‘रास्वपा प्रतिको विश्वास आक्रोशको रुपमा बदलिने देखिन्छ’

रुपन्देही । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ५ नम्बर ब्युरोले ‘रास्वपा प्रतिको विश्वास आक्रोशको रुपमा बदलिने देखिन्छ’ भनी समीक्षा गरेको छ । २०८३ वैशाख ६ गते सम्पन्न ५ नम्बर ब्युरोको बैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयमा समीक्षा गरेर पार्टीको उक्त धारणा सार्वजनिक गरेको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ५ नम्बर ब्युरो सचिव जितामित्र सुनारले जारी गरेको प्रेस वक्तव्य यस प्रकार छ –

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ५ नम्बर ब्युरोको बैठक २०८३ वैशाख ६ गते सम्पन्न भएको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयमा समीक्षा गर्‍यो र पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
जेनजी विद्रोहमा भएको दमन र हत्याका साथै, भौतिक संरचना माथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्ने स्थिति नदेखिए पछि रास्वपा प्रति बढेर गएको जनविश्वास सरकार गठन भएको केही दिनमै कमजोर भएको छ । महंगी नियन्त्रणमा सरकार असफल भएको छ । भ्रष्टाचार नियन्त्रणका अपरिपक्व प्रयासहरुले परिणाम प्राप्त गर्नसक्ने देखिन्न । मन्त्री , प्रधानमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति बिवरणले सुशासनको खिल्ली उडाएको छ । सरकारले जनताको आधारभूत समस्या समाधान गर्दै देशलाई आत्मनिर्भर तथा आर्थिक संमृद्धिको दिशामा अगाडि बढाउने ठोस योजनाका साथ अगाडि बढ्ने नीति लिएको छैन । सामान्य प्रशासनिक सुधार र स्टन्टले देशमा उपस्थित तमाम समस्या समाधान गर्न सक्दैन । ढिलो वा चाडो रास्वपा प्रतिको विश्वास आक्रोशको रुपमा बदलिने देखिन्छ ।

नेपालको भूराजनीतिक जटिलता गम्भीर प्रकारले बढ्दै गएको छ । देशको सीमा रक्षाको प्रश्न गम्भीर समस्याको विषय बनेको छ । भारत र चीनले नेपालको भूूमि प्रयोग गर्दा समेत नेपाल सरकार बेखबर देखिन्छ । अमेरिकी साम्राज्यवादको चीन बिरुद्ध गतिविधि संचालन गर्ने रणनीतिक योजना अनुरुप शक्ति केन्द्र को क्रीडास्थल नेपाललाई बनाईदै छ । एस.पी.पी. पास गराउने प्रयत्न, यूरेनियम उत्खनन लगायतका गम्भीर बिषयहरु आइरहेको छन् । यी सबै हर्कत साम्राज्यवादको प्रत्यक्ष ठाडो हस्तक्षेप हो । हामी साम्राज्यवाद विरुद्ध संयुक्त मोर्चा निर्माण गरेर जाने बिषयमा पनि सम्पूर्ण साम्राज्यवाद विरोधी शक्तिहरूलाई आह्वान गर्दछौँ ।
सरकार विद्यार्थी संगठन , शिक्षक संगठन र ट्रेडयुनियनमा प्रतिबन्ध लगाएर निरंकुशता भन्दा माथि उठेर फासीवादी शैलीमा अगाडि बढ्न खोजेको छ । लोकतान्त्रिक शक्तिहरुले त्यसको विरोध तथा प्रतिवाद गर्नु पर्दछ । विद्यार्थी संगठन, ट्रेड युनियन र शिक्षक संगठन खारेज गर्ने सरकारको कार्यसूचीका विरुद्ध हाम्रो पार्टी एकल वा संयुक्त आन्दोलनको निम्ति पहल गर्ने छ । अहिले चुलिदै गएको महङ्गी, भष्ट्राचार, राज्य आतंकको विरुद्ध पनि संघर्ष गर्न आवश्यक छ । हामी सम्पूर्ण नेपाली जनसमुदायलाई यो आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।

साम्राज्यवादको ठाडो हस्तक्षेपको विरुद्ध र सरकारको फासीवादी हर्कतका विरुद्ध व्यापक संघर्षको आवश्यकता छ । साथै यो सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार नै उपयुक्त निकास हुन सक्छ र त्यसको लागि सम्पूर्ण राष्ट्रबादी , जनतान्त्रिक, वामपन्थी र क्रान्तिकारी शक्तिहरु एकजुट हुन आह्वान गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित