मन्त्री पौडलद्वारा महासचिव किरणको स्वास्थ्य अवस्थाको जानकारी

 

पौष १५ , काठमाण्डौ नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाको जानकारी लिनु भएको छ । मन्त्री पौडेलले आज बेलुकी सात बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी किरणको परिवारजन र पार्टी नेताहरुलाई भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको निरन्तर उपचारका क्रममा खट्नु भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य टेकहरी न्यौपानेले हाँक टुडेलाई जानकारी दिनु भयो।

 

केही हप्तादेखि शिक्षण अस्पतालमा उपचाररत महासचिव किरणको स्वास्थ्य सम्बन्धी रेखदेखकालागि भर्खरै उक्त पार्टीले केन्द्रीय नेता हरिभक्त कंडेलको नेतृत्वमा उपचार समन्वय समिति गठन गरेको छ । मन्त्री पौडेलले उपचार समन्वय समितिका संयोजक हरिभक्त कंडेल लगायतका नेताहरु , किरणका परिवार जन तथा शिक्षण अस्पतालका निर्देशक घनश्याम गुरुङसित समेत छलफल गर्नु भएको थियो। नेता कंडेलले मन्त्री पौडेललाई महासचिव किरणको स्वास्थ्य अवस्थामा उतारचढाव भइरहेकोसमेत जानकारी गराउनु भएको थियो। मन्त्री पौडेलले निर्देशक गुरुङसित उहाँको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिनु भएको थियो। मन्त्री पौडेलले निर्देशकसँग किरणको उपचारकालागि यस अस्पतालभन्दा बाहिरका विशेषज्ञलाई बोलाएर पनि उपचार गर्न सकिने नसकिनेबारे परामर्श गर्नु भएको थियो। नेता कंडेलले मन्त्री पौडेलसित अस्पतालको उपचारलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन माग समेत राख्नुभएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित