मोदनाथ मरहट्टा
यतिबेला नेपाली समाजको दाम्पत्य सम्बन्ध नया चरणमा प्रवेश गर्न थालेको संकेतहरु देखा पर्न थालेको छ । मानव सभ्यताको इतिहासदेखि स्थापित हुँदै आएको मायाप्रेम वंशको निरन्तरता र सह अस्तित्वको मान्यतामा दरार आउनु निश्चय नै सोचनीय विषय हो ।
विवाह नेपाली समाजको एक महत्वपूर्ण सामाजिक संस्था हो,जसले केवल दुई व्यक्तिलाई मात्र होइन, दुई परिवारलाई पनि जोड्ने काम गर्छ। परम्परागत रूपमा विवाहलाई जीवनभरको अटुट सम्बन्धका रूपमा लिइन्थ्यो,जसलाई जुनसुकै अवस्थामा पनिजोगाइ राख्नुपर्छ भन्ने मान्यता थियो र समाज चल्दै आएको थियो । यो पद्दतिभित्र सुधार गर्नुपर्ने केही खराब मान्यता त थिए नै यसमा सुधार गरेर जान सकिने चरित्र निर्माण गर्न सकिने ठाउँहरु रहँदा रहँदै पनि पछिल्ला वर्षहरूमा नेपाली समाजमा वैवाहिक सम्बन्ध विच्छेद (डिभोर्स) को संख्या बढ्दै गएको देखिन्छ। यो परिवर्तन समाजमा भइरहेका विविध सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणसँग सम्बन्धित छ।
परम्परागत विवाह सम्बन्धमा पति पत्नीबीच मालिक र दासको रुपमा पनि मानिएको थियो । खास गरेर हिन्दु सम्प्रदायमा चलन चल्तिमा आएको विवाह पद्दतिले महिलाहरुलाई श्रमदासी र यौनदासीको रुपमा व्यवहार गरिँदै आएको थियो । परम्परागत विवाह पद्दतिले धर्मको रुपमा विवाह संस्थालाई व्याख्या गरेर धर्म मान्नुपर्ने अनिवार्यता महिलामाथि थोपरेको थियो । शिक्षा र सम्पत्तिमाथिको स्वामित्वबाट पूरै बञ्चित गरिएको थियो । यो अवस्थितिमा गुज्रिँदै आएको महिला चेतनालाई समाज परिवर्तन र नयाँ उत्पादनका आयामहरुको शिक्षाले केही चेतना दियो । अर्कोतर्फ शामन्तवादी संस्कृतिबाट पुँजिवादमा प्रवेश गरेपनी विवाह नामको कर्ममा छोरीसँगै दाइजोको कुरुप चलनले पनि महिलामाथी आर्थिक शोषण बढाएको छ जसका कारण घरेलु हिँसा बढेर गएको छ । यसबाट महिलामुक्ति र सम्पत्तिमाथिको अधिकारका लागि महिलाहरुमा थप चेतनाको विकास अनिवार्य थियो । महिलाहरुमा बढ्दै गएको सांस्कृतिक,राजनैतिक र शैक्षिक चेतनाको विकासमा पनि टेवा पुग्यो । युगले निर्माण गरेको नया चेतना र उत्पादन सम्बन्धमा महिला सशक्तिकरण बढेर गयो । परम्परागत उत्पादन
सम्बन्ध भत्कँदै जानु विज्ञानले नया नया खोज र विकास गरिदै ल्याउनु र पुरुष सरह महिलामा पनि ज्ञान र चेतनाको तहमाथि उठ्नु पनि सहायक कारक बन्यो ।
सबैभन्दा पहिले, सामाजिक चेतनाको विकासले यसमा ठूलो भूमिका खेलेको छ। आजको समयमा मानिसहरू आफ्नो अधिकार र स्वतन्त्रताप्रति बढी सचेत भएका छन्। विशेषगरी महिलाहरूले शिक्षा र जीवन दर्शनमा दृष्टिकोणका ेजानकारीको पहुँचमा पुगेपछि आफ्नो आत्मसम्मान र अधिकारको रक्षा गर्न थालेका छन्। यतिबेलाको समाजमा पहिले जस्तो अन्यायपूर्ण सम्बन्धमा बसिरहनु पर्ने बाध्यता अहिले कम हुँदै गएको छ। समाजले पनि डिभोर्सलाई पहिलेको जस्तो नकारात्मक दृष्टिले मात्र नहेरी परिस्थितिअनुसार स्वीकार गर्न थालेको छ। जोडीहरुबीच सोच्ने बुझ्ने रुचि क्षमतामा जब वेमेलको चिन्तन देखा पर्छ त्यस्तो अवस्थामा छुट्टिनु व्यवहारिक र सुखद पनि हुन्छ भन्ने मान्यता लागु हुँदै आउनुले सम्बन्ध बिच्छेदलाइ निर्णायक मोडमा पुर्याएको हुन्छ ।
अर्कोतर्फ, आर्थिक स्वतन्त्रताले पनि सम्बन्ध विच्छेद बढ्नुमा योगदान पुर्याएको छ। जब महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुन्छन्, तब उनीहरूलाई सम्बन्धमा निर्भर रहनु पर्ने आवश्यकता कम हुन्छ। यसले गर्दा घरेलु हिंसा, दुव्र्यवहार वा असन्तोषजनक सम्बन्धलाई सहेर बस्नु पर्ने बाध्यता घट्छ। आर्थिक रूपमा सक्षम व्यक्तिहरूले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्छन्, जसले डिभोर्सको सम्भावना बढाउँछ। व्वैशिकधरातल खासगरी पश्चिमा समाजको प्रभावले पनि महिला स्वतन्त्रतामा आफ्नो सञ्जाल बढाउदै हावी हुन थालेपछित्यसको प्रभाव नेपाली समाजमा पर्न आइपुग्यो । हिजोको शामन्तवादी समाजबाट पुँजिवादी समाजमा बदलिएको समाजले उत्तर आधुनिकता र नव उदरवादी अर्थतन्त्रले महिलाहरुलाई उपभोग्य वस्तुकोरुपमा प्रयोग गर्न थाल्यो । जानेर नजानेर कतिपय महिलाहरु सुन्दर र स्वछन्द देखिन यसप्रति लहसिन पुगे । पश्चिमा समाजले प्रयोग गरेको मान्यता सन्तान जन्माउन विवाह अनिवार्य हुदैन भन्ने मान्यलालाई नेपाली समाजका महिलामाथि पनि प्रभाव पर्यो। कुमारी आमा भन्ने भाष्यले पनि विवाहको रुचि घट्यो । विवाह संस्थामा अनिवार्य मानिएको नारी पुरुषबीचको सहवासलाई केवल वासनापूर्तिको रुपमा बुझ्नु र समलैङ्गिक सम्बन्ध फराकिलो हुँदै जानुले पनि विवाह संस्था भत्किन पुग्यो । व्यक्ति स्वतन्त्रताको पैरवीले महिलाहरुमा आत्मसम्मानको वकालत गर्न पाउने तहसम्म महिलाहरुलाई उठायो ।
त्यसैगरी, आधुनिक प्रविधि र सामाजिक सञ्जालको व्यापकताको प्रभाव पनि उल्लेखनीय छ । मोबाइल फोन, इन्टरनेट र विभिन्न सामाजिक सञ्जालको प्रयोगले मानिसहरूलाई विश्वसँग जोडेको छ। यसले सम्बन्धमा पारदर्शिता ल्याउन सक्ने भए पनि, कहिलेकाहीँ गलतफहमी, अविश्वास तथा बाह्य सम्बन्धको कारण पनि बन्न सक्छ। यस्ता कारणहरूले दाम्पत्य सम्बन्धमा दरार उत्पन्न गराउँछन्।
पारिवारिक हस्तक्षेप पनि अर्को महत्वपूर्ण कारण हो। नेपाली समाजमा संयुक्त परिवारको परम्परा अझै पनि बलियो छ। यस्तो अवस्थामा सासु–ससुरा वा अन्य आफन्तहरूको अत्यधिक हस्तक्षेपले दम्पतीबीच तनाव उत्पन्न गर्न सक्छ। व्यक्तिगत निर्णयमा स्वतन्त्रता नहुनु र निरन्तर हस्तक्षेपले सम्बन्धलाई कमजोर बनाउँछ।
अहिले धेरैजसो जोडीहरु लिभिङ टुगेदर भनेर वैवाहिक सम्बन्ध बिना सहसम्बन्धमा रहेका पनि पाइन्छन् । उनीहरुको यस्तो बसाइमाथि प्रश्न चिन्ह उटाउने ठाउँ रहँदैन कारण यो उनीहरुको इच्छा र अधिकारको विषय हो । यस प्रकारको जीवनवृतिले पनि विवाह संस्थालाई कमजोर बनाएको छ ।
यसका साथै, कम उमेरमा हुने विवाह (बाल विवाह वा अपरिपक्व विवाह) पनि समस्या बनेर आयो । पर्याप्त परिपक्वता र जिम्मेवारीबोध नभएको अवस्थामा गरिएको विवाहले सानो–सानो विवादलाई ठूलो समस्या बनाउँछ। त्यस्तै, वैदेशिक रोजगारीका कारण दम्पती लामो समय अलग बस्नुपर्ने अवस्था पनि सम्बन्ध विच्छेदको अर्को कारण हो। यसले भावनात्मक दूरी बढाउँछ र कहिलेकाहीँ अविश्वासको वातावरण सिर्जना गर्छ।
घरेलु हिंसा, मदिरा वा लागुऔषधको दुरुपयोग जस्ता समस्याहरूले पनि महिलामाथी थोपरिनुले पनि वैवाहिक सम्बन्धमा गम्भीर असर पार्छ। यस्तो अवस्थामा सम्बन्ध टिकाइराख्नु भन्दा अलग हुनु नै उपयुक्त विकल्प बन्न सक्छ । साथै, आधुनिक जीवनशैली र बढ्दो अपेक्षाहरूले पनि दम्पतीबीच असन्तुष्टि बढाउने काम गर्छन्। विकसित मुलुकहरुमा गरिएका केही अध्ययनहरुले जोडीहरु छुट्टाछुट्टै ओछ्यानमा सुत्नुलाई कहिलेकाहीँ सम्बन्धमा समस्याको संकेतको रूपमा हेरिन्छ । तर, यसलाई समस्याको रूपमा हेर्न आवश्यक छैन । यदि पार्टनरको व्यवहारले निरन्तर निद्रामा बाधा पुर्याइरहेको छ भने छुट्टै सुत्दा स्वास्थ्यमा बेफाइदाभन्दा फाइदा बढी हुन सक्छ । जोडीहरू सँगै राम्रोसँग
सुत्छन् वा अलग्गै सुत्छन् भन्ने कुरा दुवै पार्टनर र उनीहरूको सम्बन्धको गुणस्तरमा निर्भर रहन्छ । केही जोडीका लागि बेड सेयर गर्दा सम्बन्ध र आराम बलियो हुन्छ ।
अन्ततः, कानुनी प्रक्रियाको सहजताले पनि डिभोर्सको संख्या बढाउन सहयोग गरेको छ। नेपालमा सम्बन्ध विच्छेदका लागि आवश्यक कानुनी प्रक्रिया पहिलेभन्दा सरल र पहुँचयोग्य बनेको छ, जसले गर्दा पीडित पक्षले सजिलै न्याय प्राप्त गर्न सक्छ। कतिपय निसन्तान दम्पत्तिको हकमा सम्बन्ध विच्छेद स्वभाविक देखिए पनि सन्तान हुने दम्पत्तिको हकमा सम्बन्ध विच्छेदले बालबालिकाको अधिकारमाथि प्रहार गरेको छ र धेरै बालबालिका बा आमा विहीन बन्न पुगेका छन ।
निश्कर्षतः, नेपाली समाजमा वैवाहिक सम्बन्ध विच्छेद बढ्नु बहुआयामिक कारणहरूको परिणाम हो। यसलाई पूर्ण रूपमा नकारात्मक रूपमा मात्र हेर्न मिल्दैन, किनकि यसले व्यक्तिको अधिकार र स्वतन्त्रताको संरक्षण पनि गर्दछ। तर यसको बढ्दो प्रवृत्तिले परिवार, विशेषगरी बालबालिकाको भविष्यमा असर पार्न सक्छ। त्यसैले, आपसी समझदारी, सम्मान र संवादमार्फत सम्बन्धलाई मजबुत बनाउनु आजको आवश्यकता हो।

