सन्दर्भ ः मसालको नवौं महाधिवेशन

–सन्तबहादुर नेपाली
सम्भवतः नयाँ वर्षको शुरुमा नै नेकपा (मसाल) को नवौं महाधिवेशन सम्पन्न हुन गैरहेको छ । त्यसका लागि सो पार्टीले व्यापक तयारी गरिरहेको छ । कतिपय कार्यकर्ताहरुले महाधिवेशनको सन्दर्भमा आफ्ना विचारहरु पनि सार्वजनिक गरेको पाइएको छ । महाधिवेशन हुने सन्दर्भमा मुख्य छलफल त्यसले कुन नीति पारित गर्नेछ ? भन्ने विषयमा हुनुपर्ने हो । तर त्यस्तो केही देखिंदैन । बाहिर आएका विचारहरु पनि नीति केन्द्रित नभएर व्यक्ति केन्द्रित जस्तो देखिन्छ । मानि लिउँ कि यो महाधिवेशनमा नीतिको समीक्षा भन्दा पनि नेतृत्वको समीक्षा जस्तो देखिन्छ । यसबाट के बुझिन्छ भने नीतिमा कुनै नयाँ कुरो आउने छैन । पुरानै कुरा दोहोरिने छ । तर अहिलेको महाधिवेशन क. मोहन विक्रमसिंह बृद्ध भइसक्नु भएकोले उहाँलाई पुनः महामन्त्रीमा चयन गर्ने कि नयाँ युवा नेतालाई पार्टीको नेतृत्वमा ल्याउने ? भन्ने विषय जोडतोडले उठ्दैछ भन्ने संकेत देखा परेको छ ।

कुनै पनि पार्टीमा नेतृत्वको उमेरले कति प्रभाव पार्छ ? त्यसबारे खासै मापदण्ड पाइँदैन । नयाँ मानिसहरु सक्षम हुन नसकेको तर बुढाहरु पनि सक्षम हुन सकेको पनि पाइन्छ । विश्वका कतिपय देशहरुमा नयाँ युवा राष्ट्रपति भएको पनि पाइन्छ भने कतिपय देशमा सत्तरी वर्ष काटेका व्यक्ति पनि राष्ट्रपति भएको पाइन्छ । त्यसकारण उमेर बारे त्यस्तो सर्वमान्य मापदण्ड नपाइने हुनाले मसालमा क. मोहनविक्रम सिंह महामन्त्री बन्नुपर्छ वा पर्दैन ? त्यो हाम्रो कुनै सरोकारको विषय रहेन । यदि हाम्रो सरोकारले हुन्छ भने हामी चाहन्छौं क. मोहनविक्रम सिंह अझै २÷४ कार्यकाल नेतृत्व गर्नुपर्छ । त्यसकारण त्यहाँ भित्र क. मोहन विक्रम सिंहको नेतृत्वलाई निरन्तरता दिने वा नदिने विवादसँग हाम्रो कुनै मतलव छैन । त्यसैले बाहिर वा भित्र चल्ने त्यसप्रकारका विवादको कुनै अर्थ छैन ।

नवौं महाधिवेशनले कस्तो नीति ल्याउने छ ? भन्ने विषयमा निश्चित रुपमा हाम्रो चासो र चिन्ता छ । त्यसकारण नीतिबारे उहाँहरुले प्रकट गर्ने अभिव्यक्ति, विचार वा लेखहरुलाई हामीले अध्ययन गर्ने कोशिश गरिरहेका छौं । यसो भनी रहँदा क. मोहन विक्रम सिंहले हामीलाई विभिन्न आरोप पनि लगाउनु हुनेछ । यसभन्दा पहिलेका दस्तावेजहरुमा उहाँले हामीलाई “दुश्मनका एजेण्ट”, “सिआइडी”, “घुसपैठिया”, “छद्मभेषी”, “रअका एजेण्ट”, “प्रतिगामी”, “संकीर्णवादी”, “फुटपरस्त”, “राजापरस्त” लगायत कैयौं लेभेलहरु लगाउने काम गर्नु भएको थियो । त्यसकारण अहिले पनि त्यस्ता लेभेलहरु लगाउनु भयो भने त्यो कुनै आश्चर्यको विषय हुने छैन । हामीलाई के लाग्दछ भने महाधिवेशन भनेको पार्टीको जीवन हो । महाधिवेशनमा सही नीति पारित गरियो भने पार्टीको अतुलनीय विकास भएर जान्छ । यदि गलत नीति अपनाइयो भने पार्टीको मृत्यु पनि हुन सक्छ । त्यो कुरा मसाल भित्रका नेता तथा कार्यकर्ताहरुले अवश्य पनि बुझेको हुनुपर्छ । पार्टीको तेस्रो महाधिवेशनले राष्ट्रिय प्रजातन्त्रको लाइन पारित गरेको थियो । तर त्यो महाधिवेशन पछि पार्टी तितरवितर भयो । पार्टी एकप्रकारले विघटन भएको थियो । चौथो महाधिवेशनले यद्यपि देशभक्त जनतान्त्रिक शक्तिको सरकारको नारा दिएर नयाँ जनवादी सरकारलाई ओझेलमा पु¥याइदियो, तैपनि त्यसले नेपाली कांग्रेसप्रतिको विश्लेषण लगायत अन्य विषयमा सही नीति लिएको हुँदा देशभरी संगठन विस्तार भयो र पार्टी स्थापित भयो । छिन्नभिन्न भएको पार्टी केही अपवाद बाहेक संगठित र शक्तिशाली बन्यो । आठौं महाधिवेशनले अल्पमत पक्षले सचेत गराउँदा गराउँदै पुँजीवादी बाटो समात्यो । पुँजीवादी बाटो मात्र समातेन, सही विचारको पक्षमा उभिने जतिलाई भटाभट कार्वाही ग¥यो । त्यसैको परिणामस्वरुप अहिले मसाल एक प्रकारले कोमामा पुगेको विमारी जस्तो भएको छ । नेपाली कांग्रेसको सहाराले जेनतेन बाँचेको छ । अब पार्टीलाई कोमा मै रहन दिने हो वा यसको उपचार गरेर स्वस्थ बनाउने हो ? त्यो कुरा अब पार्टी कार्यकर्ताको हातमा निहित रहेको छ । नवौं महाधिवेशन एउटा महत्वपूर्ण अवसर भएर आएको छ ।

अहिले नवौं महाधिवेशनले पारित गर्ने नीतिको बारेमा जुन चर्चा छ, त्यो आठौं महाधिवेशनले पारित गरेको नीति भन्दा बेग्लै कुनै नयाँ नीतिको बारेमा चर्चा भएको छैन । पार्टीले प्रधान अन्तरविरोधको बारेमा पहिले कै नीतिलाई निरन्तरता दिंदैछ । पहिलेको नीति यो थियो कि देशीय रुपमा सामन्तवाद र नेपाली जनताबीचको अन्तरविरोध प्रधान अन्तरविरोध हुनेछ । त्यसरी आठौं महाधिवेशनले दलाल तथा नोकरशाही पुँजीपति वर्गलाई गौण दुश्मनवर्गमा राखेको थियो । पार्टीको निश्कर्ष यो थियो कि वर्गीय सत्ता सामन्तवादको हातमा छ, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको त विकास मात्र भइरहेको छ । यसरी अप्रत्यक्षरुपमा दलाल पुँजीपतिवर्गप्रति नरम नीति अपनाएको थियो । आज पनि त्यसमा कुनै परिवर्तन गर्ने सोंचाई देखिएको छैन । मसालले आठौं महाधिवेशनमा वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्था माथि प्रतिगामी र “वामपन्थी” संकीर्णवादीबाट खतरा रहेको बताएको थियो । आज पनि मसाल त्यही नीतिमा अडान लिएको छ । त्यसमा कुनै परिवर्तन देखिएको छैन । निश्चित रुपमा यो व्यवस्था बहुदलीय व्यवस्था भन्दा प्रगतिशील व्यवस्था हो । त्यसमा कुनै शंका छैन । तर कम्युनिस्ट पार्टीको रणनीतिक लक्ष्य भनेको नयाँ जनवाद, त्यसपछि समाजवाद र साम्यवाद हुन् । त्यो भन्दा पहिलेका व्यवस्थाको तात्कालिक रुपमा शक्ति सन्तुलनका हिसावले, कार्यनीतिक रुपले समर्थन गर्न सकिन्छ वा सापेक्षतामा समर्थन गर्न पनि सकिन्छ । तर यो व्यवस्थालाई समर्थन मात्र होइन, सुदृढ गर्ने र संस्थागत विकास गर्ने भनेर मसालले जुन नीति लिएको छ, त्यो पुँजीवादी नीति हो, क्रान्तिकारी माक्र्सवादी लेनिनवादी नीति होइन । आज स्वयं पुँजीवादी पार्टीहरु पनि यो व्यवस्था भ्रष्ट, पतित र विकृत भयो, अब विकल्प खोज्नुपर्छ भनेर यताउता भौतारिईरहेका छन् । कतिपयले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भनिरहेका छन्, कतिपयले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भनिरहेका छन् । कतिपयले समाजवादी क्रान्तिमा जानु पर्छ भनिरहेका छन् भने कतिपयले संवैधानिक राजतन्त्र ल्याउनुपर्छ भनिरहेका छन् । स्वयं सरकारको नेतृत्व गरिरहेको पार्टीका नेताहरुले दलाल पुँजीवादको विरोध गरिरहेका छन् । यस्तो अवस्थामा मसालले यो संसदीय व्यवस्थाको कुनै विकल्प छैन भन्नु यथास्थितिवाद हो । यो कुरा प्रष्ट छ कि यो पुँजीवादी संसदीय व्यवस्था माथिको संकट स्वयं संसदवादी दलहरुले नै खडा गरेका छन् र प्रतिगामीहरुलाई सतहमा आउने वातावरण तयार गरेका छन् । जुन पार्टीहरुले यो व्यवस्थालाई विकृत पारिरहेका छन् र त्यसबाट निकास पाउन धर्म निरपेक्षता हटाउने माग गरिहेका छन्, मसालले तिनै पार्टीलाई गणतन्त्र र धर्मनिरपेक्षताको रक्षक बताइरहेको छ । जहाँसम्म हाम्रो पार्टी नीतिको प्रश्न छ, हामीले प्रतिगामीहरुबाट गणतन्त्र माथि हमला हुँदा त्यसको रक्षा गर्नुपर्छ, तर यो व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएको हुँदा यसको अन्त गरेर बहुसंख्यक किसान, मजदुर, व्यापारी, धनी किसान तथा राष्ट्रिय पुँजीपति वर्गको हित गर्ने नयाँ जनवादी व्यवस्था ल्याउन गरिने पहललाई जारी राख्नु पर्छ । तर यो लक्ष्यलाई छोडेर रणनीतिक रुपमा नै रक्षा र संस्थागत विकासको कुरा गर्नु गैरक्रान्तिकारी तथा अवसरवाद हो । यो प्रतिक्रियावादी व्यवस्था हो । तैपनि एउटा जनआन्दोलनको उपलब्धि भएको हुनाले एउटा चरणमा त्यसको समर्थन गर्नु आवश्यक थियो । तर दीर्घकालिन रुपमा “रक्षा” र “संस्थागत” विकासका कुरा गर्नु जनताप्रतिको धोका हो । जनताले अहिलेको दलाल पुँजीवादी व्यवस्था, जहाँ भ्रष्टाचार, कमिशनखोरी, अनियमितता, तस्करी, लुट, ठगी तथा देशको नदीनाला, खानी विक्री गर्न र विदेशीहरुलाई परेड खेल्न वा देशलाई युद्ध मैदान बनाउनका लागि आफ्नो रगत पसिना बगाएर यो व्यवस्था ल्याएका होइनन्, देशको राष्ट्रिय स्वाधीनता बचाउन, जनताका अधिकार स्थापित गर्न, जनताको गास, वास र कपास सुनिश्चित गर्न रगत पसिना बगाएका हुन् । प्रतिगामी तत्वको खतरा देखाएर यही जनविरोधी व्यवस्थालाई “रक्षा गर्न” र “संस्थागत विकास” गर्नुपर्छ भन्नु महाअवसरवाद हो । क्रान्तिकारी परिवर्तनलाई रोक्नु हो ।
मसालको नीति त्यतिमा मात्र सीमित छैन । उसले निर्वाचनलाई आठौं महाधिवेशनपछि रणनीति बनाएको छ । यस महाधिवेशनमा पनि सम्भवतः उसले आगामी ०८४ को निर्वाचनमा तयारीमा लाग्न महाधिवेशनबाटै निर्णय गर्न सक्छ । जब कि मसालले कार्यकर्तालाई भ्रम पार्नका लागि निर्वाचनलाई कार्यनीति नै भनिरहन्छ । उसको संसदवादी नीतिको पराकाष्ठा त त्यतिबेला देखिएको थियो, जब उसले प्रतिगमनलाई पराजित गर्ने नाममा नेपाली कांग्रेससित गठबन्धन गरेर निर्वाचनमा साझा उम्मेदवार खडा गरेको थियो । त्यो नीतिलाई उसले आगामी दिनमा पनि निरन्तरता दिइरहने छ । अहिले प्रचण्डको नेतृत्वमा भएको गठबन्धन परिवर्तनका सम्बन्धमा नयाँ गठबन्धनलाई स्वीकार गरेन । बरु नेपाली कांग्रेसकै पक्षमा उभिएको छ ।

अवसरवादी तथा विसर्जनवादी नीतिका कारण संघर्षको प्रश्नमा पनि मसाल स्पष्ट छैन । उसले दीर्घकालीन जनयुद्ध थेगोको रुपमा प्रयोग गरिरहन्छ । तर दीर्घकालीन जनयुद्धको कुनै भिजन छैन, न त जनसंघर्षको नै भिजन छ । आज पनि उसको आठौं महाधिवेशन कै निरन्तरतामा संविधानको समाजवाद उन्मुख नीतिहरु लागु गर्ने र त्यही नीतिको बलमा समाजवादमा संक्रमण गर्ने नीति रहेको छ । आठौं महाधिवेशनले “सशस्त्र संघर्षको सट्टा शान्तिपूर्ण आन्दोलन वा संसदीय प्रणालीलाई पनि उपयोग गर्नुपर्ने आवश्यकता हुन्छ” भन्ने नीति पारित गरेर बल प्रयोगको माक्र्सवादी धारणा मै सुधार गरेको थियो । त्यो कुराले नै मसाल सुधारवाद तर्फ अग्रसरदेखिएको थियो । अहिलेको महाधिवेशनले पनि त्यो धारणामा कुनै परिवर्तन ल्याएको कुरा कतैबाट थाहा भएको छैन । र, शायद अहिले पनि त्यो धारणाले निरन्तरता पाउने छ ।

मसाल कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टीको एउटा मित्र शक्ति हो । तर मसालले हाम्रो पार्टीलाई मित्रशक्ति मानेको छैन । उसले सामान्य संगठनसम्म स्वीकार गरेको छैन । हाम्रो पार्टीलाई पार्टी भन्नका लागि मसालको सिफारिस नै चाहिन्छ भन्ने छैन । इतिहासमा विभिन्न आन्दोलनमा कसको के भूमिका रह्यो ? भन्ने कुरा इतिहासले आफै समिक्षा गर्ने नै छ । यहाँ कसले कसलाई मान्यता दिने भन्ने प्रश्न मुख्य होइन, मुख्य कुरा त देशको कम्युनिस्ट आन्दोलनलाई कसरी संयुक्त रुपले अगाडि बढाउने भन्ने हो । मसाल नेतृत्व यति संर्कीण छ कि त्यो कुरा विदेशी भाइचाराहरुले समेत चाल पाइसकेका छन् । यहाँसम्म कि कुनै मंचमा हाम्रो उपस्थिति देखियो भने मसालले त्यो मंच नै बहिष्कार गर्दै आएको छ । भाकपा (माले) रेड स्टारको केरलामा सम्पन्न १२ औं महाधिवेशनमा हाम्रो पार्टीका अतिथिको उपस्थिति देखेपछि मसालका प्रतिनिधि उद्घाटन समारोहको मंच नै बहिष्कार गरेर हिंडेका थिए । एमसीसीविरुद्धको आन्दोलनमा पनि मसालले आठ दलीय मोर्चामा हाम्रो पार्टीलाई सामेल गर्न पनि अस्वीकार गरेको थियो । माक्र्सवादी विचार मंचमा हाम्रो पार्टीको उपस्थितिका कारण पार्टी पुनर्गठन पछि उनीहरु अनुपस्थित नै रहँदै आएका छन् । हाम्रो पार्टीको पुनर्गठन हुनुमा कुनै व्यक्ति विशेषको विरोधका कारणले होइन, मसालमा देखिएको दक्षिणपन्थी विसर्जनवादका विरुद्ध फरक मत राख्दा पार्टी कार्यकर्ताहरुलाई सफाया अभियान चलाएपछि उत्पन्न परिणाम हो । यो राजनैतिक विचारको द्वन्द्व हो । कम्युनिस्टहरुले द्वन्द्ववादलाई सहर्ष स्वीकार गर्नुपर्छ । विचार मिलेको भए हामी एउटै पार्टीमा बस्थ्यौं । विचार नमिलेपछि पार्टी पुनर्गठनको अवस्थामा आएको हो । यो अवस्थामा हामी मोर्चा बनाएर पनि कमसेकम राष्ट्रिय स्वाधीनताका सवालमा एक ठाउँमा उभिन हामीलाई कुनै मतभेदले छेक्दैन । हामीले अहिले पनि मसाललाई मित्रशक्ति मान्दै त्यसमा अन्तर्निहित दक्षिणपन्थी विचारमा परिवर्तन होस् र, क्रान्तिकारी कार्यदिशाका साथ अगाडि बढोस् भन्ने चाहान्छौं । जसरी अहिले देशमा छरिएर रहेका वामपन्थी क्रान्तिकारी कम्युनिस्टहरुसित एकीकरण तथा ध्रुवीकरणका लागि हामी प्रयासरत छौं, त्यसरी नै मसालसित पनि एकीकरण वा ध्रुव्रीकरण हुन सकोस् भन्ने चाहन्छौं । संशोधनवादीहरु एकीकरण र ध्रुवीकरणको प्रक्रियामा गइरहेका छन् । मसाल कमसेकम त्यो क्याम्पमा नजाओस् र कमसेकम देशभक्त, जनवादी, वामपन्थी तथा क्रान्तिकारीहरुको मोर्चामा भए पनि एक ठाउँमा उभिन सकेमा नेपालको कम्युनिस्ट आन्दोलनमा सकारात्मक कदम हुने थियो । हाम्रो यही नीति भएको हुनाले हामी मसालको महाधिवेशनलाई उत्सुकतापूर्वक हेरिरहेका छौं । हामी के आशा गरेका छौं भने आठौं महाधिवेशनमा जस्तै अल्पमतलाई “नेतृत्व कब्जा गर्न लागेको” हौवा देखाएर कार्यकर्ताहरुलाई अल्पमतको विचार बुझ्नै नदिने र अल्पमतपक्षलाई दुश्मन जस्तो ठान्ने जुन काम भयो, यो महाधिवेशनमा त्यस्तो नहोस् । कसैले फरक विचार राख्यो भने दुश्मनलाई जस्तो व्यवहार नगरियोस् । हामी यो पनि आशा गर्दछौं कि मसालको क्रान्तिकारी कार्यकर्ताहरुले पार्टीलाई क्रान्तिकारी दिशामा फर्काउने प्रयत्न गर्ने छन् । यदि त्यो सम्भव भयो भने हामी पुनः एउटा विशाल पार्टी निर्माण गर्न पनि सफल हुनेछौं । त्यसकारण हामी के भन्न चाहान्छौं भने मसालप्रतिको हाम्रो आलोचना ध्वंसात्मक होइन, रचनात्मक हो भन्ने कुरा मसाल पक्षले बुझ्ने नै छ । त्यसरी महाधिवेशनले सकारात्मक निर्णय गर्नेछ, दक्षिणपन्थी संशोधनवादी विचारमाथि विजय प्राप्त गर्नेछ । क्रान्तिकारी कार्यदिशा पारित गरेर देशको कम्युनिस्ट आन्दोलनलाई थप उचाईमा पु¥याउने छ । अन्तमा, नवौं महाधिवेशनको सफलताको अग्रीम शुभकामना ।
मिति २०८० चैत्र २०

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित