– रामबहादुर बुढा
२०७८ मङ्सिरमा नेकपा ( मसाल) केन्द्रीय समन्वय समितिको गठन भएको थियो । सो समन्वय समितिको आयोजनामा २०७९ असोजमा पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको थियो । त्यस महाधिवेशनले पार्टीलाई पुनर्गठन गर्दै पार्टीको नाम नेकपा ( मशाल ) राखेको थियो । नेकपा ( मशाल) पुनर्गठन भएको एक वर्ष पूरा हुँदा पनि पार्टी फुटको औचित्यता पुष्टि गर्न सकेनन् भनेर मशाल र मशाल नेतृत्वको तेजोवध गरेको देखिन्छ । आउनुहोस् ,छलफल गरौँ – मशाल पुनर्गठनको औचित्य पुष्टि भयो वा भएन ?
विचारधारा रक्षाको प्रश्न ः
हामीले जे उद्देश्य राखेर मशालको पुनर्गठन गरेका थियौँ, त्यो उद्देश्य प्रति हामी अडिग र इमान्दार छौँ । यो नै मशाल पुनर्गठनको औचित्यताको पुष्ट्याईको मूख्य प्रमाण हो । विचारधारा रक्षाको प्रश्नलाई प्राथमिकतामा राख्न सफल भएका छौं । सत्ता ,भत्ता, सुख ,सुबिधाका पछाडि ठूलो जमात दौडिरहेको बेला विचार रक्षाका पक्षमा उभिन सक्नु नै ठूलो कुरा हो ।
नेपाली समाजको चरित्र र कार्यदिशाको प्रश्नः
विशेष महाधिवेशनले नेपालको सामाजिक – आर्थिक चरित्रको यथार्थ विश्लेषण गरी तदनुरूपको क्रान्तिकारी आन्दोलनको बाटो र गन्तव्य स्पष्ट गरेको छ । तत्कालीन मसालले नेपालमा सामन्ती शोषण नै शोषणको प्रमुख रूप हो भनेर नेकपा ( मसाल) को नेतृत्वले चौथो महाधिवेशनकालीन विश्लेषणलाई निरन्तरता दिदै आइरहेको अबस्थामा हामीले फरक मतको तर्फबाट नेपाली समाजमा सामन्ती शोषण भन्दा दलाल पुँजीवादी शोषण मुख्य भएर आएको छ । त्यसैले पुरानो विश्लेषण फेर्नु पर्दछ भनेका थियौं । आठौं महाधिवेशनमा अल्पमत पक्षले राखेको त्यो सही बिश्लेषणलाई विशेष महाधिबेशनले अनुमोदन गरेकोछ । नेपाल अर्ध सामन्ती, अर्ध औपनिवेशिक मात्र होइन नव औपनिवेशीकरणको प्रकृयामा पनि गइरहेको छ । यो अवस्थामा सत्ता प्राप्तिको संघर्षको चरित्र दीर्घकालीन जनयुद्ध नभएर संघर्षको मूल चरित्र सहरीया सशस्त्र विद्रोह हुन सक्ने निश्कर्षमा हामी पुग्यौं । वर्ग संघर्षको विकास गर्दै संघर्षलाई त्यो विन्दुमा पुर्याउनु पर्दछ ।
ध्रुवीकरणको प्रश्नः
हामी मात्र शुद्ध हौं ,सही हौं भन्ने अदिभूतवादी दृष्टिकोणबाट माथि उठेर छरिएका क्रान्तिकारी शक्तिहरूलाई ध्रुबीकृत गरेर जाने कुरालाई हामीले अगाडि बढाइरहेकाछौ। त्यो कार्यमा हामी एक हद सम्म सफल भएका छौँ । पार्टीको मूल कार्यदिशा मिल्ने शक्तिहरू सकभर पार्टी एकता नै गर्नु पर्दछ । पार्टी एकता गर्न नसकेका शक्तिहरू बीच संयुक्त मोर्चा ,कार्यगत एकता र सहकार्यको बाटोबाट जानू पर्दछ भन्ने हाम्रो दृष्टिकोण छ ।
जुन दिन हामीले फरक मत राख्यौं त्यस दिन देखि हामी माथि लगातार यिनीहरूले पार्टी चलाउने होइनन् कतै गएर बिलय हुने हुन् भन्ने आरोप मसाल नेतृत्वले लगाउँदै आइरहेको थियो र अहिले पनि त्यो पक्ष त्यही खेतीमा रमाइरहेको छ । क्रान्तिकारी आन्दोलन कुनै ब्यक्ति ,समूह वा पार्टीको मात्र जिम्माको विषय होइन । यो त क्रान्तिका पक्षधर सबैको साझा दायित्व हो । त्यो साझा दायित्वभार बोक्ने सन्दर्भमा विभिन्न पार्टीहरूका वीचमा पार्टी एकता हुनसक्छ । सहकार्य र कार्यगत एकता वा संयुक्त मोर्चा हुन सक्दछ । पार्टी एकता भए पनि सिद्धान्तनिष्ठ एकता हुनु पर्दछ । क्रान्तिकारी आन्दोलनको अभिभारालाई केन्द्रमा राखेर त्यो एकता हुनु पर्दछ । हामी अहिले संकीर्णतावादको आहालबाट निस्केर दुनियाँ देख्ने कोसिस गर्दै छौँ ।
मशाल , क्रान्तिकारी माओवादी र बहुमतका वीचमा पार्टी एकताको लामो गृह कार्य गर्यौं । क्रान्तिकारी माओवादी र बहुमतले २०८० बैशाख १८ गते पार्टी एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गठन गरेका छन् । त्यो पार्टी एकतामा केही राजनीतिक प्रश्नमा ठोस समझदारी बन्न नसकेकाले हामी पार्टी एकतामा सामेल हुन नसके पनि हाम्रो पार्टीले त्यो एकतालाई शुभकामना दिएको थियो र सहकार्य पनि गर्दै आइरहेका छौँ । क्रान्तिकारी राष्ट्रिय मोर्चा, नेपाल निर्माण गरेका छौँ । विभिन्न छरिएका वामपन्थी तथा देशभक्त शक्तिहरूको संयुक्त मोर्चाको रूपमा यसलाई अगाडि बढाउने प्रयत्न भएकोछ ।
वर्ग संघर्ष ः
एउटा कम्युनिस्ट बन्नका लागि चाहिने मुख्य विशेषता भनेको शोषित वर्गको दृष्टिकोणबाट हरेक घटनालाई हेर्नू ,बुझ्नु र व्यवहार गर्नु हो । समाजमा दुई दृष्टिकोण हुन्छ । जस्तो कि कुनै शहरको सडकमा मजदुरहरूले ज्याला वृद्धिको माग गर्दै जुलुस निकाले भने कुनै काम गरिखाने ब्यक्तिले उनीहरू प्रति सहानुभूति राख्ने छ । विचराहरूलाई साहुले ठगेछ भन्ने छ । तर कुनै साहुले उनीहरूको जुलुसलाई साहुमारा भनेर दुत्कार्ने छ । नेकपा ( मशाल) ले आफुलाई वर्ग संघर्ष सित जोड्ने प्रयत्न गर्दै आइरहेकोछ । किसान र मजदुरका सामयिक समस्याहरूलाई उठान गर्ने प्रयत्न गर्दै आइरहेकोछ । देशमा चलिरहेको मिटर ब्याज पीडित र लघुबित्त पीडितहरूको आन्दोलन सित जोडिएकोछ । मसालले जेनतेन मिटर ब्याज पीडितको माग पूरा हुनु पर्दछ भनेर बक्तब्य सम्म फाल्यो । मसालको एक जना जिम्मेवार व्यक्तिले फेस बुकमा लामो स्टाटस राख्दै मिटरब्याज पीडितहरू भनेका साहु मारा, ठगहरूको आन्दोलन भनेर त्यो आन्दोलन माथि विष वमन गरे । होला मिटर ब्याज पीडितहरूमा केही खोट होला । तर चिजलाई समग्रतामै बुझ्नु पर्दछ । चैत मासको धुपिलो घाममा खाली खुट्टा काखमा नानी च्यापेर बर्दिबास देखि काठमाडौं सम्म पीडित महिलाहरू १२ दिन सम्म मार्चपास गरेका छन् । अहिले पनि त्यो आन्दोलन फरक फरक ढङ्गले चलिरहेकोछ । त्यो पक्कै पनि रहरले होइन । यो कुनै ठट्टाको कुरा होइन । मसालका नेता शोषित वर्गको यति सम्वेदनशील चिजलाई उपहास गरेर सार्वजनिकरूपमा लेख्न सक्ने
तहमा पतन भैसकेछन् । मसालका जिम्मेवार नेताहरूको यति सम्म वर्गीय दृष्टिकोण समाप्त भैसकेको छ कि कुनै काङ्ग्रेसको नेताको कसैले सामान्य कुरामा सार्बजनिक आलोचना गर्यो भने बरू काङ्ग्रेसका कार्यकर्ता मौन बस्ला मसालका जिम्मेवार नेताको मन दुख्छ र सार्बजनिकरूपमा काङ्ग्रेसी नेताको बचावको लागि आफूलाई अगाडि सार्दछ । यो तहको स्खलन ? यो तहको पतन ? यत्ति छिट्टै होला भनेर हामीले सोचेका थिएनौ । प्रतिक्रियावादीहरू सितको लसपस र उठबसले मसालका साथीहरूलाई त्यहाँ सम्म पुर्यायो । मसालले अपनाएको दक्षिणपन्थी कार्यदिशाले उब्जाएका यी केही ब्यबहारिक उदाहरण मात्र हुन् । यस्ता तमाम उदाहरण छन् । वर्गीयरूपमा पतनको पराकाष्ठा देख्न अझ बाँकी नै छ ।
राष्ट्रियता र जनसरोकारको आन्दोलनः
पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले एक पछि अर्को राष्ट्रघाती कार्य गरिरहेकोछ । नेपाल विद्युत विकास समितिको लगानीमा निर्माण कार्यको ठूलो हिस्सा सम्पन्न भैसकेको फुकोट कर्णाली जलविद्युत परियोजनालाई प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला ५१ प्रतिशत स्वामित्व भारतको हुने गरी सम्झौता गरी भारतलाई बुझाइदिएकाछन् । तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा भारतको सतलज कम्पनीलाई बुझाइदिएकाछन् । राष्ट्रघाती एम.सी. सी . सम्झौता गरिएकोछ । भारतीय बिदेश मन्त्री यस. जय शङ्कर नेपाल भ्रमणमा आएका बेला वर्तमान गठबन्धन सरकारले २० करोड सम्म नेपाल सरकार सँग सहमति नै नलिइकन एउटा योजनामा खर्च गर्न पाउने सहमति गरेकाछन् । विकास खोज्न नेपालीहरू भारतीय दुतावासमा लाईन लाग्नु पर्ने स्थिति बन्दैछ । यो तरिकाबाट नेपालको स्वाभिमान कहाँ पुग्दैछ ? राष्ट्रघात , भ्रष्टाचार , तस्करी ,जनहत्या , जनघातका कैयौं कुकृत्यबाट गठबन्धन सरकार जनताका बीचमा असाध्य बदनामित भएकोछ । मसाल यही बदनामित गठबन्धन सरकारको आड लागिरहेकोछ । मशाल राष्ट्रघात ,जनघातको ,भ्रष्टाचार र बेथितिका विरुद्धमा छ । यति कुरालाई तुलना गरी हेरेमा मशाल पुनर्गठनको औचित्यको लागि थप आधार,प्रमाण खोजिरहनु नपर्ला कि !
छद्म भेषमा वा इन्काउन्टर गरेर फरक मत राख्नेहरूलाई सिध्याउने सम्मका कुरा पार्टी बैठकमा जिम्मेवार ब्यक्तिहरूबाट भएका थिए । त्यसरी नै देशका विभिन्न भागमा प्रचार भएकाथिए ,प्रशिक्षण गरिएका थिए । लुकी छुपी पछि बाट षडयन्त्र गर्नेहरू कायरहरू हुन् ; छातीमा रातो रगत भएका र आमाका अलिकति दूध पिएका कोही बहादुर छन् भने खुलम्खुला आएर सिध्याउँदा हुन्छ ; त्यती बहादुरी गर्न सके उनीहरूको नाम इतिहासमा “स्वर्णिम अक्षर“ ले लेखिने छ भनेर उत्तेजनात्मक कुरा पनि गर्न सकिन्थ्यो । तर हामीले कहिलै त्यस्ता कुरा गरेनौं । हामी त्यति बोल्ने हुति नभएर नबोलेका पनि होइनौ । हामी जिम्मेवार छौँ । त्यसकारण हामी न त त्यसरी उत्तेजनामा आउन चाहन्छौं न त उत्तेजनामा निर्णय गर्दछौं । निकै सुझबुझका साथ , साथीहरूको राय सल्लाहमा अत्यन्त जनवादी तरिकाबाट नेतृत्वले आफ्ना काम कार्यवाहीलाई अहिले अगाडि बढारहेको अवस्था हो ।
क्रान्तिकारी सिद्धान्तको दृष्टिकोणबाट मसाल समाप्त हुँदै गैरहेको छ । बचेखुचेका ब्यक्तिको संगठन हुनु ,केही समर्थक रहनु मात्र पार्टी बचेको मान्न सकिन्न । सिद्धान्तबाट च्युत हुँदै गए पछि त्यसको अन्तिम गन्तव्य समाप्ती नै हो । मसालको अहिले नवौं महाधिबेशन हुँदैछ । त्यसले कुनै नौलो कार्यक्रम लिने वाला छैन ।राष्ट्रघात,जनघात ,जनहत्या,भ्रष्टाचारले दुर्घन्धित भएको गठबन्धन सरकारको औचित्यता माथि तथाकथित राजनीतिक दस्ताबेजले पर्दा हाल्नु बाहेक अर्को कुनै महत्त्वपूर्ण काम उनीहरूको नवौं महाधिवेशनले गर्नेवाला छैन । यो स्थितिमा हामीले मसाल भित्रका क्रान्तिकारी आन्दोलन प्रति सकारात्मक धारणा राख्ने साथीहरू सितको सम्बन्धलाई टुटाउनु हुँदैन । उनीहरू सित सम्पर्क ,सम्बन्ध ,छलफल बढाउँदै एउटै बाटोमा हिड्ने वातावरण बनाउने कोशिश गर्नु पर्दछ ।
बन्दुक उठाएमा बल्ल नयाँ पार्टी बनाएको पत्याइने छ । नत्र के अर्थ भनेको पनि सुनिन्छ । यो सिद्धान्त, विचारलाई उपेक्षा गर्ने तरिका हो । सिद्धान्त सधै माथि हुन्छ , अस्त्र वा प्रविधि सिद्धान्त मातहतको कुरा हो । मशाल पुनर्गठनको विषयलाई अरू विभिन्न किसिमले प्रश्न उठाउने काम भइरहेकोछ । मसाल र मशालमा केही फरक छैन, फरक चुल्हो किन बसालेको हो ? यस्ता प्रश्न उठाएको देखिन्छ । यदि मशाल पुनर्गठन नभएको भए प्रतिगमनको डम्फु बजाएर प्रतिक्रियावादीहरूको भजनमा नाचिरहनु पर्दथ्यो। निकै ठूला कार्य गर्न नसके पनि मशाल पुनर्गठन भए पछि कमसेकम त्यसो त गर्नु परेको छैन ।
मशाल पुनर्गठन पछि हामीले श्रम संस्कृतिको विकास गर्ने तिर ध्यान दिदै छौँ । सकभर सामुहिक श्रमको अभ्यास गर्ने , त्यो सम्भब हुन नसके व्यक्तिगतरूपले भए पनि श्रममा भाग लिने कुरालाई जोड दिदैछौ। प्रकाशनको कार्यमा वैधानिक साप्ताहिक दुः ख सुखका साथ एक प्रकारले नियमित सन्चालन भइरहेकै छ । नेकपा (मशाल) को मुख पत्र मशाल प्रकाशित भएकोछ । एम.सी.सी. विमर्श शीर्षकमा पुस्तक प्रकाशित गरिएकोछ । जीतगढी पोष्ट लगायतको प्रकाशनमा साथीहरू लाग्नु भएकोछ ।
केन्द्रीय कार्यालय र पार्टीको जिल्ला सम्पर्क कार्यालयहरू, भारत प्रवाश लगायतका कार्यालय सन्चालनमा आएकाछन। केही जनवर्गीय संगठनले कामलाई ब्यबस्थित गर्दै लगेको भए पनि जनवर्गीय संगठनहरूलाई ब्यबस्थित र कृयाशील पार्न जरुरी छ । आधारभूत तहबाट कामलाई अगाडि बढाउन सकिएको छैन । त्यस प्रति हामीले ध्यान दिनु पर्दछ । यो आन्दोलनमा कति मान्छे लागे लागेनन महत्त्वपूर्ण कुरा हो तर त्यो मुख्य कुरा होइन । हामीले के गर्यौ के गर्दै छौँ त्यो मुख्य कुरा हो ।

