काठमाडौं । एमालेका नेता महेश बस्नेतलाई सोभा पाठकले तत्काल पक्राउ गरेर करबाही गर्न माग गरेकी छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पाठकले बस्नेतलाई अध्यक्ष केपी ओली, प्रहरी प्रशासनदेखि न्यायिक निकायलेसमेत संरक्षण गरेको आरोप लगाएकी छन् ।
पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुरब्यबहार गरेको बताउँदै भनिन्,“मैले बलत्कारी महेश बस्नेतको अपराधको विषयमा जाहेरी दिदा पनि राजनीतिक पहुँचको कारण उल्टै मलाई बारम्बार पक्राउ गरी पीडित बनायो ।” पाठकले बलत्कार, भ्रूण हत्या र डाँका चोरी गरेको विषयमा जाहेरी हालेकोले महेश बस्नेतलाई पक्राउ गर्नुपर्ने बताउँदै पाठकले भनिन्,“अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले महेश बस्नेतलाई पक्राउ नगरीए म अन्तिम हदसम्म जान बाध्य हुने छु ।” पाठकले वर्तमान सरकाराका खेलकुद मन्त्री बब्लु गुप्ताले महेश बस्नेतको योजनामा आफूलाई अपहरण गरी जबरजस्ती दुर्गा प्रसाईको विरुद्धमा बोल्न बाध्य बनाएको पनि उनले बताईन । तर महेश बस्नेतले आफ्ना विरोधीहरुले चरित्र हत्या गरेर आफूलाई समाप्त गर्न खोजेको भन्दै आएका छन् ।

