फागुन ११, काठमाडौं । सत्ता संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन नगर्ने दाबी गरेका छन् ।
आफ्नै निवास भक्तपुर बालकोटमा ११ फागुनमा पत्रकारसँग कुराकानी गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । ओलीले प्रचण्ड पौष १० को पूर्व सहमतिअनुसार नै अघि बढ्ने विश्वास व्यक्त गरे । “उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले काङ्ग्रेसको उम्मेदवारलाई सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नु भयो ।” – संचारकर्मीहरुसँग अध्यक्ष ओलीको भनाइ थियो ।
स्मरणरहोस् गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनु अघि एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपा लगायतका सत्ता गठबन्धनका सात दलहरुका बीचमा बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति र सभामुख एमालेले र प्रधानमन्त्री माओवादी केन्द्रले लिने समझ्दारी भएको बताइएको थियो । अन्ततः त्यही सहमतिबाट प्रचण्ड पछि नहट्ने ओलीको विश्वास देखिन्छ ।