चितवन, ५ बैशाख । लेखक मोहन वैद्य ‘किरण’ को पुस्तक “हिमाली दर्शन ” र ईश्वरी ओझाको महाकाव्य “अविश्रान्त अवनी”माथि विवेचना कार्यक्रम सम्पन्न भएको छ। किरणको पुस्तकमाथि अर्का लेखक गोपी रमण उपाध्यायले समीक्षात्मक टिप्पणी राख्नु भएको छ । ईश्वरी ओझाको पुस्तकमाथि रवि किरण निर्जीवले समीक्षात्मक टिप्पणी राख्नुभएको छ । २०८३ साल वैशाख ५ गते चितवनको भरतपुरमा उक्त पुस्तक विवेचना कार्यक्रम भएको हो। यो पुस्तक विवेचना कार्यक्रमको आयोजना अखिल नेपाल जनसांस्कृतिक महासङ्घ चितवन शाखाले गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सोही महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखी हुनुहुन्थ्यो । उहाँले आफ्नो मन्तव्यका क्रममा ‘हिमाली दर्शन’ले पूर्वीय दर्शन र भारतीय दर्शनको तथ्यगत रुपमा खण्डन गरेको बताउनुभयो । दुःखीले हिमाली दर्शनको मुख्य विशेषता भनेको पहिलो पूर्वीय तथा भारतीय दर्शनको प्रामाणिक एवम् तर्कसङ्गत खण्डन गर्नु र वेद, पुराण, उपनिषद, गीता आदि कृतिहरू भित्र रहेको भौतिकवादी तथा द्वन्द्ववादी तथ्यको उजागर गर्नु हो भने दोस्रो हिमवतखण्ड मध्य हालको नेपाली भूगोलभित्रबाट जन्मिएका दार्शनिकहरूको स्वामित्व दावि गर्नु हो भन्नुभयो । प्रमुख अतिथि दुःखीले हिमाली दर्शनको मर्म र अर्थ सही र गहिरो गरी बुझ्न संस्कृत साहित्यको राम्रो अध्ययन गर्नुपर्ने बताउनुभयो । यस सम्बन्धमा चर्चा गर्दै दुःखीले ‘विगतमा हामीले संस्कृत भाषाको विरोध गर्यौं । त्यसो गर्नु हुँदैन रहेछ । संस्कृत भाषालाई ज्ञानको हैन कर्मकाण्डी मात्र बनाउने जुन तरिका थियो त्यसको विरोध गर्नुपर्ने रहेछ,’ भन्नुभयो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका प्रमुख अतिथि हिरामणि दुःखीले ईश्वरी ओझा रचित महाकाव्य ‘अविश्रान्त अवनी’माथि पनि चर्चा गर्नुभएको थियो । उहाँले उक्त महाकाव्यले जनयुद्धलाई उदात्तीकरण गर्नमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उक्त पुस्तक कला र विचारका दृष्टिले उच्च रहेको बताउँदै कम्युनिस्टहरूले लेख्ने साहित्य नारावादी हुन्छन् भन्नेहरूका लागि अविश्रान्त अवनी दह्रो जवाफ हुने बताउनुभयो ।
‘हिमाली दर्शन’ २०७४ सालमा प्रकाशित भएको थियो । पुस्तकबारे बोल्दै समीक्षक गोपीरमण उपाध्यायले हालको नेपाली सिमानाभित्र पर्ने भूक्षेत्रबाट पनि विगतमा दार्शनिकहरू जन्मिएको र दर्शनको जन्म भएको मान्यता पुस्तकले स्थापित गराउन खोजेको बताउनुभयो । ‘नभए यस्ता दर्शनलाई पूर्वीय या भारतीय उपमहाद्विपमा उत्पन्न भएको भन्दै आइयो । यो मन्यताविपरीत गएर मदनमणि दीक्षितले हिमाली उपमहाद्विप भन्नुभएको थियो । हिमाली दर्शनले पनि त्यही दीक्षितको जस्तै मान्यता बोकेको छ,’ उपाध्यायले भन्नुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य चन्द्रहरी सुवेदीले साहित्य र राजनीतिको अन्तरसम्बन्धका बारेमा धारणा राख्नुभएको थियो ।
अविश्रान्त अवनीको मुख्य विवेचना जनसांस्कृतिक महासङ्घ चितवनका अध्यक्ष रविकिरण निर्जिवले गर्नुभएको थियो । महासङ्घ चितवनको उपाध्यक्ष बाबुराम पाण्डेको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन महासङ्घका सदस्य नारायण शर्मा विपिनले गर्नुभएको थियो ।

