राजावादीहरुलाई भारतीय विस्तारवादको प्रोत्साहन मिलेको छ

–कृृष्णप्रसाद भट्टराई
सल्लाहकार, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, केन्द्रीय समिति

(कृष्णप्रसाद भट्टराई नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय व्यतित गरिसक्नु भएका व्यक्तित्व हुनुहुन्छ । बुबा भक्तिराम शर्मा र आमा टिकादेवी शर्माको कोखमा २०११ साल वैशाख २४ गते जन्मनु भएका भट्टराईको जन्मस्थल प्यूठान जिल्लाको तोरवाङ गाउँ पञ्चायतको गुरिगाउँ हो ।३ भाइ २ बहिनी मध्ये उहाँ बुबा आमाका जेठो छोरा हुनुहुन्छ । उहाँले २०३४ सालमा कमला शर्मा (अधिकारी) सित गुलरिया बर्दियाबाट विवाह गर्नु भएको थियो । उहाँहरुका ५ वटा सन्तान छन् ।
उहाँले प्यूठानको मरन्ठाना मजुवाकोे स्कूलबाट अध्ययन शुरु गर्नु भएको थियो ।त्यतिबेला मजुवामा ३ कक्षा मात्र पढाई हुन्थ्यो । अहिले मजुवामा हाइस्कूल चल्दैछ । उहाँले जनता मा.वि. वाग्दुलाबाट एस.एल.सी उत्तीर्ण गर्नु भएको थियो र वनारसबाट आई.ए. सम्मको प्रााईभेट जाँच दिनु भएको थियो ।उहाँले लामो समय शिक्षण पेशा पनि अपनाउनु भयो ।रोल्पा र कैलालीमा उहाँले शिक्षण पेशा अपनाउनु भयो । विद्यार्थी कालदेखि नै राजनीतिक कार्य प्रति चासो राख्नु हुने कृष्ण प्रसाद भट्टराई शिक्षक छँदा पनि राजनीतिक गतिविधिमा संलग्न रहिरहनु भयो । उहाँलाई दुई पटक शिक्षण पेशाबाट निस्कन बाध्य पारिएको थियो– पञ्चायत कालमा र जनयुद्धकालमा । जनयुद्ध कालको भूमिगत जीवन र प्रहरी यातना तथा ४ वर्ष भन्दा बढी जेल जीवनको समेत उहाँसित अनुभव छ ।
२०४२ सालमा मशाल र मसाल विभाजित हुँदा उहाँ मोटो मशाल तिर आवद्ध हुनुभयो। जनयुद्ध कालमा माओवादी जनसेनाले कैलाली कारागार तोडेर बन्दी लिएरजाँदा उहाँ पनि कारागारबाट छुट्नु भयो ।एकीकृत नेकपा माओवादीमा लोतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने दुई लाईनको संघर्ष अन्ततः २०६९ मा गएर पार्टी विभाजनमा परिणत भयो । उक्त पार्टी विभाजनमा भट्टराईले मोहन वैद्य किरणले नेतृत्व गर्नु भएको नेकपा–माओवादीको पक्षमा उभिनु भयो । यसपटक हाँक साप्ताहिकले कृष्णप्रसाद भट्टराई सित विविध विषयमा कुराकानी गरेको छ ।)

० राजनीतिप्रति तपाइँ किन आकर्षित हुनु भयो ?
–मलाई पारिवारिक वातावरण र सामाजिक वातावरणले राजनीति प्रति आकर्षित गरेको थियो । २०१५ सालको निर्वाचनमा मेरो बुवा भक्तिराम शर्मा मोहनविक्रम सिंह ,खगुलाल गुरुङ,प्यूठान मरान्ठानाका सिद्धिमान के.सी. सित सँगै चुनाव प्रचारमा हिड्नु भएको थियो । वाग्दुलाको जनता मा.वि. मा पढ्दा अ.ने.रा.स्व.वि.यू. विद्यार्थी संगठनमा आवद्ध भइयो । मेरा शिक्षकहरु कविराज, मोहन वैद्य, बेगम बहादुर के.सी लगायत अधिकांश वामपन्थी हुनुहुन्थ्यो । २०२८ मा मोहनविक्रम सिंह भद्रगोल जेलबाट रिहा हुनु भयो । हामी विद्यार्थीहरुले उहाँलाई प्यूठानको रातामाटामा फूल र अविर सहित स्वागत गर्न गएका थियौं । काठमाडौंबाट हिंडेको ९ औं दिन उहाँ वाग्दुला मै बास बस्नु भयो । १० औं दिन उहाँ ओखरकोट मच्छी घर पुग्नु भएको थियो । बनारसमा पनि नेपाली विद्यार्र्थीहरुको बीचमा राजनीतिक माहौल थियो । त्यसरी पारिवारिक र सामाजिक वातावरणले मलाई राजनीतिप्रति चासो राख्ने ,त्यता तर्फ आकर्षित हुन र पार्टी –संगठनमा आवद्ध हुने स्थिति बनाएको थियो ।
० शिक्षण पेशा र शिक्षक आन्दोलनको पनि त यहाँले अनुभव बटुल्नु भएको छ ।त्यसबारे ?
–२०२९ सालको फागुनमा मैले एस.एल.सी परीक्षा दिएको थिएँ । २०२९ साल कै चैत्रमा म रोल्पाको थुनी गाउँ पञ्चायत को केबँरी भन्ने गाउँमा शिक्षक भएर पढाउन गएँ । त्यो प्रा.वि. लेवलसम्मको स्कूल थियो । दुई वर्ष मैले त्यहाँ पढाएँ । विप्लवको दाईहरुलाई मैले पढाएँ । विप्लव सानै थिए । त्यसपछि म रोल्पाकै सेरमको निमावि शिक्षक भएर पढाउन गएँ । त्यहाँ मैले २०३२ देखि २०३४ सालसम्म करिब दुई वर्ष पढाएँ । २०३४ को असारमा म मधेश कैलालीको टिकापुर झरेँ । २०३४ को भाद्र देखि कैलाली टिकापुरको आवाशीय माध्यमिक विद्यालय (हाल विरेन्द्र विद्या मन्दिर) मा पढाउन शुरु गरेँ । २०३४ साल देखि ०४१ सम्म त्यहाँ स्कूलमा पढाएँ । ०४१को शिक्षक आन्दोलनमा लागेको आरोपमा मलाई जागिरबाट सरकारले निस्काशन ग¥यो । २०४८ मा मेरो जागीर पुनस्र्थापित भयो ।तर फेरि २०५५ श्रावणदेखि म भूमिगत भएँ र जागीर छाडेर पार्टी कार्य मै लागेँ ।
० कम्युनिष्ट पार्टीको सदस्यता कहिले प्राप्त गर्नु भयो?
२०२९ मा मैले नेकपा को उम्मेदवार फारम भरेँ । २०३० सालमा पार्टीको सदस्यता प्राप्त गरेको थिएँ ।
० कम्युनिष्ट पार्टीका सांगठनिक जिम्मेवारी के के रह्यो यहाँको ?
–२०३१ सालमा वनारसको चौथौ महाधिवेशन हुनुभन्दा पहिले प्यूठानको मरन्ठानामा नेकपाको जिल्ला सम्मेलन भएको थियो । त्यस सम्मेलनमा म पनि प्रतिनिधि हुने अवसर पाएको थिएँ । २०४० साल तिर पार्टीको केन्द्रीय सदस्य राममणि अधिकारी बर्दियामा पारिवारिक समस्याले गर्दा उहाँ सक्रिय हुन नसक्ने समस्या भयो । पार्टी कै सल्लाहमा २०४३ को अन्त्य देखि २०४८ सम्म म नेकपा (मशाल )को वर्दिया जिल्लाको सेक्रेटरी भएर काम गरें । त्यतिबेला वर्दिया जिल्ला पार्टीमा कृष्ण चौधरी ,नारायण सिग्देल , बेदप्रसाद लगायत हुनुहुन्थ्यो । २०४८ मा शिक्षकमा पुनर्वहाली भएपछि २०५५ सम्म म शिक्षक रही पुरानै विद्यालय टीकापुरको वीरेन्द्र विद्या मन्दिरमा पढाएँ । शिक्षक छँदा छँदै पनि पार्टीको कैलाली जिल्ला सचिवालय सदस्य रहेर काम गर्दथे । पटक पटक प्रहरी प्रशासनले मलाई छोपेर लैजान्थ्यो । हप्ता ,दश दिन हिरासतमा राख्ने छाड्ने गरिरहन्थ्यो । २०५५ मा भूमिगत भए पनि मैले कैलाली जिल्ला पार्टी मै रहेर काम गरें । कैलाली जिल्ला रणनीतिक
हिसाबले महत्वपूर्ण ठाउँ भएकाले मैले पार्टीलाई आवश्यक पर्ने सामग्रीहरु प्रकाशन सामग्री, युद्ध सामग्री पहाडी जिल्लामा पु¥याउने लगायतको व्यवहारिक जिम्मेवारी पूरा गर्नु परेको थियो ।
० तपाइको भूमिगत जीवन र जेल जीवनबारे बताउनु हुन्छ कि ?
–मैले अगाडि नै भनिसके कि प्रहरीले पटकपटक लैजाने र हप्ता दश दिन राख्ने गरिरहन्थ्यो । नेकपा एमालेबाट निर्वाचित बग्नाहा गाविस अध्यक्षले बर्दियाको बग्नाहामा २०५३ मा पि.सि.ओ. मा आगो लगाउने व्यक्ति यही हो भनेर भुरी गाउँ चौकीमा उजुरी गरेछन् । म त्यतिबेला टिकापुरबाट बग्नाह केटाकेटी, परिवार लिन भनेर बर्दिया आएको थिएँ । २७ दिन बर्दिया प्रहरी हिरासतमा बस्नुप¥यो । २०५५ साल श्रावण १६ गते प्रहरी हवल्दार सिभिल डे«समा आएर तपाईलाई कार्यालयमा इन्स्पेक्टरले बोलाउनु भएको छ । जाउँ भनेका थिए । भोलि म आफै १० बजे कार्यालयमा आउँछु म अहिले जान्न भनेर म जान अस्वीकार गरें । पार्टीले मलाई अब गिरफ्तार हुनुहुन्न भनेर सल्लाह दिएको थियो । म त्यहाँ गइन । त्यसैदिन देखि पढाउन छाडें । भूमिगत भएँ । २०५७ सालसम्म म कैलाली जिल्ला पार्टीको सचिवालय सदस्य रहेर भूमिगत रुपमा काम गर्दै थिएँ । एक दिन २०५७ साल कार्तिक १६ गते कैलालीको बेलुवा (हाल टिकापुर नगरपालिकाको वडा नं. ७ ) हुँदै म र अर्को एक जना साथी देशुलाल चौधरी भारततिर जाँदै थियौं । चौधरीजी सिमानाबाट फर्कने सल्लाह थियो । बेलुवामै अचानक बेलुकीतिर प्रहरीले पक्रियो । प्रहरीहरु ५ जना थिए । असई मैले पढाएको विद्यार्थी रहेछन् । उनले चिनेछन् । असई मोटरबाइकमा प्रहरी कार्यालयमा खबर गर्न चौराहातिर गएछन् । हामी दुवैको शरीर खानतलासी गरियो । मेरो पाइन्टमा एउटा रिभल्भर थियो तर फेला पार्न सकेन । म पिसाव फेर्ने निहुँ बनाएर खेतको कुलैकुलो भागें । दुई जनाले अर्को साथी चौधरीलाई पक्रिएर बसेका थिए । दुई जनाले मलाई ड्युटी गरेका थिए । एक जना प्रहरी मलाई लखेट्दै आयो र मैले बीचमा रिभल्भर निकाल्न खोज्दा गोली राख्ने स्थान लुज भएको रहेछ । रिभल्भरको आवाज मात्र आयो तर पड्किएन । दौडिंदा गोली पनि खसेछन् । ए यो सित हतियार रहेछ भनेर मलाई पक्रिएर लगे । त्यस रात टीकापुरको सति चौकीमा लगे । इन्स्पेक्टरले केही सोधी खोजी गरेर राती नै टीकापुर ठानामा लगे । कार्तिक १७ गते धनगढी जिल्ला प्रहरी कार्यालयमा पु¥याए । २६ दिन राखे । म नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य हुँ, माओवादीको कमिटीमा छैन समर्थक हुँ भने ।
पार्टीको गोपनीयता जोगाउन चौथो महाधिवेशन कालमा गिरफ्तार परेमा महामन्त्रीले पद खुलाएर बयान दिने, पार्टी सिसिएमले, पार्टी सदस्य हुँ भन्ने र अरुले पार्टीमा छैन, समर्थक मात्र हुँ भन्ने नीति बनाएको थियो । मैले त्यही कुरा सम्झिएर लगातार समर्थक हुँ, पार्टी कमिटीमा छैन भनेर वयान दिएँ । तँ माओवादीको नेता होस्, हामीले लेखेको कागजमा तैले हस्ताक्षर गर्नुपर्दछ भनेर असाध्य यातना दियो । निधारमा पोस्तोलको नकले हानेर चोट लागेको थियो । बुटले, बन्दुकको नालले, लठ्ठीले हाने । मलाई बरु मार मैले झुठो कागजमा हस्ताक्षर गर्दैन भने । तर अन्त्यमा हाम्रै पक्षको वकिलले अहिले प्रहरीको कागजमा हस्ताक्षर गर्नुस, पछि अदालतमा बयान फेर्नु होला भन्ने सल्लाह दिए पछि मैले प्रहरीको कागजमा हस्ताक्षर गरें । अदालतमा गएपछि बयान फेरें । प्रहरीले मैले प्रयोग गरेको झोलामा मैले प्रयोग नै नगरेको कम्व्याट डे«स, फ्युज वायर, डिटोनेटर देखाएर यसले प्रयोग गरेका सामान यी हुन् भनेर अदालतमा भनेका थिए । मैले त्यो होइन भने । निधारको चोट देखाएर जवरजस्ती हस्ताक्षर गराएका हुन् भने । कागजमा के लेखेका छन्, मलाई थाहा छैन, भने । रामबहादुर के.सी., सूर्य भण्डारी र कुलानन्द उपाध्याय–यी वकिलहरुले मेरो पक्षबाट बहस गर्नुभएको थियो । म सितै पक्राउ परेका देशुलाल चौधरीले अदालतबाट २७ दिनपछि सफाई पाउनु भयो । मलाई राज्य विरुद्धको अपराधमा थुनियो । २०६१ माघ २७ गते माओवादी जनमुक्ति सेनाले धनगढीको कारागार कब्जा गरेर सबै बन्दीहरुलाई मुक्त गरेर लिएर गएका थिए । म, तिलक शर्मा र रामप्रसाद तिमिल्सिना राज्यविरुद्ध अपराधमा थुनिएका अभियुक्तहरु थियौं । जेलभित्र पनि हामीले पार्टी संचालन गरेका थियौं । क्षेत्रीय व्यूरो सदस्य तिलक शर्मा, म जिल्ला सचिवालय सदस्य र रामप्रसाद डि.डि.एम. हुनुहुन्थ्यो । अरु पार्टी सदस्यहरु पनि थिएँ । त्यहाँबाट हामीले पार्टीलाई जेलबाट लेवि पठाउने गर्दथ्यौं ।
० एनेकपा माओवादीबाट २०६९ सालमा विद्रोह गर्नुको कारण के थियो ?
–२०६९ मा विद्रोह हुनुभन्दा पहिलेदेखि नै पार्टीमा चलेको दुईलाइन संघर्षलाई नबुझिकन विद्रोहको कारण थाहा पाइँदैन । भारतको एउटा बैठकमा प्रचण्ड र बाबुरामको लोकतान्त्रिक गणतन्त्र र किरणजीको जनगणतन्त्रको लाइन प्रस्तावित भए । पटनामा पार्टीको तीनजना सि.सि.एम.हरु गिरफ्तार भए । लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई उहाँहरु नपक्रिनु पर्ने मान्छे पक्रिएछ भन्दै भारतीय प्रहरीले छाड्ने काम ग¥यो । जनगणतन्त्र पक्षधरहरुलाई भारत सरकारले नेपाल सरकारलाई सुपुर्दगी गर्ने काम ग¥यो । सुरेश आलेमगर, उपेन्द्र यादव, मातृका यादवलाई जनगणतन्त्र पक्षधरहरु मध्ये उपेन्द्रलाई भारतमै राखेर आत्मसमर्पण गरायो । अन्य साथीहरुलाई नेपाल सरकारलाई सुपुर्दगी ग¥यो । त्यही समयमा कमरेड किरणलाई सिलगुडी र कमरेड गौरवलाई चेन्नैबाट गिरफ्तार गरी जेल राखेको थियो ।
०६३ को राजनीतिक परिवर्तन पछि भएको बालाजुको विस्तारित बैठकमा दुई प्रस्ताव आएका थिए । त्यहाँ पनि जनगणतन्त्र र लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव प्रस्तुत भएका थिए । त्यसबेला डकुमेन्टमा प्रचण्डले नारायणकाजीसित भित्री रुपमा एकता तयारी रहेछ र पदप्रदर्शक सिद्धान्तमा माक्र्सवाद÷लेनिनवाद, माओवाद÷माओविचारधारा राख्नुपर्दछ भन्ने प्रस्ताव ल्याएका थिए । अत्यधिक बहुमतले किन माओविचारधारा जोडेको भनेर विरोध गरेका थिए । त्यसपछि खरिपाटीको विस्तारित बैठकमा त्यहाँ पनि डकुमेन्टमा फेरि माथि उल्लेख गरे जस्तै दुईवटा प्रस्ताव आए । केन्द्रीय समितिको त्यहाँ बैठक बस्यो । केन्द्रीय कमिटी भित्र मत विभाजित हुँदा प्रचण्ड र किरण पक्षको १६÷१६ बराबरी मत भयो । रामबहादुर थापा (बादल) तटस्थ बसे । उनको तटस्थताले कुनै पनि दस्तावेज पारित हुन सकेन । लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्र दुवैलाई मिलाएर सहमतिको दस्तावेज बनाउनु परेको थियो ।
२०६५ मा नारायणकाजीको पार्टीसित एकता भयो । एकातिर नारायणकाजी पक्षले प्रचण्डको लाइनलाई सहयोग ग¥यो , अर्कोतर्फ प्रचण्डले पार्टी सत्तालाई दुरुपयोग गरेर पार्टीभित्रका व्यक्तिहरुलाई आफ्नो लाइनको पक्षमा बनाए र अन्य पार्टीहरुबाट ल्याएका व्यक्तिलाई पनि केन्द्रीय कमिटीमा ल्याएर आफ्नो पक्षको बहुमतलाई सुदृढ गर्दै गए ।
एउटा उल्लेखनीय कुरा के छ भने विगतमा बाबुराम र प्रचण्डको एउटै मत भएर भेला÷ बैठकमा दस्तावेज आउँदथ्यो तर बैठक÷ भेलामा आइसकेपछि कार्यकर्ताद्वारा व्यक्त विचारको स्थिति हेरेर प्रचण्डले किरणको प्रस्तावलाई स्वीकार गर्थे र बाबुराम मौन रहन्थे । लामो समयसम्म यसरी नै दुईलाइन संघर्ष चलिरहेको थियो । पार्टी नेतृत्वले पार्टीलाई पूरै दक्षिणपन्थी अवसरवादमा फसाउने, प्रचण्ड र बाबुराम मिलेर प्रतिक्रियावादी सेनाबाट प्रत्येक डिभिजनमा गएर जनमुक्ति सेनालाई कब्जा गराउने काम गरियो । प्रधानमन्त्री भएकै बेला बाबुरामले भारतसित राष्ट्रघाती विप्पा सम्झौता गरे । पहिलो संविधानसभा विघटन गराए । यस स्थितिमा क्रान्तिकारी विचारको रक्षाको लागि पनि विद्रोह गर्नु आवश्यकता बन्यो र कामरेड किरणको नेतृत्वमा पार्टीमा विद्रोह गर्नु परेको थियो ।
० तीन पार्टी (क्रान्तिकारी माओवादी, बहुमत र मशाल) को एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई सही गतिमा अगाडि बढाउन के गर्नुपर्दछ भन्ने ठान्नुहुन्छ ?
–मुख्य कुरा राजनीतिक कार्यदिशा हो । त्यसमा हामी सबै एकै ठाउँमा छौं । कतिपय मनभिन्नताहरुलाई स्वस्थ र मैत्रीपूर्ण ढंगले संचालन गर्दै जानुपर्दछ । पार्टी र क्रान्तिको हितलाई मुख्य प्राथमिकतामा राखेर नेता, कार्यकर्ताहरु देश र जनताको पक्षमा संघर्ष गर्दै जानु पर्दछ । जनसंघर्ष प्रतिरोध, संघर्ष र जनविद्रोहको बाटो भएर अगाडि बढ्ने हाम्रो कार्यदिशा हो । संघीय जनगणतन्त्रको स्थापना गर्ने, नयाँ जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा गएर नै देश र जनताको मुक्ति हुनेछ ।
० समाजवादी मोर्चा बनेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल त्यसमा सहभागी हुनु पर्दैन ?
–समाजवादी मोर्चा बनाएका पार्टीहरु अहिलेकै संविधान भित्रको समाजवादको कुरा गरेका हुन् । उनीहरु सर्वहारा समाजवाद स्वीकार गर्दैनन् । त्यसकारण हाम्रो पार्टी क्रान्तिको बाटोबाट नयाँ जनवाद–वैज्ञानिक समाजवादमा जाने उद्देश्य राखेको छ । त्यो समाजवादका लागि होइन । ०८४ को चुनावलाई हेरेर बनाइएको मोर्चा हो ।
० राजावादी राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा लागेका छन् । के भन्नुहुन्छ ?
–यो अहिले तत्काल सम्भव छैन । जनताबाट तिरस्कृत भएरै राजसंस्था सत्ताबाट हटेको हो । अहिले नै जनता त्यसरी राजा ल्याउने पक्षमा छैनन् । उनीहरु क्रियाशील हुनका लागि संसदवादी पार्टीहरुको राष्ट्रघात, जनघात, भ्रष्टाचार तथा भारतीय विस्तारवादको प्रोत्साहन, सहयोगले काम गरेको छ ।
० हाँक साप्ताहिक मार्फत् थप भन्नु केही छ कि ?
–हाँक साप्ताहिक देश र जनताप्रति प्रतिबद्ध रहँदै आएको छ । अझै दृढतापूर्वक अगाडि बढिरहोस् र क्रान्तिकारी विचारलाई जनतामा निरन्तर प्रवाह गरिरहोस् भन्ने शुभकामना दिन चाहान्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित