लोक नारायण सुवेदी
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा चैत्र महिनासदैव सम्झिनै पर्ने महिना हो । यस महिनाले नेपाली जन आन्दोलनका खासगरी दुइटा महत्वपूर्ण र उल्लेखनीय इतिहासलाई बोकेको छ । २०४६ सालको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था विरुद्धको संयुक्त जन आन्दोलन जुन औपचारिकरुपमा २०४६ साल फागुन ७ गते आरम्भ भएको थियो र ४९ दिनपछि झण्डै ३० वर्षदेखि नेपाली जनतामाथि लादिएको र निर्विकल्प भनिदै आएको राजाको नेतृत्वको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था धुलधुसरित भएको थियो । राजाले आफु संवैधानिक भएर बस्न मञ्जुर गरेको बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएको थियो । तर करीब तीन दशकको उतार चढावयुक्त संघर्ष र त्यसको उत्कर्षमा पुगेको २०४६ सालको जन आन्दोलनले दिएको दिशानिर्देश र कार्यादेश विपरीत राजनीतिक दलहरु र राजा चल्न थाले पछि मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्वले गुढ लाउदै गयो । त्यसो हुनु अस्वभाबिक थिएन । किनभने त्यो आन्दोलन पनि आमूल परिवर्तनको उच्च चरणमा पुगेर पुरानो उत्पादन सम्बन्ध फेर्ने उच्च स्थितिमा समाप्त भएको थिएन । फलतः पुरानै उत्पादन सम्वन्धको यथास्थितिमा सबै संसदीय व्यवस्थाको अभ्यासमा पुनः लागेका थिए । त्यसले गर्दा एकातिर राजनीतिक दलहरुमा सत्ता लम्पट आशक्ति र विलाशीता बढ्दै गएर ‘महल पजेरो सँस्कृति’ मौलाउन थाल्यो भने अर्कोतिर राजदरबारमा पनि दलहरु स्वयं पञ्चायती पारामै भ्रष्ट तरीकाले चल्न थालेको देखेर जन आन्दोलनबाट जनताले पाएको सीमिति अधिकार पनि खोस्ने कडा कदम चाल्ने कि मन्द विष प्रयोग गरेर ती अधिकार तुहाउने दुइ खेमा देखापर्यो । यस्तै अवस्था विकसित भएको अवसरलाई वर्ग संर्घषको उच्चतम प्रस्थान विन्दु ठानेर नेकपा(माओवादी)ले सशस्त्र संर्घषको बाटो पक्रियो । जनताका शक्तिहरु विभाजनको बाटोमा लागेकोले आफ्नो गुमेको वर्चश्व पुनः फिर्ता ल्याउने दाउमा राजदरबार रहँदै आएको यसको इतिहास थियो नै । अर्कोतिर नेपालको यो त्रिपक्षीय सत्ता संघर्षको मौका छोपेर भारतीय एकाधिकार पूँजीवादी सत्ता पनि आफ्नो प्रभूत्व र प्रभाव जमाउन लागेकै थियो । राजा संसदमा रहेका राजनीतिक दल नेकपा(माओवादी)का त्रिपक्षीय संघर्षका बेला बाह्य हस्तक्षेप खाशगरी भारतीय सत्ताधारी बर्गको चलखेल पनि तीब्र बन्दै गएको थियो । यसै बीच रहस्यमय दरबार हत्या काण्डको रचना भयो । त्यसको यथार्थ अहिलेसम्म पनि रहस्यकै गर्भमा छ । त्यस पछि पनि नेपालको राजदरबार, संसदमा रजाई गरिरहेका राजनीतिक दल र माओबादी बीचको संघर्षले सही बाटो लिएन र निकास दिएन । राजनीतिक दाउपेच चल्दै जाँदा अन्ततः दरबारले जनताका सीमित अधिकार पनि खोस्ने आफ्नो पुरानै मान्यता र चरित्र अनुसार २०५९ साल माघ १९ गते जन आन्दोलनको बलमा २०४६ सालमा राजा विरेन्द्र स्वीकार गरेका संबैधानिक राजतन्त्र र बहुदलीय ब्यवस्थाको मान्यतालाई पनि खोसेर राजा ज्ञानेन्द्रले साशन सत्ता हातमा लिए । त्यस बर्षको असोजमै उनले जनताको सीमित अधिकार खोस्ने तारतम्य मिलाउदै थिए र त्यसलाई तत्कालीन राजनीतिक बोलीमा ‘असोजतन्त्र’ भनिएको थियो ।
विगतका यस्ता अनेक अनुभव र आफ्नो जीवनको निरन्तर गिर्दो कटु यथार्थले नेपाली जनतालाई अन्ततःराजतन्त्रकै विरुद्ध निर्णायकरुपमा उत्रिन बाध्य पार्ने नै थियो । किनभने नेपाली जन आन्दोनलको इतिहासले यो कुरा प्रष्टसंग दर्शाएको छ । यस यथार्थलाई ‘नेपाली जन आन्दोलन ः एक समीक्षा’ नामको आफ्नो ऐतिहासिक कृतिमा कामरेड पुष्पलालले प्रष्टसँग औंल्याइसक्नु पनि भएको छ भने उहाँकै ‘नेपालमा राजतन्त्रको उत्थान, विकास र त्यसको भबिष्य’ भन्ने कृतिमा पनि शाहबंशलाई राजतन्त्रको ‘अन्तिम दीपशिखा’ भन्ने वस्तुगत भविष्यवाणी गरेर नेपाली जनताको आन्दोलनको दिशा र आवश्यकता के रहेको हो भन्ने कुराको बोध र थप पुष्टी गर्नु भएको पनि पाइन्छ । यस सन्दर्भमा कुरा गर्दा के पनि बिर्सन हुदैन भने जनता नै निर्णायक शक्ति हो र उसले ढिलोचाडो आमूल परिवर्तनको आवश्यकतालाई महसुश गर्दछ र त्यसका निमित्त आन्दोलनलाई निर्णायकरुपमा उत्कर्षमा पुर्याउँदछ । यो यथार्थलाई पनि कामरेड पुष्पलालले आफ्नो मृत्युशैयाबाट यसरी अभिव्यक्त गर्नुभएको थियो ः ‘जनता चेतनशील हुर्नुपर्दछ, कार्यकर्ता राजनीतिकरुपमा संगठित हुनु पर्दछ क्रान्ति अवश्यंभावी छ, यसलाई कसैले रोकेर रोक्न सक्तैन’ । हाम्रो देशको इतिहासले यो सत्यको पनि पटक पटक सत्यापन गरिसकेको छ । तर विडम्बना के छ भने मिल्न पर्ने र मिल्न सक्ने शक्तिहरु पनि अनाबश्यक रुपमा विभाजित रहने मनोगत र अवसरवादी तथा उपभोक्तावादी मनोवृत्तिले त्यसो गर्न बरोबर बाधा दिइरहेको छ र यो आन्दोलन अहिले पनि त्यो प्रवृत्तिको पीडाबाट मुक्त छैन ।
त्यसैले, इतिहास चेतना यस्तो हुँदा हुदै पनि आन्दोलनपछि सत्तामा पुगेका दलहरुले जसरी जनता र राष्ट्रको हितमा व्यापक र दूरगामी दृष्टिकासाथ जनता र जन आन्दोलनकारी शक्तिलाई साथमा लिएर अघि बढ्नु पर्दथ्यो त्यसो नगरी सत्ताको निहीत र संकीर्ण स्वार्थमा चुर्लुम्म डुब्दै हिजोकै विस्थापित शक्तिको बाटो लागेर पथ–विचलित हुँदा हरेक परिवर्तनपछि अन्यौल, अराजकता, अनुशासनहीनता, सत्ताको लुछाचुँडी र अजंगका भ्रष्टाचारले गर्दा जनतामा घोर निराशा छाउने अवाञ्छित स्थिति खडा हुन आउने गरेको पनि हाम्रो इतिहास छ । आज त यो पीडादायक यथार्थलाई अत्यन्तै नराम्रोसँग हामी बेहोरिरहेका छौ । किनभने नेपालको इतिहासमा २०६२÷६३ सालको अभूतपूर्व जन आन्दोलनले २४० वर्ष देखिको केन्द्रिकृत, एकात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई विस्थापित गरेर सार्वभौम नेपाली जनताका हातमा शासन सत्ताको बागडोर ल्याएको हो । यसका निमित्त बितेको ६ दशकका विविध संघर्षहरुमा हजारौ शहीदहरुले बलिदान दिएका हुन् । नेपाली जनताका हितमा समर्पित राजनीतिक दलहरुका नेता, कार्यकर्ताहरुले प्रवासको पीडा, जेलनेल, दमन, हत्याका अनेक श्रङ्खलाहरु बेहोरेका हुन् । तर ती कुराहरु आज सत्ताको लागि संर्कीण मोलतोल र आत्मसर्पणका बिषय बस्तु बनाइए । फलतः राजनीतिक दलहरु जो सत्तामा पुगे तिनले आफ्नो विवेक, बुद्धि, सीप र बर्गतलाई जनता राष्ट्रको हितमा लगाएनन् । ती सबै कुरा कतै बन्धक बनाइएको जस्तो स्थिति बन्यो ।
यस्तो बेलामा नेपाली जनताका लागि आफ्नो सुन्दर जीवन अर्पण गर्ने ती नेपाली जन आन्दोलनका महान अमर शहीदहरुलाई कसरी सम्झने अत्यत्नै ठूलो प्रश्न नेपाली जनता र राष्ट्रका अगाडि उपस्थित भएको र अनुत्तरित रहेको छ । एक त आज महान शहीदहरुको नाममा पैसाको मूल्य तोकेर तिनको घोर अपमान गरिएको छ भने अर्कोतिर नेपाली जनताको दयनीय अवस्था र सत्तामा पुगेका दलहरुका अधिकांश नेताहरुको राजशी ठाँटबाँट, घोर विलाशिता र बिश्वासै गर्न नसकिने वैभवले जुन आश्चर्यजनक र रहस्यमय स्थितिको निर्माण गरेको छ त्यो अत्यन्तै खट्किन विषयवस्तु बनेर उपस्थित छ । यस स्थितिको सही उत्तर नदिएसम्म न शहीदहरुको बलिदानको उचित सम्मान हुन्छ न नेपाली जनताको सार्वभौमिकताको नै ।
वास्तवमा आज नेपालको मूलधारको राजनीति यसरी नीति, नैतिकता, इमानदारीता, समर्पण, आदर्श र त्यागको मूलबाटोबाट नराम्रोसँग विचलित भएको छ । त्यसले गर्दा नै जनता र राजनीतिक दलहरु बीचको सम्बन्ध नराम्रोसँग काटिएको छ । यसलाई जनताले कुनै औपचारिक चुनावमा विशेषमा विभिन्न कारणले दिएको मतको आधारमा मात्र सतही व्याख्या गरेर यथार्थ व्याख्या हुन पनि सक्तैन । यो कुरा त २०१५ सालको चुनाव २०४८ को चुनाव र २०६४, २०७४,२०७८ को चुनावहरुले प्रष्ट पारिसकेको छ र पछिल्लो २०८२को चुनावले पनि प्रष्ट पार्दै जानेछ । जनता र देशले आज भोगिराखेका बाह्य र आन्तरिक गम्भीरतम समस्याहरुले नै आजको स्थितिको वास्तविक मर्म र राष्ट्रिय शर्मलाई पनि खुलस्त ब्याख्या गरिरहेका छन् र यो क्रम निरन्तर जारीरहने नै छ ।
मानिसको दैनिक जीवनमा पनि कुरा भन्दा कामले अर्थात् यथार्थ व्यवहारिक अनुभवले नै ठूलो ज्ञान दिन्छ । यो इतिहास सिद्ध कुरा नै हो । त्यसैले ‘इतिहास आफै बोल्छ’ भन्ने मान्यता पनि विकसित भएर आएको हो । नेपालको ०७ सालदेखि २०८२ साल सम्मको यथार्थ इतिहासले आज आफै बोलिरहेको छ । जनता र राष्ट्रका समस्याहरुले यथार्थ वास्तविकता बताइरहेका छन् । इतिहासलाई सही दिशा र गति दिने या गलत मोड दिने काम कुन कुन राजनीतिक दलहरुले कुन कुन समयमा के कति योगदान गरे त्यसको प्रतिबिम्ब नै समग्रमा हाम्रो आजको अर्थ–राजनीतिक स्थिति हो । यस परिप्रेक्षमा नै इतिहासलाई केलाउने र विश्लेषण गर्ने पनि गरिन्छ र सही निष्कर्शमा पुग्न गर्नु पनि पर्दछ ।
निष्ठावान विद्यार्थी नेता शहीद देवीलालको शहादतलाई पनि यसै सन्दर्भमा हेरिनु सार्थक हुन्छ । २०५९ चैत्र २५ गतेको बुटबल क्याम्पस परिसरमा शहादत प्राप्त गरेका विद्यार्थी नेता शहीद देवीलालको घटनालाई यसै आधारमा केलाउँनु उचित र वस्तुगत हुन्छ । त्यस दिन पेट्रोलिय पदार्थको चर्को मूल्य वृद्धि विरुद्ध विद्यार्थीहरुले चलाई रहेको संयुक्त आन्दोलनको क्रममा बुटवल चौराहमा केही घण्टाको चक्काजाम सकेर बुटबल क्याम्पसमा सबै विद्यार्थी फर्किसकेपछि एकाएक क्याम्पस हाता भित्रै आन्दोलनमा सक्रिय विद्यार्थी नेता देवीलाल पौडेलमाथि प्रहरीले ताकी ताकी कञ्चटमा गोली प्रहार गरी क्रुर हत्या गरेको थियो । शान्तिपूर्ण सफल आन्दोलनबाट क्याम्पस हातमा फर्किसकेका निर्दोष र निहत्था विद्यार्थीको यसरी निर्मम किसिमले हत्या गरिदा विद्यार्थी जगत आक्रोशित उद्वेलित बनेको थियो । विद्यार्थी पौडेल त्यतिबेला नेपाल कम्युनिष्ट (माक्र्सवादी)सँग आवद्ध विद्यार्थी संगठन नेपाल प्रगतिशील विद्यार्थी यूनियनको रुपन्देही जिल्लाको अध्यक्ष हुनुकासाथै पार्टीको जिल्ला कमिटीका सदस्य पनि हुनुहुन्थ्यो । त्यसैले उहाँ एउटा जुझारु नीति र सिध्दान्तकासाथ लडिरहेका विद्यार्थी नेता भएकाले उहाँले प्रतिगमन विरोधी आन्दोलनको प्रथम विद्यार्थी शहीदको राष्ट्रिय मान्यता र सम्मान पनि पाउनु भएको । हुन पनि उहँँको शहादतपछि त्यतिबेला विद्यार्थी आन्दोलन झन चर्कियो र त्यसले राष्ट्रव्यापी रुप लियो । कयौ दिनसम्म बुटबल बन्द भयो र त्यसले देशभरीकै आन्दोलनलाई ठूलो ऊर्जा दियो भने प्रतिगमन बिरोधी आन्दोलनले नयाँ उच्चाई प्राप्त गर्दै गयो र आन्दोलनमा सहभागी भएर अनेकन व्यक्तित्वहरुले शहादत प्राप्त गरे । त्यसै शिलशिलामा राजतन्त्रविरुद्ध शान्तिपूर्ण आन्दोलनमा कृयाशील सात दल र सशस्त्र संर्घष चलाईरहेको माओवादी बीच समझदारी भए पछि २०६२÷६३ सालको जन आन्दोलनमा ब्यापक जन सहभागीता बढ्दै गएर त्यो उत्कर्षमा पुगेको हो । अनि नेपालको केन्द्रिय सत्ताबाट पहिलो पटक राजतन्त्रलाई विस्थापित गरेको हो । तर आज त्यो आन्दोलनको राप र ताप सेलाएर गएको छ । शहीदहरुको बलिदान खेर गएको छ । आन्दोलनकारी शक्तिहरु विचलित बनेका छन् । जसको परिणाम देश अझै पनि अन्योल, अनिश्चितता र अराजकताको स्थितिबाट मुक्त हुन नसकेको मात्रै होइन बाह्य शक्तिको चंगुलमा अझ बडी फँस्दै गएको छ । जनताले दुइ तिहाई जति मत दिएर सरकार बनाउदा समेत समस्या समाधान हुने रहेनछ भन्ने कुराको अनुभव पनि बटुलेको छ र देश र जनताको हित विपरीत संसदबाट एमसीसी जस्तो घातक सम्झौता गर्दा रहेछ भन्ने कुरा पनि प्रष्ट भएको छ । त्यसैले २०८२ भदौमा शान्तिपूर्ण जेञ्जी आन्दोलनलाई भाँडेर जुन अपूर्व विध्वंश मच्चाइएको गैर संवैधानिक सरकार खडा गरेर अप्रत्याशित र सन्देहास्पद संसदीय निर्वाचन मञ्चन गरियो त्यसमा यस अघि खाइखेली गरेका ठूला मानिने दलहरुकाप्रति व्यापक जन असन्तुष्टी देखियो । कुनै पनि सत्ताधारी दल जनताको नजरमा बिश्वसनीय देखिएनन् । त्यसैले अहिले अप्रत्याशित मतकासाथ रास्वपा बिजयी बनेको छ । तर अस्थिरता, अन्यौल, अस्थायीत्व विद्यमान बनेकोे आजसम्मको अवस्थालाई यसले चिरेर अघि बढ्न सक्छ ? यो गणितको मात्र समस्या होइन अत्यन्तै गम्भीर प्रश्न छ । एकातिर भू–धरातलीय अवस्था, उत्पादन सम्बन्ध नबदलिएको स्थितिले व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको छ र यसको अन्त्य र जनमुखी विकल्पको चर्चा र माग हुन थालेको पनि छ । व्यवस्था बदल्ने र अवस्था ठीक तुल्याउने अपेक्षाकासाथ शहादतवरण गर्ने महान शहीदहरुको स्मरण गर्ने यो चैत्र महिनाले सबैको मनमा यही खुल्दुली ल्याइदिएको छ । जुन स्वाभाबिक पनि हो । देशको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा जनजीविकाका आधारभूत समस्या समाधान गर्न सबै क्षेत्रमा अग्रगामी आमूल परिवर्तन अबको अन्तिम, निर्णायक र आधारभूत परिबर्तन हो भन्ने कुरा फेरि पनि प्रष्ट हुँदै गएको छ । यही यथार्थ औंल्याउदै महान शहीदहरुको बरद बलिदानको श्रृंखलामा लामबद्ध भएका अमर शहीद देवीलालप्रति उच्च सम्मान !

