बुटवल, १३ फागुन । नेपाल मगर संघ बुटवल उपमहानगर समितिद्वारा ४३ औं मगर दिवसको अवसरमा विरामीहरुलाई स्वास्थलाभको कामना सहित फलफूल, जुस र बिस्कुट वितरण गरिएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठीघरे मगरको नेतृत्वमा मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फलफूल वितरण गरिएको हो । प्रादेशिक अस्पतालको अर्थो वार्ड र आकस्मिक कक्षमा रहेका करिब एक सय जना बिरामीहरुलाई संघले भेटेर स्वास्थ लाभको कामना सहित फलफूल वितरण गरेको हो ।
![]()
सो अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकाल, आकस्मिक कक्ष विभाग सह–इन्चार्ज इन्द्र राई, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेमगर, मगर संघकै बुटवल उपमहानगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकी, सह–सचिव खिमा राना लगायत संघका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा फलफूल वितरण गरिएको हो । सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकालले परोपकारी कामका लागि नेपाल मगर संघ बुटवल उपमहानगरलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । नेपाल मगर संघ बुटवल उपमहानगरले ४३ ओं मगर दिवसलाई पाँच दिवसीय रुपमा मनाउने क्रममा यसअघि पत्रकारहरुसंग भेट्घाट, अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको अध्यक्ष बसन्ती साठीघरेले जानकारी दिनुभएको छ ।

