रोबोटबाट अर्थ–सामाजिक स्थितिमा उत्पन्न हुने रोजगारीको खतरा

—लोकनारायण सुवेदी
आज विश्वमा विज्ञान र प्रविधि विकासको चरमोत्कर्षको चरणबाट गुज्रिरहेको छ । त्यस क्रममा भएको पछिल्लो ‘रोबोट’ प्रविधिको विकासले त मानिसलाई कामकाजबाटै विस्थापित गर्ने स्थिति सिर्जना हुँदै गइरहेको छ । मूख्यतः यसबाट उद्योग धन्धाहरुबाट प्राप्त हुने रोजगारीमा प्रतिकूल प्रभाव पर्ने खतरा उत्पन्न हुँदै गएको र अझ थप हुँदै जाने भएकोले यस विषयको चिन्ता विश्वव्यापीरुपमा बढिरहेको पनि छ । यस्तो चिन्ता बढी जनसंख्या भएका देशहरुमा अझ बढी हुनु स्वभाविकै पनि हो ।
आजको विश्व अर्थव्यवस्थामा रोबोटको महत्व कत्तिको बढेर गएको छ यसको अनुमान अमेरिकाको बोस्टन कन्सल्टिङ्ग समूहको आजभन्दा ७ वर्ष अघि २०१९को एक प्रतिवेदनबाट लगाउन सकिन्छ । त्यस प्रतिवेदनका अनुसार यो रोबोट प्रविधिले विश्व बजारमा ठूलो छलाङ्ग मारेको छ र यो दिनानु दिन बढ्दै गएको छ । आजभन्दा १६ वर्ष अघि २०१० मा विश्वमा रोबोटको बजार करीब करीब १५ अर्ब डलर जतिको थियो । ६ वर्ष अघि गएको २०२० मा आइपुग्दा यसको बजार बढेर ४३ अर्ब डलरभन्दा माथि पुगिसकेको थियो । त्यस आधारमा के अनुमान गरिदै थियो भने बितेको वर्ष २०२५ मा यो अझ बढेर ६७ अर्ब डलर हुनपुग्ने अनुमान गरिएको थियो ।
यतिबेला विश्वमा सबैभन्दा बढी कार्यरत रोबोटहरु जुन जुन देशमा छन् ती देशहरुमा चीन, जापान, अमेरिका, दक्षिण कोरिया र जर्मनी सबैभन्दा प्रमुखरुपमा आउँदछन् । आज विश्वमा विभिन्न प्रकारका रोबोटहरुको संख्या पनि तीव्र गतिमा बढ्दै गइरहेको छ । सामान्यतया रोबोट दुइ किसिमका हुन्छन् । ती हुन् – औद्योगिक रोबोट र सर्भिस रोबोट । औद्योगिक अर्थात इण्डस्ट्रियल रोबोटहरुले औद्योगिक इकाई र कारोबारहरुमा काम गर्दछन् । अर्कोतिर सेवा प्रदायक अर्थात् सर्भिस रोबोटहरुले सेवाका बिभिन्न क्षेत्रहरुमा काम गर्ने गर्दछन् । सेवा रोबोट अन्तरगत प्रोफेशनल रोबोट, मनोरञ्जनात्मक(इण्टरटेनमेण्ट) रोबोट, डोमेस्टिक (घरायसी) रोबोट आदि सामेल हुन्छन् ।
विश्वमा बढ्दो रोबोटको संख्यालाई मध्यनजर राख्दा प्रसिद्ध वल्र्ड रोबोटिक्स २०१९ को एक्जेक्यूटिभ समरी निकै महत्वपूर्ण मानिन्छ । त्यस अनुसार विश्वमा अपरेशनल स्टक अर्थात् कार्यरत औद्योगिक रोबोटको संख्या २०१८ मा २४ लाख थियो र त्यो बितेको २०२२ सम्ममा बढेर झण्डै ४० लाख पुग्ने अनमान रहेको थियो । यो कुरा पनि उत्तिकै महत्वपूर्ण छ कि औद्योगिक रोबोट चीनमा नै सबैभन्दा बढी छ । चीनमा ८ वर्ष अघि २०१८मा करीब ६५ लाख औद्योगिक रोबोटहरुको स्टक रहेको थियो । चीनमा प्रत्येक १० हजार कर्मचारीको बीचमा ७३२ रोबोटले काम गरिरहेको चार वर्ष अघिको अभिलेख थियो ।
भारतमा रोबोटको संख्यालाई मध्येनजर राख्दा इण्टरनेशनल फेडेरेशन अफ रोबोटिक्स २०१९ को प्रतिवेदन निकै महत्वपूर्ण रहेको छ ।त्यस प्रतिवेदनका अनुसार भारतमा २०१८ मा करीब २३ हजार औद्योगिक रोबोटहरु कार्यरत थिए । त्यतिबेला पूरै विश्वमा औद्योगिक रोबोटहरुको स्थितिमा भारत ११औं स्थानमा रहेको देखिन्छ । भारतमा २०१८मा झण्डै ४७७१ जति औद्योगिक रोबोट खडा गरिएको थियो । यो संख्या बितेको २०२० को अन्त्यसम्ममा करीब ६ हजार पुग्ने सम्भाबना रहेको बताइएको थियो । भारतमा औद्योगिक क्षेत्रमा प्रत्येक १० हजार कर्मचारीहरुका बीचमा ४ रोबोटले काम गरिरहेका छन् । भारतमा रोबोट तैनाथीको परिदृष्य हेर्दा बाहन उद्योगमा यो रोबोटको संख्या सबैभन्दा बढी रहेको देखिन्छ । रोबोटको तैनाथीले बाहन उद्योगहरुमा रोजागारीमाथि प्रतिकूल असर परिरहेको अनुसन्धानले देखाएको हो ।
अवश्य पनि आजको विश्वमा महामारी कोभिड–१९ फैलिएयता विश्वमा उपभोक्ताहरुको प्राथमिकतामा रोबोटको महत्व अझ बढ्ने यसका जानकारहरुले उल्लेख गरिहेका छन् । एकातिर अब विश्वमा रोबोटनै विश्व अर्थव्यवस्थाको एउटा अहं हिस्सा हुन जानेछ भने अर्कोतिर जुन देशहरुमा कार्यशील यूवाहरुको कमी छ ती देशहरुमा यो रोबोटहरु अत्याधिक लाभप्रद हुनेछन् । तर यसको विपरीत अर्कोतिर जुन देशहरुमा कार्यशील मानिसहरुको जनसंख्या बढी छ रोबोटको संख्या बढ्दा रोजगारी वा नोकरी गुम्ने चिन्ता पनि स्वभावतः बढ्ने नै छ ।
निश्चय पनि रोबोटबाट नोकरी गुम्ने चिन्ताजनक परिदृष्य भारतमा बसैभन्दा बढी देखिने छ । विश्व बैंकले दक्षिण एशियाको अर्थव्यवस्थमा केन्द्रित रोजगाररहीत विकास नामको एउटा प्रतिवेदनमा भनेको छ कि भारतमा तीब्ररुपमा रोजगारीको ढोका ढकढक्याउने युवारुको संख्यालाई हेर्दा प्रत्येक बर्ष ८१ लाख नयाँ रोजगारी या नोकरी सिर्जना गर्नुपर्ने स्थिति छ । यसका लागि भारतमा १८ प्रतिशतको वृद्धि दर कायम हुनुपर्ने छ । यसरी छलाङ्ग लगाएर बढिरहेको रोजगारीको आवश्यकाताका बीच रोबोटको तैनाथी निक्कै नै चूनौतिपूर्ण हुने निश्चित छ ।
केही बर्ष पहिला २६ अगष्टका दिन मेकेञ्जी ग्लोबल इन्स्टीच्यूट(एमजीआई)ले ‘इण्डियाज टर्निङ्ग पोइण्ट—एन इकोनोमिक एजेण्डा टु स्पर ग्रोथ एण्ड जब’ नामको जारी प्रतिवेदनमा के भनेको थियो भने भारतमा आगामी २०२९–३० सम्ममा गैर कृषि क्षेत्रमा नोकारी या रोजगारीको खोजीमा ९ करोड अतिरिक्त मानिसहरु आइसक्ने छन् । त्यस प्रतिवेदनका अनुसार कोभिड–१९ पछि २०२९–३० सम्म हरेक वर्ष १२ करोड गैर कृषि क्षेत्रामा रोजागारीको आबश्यकता पर्नेछ । जबकि २०१२ देखि २०१८ का बीचमा प्रति बर्ष ४० लाख मात्र रोजगारीको सिर्जना हुन सकेको भारतको अभिलेख छ ।
यस्तो स्थितिमा जहाँ ठूला स्तरमा नयाँ रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ त्यही देशमा बढ्दो रोबोट तथा अटोमेशन(स्वचालित) मेशिनका कारण रोजगारीमा कमी आउने कुरा ठूलो चूनौतिको विषय बन्छ । भनिन्छ भारतमा रोबोटको संख्या बढ्न जाँदा डाटा इण्टी क्लर्क, कारखाना मजदुर, बिजनेश सेवा, प्रशासनिक व्यवस्थापक, लेखापाल, जनरल अपरेशन म्यानेजर, स्टक किपिङ्ग क्लर्क, डाक सेवा क्लर्क, वित्तीय समीक्षक,क्याशियर तथा टिकट क्लर्क,मेकानिक, विद्यूत तथा टेलिकम रिपेयरिङ्ग सेवा, बैंक क्लर्क तथा कार, भ्यान तथा मोटर साइकल चालक, एजेण्ट तथा ब्रोकर, घर–घरमा सामान बेच्ने कार्य, वकिल, बीमा क्लर्क, र भेण्डर सेवा जस्ता सबै क्षेमा रोजगारी कम हुन जाने दर्शाइएको छ ।
यो त एउटा अध्ययन प्रतिवेदनको उदाहरण मात्र हो । सबै देशमा बेसी घटी यो चिन्ताको विषय बनेको छ र थप बन्ने छ। तथापि रोबोटिक्सको बढ्दो विश्व उपयोगितालाई ध्यानमा राखेर कसरी रोजगारी–मैत्री किसिमले यसको उपयोग गर्न सकिन्छ र गर्नु पर्दछ त्यो आज विकासविद्हरुले ध्यान केन्द्रित गर्नु पर्ने विश्वकै एउटा महत्वपूर्ण र मूल चिन्ता र चासोको बिषय बनेको छ । जब विश्व नै रोबोट उपयोगको दिशामा बढिरहेको छ भने यसको महत्वलाई अस्वीकार या तिरष्कार गरेर यसको प्रभाव र प्रवाहबाट बच्न सकिने छैन । यो अपरिहार्य वस्तु जस्तै बनिसकेको छ ।
त्यसैले रोबोटलाई मानवोपयोगी के केसरी बनाउन सकिन्छ, कसरी कार्यशील यूवा शक्तिलाई रोजागरीबाट विमुख हुनुपर्ने स्थितिबाट बचाउन र उनीहरुको प्रतिभा, कौशल र निपूणतालाई सही दिशमा सही किसिसमले लगाउन र बिश्वलाई उन्नत, मानबीय र सभ्य तथा मानव–मैत्री तुल्याउन सकिन्छ यतातिर गम्भीरतम चिन्ता गर्नुपर्ने र ध्यान केन्द्रित गर्नु पर्ने आवश्यकता छ । आज आइटी अर्थात् इन्फरमेशन टेक्नोलोजीमा पनि रोबोटको उपयोगिता र रोजगारीको बाटो हेरिरहेका नयाँ पिढीका बीच कसरी तालमेल र तादाम्यता मिलाउन सकिन्छ त्यो विकास नीतिले आज हेर्नु र केलाउनु पर्ने विश्वको मूल विषयनै बन्दै गएको छ । त्यसलाई समाधान गर्न यूवा पिढीलाई रोबोट जस्तो आर्टिफिशियल इण्टेलीजेन्स(एआई) को उच्च कौशलबाट सुशिक्षित प्रशिक्षित तुल्याउने रणनीति बनाइनु अति अत्यावश्यक छ । नत्र मानिसको प्रतिभाले सिर्जना गरेको रोबोटले मानिसलाई नै अमानवीयकरणको दिशामा धकेल्ने कुरा टाढाको कुरा हुनेछैन । मानव–मैत्री विकासमा रोबोट प्रयुक्त गर्ने परिस्थिति निर्माण गर्न सके मात्र यो समस्याको सही किसिमले दीगो समाधान हुने विज्ञान मानव विरोधी अभिशाप हुनबाट पनि जोगिने देखिन्छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित