महान लेनिनको स्मरण र उच्च सम्मानको महत्व

लोक नारायण सुवेदी
विश्वमा २२ अप्रिलको दिन शोषणरहीत वैज्ञानिक समाजवादी समाजका प्रवर्तक तथा एक अपूर्व क्रान्तिकारी माक्र्सवादी चिन्तक समाजवादी क्रान्तिका पथप्रदर्शक तथा व्यवहारिक प्रयोक्ता महान लेनिनको जन्म भएको अविस्मरणीय दिन हो । यसै दिन १८७० मा उहाँको जन्म भएको हो । उहाँको देहावसान भने २१ जनवरी १९२४ मा भएको थियो र विश्वका शोषित पीडित श्रमजीवी जनताका महान गुरू लेनिनले यो संसारबाट बिदा लिनु भएको थियो । उहाँ माक्र्स र एंगेल्सले आरम्भ गर्नुभएको वैज्ञानिक समाजवादको सिद्धान्तलाई रचनात्मक ढंगले विकास गर्नुहुने, वास्तवमा विश्वमा पहिलो समाजवादी सोभियत संघको रुपरेखा कोर्ने रचनात्मक व्यक्तित्व लेनिन नै हुनुहुन्थ्यो । जब हामी लेनिनका जीवन र कार्यको सम्झना र विवेचना गर्ने गर्दछौं । त्यतिबेला हामी विश्वको पहिलो समाजवादी क्रान्तिको नेतृत्व गर्नुहुने ती विश्व सर्वहारा वर्गका महान व्यक्तित्वलाई केवल श्रध्दा मात्रै ब्यक्त गरिरहेका हुँदैनौ उहाँले माक्र्सवादको विकासमा पु¥याउनु भएको गहतम योगदानको पनि स्मरण गरिरहेका हुन्छौं । वास्तवमा माक्र्स र एंगेल्स पछि अरु कुनै व्यक्तिले लेनिनले जति विश्वमा माक्र्सवादको विकास गर्नमा योगदान दिन सकेका छैनन् । लेनिनका सम्पूर्ण सैद्धान्तिक कृतिहरु सर्वहारा क्रान्ति सम्पन्न गर्न, त्यस बर्गलाई क्रान्तिकारी हतियारले कसरी सुसज्जित तुल्याउने र बैज्ञानिक समाजवादको बिकास गर्ने हो भन्ने महत्वपूर्ण कुराको खोजीमा समर्पित छन् ।

लेनिनले २०औं शताब्दीमा साम्राज्यवादको बिश्लेषण गर्ने अत्यन्तै गहनतम कदम चालेर कसरी एकाधिकार पूँजीवादले साम्राज्यवादको चरणमा बिकास गर्दछ र पूँजीवाद जनबिरोधी पत्तनको दिशामा अग्रसर हुँन्छ भन्ने कुरा दर्शाउँदै साम्राज्यवाद पूँजीवादको चरम अवस्था भन्ने कुरा औल्याउनु भयो । लेनिनले रचनात्मक किसिमले माक्र्सले गरेको पूँजीवादी प्रणालीको चिरफार र बिश्लेषणलाई बिकसित गर्दै उदाउँदो उत्पादनको पूँजीवादी प्रणाली कसरी साम्राज्यवादमा बिकसित हुन्छ भन्ने कुरा प्रष्ट पार्नु भएको छ । आजको समकालीन बिश्वको साम्राज्यवाद र बिश्व पूँजीवादको कुनै पनि बिश्लेषण गर्नका लागि कुनै पनि माक्र्सबादीले लेनिनको त्यही सिध्दान्तलाई अनुसरण गर्नुपर्ने र त्यसैबाट शुरु गर्नु पर्ने हुन्छ । बस्तुतः लेनिनको यो बिश्लेषण पध्दति बिना आजको वित्तीय साम्राज्यावादी पूँजी र त्यस पूँजीद्वारा निर्देशित र सञ्चालित भूमण्डलिकरणलाई बुझन असंभव छ । जसलाई त्यही वित्तीय पूँजीले कोरल्दै आएको छ ।

लेनिनको त्यही विश्लेषणले उहाँलाई कुन महत्वपूर्ण निष्कर्शमा पु¥यायो भने बिश्वमा साम्राज्यवाद यसको सबैभन्दा कमजोर कडीमा टुट्दछ । त्यही सबैभन्दा कमजोर कडिको सम्वन्धले रुसमा समाजवादी क्रान्तिको रणनीति र कार्यनीति तयार पार्न मद्दत पु¥यायो र त्यसैले गर्दा नै मजदुर किसान एकताले ठूलो भूमिका खेल्यो । त्यत्तिकै महत्वको अर्को समान कुरा राष्ट्रिय र औपनिवेशिक प्रश्नको हल गर्नमा लेनिनले अघि सार्नुभएको विश्व क्रान्तिको रणनीति र कार्यनीति हो । लेनिनले बिकास गर्नुभएको यो सिध्दान्त त्यसबेलाका प्रसिध्द यूरोपेली माक्र्सवादीहरुको धारणभन्दा फरक थियो । लेनिनले यो एकदमै प्रष्ट पार्नुभएको थियो कि कसरी बिश्वका औपनिवेशिक देशका राष्ट्रिय मुक्ति आन्दोलनहरु साम्राज्यवाद विरोधी आन्दोलनका अभिन्न अंग हुन् र ती शक्तिहरु बिश्व समाजवादी आन्दोलनका अभिन्न मित्रहरु हुन् । बिशौ शताब्दीका उपनिवशेवाद तथा साम्राज्यवाद बिरोधी विश्वका विजयी राष्ट्रिय आन्दोलनहरु तथा चीन, भियतनाम,कोरिया र क्यूबाका क्रान्तिहरु आधारभूतरुपमा लेनिनकै रणनीति अनरुप सफल भएका आन्दोलनहरु थिए । अर्को महत्वपूर्ण लेनिनको योगदान हो राज्य र बर्गको चरित्रको विश्लेषण, जुन विश्लेषण विश्वभरीका कम्युनिष्टहरुका लागि शोषक शासक वर्ग र पूँजीवादी शोषणका विरुद्ध लड्ने एउटा आधारभूत, धारिलो र महत्वपूर्ण आधार बन्यो । वर्ग संघर्ष भनेको केवल एउटा आर्थिक संघर्ष मात्रै होइन यसको सार्थकता त्यतिबेला मात्रै प्राप्त हुन्छ जब यसले शोषक वर्गको राजनीतिक,आर्थिक,सामाजिक तथा साँस्कृतिक सत्तालाई नै चुनौति दिन्छ त्यसलाई समग्रमा पल्टाएर श्रमिक बर्गको राज्यसत्ता कायम गर्दछ भन्ने निर्णायक महत्वको सार लेनिनले खिच्नु भयो ।

लेनिन उहाँले प्रतिपादन गर्नुभएको संगठनात्मक क्रान्तिकारी सिद्धान्तको लागि पनि सधै नै स्मरणीय र ब्यवहारिक हुनुहुन्छ । नयाँ किसिमको पार्टी जुन पार्टी मजदुर वर्गका साथै अन्य कामदार श्रमजीवी बर्गलाई नेतृत्व गर्न सबै किसिमले सुसज्जित पार्टी हुन्छ, त्यस्तो पार्टी निर्माण गर्न लेनिनले प्रस्तुत गर्नुभएको संगठनात्मक सिद्धान्त उल्लेखनीय छ । आन्तरिक पार्टी जनवादमा आधारित जनवादी केन्दियता, कडा अनुशासन र आत्म आलोचना तथा आलोचनाको सिद्धान्तले मजदुर बर्गलाई सामाजिक जनवादी र पूँजीवादी बुर्जुआहरुको भन्दा भिन्नै आफ्नै किसिमको वैज्ञानिक संगठनात्मक आधार प्रदान ग¥यो । फलतः कुनै पनि क्रान्तिकारी पार्टीले क्रान्तिको नेतृत्व गरेको छ या गर्नु छ भने त्यो आन्दोलन अघि बढाउन र विकसित तुल्याउन लेनिनको यो संगठनात्मक सिद्धान्त अपरिहार्य छ । यद्यपि लेनिनको यो सिद्धान्तको गैर कम्युनिष्ट र बाम खेमाभित्रैबाट पनि ठूलो आलोचना भयो । तर लेनिन पूँजीवादी शोषणकारी राज्यसत्तासँग लड्ने सर्वहारा वर्गको एउटै मात्र अचूक हतियार छ त्यो हो – संगठनात्मक हतियार भनेर यो सिद्धान्तमा अबिछिन्नरूपमा अडिग रहिरहनु भयो ।

लेनिन १९१७ को महान अक्टोबर समाजवादी क्रान्ति पछि सोभियत समाजको नेता हुनुभएर केवल ६ बर्षम्म मात्र बाँच्नुभयो । त्यसबेला उहाँले पुरानो समाजका गतल कुराहरु अन्त्य गरी नयाँ समाज पैदा गर्न अत्यन्तै जटील र महत्वपूर्ण कार्य सम्पन्न गर्न संघर्ष गर्नुप¥यो । ती ६ वर्षमध्ये ४ वर्ष त उहाँले तीब्र गृह युद्ध लड्नु परेको र त्यसमा विजयी बनेर अघि बढ्नु परेको थियो । युद्धको बेलाको कम्युनिज्मदेखि नयाँ आर्थिक नीति निर्माणसम्म, लेनिन निरन्तर सामाजबाद निर्माण गर्ने एउटै धेय र ध्याउन्नमा तल्लिन भएर लाग्नुभयो । त्यसको निमित्त धेरै नीतिहरु बनाएर मिलाए जानुपर्ने थियो । उहाँलाई समाजवादको बाटो लामो र कठिन छ भन्ने कुरा राम्ररी थाहा थियो । उहाँले भन्नु पनि भएको छ – जतिबढी देश पछौटे अबस्थाको र उतार चढावयुक्त हुन्छ, इतिहासले के सही सावित गरेको छ भने त्यो समाजमा समाजबादको आरम्भ र बिकास गर्न पनि त्यत्ति नै कठिन हुन्छ । त्यस्तो देशले पूजीवादी उत्पादनबाट समाजवादी उत्पादन सम्वन्धसम्म पुग्न लामो समय लाग्ने छ । यद्यपि लेनिन बढी बाँच्न पाएको भए सोभियत संघको समाजवादलाई कसरी बिकसित गर्नु हुन्थ्यो होला भनेर अनुमान गर्नु अर्थहीन छ तर लेनिनका रचनात्मक र महत्वपूर्ण नबीनतम गतिबिधिवाट के शिक्षा लिनु अत्यावश्यक छ भने अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको स्थितिलाई ध्यानमा राखेर नै लनिनले आफ्नो देशमा समाजवादको बाटोलाई जोडनु भएको थियो ।
लेनिनको देहान्तको झण्डै सात दशकपछि अहिले सोभियत संघ बिखण्डन भएको पनि साढे तीन दशक बितिसकेको छ । बितेको त्यो तीन दशक यताको इतिहासले आफुलाई पुनर्लिखित गर्न त खोजेको छ । तर त्यसले लेनिनवादका समग्र क्रान्तिकारी अन्तरबस्तुलाई निषेध गरेको छ । एकथरी आलोचकहरुले लेनिनका समग्र सैद्धान्तिक र राजनीतिक कुराहरु रुसका लागि मात्रै सीमित भन्ने गरेका थिए र अहिले तिनले त्यो उहाँको नीति रुसमा पनि असफल भएको भन्ने गरेका छन् । अर्को गजबको कुरा के छ भने सबै खालका पूँजीबादी दार्शनिक, बिद्वानहरुका दर्शन र सिद्धान्तले साम्राज्यावादको उपस्थिति र अस्तित्व नै स्वीकार गर्दैनन् । ती मध्येका कतिपयले त के दावी समेत गर्ने गर्दछन् भने उदार पूँजीवाद शाश्वत अर्थात अजम्मरी छ । माक्र्सवाद–लेनिनवाद आफ्ना समयका उपज थिए । त्यतिबेलाको उत्पादन आजको उत्तर आधुनिक युगमा मेल खादैन र सान्दर्भिकता छैन भन्ने तर्क दिने गरेका छन् । तर इतिहासको अन्त्य भयो र पूँजीवाद अमर छ भन्ने कुरालाई २००८ देखि शुरु भएको बिश्वब्यापी आर्थिक मन्दीले एकाएक खण्डित तुल्याइदिएको छ र पूँजीवादको शिकार भएको प्रकृति र सामाजिक अस्थिरतालाई राम्रोसँग पुनः उजागर गरिदिएको छ र लगातार गरिररहेको छ। बिश्वमा बर्तमान ८ खर्बभन्दा बढी मानिसहरुमा आधाभन्दा बढी गरीब छन् । एक अर्ब २० करोड मानिस दिनदिनै भोकमरीले सताइएका छन् । साम्राज्यवाद पृथ्वीको श्रोत साधानको लूट र एकलौटीका लागि निरन्त युद्ध गर्न पछि परिेरहेको छैन । अनि ती शक्तिहरुले यसो गर्न नछाडेमा बिश्वको पर्यावरण र जीवन नै समाप्त हुने कुरा भने निश्चित छ ।
वास्तवमा माक्र्सवाद विश्वको एउटा मात्र यस्तो वैज्ञानिक दृष्टकोण र प्रकृया हो जसले एउटा संगतिपूर्ण बिश्व दृष्टिकोण प्रदान गर्दछ र आजको बिश्वको असंगतिपूर्ण सामाजिक व्यवस्थालाई माक्र्सावादलाई वैज्ञानिक सिद्धान्त मात्रै मान्नुभएको होइन यसको अझ विकास गर्नु पर्ने आमूल परिवर्तन गर्ने कार्यलाई यसले सामयिक र प्रष्ट मार्गदर्शन गर्दछ । लेनिनले त्यही माक्र्सावदको आधारमा बद्लिदो आर्थिक राजनीतिक स्थितिमा माक्र्स र एंगेल्सको सिद्धान्तलाई अझ बिकिसत गरेर यथार्थ व्यवहारमा परिणत गर्नुभयो । उहाँले माक्र्सावादलाई बैज्ञानिक सिद्धान्त मात्रै मान्नुभएको होइन यसको अझ बिकास गर्नु पर्ने आवश्यकतालाई पनि दर्शाउनु भएको थियो । यसको अर्थ हो– माक्र्सवादी सिद्धान्तालई स्थाई र अखण्डनीय मानिनु हुँदैन बरु त्यसको बिपरीत हामी के कुरामा विश्वस्त रहनु पर्दछ भने यसले बिज्ञानको आधारभूत जग मात्रै बसाएको छ जसलाई बैज्ञानिक समाजवादीहरुले सबै दिशामा अघि बढाउनु पर्दछ यदि तिनीहरुले मानब जीबनलाई सबै किसिमले सफल पार्न चाहन्छ भने योभन्दा अर्को बाटो पनि छैन। हामीले माक्र्सवादको सिद्धान्त र ब्यवहारलाई अगाडि बढाउने हो भने श्रमजीवि वर्गको मुक्ति, प्रगति र शतत प्रतिष्ठाका निम्ति अग्रगामी आमूल परिवर्तनको सन्दर्भमा हामीले लेनिनलाई सँधै सँधै सम्झिरहनुपर्ने हुन्छ । महान र अमर छन् लेनिन अनि अजेय छ माक्र्सबाद !

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित