लट्ठी अर्थात लौरो ( निवन्ध )

मोदनाथ मरहट्टा

अक्सर बुढ्यौलीतिर लागेका मानिसहरु लट्ठी टेक्ने गर्छन । मलाई पनि लौरोको आवश्यकता पर्न थालेको छ । उमेरमा कृषि कर्ममा लिप्त हुँदा शारिरिक श्रम गरिन्थ्यो । अहिले त्यो कर्मबाट विमुख भएपछि शारीरिक श्रमको लागि बिहान केही समय हिँड्ने गर्छु । मलाई त्यतिबेला लौरोको आवश्यकता पर्दछ ,किनकि सडकमा छाडा छाडिएका कुकुरले हमला गर्न खोज्दा रहेछन् अनि लौरो अनिवार्य बन्दोरहेछ ।
लौरो साहरा हो कि हतियार ? मेरो मथिङ्गलमा प्रश्न घुमिरहेको हुन्छ । हामी केटाकेटी छँदा गोठालो जानु पर्दथ्यो र हाम्रो हातमा लट्ठी हुन्थ्यो । हामी विवेकी भनिएका मानवले हामीले पालेका ती निर्धा पशुहरुलाई तह लगाउन लौरोको सहायता लिनु पर्दथ्यो । कुनै कुनै गोरु वा भैंसी जब्बर हुन्थे र स्वतन्त्रपूर्वक उफ्रन खोज्थे । अनि हामी लट्ठीले चुटेर तिनलाई हाम्रो कब्जामा लिन्थ्यौँ । मेरो अनुभुतिमा लट्ठीसित जोडिएका थुप्रै प्रसङ्गहरु छन् । पशु चरनमा लगेको गोठालो र खेतबारी जोत्न गएका खेतालो (हलीदाई) सित अनिवार्य लौरो हुन्थ्यो । हलीदाई निम्न ज्यालामा कामगर्न बाध्य श्रमिक हुन्थे भने उनीद्वारा जोतिने गोरु केवल घाँसको भरमा जोतिन बाध्य हुन्थे । यसरी बिना मूल्य जोतिँदा पनि गोरुहरुले हली दाइको कुटाइ खानु पर्दथ्यो । हलीदाई आफैँमा जग्गाधनीको उत्पीडनमा थिए । कहिले भोक र तिर्खाले सताइँदा पनि कामगर्न बाध्य थिए र त्यो असन्तुष्टी गोरुमाथि पोख्दथे ।
हामी केटाकेटी उमेरमा गोठालो जान्थ्यौं। पुस–माघमा दिनमा खेतको ठूलो गह्रामा डण्डीवियो खेल्ने गर्दथ्यौं। हामीले खेल्ने लठ्ठीको नाप एकहात एकामुठ्ठीको हुन्थ्यो । जुन लट्ठीले गाई गोरू लौरो गोठालो वा पाको मानिसको सहारा मात्र होइन हामीलाई शिक्षादिने गुरुहरुको हातमा पनि हुन्थ्यो । गुरुहरुको हातमा लामो र मोटो त होइन सानो सिम्कानो हुन्थ्यो र त्यसलाई छडी भनिन्थ्यो । हामीले विद्यालयमा अध्ययन गर्दा गुरुका सिम्कानाले हत्केलामा स्वाँट्ट कुटाइ खाइन्थ्यो । म नौ वर्षको थिएँ
मेरो हजुराअमाले गाउँका एकजना पण्डितकहाँ संस्कृत पढ्न पठाउनु भयो । गुरुले अग्निस्थापनाको किताबबाट हरेक दिन एक अनुच्छेद घोकेर आइज भन्दै पाठ दिन्थे ।
केही दिन यहि क्रमले घोक्दै बुझाउँदै गएँ । गुरुले दिनुभएको पाठ मलाई थोरै भयो भन्ने लाग्यो र एकदिन तोकिएको पाठभन्दा दुई पृष्ठ बढी कण्ठ पारेर गएँ र खरर सुनाएँ । ला त्यो दिन त गुरुलाई क्रोधाग्नी चढेको रहेछ । तोकिएको पाठ भन्दा बढी किन घोकिस भनेर हुक्का तान्दै गरेको नलीले मेरा पिँडौलामा बेस्सरी सुम्ठ्याउनु भयो । अचानक खानु परेको कुटाइले मेरो पिसाब खुस्क्यो । म रुँदै घर आएँ र हजुरआमालाई पिडौँलाको डाम देखाएँ र भोलिपल्टदेखि ती गुरुकोमा जान छाडिदिएँ ।
शिक्षण पेशामा प्रवेश गरेपछि मेरो हातमा पनि छडी हुन्थ्यो र कुनै कुनै अखडो केटोले स्वाँट्ट दनक भेट्दथ्यो ।
लौरो ,लट्ठी वा छडी जे नाम गरे पनि आकार प्रकार फरक भए पनि काम एउटै हो निर्धालाई तह लगाउनु हो । हामीले देखेका छौँ । सडकमा हुने कुनै विरोध कार्यक्रममा राज्यको तर्फबाट प्रारम्भिक छेकबारमा उपस्थित हुने सुरक्षाकर्मीको हातमा बेत या बाँसको लामो लौरो हुन्छ । त्यस्तो लौरोको एक दुई दनक मैले पनि भेटेको छु । पञ्चायती व्यवस्थाको ढलिमली भएको बेला अर्थात् चालीस सालमा हामी शिक्षक साथीहरु आन्दोलनमा थियौं । चैतका दिनहरुमा गोरखा जिल्लाको सदरमुकामको ठूलो आँगनबाट हामीले जुलुस निकालेर बजार परिक्रमा गर्दै गर्दा एक्कासी प्रहरीहरु आएर अवरोध गर्न थाले । हामी शिक्षकहरु पनि जोडजोडले नारा घन्काउँदै ठेलमठेल गर्न थाल्यौँ । केहीबेरको धक्कामुक्का पछि प्रहरीहरुले जुलुसमाथि लाठी बर्साउन थाले ।त्यसरी लाठी हान्न थालेपछि केही क्षणका लागि जुलुस तितरवितर भयो तर प्रहरीहरुले देखे भेटेकालाई उनीहरुको भाषामा मर्मत गर्न थाले । मैले पनि एक मर्मत भेटेर खुट्टा मुसारेको छु । सुरक्षाकर्मी अर्थात प्रहरी कार्यालयमा थरी थरी थरीका लठ्ठी हुन्छन् । प्रहरी कार्यालयको केरकार शाखामा बास, बेत र रबरका लट्ठी टेबुलमा सजाएर राखिएका हुन्छन् । वयान दिन पसेका अभियुक्त ती दृश्य देखेर सागपात हुन्छ । लठ्ठीहरुको धार्मिक र संस्कृतिक कार्यमा पनि काममा आउँछ । हिन्दु कर्मकाण्डीय पुरोहितले मृतकको एघारौं दिनको किरिया कर्ममा लौरोको दान अनिवार्य गराउँछन् ।
लट्ठीहरु विभिन्न काठका हुन्छन् , काठका मात्र होइन बेत, बाँस र आल्मुनियमका पनि हुन्छ । काठे लट्ठीमध्ये घंगारु जातको लट्ठी काँडेदार हुन्छ । अर्को लेकाली वनस्पतिमा रुइस जातको हुन्छ । त्यो लट्ठी हलुका र टिकाउ हुन्छ । आलमुनियमका लट्ठीहरू अक्सर शहर बजारतिर देखिन्छ ।
अहिले नेत्रहीनहरुका लागि सेतो लट्ठी अनिवार्य बनेको छ । नेत्रहीन मात्र होइन शारिरीक अपाङ्गले पनि सेतो लठ्ठी प्रयोग गर्छन् ।
नेपाली समाजमा लट्ठी लक्षित केही उखान र गाउँखाने कथाहरु छन् “जसका लट्ठी उसका भैंसी” यस उखानमा लट्ठी शक्तिका रुपमा बुझ्न सकिन्छ । त्यसैगरी गाउँखाने कथामा पनि लट्ठीको प्रयोग भएको छ । “यो मेरो टेक्ने,यो मेरो छेक्ने, परिआयो भने पुर्पुरो सेक्ने”। यो गाउँखाने कथामा लट्ठी सहारा र शक्ति दुवै हो भन्ने जनिन्छ । घर घर भिक्षा थाप्दै हिड्ने भिक्षु वा फकिरको हातमा अनिवार्य लट्ठी रहेको हुन्छ । केहीवर्ष अघिसम्म भोट मधेश गर्ने ढाक्रेहरुको साथमा अनिवार्य लट्ठी हुने गर्दथ्यो। भलै, अहिले यो प्रचलन हराउदै गएको छ । अहिले पनि खोला, नदी,जङ्घार गर्नु पर्दा लौरीको सहायता लिइन्छ ।
लट्ठीको व्यापार पनि हुन्छ । अक्सर पहाडको उच्च थलीमा रहेका तीर्थस्थल उक्लिनेहरुलाई लट्ठीले सहारा दिन्छ । गोरखाको मनकामना या ताप्लेजुङको पाथिभरामा पैदल जानेहरुले उकालोको फँेदीमा लट्ठी खरिद गरेर उकालो उक्लने गर्दथे तर कुलीन धनाढ्यहरुले पहाडको चुचुरोमा हुने देवस्थल लक्षित गरेर केवलकार निर्माण गरेपछि लट्ठी व्यापार शुन्यमा झरेको छ । निम्न आय हुनेले लट्ठी बेचेर भएपनि सानो आय आर्जन गरेका थिए तर पैसावालहरुले लट्ठी व्यापारीको हातमुख जोर्ने रोजगारी खोसिदिए ।
लटठी संस्कार संस्कृतिसित पनि जोडिएको साधन हो । जनजाती समुदायमा लट्ठी नृत्य निकै रोचक र मनोरञ्जनपुर्ण हुन्छ । खासगरी नेवार,गुरुङ्ग, मगर र थारु जातिमा लट्ठी नाँच नाँचिन्छ । यो नाँच समुहमा नाँचिन्छ तर पछिल्लो युवा पुस्तामा यो नाचप्रति खासै चासो नदेखिएकोले लोप हुने खतरामा छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित