नन्दकुमार झा (नन्दु)
सचिव , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धनुषा जिल्ला समिति
0 फागुन २१ को निर्वाचन भन्दा पहिले तपाईँलाई प्रहरीले गिरफ्तार गरेको थियो । कहिले कहाँबाट गिरफ्तार गरिएको थियो ?
– इन्स्पेक्टरको नेतृत्वमा आएको प्रहरी टोलीले फागुन १९ गते मलाई जनकपुरको मुरली चोक स्थित मेरो दुध – दही पसलबाट गिरफ्तार गरेर लगिएको थियो।
0 तपाईँलाई के भनेर उनीहरुले गिरफ्तार गरेका थिए ?
–तपाईँसँग कुरा गर्नु छ , हाम्रो अफिस जिल्ला प्रहरी कार्यालयमा जाउँ भने । मैले मेरो पसलमा अरु मान्छे छैनन् । त्यसले गर्दा अहिले यो पसललाई यत्तिकै छोडेर म कसरी जाउँ भने । उनीहरुले यो पसल बन्द गर्नुस् , अहिले जानै पर्ने भयो तपाई भने, मलाई पसल बन्द गर्न लगाए, अनि मलाई लिएर गए ।
0जिल्ला प्रहरी कार्यालयमा पुर्याएपछि तपाईँलाई के भने ?
–जिल्ला प्रहरी कार्यालयमा पुर्याएपछि मलाई एसपी कै च्याम्बरमा राखेर कुराकानी गरे। त्यहाँ एसपी , डिएसपी र इन्सपेक्टर सबै थिए। बहिष्कार आन्दोलनमा लागेको हुँदा तपाईँलाई यहाँ लिइएको हो, त्यसले गर्दा तपाईँ अहिले यही बस्नुस् , अब जान पाउनुहुन्न भने । मैले उनीहरुलाई भने कि कसैले चुनावमा भोट माग्न पाउँछ भने चुनावमा भोट नहाल्नुस् भन्न पनि पाइन्छ । त्यो मेरो मौलिक अधिकार हो – मैले भने । उनीहरूले भने कि चुनाव बहिष्कार गर्न पाइँदैन। चुनावको विरोध गर्न पाइँदैन ।बन्दुक तपाईहरुकै हातमा छ । राज्य तपाईहरुकै छ ,जे मन लाग्छ त्यही गर्नुस मैले भने । उनीहरूले मलाई तपाईहरुले बम बनाउने कार्यक्रम पनि होला कहाँ कहाँ छ त्यो बताउनुस् अरु योजना के के छन् सोधेका थिए।
0धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा अरु के कस्ता मान्छेहरुसँग तपाईंको भेट भयो ?
–धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा नेकपा (बहुमत)का धनुषा जिल्ला सेक्रेटरी नगेन्द्र दास पनि हुनुहुन्थ्यो । उहाँलाई बहिस्कारको पर्चा र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्नका लागि लेखिएका चिठी सहित पक्रिएको रहेछ । अहिलेसम्म पनि नगेन्द्र दासलाई छाडेको छैन। मलाई चाहिँ २१ गते नै घरपरिवारका मान्छे र हाम्रै पार्टीका रतनकर्ण लगायतका साथीहरु गएर कुराकानी गरेर मलाई चाहिँ हिरासतबाट निकालेका हुन् तर नेकपा बहुमतका जिल्ला सेक्रेटरी नगेन्द्र दास अझै पनि हिरासतमै हुनुहुन्छ । प्रत्येक दिन कार्यालयमा हाजिरी गर्ने शर्तमा मात्रै मलाई छाडिएको थियो।मलाई हाजिरी जवानीमा छाडेको हो। म प्रत्येक दिन गएर तारिख लिँदै आएको छु। तर इन्सपेक्टरले फागुन २९ गते अब आउनु पर्दैन भनेका छन् । मौखिक कुराले हुन्न एसपीसँगै भेटेर कुरा गर्न खोजिएको छ । हामी धनुषा जिल्ला प्रहरी कार्यालय गइयो तर एसपीलाई भेटिएको छैन ।
0 त्यहाँ कस्ता कस्ता मान्छेहरू थिए र खानपिनको व्यवस्था के थियो?
– मैले हिरासतकै क्यान्टिनको खाना खाएँ तर हिँड्ने बेलामा क्यान्टिनको पैसा तिरेर हिँड्नुपरेको थियो। त्यहाँ धेरै खालका चोरी,हत्या, चेक बाउन्स, धेरै खालका मुद्दामा ३५ देखि ४० जना थिए । हिरासतमा त्यहाँ बस्दासम्म दिनदिनै त्यहाँ राजनीतिक छलफल पनि गरियो।
0 फागुन २१ गतेको निर्वाचन त सकियो यसलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
यसलाई मैले धाँधलीपूर्ण चुनाव भन्छु ।यो सेनाको दबाबमा सबैले घन्जीलाई नै भोट हाल्नुपर्छ भन्ने प्रकारको एउटा माहोल बनाएर गरिएको यो नियोजित चुनाव हो । यसमा विदेशीहरूको प्रत्यक्ष अप्रत्यक्ष दबाब छ भन्ने मैले बुझेको छु । विगतमा चुनावमा प्रहरीले बाकस बोकेर लैजान्थ्यो अहिले मतदान केन्द्रबाट सेनाले नै बाकस लिएर गयो । गाडीमा विभिन्न पार्टीका एजेन्टहरु, प्रहरीहरुलाई पनि राखेन । सेनाको आतंक मुनि गरिएको चुनाव हो भन्ने मैले बुझेको छु।
0 क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूलाई अबका दिनमा अगाडि कसरी बढ्नुपर्छ भन्ने बारेमा तपाईंको सल्लाह के छ?
–अब यो कुरा मैले मात्रै भनेर हुँदैन । पार्टीमा सल्लाह हुनुपर्दछ। छलफल हुनुपर्दछ र नै हामीले एउटा ठोस निष्कर्ष निकालेर अगाडि बढ्ने हो । अहिले यसो हेर्दाखेरि विदेशी चलखेल एकदम बढेर गएको छ । अबको सरकारले एसपीपी पारित गर्ने खतरा पनि बढेर गएको छ। त्यसले गर्दा अब पार्टीको कुरा मात्र रहेन । देशको राष्ट्रिय स्वाधीनताको निम्ति एक ढिक्का भएर लड्नुपर्ने बेला आउन थालेको जस्तो मैले महसुस गरेको छु।

