संयमित रहन सबै पक्षलाई आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज २०८२ कार्तिक ९ गते एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेका हुन् । विज्ञप्ति यस प्रकार छ –
“मुलुकमा विकसित राजनीतिक घटनाक्रम पश्चात विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्ति सुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

शान्तिपूर्ण रूपमा भेला हुने, प्रदर्शन गर्ने, सभा सम्मेलन गर्ने तथा आफ्ना मागहरु राख्ने नागरिकको मौलिक हक र मानव अधिकारको विषय हो। मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १९ र नेपालको संविधानको धारा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको व्यवस्था छ । नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १९ माल समेत प्रत्येक व्यक्तिलाई विना हस्तक्षेप विचारहरु राख्न पाउने अधिकारको उल्लेख गरिएको छ ।
नागरिकका यस प्रकारका अधिकारहरूको सम्मान गर्ने र सो अधिकारको उपभोगको सहज वातावरण सिर्जना गर्ने दायित्व राज्यको हुन्छ। गत भाद्र २३ र २४ को आन्दोलन पश्चात जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरूको समयमै उचित सम्बोधन हुनु आवश्यक छ

विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस प्रकारका हिंसात्मक गतिविधि नहोउन भन्ने तर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ । आगामी दिनमा घुसपैट हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता , धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ । त्यसैगरी प्रदर्शनरत पक्षले पनि आफ्ना कृयाकलापलाई शान्तिपूर्ण बनाउने,घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नु पर्ने कर्तव्य निर्वाह गर्नु पर्ने हन्छ ।समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ भन्नेमा आयोग दृढ छ । हरेक समस्याको समाधान विधिको शासन ,संविधान, कानुन र मानव अधिकारको मूल्य मान्यताकै आधारमा शान्तिपूर्ण रुपमा खोजिनु पर्दछ।

अतः नागरिकले राखेका मागहरू समयमै उचित सम्बोधन गर्न ,समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न तथा नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवं मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोग नेपाल सरकारलाई आह्वान गर्दछ साथै ,आफ्ना मागहरु शान्तिपूर्ण रुपमा राख्न आयोग प्रदर्शनरत पक्षलाई समेत आह्वान गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित