सत्ताको महानगरमा

प्रा.डा.जगदीश चन्द्र भण्डारी

उरन्ठेउला हावाले
उरेन्ठेउलैका
महल भित्र पसेर
दामसाम उडायो
अनि आगो लगायो
दुषित कलङ्कित
अनुहारमा चक्कु चलायो
सत्ताको महानगरमा
पुराना विचित्रका चित्र जस्तै
नयाँ चित्र पनि कोरियो
उही विद्रूप कुरूप
दलाल रङ्गको
जसमा मगमगाएको छ
अश्लीलताको प्राचीन गन्ध
गीतका शब्दमा
पाशविक वृत्तिको
राग मिसाएर
सत्ता आनन्दित भएको छ

गुपचुप गुपचुप
धरतीलाई उखेलेर
अन्त कतै सार्ने खेलमा
मस्ती गरिरहेको
चुपचाप हेरेर
मानिस भने
गुप्त योजना बुन्न
किन सकिरहेको छैन
सत्ता सहरलाई
नङ्ग्याएर
सहर गाउँ घुमाउन
ढिलो भइसकेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित