काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरिरहँदा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालय बाहिर विशाल विरोध प्रदर्शन भएको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले ट्रम्पलाई “ युद्ध अपराधी ”को संज्ञा दिएका थिए । म्यानहटनको सेकेन्ड एभिन्यु र ४२औँ स्ट्रिट वरपर भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पको वैदेशिक नीति र सैन्य कदमहरूको समेत चर्को विरोध गरेका हुन् ।
विभिन्न सञ्चारमाध्यम तथा प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनमा सहभागीहरूले “ट्रम्पले हाम्रो प्रतिनिधित्व गर्दैन” ट्रम्पको फोटो सहित “फासिस्ट”लेखिएको प्ले कार्ड पनि प्रदर्शनकारीहरुले बोकेका थिए । प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेका थिए, जसमा ट्रम्पलाई “ युद्ध अपराधी ” को संज्ञा दिँदै उनको नीतिहरूको विरोध गरिएको थियो।
राष्ट्रपति ट्रम्प संयुक्त राष्ट्रसङ्घको महासभामा पुग्ने समयमा प्रदर्शनकारीहरूले मुख्य सडक नै अवरुद्ध गरेर धर्ना दिएका थिए। न्युयोर्क प्रहरीले हस्तक्षेप गरी सडक खाली गराउने क्रममा केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा समेत लिएको छ।महासभामा राष्ट्रपति ट्रम्पले सम्बोधन गर्दै आफ्नो प्रशासनले विश्वका विभिन्न क्षेत्रमा शान्ति स्थापना र द्वन्द्व समाधानका लागि पहल गरिरहेको दाबी गरेका छन् भने अर्कातर्फ अन्तर्राष्ट्रिय अपराध अदालतको वैधतामाथि प्रश्न उठाएका छन्। युएन मुख्यालय बाहिर भएको यो विरोध प्रदर्शनले संयुक्त राष्ट्रसङ्घको महासभा चलिरहँदा अमेरिकी नीतिप्रति रहेको असन्तुष्टिलाई उजागर गरेको छ।

