काठमाडौं। राष्ट्रियसभाको २०८२ माघ २३ को बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु डा.वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणी कोइरालाले भाग लिएका थिए । सो छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धानलगायत विभिन्न आयामलाई सम्बोधन गर्न उक्त ऐनको आवश्यकता भएको स्पष्ट पारे।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २६ गते सोमबार बस्नेछ ।

