अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सम्भावना र चुनौतीहरु

 

इन्द्रमोहन सिग्देल

विषयको प्रस्तुति
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पुँजीवाद र विभिन्न रुपका प्रतिक्रियावादी सत्ताकाविरुद्ध विश्व सर्वहारा वर्ग तथा आम उत्पीडित जनताको एउटा युगान्तकारी अन्तर्राष्ट्रिय अभियान हो । यो अभियान महान् सम्भावना सहित गम्भीर चुनौतीहरुको सामना गर्दै अगाडि बढिरहेको छ । सम्भावना विशेषतः पुँजीवादका अन्तर्निहित विशेषता तथा अन्तर्विरोधहरु अर्थात् पुँजीवादी समाजको वस्तुगत पक्ष र चुनौती विचार तथा सङ्गठन अर्थात् मुख्यतः कम्युनिस्ट आन्दोलनको आत्मगत पक्षसित सम्बन्धित हुन्छन् । यो सङ्क्षिप्त लेख यसैको सेरोफेरोमा रही तयार पारिएको छ ।

पुँजीवादका विशेषताहरु
पुँजीवाद श्रम र ज्यालाको सम्बन्धमा आधारित मालको उत्पादन तथा वितरण गर्ने आर्थिक प्रणाली हो । पुँजीवादी व्यवस्थामा उत्पादनका साधन र उत्पादित मालमाथिको स्वामित्व सीमित पुँजीपतिहरुको हातमा रहन्छ । मालको उत्पादन निजी मुनाफालाई हेरेर गरिन्छ, समाजको आवश्यकतालाई होइन । मालको मोल निर्धारण गर्ने काममा राज्यको कुनै भूमिका हुँदैन, यो बजारद्वारा निर्धारित हुन्छ । उत्पादनमा संलग्न हुने श्रमजीवि वर्ग माग र आपूर्तिका आधारमा मोल निर्धारित हुने बजारिया माल बन्न जान्छ । पँुजीवादको सार भनेको यही श्रमिक वर्गको अतिरिक्त श्रमको शोषण हो, यसैबाट पुँजीपतिले अत्यधिक नाफा कमाउँछ । फलतः समाजमा धनी र गरिबका बीचको आर्थिक खाडल झन् झन् फराकिलो बन्दै जान्छ । छोटोमा पुँजीवादको विशेषता यही हो ।

पुँजीवादका अन्तर्विरोधहरु
पुँजीवाद कुनै स्थिर र साश्वत आर्थिक प्रणाली होइन, यो परिवर्तनशील छ । यसमा अन्र्तनिहित अन्तर्विरोधहरुका कारण योे विभिन्न रुप र सारमा परिवर्तन भइरहन्छ र हुँदै आएको छ । ती अन्तर्विरोधहरु निम्नानुसार छन् ।
पहिलो, निजी स्वामित्व र सामूहिक उत्पादन पुँजीवादको प्रमुख अन्तर्विरोध हो । पुँजीपति र सर्वहारावर्गका स्वार्थ ठीक विपरीत हुने हुनाले तिनका बीचमा निरन्तर सङ्घर्ष चलिरहन्छ । यसैलाई वर्गसङ्घर्ष भनिन्छ । यही नै पुँजीवादी प्रणालीको चालक शक्ति हो । पुँजीवादी देशमा उत्पादनका साधन तथा उत्पादित मालमाथिको निजी स्वामित्वलाई त्यहाँको राज्यसत्ता र कानुनले संरक्षण गरेको हुन्छ । निजी स्वामित्वको विरोधगर्नेहरु कानूनद्वारा दण्डित हुन्छन् ।

दोस्रो, मालको उत्पादन समाजको आवश्यकतालाई हेरी गरिन्न, नाफालाई केन्द्रमा राखेर गरिन्छ । नाफाको खोजीमा पुँजीपतिहरुले स्वनिर्णयमा धेरैतिर पुँजी लगानी गर्छन् र यसले बारम्बार अति उत्पादनको समस्या पैदा गर्दछ । फलतः पुँजीवाद आर्थिक सङ्कटमा फसिरहन्छ । हरेक सङ्कटपछि पुँजीपति वर्गले मजदुरको थप अतिरिक्त श्रमको शोषणबाट आफ्नो घाटा पूर्ति गर्दछ ।

तेस्रो, पुँजीपति वर्गले हरेक उत्पादन पछि नाफाको एउटा हिस्सालाई पुँजीमा रुपान्तरण गर्दछ र यो क्रममा उसको सम्पत्ति बढिरहन्छ । तर कहिल्यै पनि मजदुरले सञ्चय गर्न पुग्नेगरी ज्याला पाउँदैन । फलतः पुँजीपति र श्रमिक वर्गका बीचको आर्थिक खाडल फराकिलो हुँदै जान्छ ।

चौथो, पुँजीपति सधैँ सामानको मूल्य बढाउँदा माल नबिक्ने तर नाफा बढाउनै पर्ने चापमा हुन्छ । त्यसका निम्ति उसले लागत मूल्य घटाउने उपाय खोज्छ । त्यो भनेको प्रविधिको प्रयोग हो । पुँजीपतिले अस्थिर पुँजी (ज्याला) मा हुने खर्च घटाउन प्रविधि अर्थात् मेसिनहरुको प्रयोग गर्छ । तर, यसले पुँजीपतिको नाफा मात्र बढाउँदैन देशमा बेरोजगारहरुको सङ्ख्या पनि बढाउँछ । अर्कोतिर, मूल्यमा सन्तुलन कायम राखी धेरै नाफा कमाउन उद्योगपतिले धेरैतिर लगानी गर्छ । यसबाट फेरि अति उत्पादनको समस्या पैदा हुन्छ ।

पाँचौँ, पुँजीवादी व्यवस्थामा हुने उपरोक्त अन्तर्विरोधहरु उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचको अन्तर्विरोध हो । उत्पादक शक्तिको विकास एउटा निश्चित बिन्दुमा पुगेपछि त्यसलाई विद्यमान उत्पादन सम्बन्धले थेग्न सक्दैन र त्यो उत्पादन सम्बन्ध उत्पादक शक्तिको विकासको बाधक हुन जान्छ । यही प्रक्रियामा उत्पादन सम्बन्धहरु फेरिन जान्छन् र समाजको आर्थिक प्रणाली बदलिन्छ । सामाजिक क्रान्तिको प्रक्रिया यही हो ।

उपरोक्त विशेषता तथा अन्तर्विरोधहरुका कारण पुँजीवादी व्यवस्थामा गम्भीर आर्थिक सङ्कटहरु आइरहन्छन् । पुँजीपति वर्गले सधैं पुँजीवादको स्वरुपमा आंशिक सुधार गरी ती आर्थिक सङ्कट केही समय पर धकेल्ने कोशिस गर्दछ । अर्कोतिर, कतिपय अवस्थामा ती आर्थिक सङ्कटहरु राजनीतिक सङ्कटमा बदलिन्छन् । यीनै सङ्कटमा सर्वहारा क्रान्तिका सम्भावना लुकेका हुन्छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पुँजीवादका अन्तर्विरोध समाधान गर्दै साम्यवाद तर्फको यात्रामा अगाडि बढ्छ ।

विश्वमा पुँजीवादको इतिहास करिब ५०० वर्ष पुरानो छ र औद्योगिक क्रान्तिपछि विकसित आधुनिक पुँजीवादको इतिहासले पनि ३०० वर्ष पार गरिसकेको छ । यस बीच पुँजीवादमा थुप्रै आर्थिक सङ्कटहरु आएका छन् । ती सङ्कट टार्न पुँजीपति वर्गले विभिन्न स्वरुपका पुँजीवादी प्रणालीको अभ्यास गर्दै आएको छ । तीे व्यापारिक पुँजीवाद, शास्त्रीय पुँजीवाद, एकाधिकारी पुँजीवाद, कल्याणकारी पुँजीवाद र नवउदारवादी पुँजीवादको रुपमा व्यक्त भएका छन् । यिनीहरुका बीचमा केही रुपगत तथा आंशिक भिन्नताहरु रहेका छन्, तर सारमा तात्विक अन्तर छैन । सबैको सार थप अतिरिक्त मुल्य कुम्ल्याएर पुँजी बृद्धि र सम्पत्ति सञ्चय गर्नु हो ।

माक्र्सले १९औं शताब्दीको मध्यतिर शास्त्रीय अर्थात् उदार पुँजीवादको गहन विश्लेषण गरी सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वमा अभिव्यक्त हुने वैज्ञानिक समाजवाद हुँदै वर्गविहीन साम्यवादलाई सबै प्रकारका शोषण तथा उत्पीडनबाट मुक्त हुने मानव जातिको एकमात्र बाटोको रुपमा अगाडि सार्नुभयो । माक्र्सले शास्त्रीय पुँजीवादका विशेषता र अन्तर्विरोधहरुको विश्लेषणका आधारमा एउटैमात्र देशमा समाजवादी क्रान्ति हुन सक्दैन, धेरै विकसित पुँजीवादी देशहरुमा एकैचोटी क्रान्ति सफल हुने कुरा बताउनु भएको थियो । उहाँले पहिलो अन्तर्राष्ट्रियमा प्रभावशाली रहेका ब्लाङ्की, बाकुनिन तथा प्रुधोको अराजकतावाद र लासाल लगायत थुप्रै सुधारवादीहरुका विरुद्ध भीषण विचारधारात्मक सङ्घर्ष चलाएर माक्र्सवादको विकास गर्नु भएको हो । परन्तु, माक्र्सलाई पेरिस कम्युनका अनुभवहरुको संश्लेषण गर्ने बाहेक समाजवादी क्रान्तिको प्रत्यक्ष नेतृत्व गर्ने अवसर प्राप्त भएन ।

साम्राज्यवादको विकास
समय बित्दै जाँदा पुँजीवादका आफ्नै विशेषता अनुसार विकसित देशहरुमा एकातिर पुँजीको अत्यधिक केन्द्रीकरण भयो भने अर्कोतिर कच्चा माल तथा बजारको अभाव हुन गयो । केन्द्रित पुँजी लगानी गर्न र कच्चा माल तथा बजारको अभाव टार्न पुँजीवादी शासकहरुले अल्पविकसित तथा अविकसित देशहरुमा राजनीतिक एवम् सैन्य हस्तक्षेप बढाउन थाले । यो प्रक्रियामा ती देशहरु उपनिवेश तथा अर्ध–उपनिवेशमा बदलिए । लेनिनले साम्राज्यवाद ः पुँजीवादको उच्चतम चरण भन्ने आफ्नो महत्वपूर्ण कृतिमा यो प्रक्रियाको गहन विश्लेषण गर्नु भएको छ । उहाँका अनुसार साम्राज्यवाद भनेको मरणासन्न पुँजीवाद हो, वैज्ञानिक समाजवादको पूर्वसन्ध्या हो । साथै, उहाँले एकाधिकारी पुँजीको विस्तार नै साम्राज्यवादको सार हो भन्नु भएको छ ।

साम्राज्यवादका सङ्कट र सर्वहारा क्रान्ति
पुँजीवादले एकाधिकारी पुँजीको विस्तार र उपनिवेशहरुको शोषणबाट आफ्नो आर्थिक सङ्कटको क्षणिक समाधान त गर्न सक्यो, तर लामो समय टिक्न सक्थेन, सकेन । पुँजीवादका आफ्नै विशेषता अनुसार केन्द्रित पुँजीको विस्तार, उत्पादित मालका लागि बजार तथा कच्चा पदार्थको खोजीमा भूगोलको विभाजन र पुनर्विभाजनका लागि पुँजीवादी शासकहरुका बीचको प्रतिस्पर्धा चर्किएर त्यो दुश्मनीपूर्ण अन्तर–साम्राज्यवादी अन्तर्विरोधका रुपमा विकसित भयो । अर्कोतिर, यहीे अन्तर्विरोधका बीच विश्वमा १९१४ देखि सुरुभएको आर्थिक सङ्कट १९२३ सम्म लम्बियो । १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्ध त्यही आर्थिक सङ्कट र अन्तर–साम्राज्यवादी अन्तर्विरोधको परिणाम थियो । करिब ३० भन्दा बढी देशहरु संलग्न भएको यो विश्वयुद्धमा सेना र सर्वसाधारण गरी दुई करोड मानिस मारिएको अनुमान छ ।

लेनिनको साम्राज्यवाद ः पुँजीवादको उच्चतम चरण भन्ने कृति पहिलो विश्वयुद्धकै बीच १९१६ मा तयार भएको हो । एउटै मात्र पुँजीवादी देशमा समाजवादी क्रान्ति हुन सक्दैन भन्ने माक्र्सको निष्कर्ष रहेको पृष्ठभूमिमा, उहाँले साम्राज्यवादको कडी कमजोर भएको एउटै देशमा पनि समाजवादी क्रान्ति सम्भव छ भन्ने निष्कर्ष निकाल्नु भयो । माक्र्सको मान्यतासँग बाझिने गरी निष्कर्ष निकाल्ने र त्यसलाई क्रान्तिकारीहरुका बीच स्थापित गर्ने काम लेनिनका लागि कम चुनौतीपूर्ण थिएन । तर, क्रान्तिको विकासका लागि भिन्न परिस्थितिको वस्तुनिष्ठ अध्ययन गरी कार्यदिशाको विकास गर्नु अनिवार्य थियो । लेनिन त्यसमा सफल हुनु भयो ।

लेनिनले दोस्रो अन्तर्राष्ट्रियका स्थापित नेता कार्ल काउत्स्की एवम् आफ्नै पार्टीभित्रका मेन्सेभिकहरुको दक्षिणपन्थी अवसरवादका विरुद्धको भीषण विचारधारात्मक सङ्घर्षका बीचबाट क्रान्तिकारी पार्टी निर्माण र रुसी समाजवादी क्रान्तिको राजनीतिक तथा सैन्य कार्यदिशाको विकास गर्न सफल हुनु भएको हो । विश्वयुद्धका कारण साम्राज्यवाद क्षतविक्षत भएको समयमा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा नै पहिलो, रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । बदलिँदो परिस्थितिमा विकसित अन्तर्विरोधहरुको गहन अध्ययनबाट माक्र्सवादी सिद्धान्तको थप विकास भएको, पार्टीले ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा क्रान्तिकारी कार्यदिशाको विकास गरेको र त्यसलाई सिर्जनात्मक ढङ्गले व्यवहारमा उतारेको हुनाले नै रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको हो । यो समय्र प्रक्रियामा माक्र्सवाद, यसको दोस्रो चरण, माक्र्सवाद–लेनिनवादमा विकास भयो र विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद बन्न गयो । स्तालिनले लेनिनवाद भनेको साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो भन्नु भएको छ ।
विश्वयुद्ध रोकिए पछि साम्राज्यवादी देशहरुले आन्तरिक रुपमा भग्न संरचनाहरुको पुननिर्माण, उत्पादन बृद्धि र उपनिवेशहरुमा एकाधिकारी पुँजीको विस्तारमा जोड दिए । युद्धबाट ध्वस्त भएका देशहरु छोटै समयमा करिब पुरानै हैसियतमा फर्किए । तर, करिब एक दशकपछि परिस्थिति फेरि उल्टियो । १९२९मा शेयर बजारमा गिरावट आयो, अतिउत्पादन र न्यून उपभोगको समस्याले बजार अस्तव्यस्त भयो, भन्सार शुल्कमा बृद्धि तथा मौद्रिक नीतिका समस्याको कारण अर्थतन्त्र डामाडोल भयो । फलतः १९२९ देखि एक दशकसम्म संसारलाई फेरि अर्को महामन्दीले लपेट्यो ।
सोभियत सङ्घको उपस्थिति र त्यसप्रति जनताको आकर्षण साम्राज्यवादीहरुका लागि ठुलो चुनौती भएको थियो । जर्मनीका हिटलर, इटलीका मुसोलिनी र जापानका हिदेकी लगायतका फासीवादी शासकहरु मुख्यतः सोभियत सङ्घलाई ध्वस्त पार्ने र विश्व कब्जा गर्ने अभियानमा लागे । १९३९ देखि दोस्रो विश्वयुद्ध सुरुभयो । उपरोक्त तीन देशले १९४० मा परस्पर राजनीतिक तथा सैन्य सहयोग गर्ने त्रीदेशीय सम्झौता गरे । अर्कोतिर, १९४१ मा जर्मनीले रुसमाथि र जापानले १९४१ को अन्त्यतिर अमेरिकाको पर्ल हार्वरमा आक्रमण गरेपछि विश्वयुद्धले अर्को मोड लियो । फलतः रुस, अमेरिका र बेलायतका बीचमा फासीवाद विरोधी मोर्चा बन्यो । करिब ६ वर्षको भीषण युद्धपछि १९४५ सम्म आइपुग्दा इटली, जर्मनी र जापानले आत्मसमर्पण गरे । दोस्रो विश्वयुद्धमा फासीवाद विरोधी मोर्चा विजयी भयो । यसका पछाडि विश्व सर्वहारावर्गका नेता स्तालिनको अग्रणी भूमिका रहेको छ । यो युद्धमा सेना र आम नागरिक गरी करिब ८ करोड मानिस हताहत भएको अनुमान छ ।

अर्कोतिर, चीनमा १९२१ मा कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै सशस्त्र सङ्घर्ष चल्दै आएको थियो । १९३५को चुनै बैठकपछि पार्टीको नीति निर्माणमा माओको भूमिका निर्णायक हुन थाल्यो र अर्ध–सामन्ती तथा औपनिवेशिक अवस्थाको चीनमा, माओले त्यहाँको अर्थ–सामाजिक विशेषता अनुसार श्रमजीवी सर्वहारा वर्ग र आम उत्पीडित जनताको एकतामा आधारित नयाँ जनवादी क्रान्तिको राजनीतिक र दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशा अगाडि सार्नुभयो । यो रुसको यान्त्रिक नक्कल थिएन बरु माक्र्सवाद–लेनिनवादको चिनियाँ विशेषतामा सिर्जनात्मक प्रयोग थियो । नयाँ जनवादी क्रान्तिका दुईथरि दुश्मन जापानी साम्राज्यवाद र घरेलु प्रतिक्रियावाद थिए । १९४५ मा दोस्रो विश्वयुद्धमा जापानी साम्राज्यवाद पराजित भएपछि चीनमा घरेलु प्रतिक्रियावादका विरुद्ध गृहयुद्ध सुरु भयो र त्यसको करिब ४ वर्षपछि १९४९मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । यसका ंंंंंंंंसाथै, दोस्रो विश्वयुद्धमा सोभियत सङ्घको विजय पछि पूर्वी युरोपका आठओटा देशहरुमा समाजवाद स्थापना भयो । त्यस पछि विश्वभरि नै समाजवाद आक्रामक र पुँजीवाद रक्षात्मक हुन गयो ।
दोस्रो विश्वयुद्ध पछि समाजवादको विस्तार र त्यसको वैश्विक प्रभाव साम्राज्यवादीहरुका लागि गम्भीर चुनौती बन्नु स्वाभाविक थियो । समाजवाद प्रतिको आकर्षणलाई निस्तेज पार्ने, दोस्रो विश्वयुद्धबाट ध्वस्त भएका भौतिक पूर्वाधारहरुको पुनर्निर्माण गर्ने, औद्योगिक उत्पादन बढाउने, विश्वमा आर्थिक स्थायित्व ल्याउने र साम्राज्यवादको वर्चश्वलाई पुनस्र्थापित गर्ने उद्देश्य राखी युद्धबाट क्षतविक्षत भएका देशहरुमा आर्थिक सहयोग गर्न अमेरिकाले मार्शल योजना अगाडि सा¥यो । त्यो योजनाबाट लाभान्वित भएका युरोपका देशहरु र जापानले छोटै समयमा औद्योगिक उत्पादन निकै बढाए । उत्पादनमा यति धेरै वृद्धि भयो कि त्यसबाट पुनः अति उत्पादनको समस्या पैदा भयो । यसबाट साम्राज्यवादी देशहरु अर्को सङ्कटमा फँसे ।
यसै बीच, १९५६ मा आयोजित रुसी कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनमा ख्रुश्चेभले शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण सङ्क्रमण र सम्पूर्ण जनताको राज्यको मान्यता अगाडि सारे । यो वस्तुतः सर्वहारा अधिनायकत्वका ठाउँमा बुर्जुवा अधिनायकत्वको प्रतिस्थापन थियो । यसरी सोभियत सङ्घमा प्रतिक्रान्ति भयो । प्रतिक्रान्ति पछि सोभियत सङ्घ सामाजिक साम्राज्यवादमा पतन भयो । सोभियत सङ्घ र अमेरिका पुनः आ–आफ्नो साम्राज्यवादी प्रभुत्व विस्तारमा लागे । रुस तथा अमेरिकाका बीच हातहतियारको होडबाजी र अन्तर–साम्राज्यवादी अन्तर्विरोधले शीतयुद्धको रुप लियो । यही शीतयुद्धका बीचमा भियतनाम, उत्तर कोरिया तथा क्युवा जस्ता देशहरु साम्राज्यवादी चङ्गुलबाट मुक्त भए ।

चीनमा तेङ् सियाओ पिङ्, ल्युशाओ ची जस्ता दक्षिणपन्थी संशोधनवादीहरुका विरुद्धको दुई–लाइन सङघर्षका बीचबाट समाजवादको निर्माण भइरहेको थियो भने माओले ख्रुश्चेभी आधुनिक संशोधनवाद विरोधी सङ्घर्षलाई पनि साथै अगाडि बढाइरहनु भएको थियो । रुसी प्रतिक्रान्ति र आफ्नै देशको दुई–लाइन सङ्घर्षका अनुभवको आधारमा माओले सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त अनुसार सञ्चालित चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गर्नु भयो । ख्रुश्चेवी आधुनिक संशोधनवाद विरोधी सङ्घर्ष र महान् सर्वहारा सांस्कृतिक क्रान्ति समकालीन कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण कोसे ढुङ्गा रहे । यिनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बलियो विचारधारात्मक हतियार प्रदान गरेका छन् । यहाँसम्म आइपुग्दा माक्र्सवाद–लेनिनवादले माक्र्सवादको तेस्रो चरण माक्र्सवाद–लेनिनवाद–माओवादमा फड्का मा¥यो ।
पुँजीवादको अर्को नाम सङ्कट हो । इन्धनको मूल्यमा ४ गुनासम्म वृद्धि भएका कारण १९७०को दशकको उर्जा सङ्कट अर्को गम्भीर आर्थिक सङ्कटमा बदलियो । यो सङ्कट टार्न साम्राज्यवादी शासकहरुले नवउदारवादको आर्थिक मोडेल पेश गरे । यो वस्तुतः उत्पीडित देशको सस्तो श्रम तथा कच्चामाल कब्जा गर्ने, साम्राज्यवादी पुँजी लगानीको निर्बाध बाटो खोल्ने र उत्पादित माल तिनै उत्पीडित देशहरुमा बेचेर अकूत मुनाफा आर्जन गर्ने मोडेल हो । यसका लागि साम्राज्यवादी शासकहरुले निजीकरण, भुमण्डलीकरण र उदारीकरणको प्याकेज अगाडि सारे । १९८० को दशकको सुरुदेखि अविकसित तथा अल्पविकसित देशहरुमाथि नवउदारवादी आर्थिक नीति लादियो । फलतः ती देशका राष्ट्रिय उद्योगहरु ध्वस्त भए, शासकहरु बहुराष्ट्रिय कम्पनीका कारिन्दा सरह भए र राज्यका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका सबै साम्राज्यवादी नीति लागु गराउने संयन्त्र र सेना तथा प्रहरी बहुराष्ट्रिय कम्पनीको रक्षागर्ने सेक्युरिटी गार्ड बने । यसरी उत्पीडित देशहरु साम्राज्यवादी नीति तथा योजना अनुसार चल्ने नयाँ प्रकारका उपनिवेश अर्थात् नव–उपनिवेशमा बदलिए । यो प्रक्रियामा उत्पीडित देशका सत्ताधारीहरु आफ्नै देशमा साम्राज्यवादका नीति र योजना अनुसार चल्ने गोटी बन्न गएका छन् ।

१९७६मा चीनमा प्रतिक्रान्ति भयो । चीनमा सर्वहारा अधिनायकत्व बुर्जुवा अधिनायकत्वमा बदलियो । यसपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खायो । अर्कोतिर, १९९० को सुरुमै सामाजिक साम्राज्यवादी सोभियत सङ्घ पनि विघटित हुन पुग्यो । यी घटनापछि फुकोयामा जस्ता साम्राज्यवादका भरौटेहरुले इतिहासको अन्त्य भएको, माक्र्सवाद असफल भएको र पुँजीवाद निर्विकल्प भएको भन्ने हौवा पिटे । चीनमा समेत प्रतिक्रान्ति भएको र कम्युनिस्ट पार्टी कुनै पनि देशको केन्द्रीय सत्तामा नरहेको स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरुका लागि आन्दोलनको रक्षा र विकासको प्रश्न ठुलो चुनौती बन्यो । चीनको प्रतिक्रान्तिको नकारात्मक प्रभाव र कम्युनिस्ट आन्दोलनमा जवर्जस्त जरा गाडेर बसेका आधुनिक संशोधनवाद, दक्षिणपन्थी संशोधनवाद, नवसंशोधनवाद सहित विभिन्न रुप र सारका अवसरवादले दिने भ्रम यसका अन्तर्निहित कारण रहे । क्रान्तिकारीहरुको स्थिति रक्षात्मक बन्न गयो ।

तर यस्तो प्रतिकूल अवस्थामा पनि क्रान्तिकारीहरु हारमानेर बसेनन् । १९८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) को गठन भयो । यो एउटा महत्वपूर्ण उपलब्धि थियो । पेरु, नेपाल, भारत, टर्की, बाङ्ग्लादेश, फिलिपिन्स लगायतका देशहरुमा सञ्चालित जनयुद्धहरु एउटा स्तरसम्म विकास भए । तर, ती जनयुद्धले पनि गुणात्मक छलाङ् मार्न सकेनन् । यसका पछाडिको एउटा महत्वपूर्ण कारण त्यतिबेलाका कम्युनिस्ट पार्टीहरुले नव–औपनिवेशिक उत्पीडनका विशेषताको गहन अध्ययन र त्यसले पैदागर्ने अन्तर्विरोधहरुको सटिक संश्लेषण गरी तदनुसारको राजनीतिक तथा सामरिक कार्यदिशा विकास गर्न असमर्थ रहनु हो । यस बीचमा तत्कालीन नेकपा (माओवादी) का नेता प्रचण्ड साम्राज्यवादका भरपर्दा दलालमा परिणत भए भने अर्का नेता बब अभाकियन नयाँ संश्लेषणका नाममा उत्तर–माक्र्सवादका पक्षपोषक बने । कतिपय देशमा जनयुद्ध अहिले पनि जारी छ, तर त्यसले अपेक्षित विकास गर्न सकेको छैन । यतिबेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ ।

साम्राज्यवादको पछिल्लो सङ्कट
बीच बीचमा केही मत्थर भएपनि गत १९७० को दशकको उर्जा सङ्कट, २००७–२००९ को महामन्दी, २०१९–२०२३ को कोभिड–१९ सङ्कटको श्रृङ्खला अहिलेसम्म पनि टुटेको छैन । यतिबेला ५ सय प्रतिशतसम्म भन्सार महसुल लगाउने होडबाजीले व्यापार युद्ध उत्कर्षमा छ । सप्लाइ चेनहरु तहसनहस भएका छन्, विश्वभरि आर्थिक मन्दी छाएको छ र बेरोजगारको सङ्ख्यामा व्यापक वृद्धि हुँदै गएको छ । प्रविधिको अनियन्त्रित प्रयोगका कारण रोजगार प्राप्त व्यक्तिहरु समेत बेरोजगार भएर स्वरोजगार मजदुरका रुपमा सडकमा धकेलिँदै गएका छन् । अन्तर्राष्ट्रिय मुद्राकोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले आगामी केही वर्षभित्र श्रम बजारमा एआइको सुनामी आउने र त्यसले विकसित देशमा ६० प्रतिशत र विश्वभर ४० प्रतिशत श्रमिकहरुका रोजगारी बढार्ने बताएकी छिन् । यो उनले हालै स्विट्जरल्याण्डको डेभोसमा आयोजित विश्व आर्थिक मन्च (World Economic Forum) को ५६औ वार्षिक बैठकमा बताएकी हुन् । यो एउटा असाधारण सङ्कटको द्योतक हो ।

विश्वमा धनी र गरिबका बीचको आर्थिक खाडल झन–झन गहिरिँदै गएको छ । विश्वका सबैभन्दा धनी १० प्रतिशत व्यक्तिले वैश्विक सम्पत्तिको ७६ प्रतिशत हिस्सा ओगटेका छन् भने पिँधका ५० प्रतिशत जनतासँग जम्मा २ प्रतिशत मात्र सम्पत्ति छ । फोब्र्सका अनुसार यो लेख तयार पार्ने दिनसम्म विश्वका सबैभन्दा धनी एलन मस्कको सम्पत्ति ८ खरव ५२ अरव डलर पुगेको छ । यो विश्वको पिँधमा रहेका १७५ ओटा जति अति गरिब देशकोे वार्षिक कुल गार्हस्थ उत्पादन (न्म्ए) भन्दा पनि धेरै हो । गएको २०२५ मा विश्वका २२ ओटा मात्र देशको कुल वार्षिक गार्हस्थ उत्पादन एलन मस्कको आजको सम्पत्ति भन्दा बढी थियो ।

अमेरिकी साम्राज्यवादको संरक्षकत्वमा प्यालेस्तिनी भूभाग गाजा क्षेत्रमाथि इजरायली अतिक्रमण, इरानमाथि इजरायली तथा अमेरिकी सैन्य आक्रमण, भेनेज्वेलामाथि अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति मदुरो तथा उनकी श्रीमति सिलिया फ्लोरेसको अपहरण, उनीहरुमाथि अमेरिकामा चलाइएको मुद्दा र ट्रम्पले आफूलाई भेनेज्वेलाको राष्ट्रपतिमा गरेको स्वघोषणा आदिले अमेरिकी साम्राज्यवादको दादागिरीको पछिल्लो चित्र पस्तुत गर्दछ । साथै, श्रीलङ्का, बाङ्ग्लादेश, नेपाल लगायतका देशमा अमेरिकाद्वारा गराइएका शासन सत्ता परिवर्तन, ग्रीनल्याण्डमाथि अमेरिकी सैन्य आक्रमणको तयारी र कोलम्बिया, क्युवा, इरान लगायतका देशको शासनसत्ता परिवर्तन गर्ने धम्की आदिले कमजोर तथा उत्पीडित देशहरुको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिएको छ । २०२२ देखि युक्रेनमाथि रुसी साम्राज्यवादको सैन्य आक्रमण जारी छ । आउने दिनमा कति देश संसारबाट गायब हुने हुन् र कति देशका नक्सा बदलिने हुन् भन्न सकिने स्थिति छैन ।

अमेरिका, रुस, चीन लगायतका विकसित पुँजीवादी देशहरुले सैन्य बजेट एक्कासी बढाउँदै आएका छन् । चालु आर्थिक वर्षका लागि करिव ९ खरव डलर रक्षा बजेट छुट्याइएको अमेरिकामा ट्रम्पले त्यसलाई बढाएर आगामी वर्षका निमित्त १५ खरव डलर पु¥याउने घोषणा गरेका छन् । यसरी नै रुस, चीन, जापान, जर्मनी लगायतका प्रतिस्पर्धी देशहरुमा पनि सैन्य बजेटमा भारी बृद्धि गरिएको छ । विश्वमा हात हतियारको होडबाजी निकै बढेर गएको छ ।

उपरोक्त सङ्क्षिप्त विश्लेषणका आधारमा के भन्न सकिन्छ भने विश्व यतिबेला भयावह सङ्कटमा जकडिएको छ । विश्वका आधारभूत अन्तरविरोधहरु — पहिलो, साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तर्विरोध; दोस्रो, साम्राज्यवादी शक्तिहरुका बीचको आपसी अन्तर्विरोध र तेस्रो श्रम तथा पुँजीका बीचको अन्तर्विरोध — सबै विस्फोटक बन्दै गएका छन् । यो लेख तयार पार्दासम्म साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तर्विरोध नै प्रधान रहेको छ । तर, अमेरिका पुरानो एकल वर्चश्व पुनस्र्थापित गर्नका लागि आफ्नो मिसनमा नरोकिने र रुस–चीन आफ्नो साम्राज्यवादी स्वार्थको रक्षा एवम् हैसियत स्थापित गर्नका लागि त्यसको प्रतिकारमा उत्रिन वाध्य हुने स्थितिका कारण यो लेख पाठकका हातमा पुग्ने बेलासम्म अन्तर–साम्राज्यवादी अन्तर्विरोध प्रधान बन्ने र तेस्रो विश्वयुद्ध भड्किने खतरा टड्कारो छ । ट्रम्प पछि नहटेसम्म तेस्रो विश्वयुद्ध टर्ने छाँट देखिँदैन । भोलि त्यस्तो कुनै अप्रत्यासित स्थिति आएन भने, आजसम्मको अवस्थामा ट्रम्प पछाडि हट्ने देखिँदैनन् । जे होस्, तेस्रो विश्वयुद्ध भएपनि वा नभएपनि यतिबेला विश्व साम्राज्यवाद चौतर्फी सङ्कटबाट गुज्रिरहेको अवस्थाका कारण उत्पीडित देशहरुमा मात्र होइन, साम्राज्यवादी देशमा पनि सर्वहारा क्रान्तिको विकासका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गएको र क्रान्तिको संभावना नजिकिएको छ ।

कम्युनिस्ट आन्दोलनका चुनौतीहरु
सम्भावना स्वतः वास्तविकतामा बदलिँदैन् । त्यसका लागि सचेतन पक्षको भूमिका निर्णायक हुन्छ । उपरोक्त अनूकूल परिस्थितिमा क्रान्तिको सम्भावनालाई वास्तविकतामा बदल्न अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सामु तल लेखिए अनुसारका चुनौतीहरु रहेका छन् ।

पहिलो, मार्गदर्शक सिद्धान्तको प्रश्न । समकालीन विश्व कम्युनिस्ट आन्दोलनको प्रमुख अवरोध दक्षिणपन्थी संशोधनवाद हो । कम्युनिस्ट नामधारी पार्टीहरु मध्ये कसैले माक्र्सवादको त कसैले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक आवरणमा ख्रुश्चेभी संशोधनवादको अभ्यास गर्दैआएका छन् । साम्राज्यवादी नवउदारवाद तिनीहरुको आर्थिक सिद्धान्त बनेको छ । विगतमा नेकपा (माके) जस्ता साम्राज्यवादको दलाली गर्ने प्रतिक्रियावादी पार्टीले माओवादको माला जपेर क्रान्तिको भ्रम दिएको यथार्थ हामीसँग छ भने, अर्कोतिर माओ विचारधारा मान्ने कतिपय पार्टीहरु पनि क्रान्तिको पक्षमा उभिँदै आएका छन् । यति मात्र होइन, माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने पार्टीहरुका बीचमा पनि बुझाइमा विविधता रहेको छ । यी मध्ये कोही मुख्यतः माओवाद भन्ने र कोही त्यसमाथि गोन्जालो विचारधारा जोड्नु पर्छ भन्नेहरु पनि छन् । मुख्यतः माओवाद भन्ने बुझाइले माक्र्सवाद–लेनिनवाद–माओवादलाई खण्डीकरण गर्छ, त्यसकारण यो गलत छ । पेरुको क्रान्तिमा गोन्जालोका योगदान महत्वपूर्ण छन्, ती योगदानको संश्लेषण आवश्यक छ । तर ती योगदान विचारधाराको तहमा विकसित भएका छन् भन्ने होइन । क्रान्तिकारी पङ्क्तिका बीचको बुझाइमा रहेको उपरोक्त विविधतामा सापेक्ष एकरुपता पैदा गर्नु र आन्दोलनको प्रमुख खतरा दक्षिणपन्थी संशोधनवादलाई नाङ्गेझार पारी मालेमावादलाई स्थापित गर्नु समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पहिलो चुनौती हो ।

दोेस्रो, क्रान्तिकारी पार्टी निर्माणको प्रश्न । क्रान्तिको सफलताका लागि पार्टी क्रान्तिकारी हुन र उसको आत्मगत शक्ति मजबुत हुन अनिवार्य छ । पार्टीको क्रान्तिकारीताको मापदण्ड उसको विचारधारात्मक तथा राजनीतिक कार्यदिशा र रणनीति तथा कार्यनीति सही छ वा छैन; अनुशासित, एकताबद्ध र जनवादी केन्द्रीयताका आधारमा परिचालित छ कि छैैन भन्नेबाट निर्धारित हुन्छ । लेनिनले क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी आन्दोलन हुन सक्दैन भन्नु र माओले कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ भन्नुको अर्थ यही हो । तर क्रान्ति सम्पन्न हुनका लागि पार्टीको कार्यदिशा सही भएर मात्र पुग्दैन व्यापक जनाधार पनि चाहिन्छ । माओले जनतानै इतिहासका निर्माता हुन भन्नु भएको यही अर्थमा हो । जनाधार अनिवार्य छ, तर जनाधार मात्र क्रान्तिको मापदण्ड होइन । क्रान्तिकारी सिद्धान्तबाट लैस भएका जनता मात्र क्रान्तिका आधार हुन् । दोस्रो अन्तर्राष्ट्रियका बेला जर्मनीको पार्टीको जनाधार रुसको पार्टीको भन्दा व्यापक थियो । पार्टीका नेता कार्ल काउत्स्की समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लेनिनको तुलनामा धेरै स्थापित पनि थिए । तर पहिलो विश्वयुद्ध पछिको क्रान्तिकारीे परिस्थितिमा रुसमा क्रान्ति सम्पन्न भयो, जर्मनीमा भएन । यसको कारण मुख्यतः विचारधारात्मक र राजनीतिक समस्या नै हो । विचार, सिद्धान्त तथा कार्यदिशा सही छैन भने पार्टी जतिसुकै ठुलो भए पनि त्यसबाट क्रान्तिको नेतृत्व हुन सक्दैन । यसरी, क्रान्तिको विकासका लागि सबैखाले गलत विचारधारा र मुख्यतः दक्षिणपन्थी अवसरवादलाई परास्त गरी जनाधार सहितको क्रान्तिकारी पार्टी निर्माण गर्नु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अर्को चुनौती हो ।

तेस्रो, नवउदारवादी अर्थप्रणालीलाई बुझ्ने प्रश्न । नवउदारवादी आर्थिक प्रणालीमा मालको उत्पादन तथा वितरण भूमण्डलीकृत भएको छ । यसमा दुईओटा पक्ष रहेका छन् ः वाह्यपहुँच (इगतचभबअज) र आपूर्ति श्रृङ्खलाहरू (क्गउउथि अजबष्लक) । पहिलोले मागहरुको पहिचान गर्दछ र दोस्रोले ती मागलाई छिटो र कुशलतापूर्वक पुरागर्ने सञ्जाल तयार गर्दछ । अहिले उद्योगहरु पहिले जस्तै एउटै ठाउँमा लामो समयसम्म रहँदैनन् । उत्पादनका लागि कच्चा पदार्थ, सस्तो श्रम र बजारको उपलब्धताका आधारमा उद्योगहरु स्थानान्तरण भइरहन्छन् । उद्योगहरु मोबाइल हुने र मजदुरहरु हायर एण्ड फायर हुने हुँदा श्रमिकहरुको सेवामा स्थायित्व रहँदैन । अर्कोतिर, कतिपय अवस्थामा वस्तुका पार्टपूर्जाहरु धेरै देशमा बनाइन्छन् र अर्कै देशमा अन्तिम जडान गरेर उपभोग्य माल बन्दछ । यो प्रक्रियामा विभिन्न देशका श्रमिकहरु उक्त मालको मूल्य निर्माणमा सहभागी हुन्छन् र त्यो मूल्यमा ती देशका मजदुरहरुको अतिरिक्त श्रमको मूल्य जोडिएको हुन्छ । यसरी आजको साम्राज्यवादी युगमा उत्पादन र वितरण मात्र होइन, मजदुरहरुको श्रमको शोषण पनि भूमण्डलीकृत हुने गरेको छ । यो समग्र प्रक्रियाको गहिरो अध्ययन गरी यसका अन्तर्विरोधहरुको पहिचान गर्ने र श्रमिकवर्गलाई वैश्विक स्तरमा आन्दोलित गर्न उपयुक्त माग र नाराको विकास गर्ने प्रश्न अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अर्को चुनौती हो ।
चौथो, राजनीतिक कार्यदिशाको प्रश्न । विश्वमा साम्राज्यवादको विकास भएपछि लामो समयसम्म अविकसित देशहरु अर्ध–सामन्ती तथा पूर्ण वा अर्ध–औपनिवेशिक अवस्थामा रहे । सामान्यतः दोस्रो विश्वयुद्ध र विशेषतः १९८०को सुरुबाट विश्वभरि नवउदारवाद लागु गरिएपछि पहिलेका उपनिवेश र अर्ध–उपनिवेशहरु अहिले नयाँ प्रकारका उपनिवेश अर्थात् नवउपनिवेशमा बदलिएका छन् । माओले जुन परिस्थितिमा नव÷अर्ध–औपनिवेशिक तथा औपनिवेशिक उत्पीडन र नोकरशाही पुँजीवादको विश्लेषण गर्नुभएको थियो आज परिस्थिति त्यो भन्दा निकै अगाडि बढेको छ । यो स्थितिमा सर्वहारा क्रान्तिको विकासका निम्ति माक्र्सवाद–लेनिनवाद–माओवादको जगमा उभिएर नव–उपनिवेशवादको गहिरो अध्ययन र त्यसका आधारमा सम्बन्धित समाजको वर्ग विश्लेषण गरी उपयुक्त राजनीतिक कार्यदिशाको विकास गर्नु समकालीन कम्युनिस्ट आन्दोलनको अर्को चुनौती हो ।

पाँचौ, सामरिक कार्यदिशाको प्रश्न । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म मुख्यतः दुई प्रकारका सैन्य कार्यदिशाको सफल प्रयोग भएको छ । ती हुन् ः सशस्त्र जनविद्रोह र दीर्घकालीन जनयुद्ध । हिजो जुन परिस्थितिमा ती कार्यदिशा प्रयोग भएका थिए आजको परिस्थिति भने त्यस्तै छैन । विकसित पुँजीवादी देशहरुमा मात्र होइन, अल्पविकसित तथा अविकसित देशहरुमा पनि यातायात र मुख्यतः सुचना तथा संचार क्षेत्रमा आएको गुणात्मक विकासले विश्व नै एउटा सानो गाउँ बन्न गएको छ । यो स्थितिमा आधार इलाका सहितको दीर्घकालीन जनयुद्ध आजको परिस्थितिसँग मेल खाँदैन । तर, विश्वमा छापामार युद्धको भूमिका भने अरु बढेर गएको छ । फेरि, आजको विकसित परिस्थितिमा परम्परागत सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा पनि पर्याप्त छैन । विज्ञान तथा प्रविधिमा भएको विकास र अन्तर महादेशीय क्षेप्यास्त्र तथा ड्रोनहरुको प्रयोगका कारण विश्वमा युद्धको चरित्र नै बदलिएको छ । समकालीन कम्युनिस्ट आन्दोलनमा कतिपय पार्टीहरुले जनयुद्ध सार्वभौमिक छ भन्ने गरेका छन्, तर त्यसको पर्याप्त व्याख्या र विश्लेषण भएको छैन । जनताले लडने युद्ध सबै जनयुद्ध हुन् भन्ने अमूर्त भनाइले कम्युनिस्ट आन्दोलन कुहिरोको काग बन्ने खतरा बढेर गएको छ । यो समग्र स्थितिलाई ध्यानमा राखी विकसित परिस्थितिमा सैन्य कार्यदिशाको विकास गर्नु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अर्को चुनौती हो ।
छैटौँ, अन्तर्राष्ट्रिय सङ्गठन निर्माणको प्रश्न । साम्राज्यवाद भूमण्डलीकृत भएको आजको सन्दर्भमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासका लागि अन्तर्राष्ट्रिय सङ्गठनको आवश्यकता पहिले भन्दा कैयौंगुना बढेर गएको छ । अर्थात्, भूमण्डलीकृत साम्राज्यवादको दवदवालाई कमजोर पार्न सर्वहारा वर्गले पनि वैश्विक स्तरमै प्रतिरोध गर्न आवश्यक भएको छ । यतिबेला, मालेमावादी कित्ताभित्र दुईओटा धार रहेका छन् । ती मध्ये मुख्यतः माओवाद भन्ने र गोन्जालो विचार मान्ने वा तिनको नजिक रहेका कम्युनिस्ट पार्टीहरुको एउटा धार बनेको छ । यो धारका पार्टीहरुले जनवादी केन्द्रीयताका आधारमा चल्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट लिग गठन गरेका छन् । यसका साथै, एकीकृत अन्तर्राष्ट्रिय सम्मेलन मार्फत् माक्र्सवाद–लेनिनवाद–माओवादका आधारमा अन्तर्राष्ट्रिय सङ्गठन निर्माण गर्ने अर्को धारको तयारी पनि अगाडि बढिरहेको छ । अहिलेको स्थितिमा जनवादी केन्द्रीयताका आधारमा चल्ने कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सङ््गठन समय सापेक्ष छैन । स्वस्थ विचारधारात्मक सङ्घर्षका बीचबाट मुख्यतः यी दुईथरि धारलाई एकताबद्ध गरी सहमतिमा चल्ने खुकुलो प्रकारको अन्तर्राष्ट्रिय मञ्चको निर्माण गर्नु अहिलेको अर्को चुनौती हो ।

उपरोक्त विचारधारात्मक, राजनीतिक तथा साङ्गठनिक चुनौतीहरुको सामना गर्ने र क्रान्तिको सम्भावनालाई पक्रिने कुरा गर्दा दुईओटा गलत प्रवृत्तिहरु अगाडि आउन सक्छन् । पहिलो, उपरोक्त चुनौतीहरु पार गरेपछि मात्र क्रान्तिकारी आन्दोलनको उठानमा प्रवेश गर्नु पर्दछ भन्ने र दोस्रो, क्रान्तिकारी आन्दोलनको विकास गरेपछि उपरोक्त चुनौतीहरु स्वतः समाधान हुँदै जान्छन् भनी उपरोक्त चुनौतीको सामना गर्न सचेत प्रयत्न नै नगर्ने । यी दुवै प्रवृत्तिहरु नितान्त गलत छन् । सम्भावना र चुनौतीका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । क्रान्तिकारीहरुले यो द्वन्द्वात्मक सम्बन्धलाई ठीक ढङ्गले परिचालन गरी सिद्धान्त र व्यवहारको विकासलाई साथसाथै अगाडि बढाउन जोडदिनु पर्दछ ।

निष्कर्ष
पुँजीवादी समाजमा आर्थिक सङ्कटहरु आइरहन्छन् र ती सङ्कटका पछाडि क्रान्तिको सम्भावना रहन्छ । तर, सबै सम्भावना क्रान्तिमा बदलिँदैनन् । विश्वयुद्धमा साम्राज्यवाद थिलोथिलो भएको बेला क्रान्तिले विजय प्राप्त गर्ने सम्भावना बढी हुन्छ र इतिहासमा त्यस्तै भएको पनि छ । तर क्रान्ति सफल हुन विश्वयुद्ध हुनु अनिवार्य छ भन्ने होइन र विश्वयुद्ध पछि क्रान्ति भइहाल्छ भन्ने पनि होइन । वस्तुगत परिस्थिति क्रान्तिका लागि परिपक्व भएकोे र आत्मगत शक्ति पनि तयार भएको बेला जनताको विद्रोह क्रान्तिमा बदलिन सक्छ । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति सफल भयो, जर्मनीमा भएन । त्यस्तै, दोस्रो विश्वयुद्ध पछि चीनमा क्रान्ति सफल भयो, भारतमा भएन । स्पष्ट छ, जर्मनी र भारतका कम्युनिस्ट पार्टीहरुले विभिन्न खाले अवसरवादलाई परास्त गरी एकताबद्ध क्रान्तिकारी पार्टी निर्माण गर्न र सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा विकास गर्न सकेनन् । ती देशमा आत्मगत शक्तिको विकासका लागि सचेतन पक्षको भूमिका पुगेन । दक्षिणपन्थी अवसरवाद पार्टीमा परास्त हुन सकेन । सहायक कारणहरु अरु पनि अवश्य छन्, तर पमुख कारण यी नै हुन् ।
सम्भावनालाई वास्तविकतामा बदल्ने प्रश्न आन्दोलन अर्थात् क्रान्तिकारी व्यवहारको विकाससँग र चुनौतीहरुको सामना गर्ने प्रश्न सिद्धान्तको विकास, क्रान्तिकारी पार्टीको निर्माण र सही रणनीति तथा कार्यनीतिसँग जोडिएको हुन्छ । सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक सम्बन्धमा सामान्यतः व्यवहार प्रधान हुने भएपनि खास–खास बेलामा सिद्धान्तको भूमिका पनि प्रधान हुने गर्दछ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको अहिलेको अवस्थामा मालेमावादी सिद्धान्तलाई राम्रोगरी बुझ्ने, त्यसलाई आत्मसात गर्ने र क्रान्तिकारी व्यवहार मार्फत् त्यसको समय सापेक्ष विकास गर्ने प्रश्नले अग्रणी महत्व ओगटेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका उपरोक्त चुनौतीहरुको सामना गर्न माक्र्सवाद–लेनिनवाद–माओवादको जगमा क्रान्तिकारी आन्दोलनको उठानसँगै सिद्धान्त विकासको कार्यसूचीलाई पनि कम्युनिस्ट पार्टीहरुले विशेष महत्वका साथ अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित