसभा सदस्य डा. राम लामाले प्रतिरक्षा विश्वविद्यालय राजनीतिक हस्तक्षेपबाट मुक्त हुने कुरामा आशंका व्यक्त गर्नु भयो । सांसद लामाले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै योग्य, अनुभवी र सक्षम नेतृत्वको स्वतन्त्र तथा पारदर्शी नियुक्ति सुनिश्चित गरिनुपर्ने धारणा राख्नु भयो ।
राष्ट्रिय सुरक्षा र सामरिक महत्वको विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने भनिए पनि यो विश्वविद्यालय कहीँकतै सैनिक मुख्यालयको एउटा अङ्ग जस्तो त हुने होइन ? भन्दै सांसदहरुले विधेयकमाथि छलफलको क्रममा आ–आफनो धारणा राख्नु भएको छ ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा–पेरुङ्गेडाँडामा स्थापना गर्ने निर्णय भएको छ ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय साँच्चिकै नेपाली जनताको हितमा वा नेपालीको आवश्यकतामा स्थापना गर्न लागिएको हो वा मुलुकलाई अन्तर्राष्ट्रिय प्रयोगको केन्द्र बनाउन लागिएको हो भन्नेमा सर्वत्र चिन्ता र चासो बढेको छ । यहाँ कस्तो जनशक्ति उत्पादन गर्न खोजिँदै छ ? वा यो जनशक्ति साँच्चिकै देशको हितमा प्रयोग प्रयोग हुन्छ ? कि हुँदैन ? भन्ने बहसहरु भइरहेका छ् । प्रतिरक्षा गर्न सक्ने गरी जनशक्ति निर्माण गर्नलाई यो विधेयक ल्याइँदै छ ? वा देशलाई अस्थिर बनाउन जनशक्ति उत्पादन गर्न खोजिँदैछ ? भन्ने कुरामा गहन तरिकाले विषयहरु आइरहेका छैनन् ।

