काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले क्रान्तिकारी व्यक्तित्व भद्रकुमारी चौलागाइको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले वैशाख १४ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोककाकूल परिवारजन प्रति समवेदना प्रकट गर्नु भएको छ । वक्तव्यमा अगाडि भनिएको छ ।–“काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. ४ निवासी भद्रकुमारी चौलागाइको महाराजगञ्ज टिचिङ हस्पिटलको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा आज विहान ६ः३० बजे दुःखद निधन भएको छ । उहाँको जन्म २००४ साल जेठ २ गते भएको थियो । मुटु, मृगौला, सुगर जस्ता घातक रोगहरुबाट पीडित भद्रकुमारी चौलागाइ हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य क. दिनेश शर्माकी सानीआमा हुनुहुन्थ्यो । ठुलो परिवार र ममताकि धनी उहाँका सात छोरा, सात बुहारी, सात छोरी लगायत नाति नातिनाहरु हुनुहुन्छ । उहाँ एकजना क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको सदस्य नभए पनि नेपालको कम्युनिस्ट आन्दोलन र मुख्यतः महान् जनयुद्धको प्रक्रियामा उहाँको योगदान निकै महत्वपूर्ण रहेको छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी भद्रकुमारी चौलागाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. दिनेश शर्मा र उहाँका छोराहरु मुकुन्द चौलागाइ, ध्रुव चौलागाइ लगायत सम्पूर्ण शोकाकूल परिवार, साथी संगिनी तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । ”
भद्र कुमारी चौलागाइको पशुपति आर्यघाटमा आजै अन्त्यष्टि गरिएको छ ।अन्त्यष्टि कार्यक्रममा पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल लगायतका नेता तथा कार्यकर्ताहरुले चौलागाइको पार्थिव शरिमा पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । अत्यष्टि कार्यक्रममा शोक सभा गरिएको थियो ।शोक सभामा कावा महासचिव सिपी गजुरेलले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन पिविएम तथा ९ नं व्यूरो सचिव चिन्तामणि पौडेलले गर्नु भएको थियो ।
फोटो ः जय राज दाहाल