काठमाडौं । विश्व सर्वहारा वर्गका महान नेता, रुसी समाजवादी क्रान्तिका नायक भ्लादिमिर उल्यानोभ इलिच ‘लेनिन’को १५३ औं जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस देश तथा विदेशका विभिन्न भागहरुमा विविध कार्यक्रमका साथ मनाइएको छ । २२ अप्रिल श्रमजीवी वर्गका महान नेता लेनिनको जन्म भएको दिन हो । लेनिन जयन्तीकै अवसर पारेर आज भन्दा ७३ वर्ष अगाडि २२ अप्रिल १९४९ का दिन अर्थात् वि.सं. २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । त्यस यताका हरेक वर्ष नेपालका कम्युनिस्ट तथा वाम पार्टीहरुले २२ अप्रिलका दिन नेकपाको स्थापना दिवस तथा लेनिनको जयन्ती मनाउँदै आउने गरेका छन् । त्यही सिलसिलामा २२ अप्रिल २०२२ अर्थात् २०७९ वैशाख ९ गतेका दिन नेपालका सच्चा क्रान्तिकारीहरु र आफूलाई कम्युनिस्ट तथा वामपन्थी बताउने पार्टी तथा संगठनहरुले १५३ औं लेनिन जयन्ती तथा नेकपाको ७४ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएका हुन् ।
देशभित्रै रोजगारीको अवसर नपाएपछि संसारका विभिन्न देशहरुमा पुगेर आफ्नो पसिना र रगत बेच्न बाध्य भैरहेका श्रमजीवी प्रवासी नेपालीहरुको अभिभावकीय संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा नेकपाको ७४ औं स्थापना दिवश तथा १५३ औं लेनिन जयन्ती मनाइएको छ । भर्चुअल माध्यमबाट मनाइएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपालीले सम्बोधन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि संयोजक नेपालीले इतिहासका कमजोरीहरुबाट शिक्षा लिएर अब नयाँ तरिकाबाट कम्युनिस्ट आन्दोलनलाई संगठित गर्नुपर्ने बताए । “कम्युनिस्ट आन्दोलन सधै सरल रेखाबाट अघि बढेको छैन । टुटफुटको दिशाबाट अगाडि बढ्दै आएको छ । इतिहासका कमजोरीहरुको अब हामीले सिंहावलोकन गर्नुपर्छ ।” –संयोजक नेपालीले भने–“हाम्रा कमजोरीहरु इतिहासमा कहाँ कहाँ भए ? त्यसबाट शिक्षा लिएर हामी अगाडि बढ्नुपर्छ । नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई अब हामीले प्रचारात्मक आन्दोलनका रुपमा लैजानु पर्दछ । अब हामी नयाँ ढंगबाट अघि जानु पर्छ ।” मसाल नेतृत्वले वर्गसंघर्ष र क्रान्तिको सिद्धान्तलाई बिर्सिएको संयोजक नेपालीले बताए । “नेपालका सबै कम्युनिस्ट पार्टीहरुले संशोधनवादी बाटो अपनाएका छन् ।”–नेता नेपालीले भने “क्रान्तिको सिद्धान्तलाई मसाल नेतृत्वले बिर्सिएको छ र खु्रश्चेवी नीति लिएको छ ।” सम्बोधनका क्रममा संयोज नेपालीले कोही मानिस दर्शनको राम्रो ज्ञाता हुँदैमा राजनेता बन्न नसक्ने बताए । “दार्शनिक हुनु र त्यसलाई व्यवहारमा उतार्नु दुइृ अलग अलग कुरा रहेछन् । प्लेखानोभ रुसका महान दार्शनिक थिए । उनले नै रुसी भाषामा पहिलो पल्ट कम्युनिष्ट घोषणापत्र उल्था गरेका थिए । प्लेखानोभलाई लेनिन स्वयंले नै महान दार्शनिक बताएका छन् । लेनिन स्वयं प्लेखानोभका चेला थिए ।” प्रमुख अतिथि नेपालीले भने–“तर लेनिनको क्रान्तिकारी राजनैतिक लाइनको प्लेखानोभले बेलाबेलामा विरोध गर्दथे । प्लेखानोभमा दर्शनको व्यापक ज्ञान हुँदा हुँदै पनि उनी रुसी क्रान्तिका नेता बन्न सकेनन् । आखिर लेनिनकै विचार र नेतृत्वले रुसमा समाजवादी अक्टोबर क्रान्ति सम्पन्न ग¥र्याैं।” सम्बोधनका क्रममा प्रमुख अतिथि नेपालीले अहिले कमजोर देखिएको नेपालको कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट क्रान्तिकारीहरुको निरन्तरको प्रयासबाट आगामी दिनमा व्यापक र शक्तिशाली बनेर जाने विश्वास पनि व्यक्त गरे ।
समारोहलाई नेकपा (मसाल) का पूर्व प्रबक्ता विमल शर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका उपाध्यक्ष चिन्तामणि शर्मा, कोषाध्यक्ष ओम बहादुर केसी, अन्तराष्ट्रिय नेपाली एकता समाजका पूर्ब अध्यक्ष गंगा पौडेल, रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक अध्यक्ष गोविन्द सिंह थापा, अन्तर्राष्ट्रिय नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गा शर्मा (स्पेन), सदस्य बुद्धि कंडेल (जापान,) सदस्य राजु बस्याल (मलेशिया), सदस्य राज वेलवासे (बेल्जियम) , मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष देब बहादुर लामिछाने, उपाध्यक्ष सुर्य पुन, सचिव राम सिंह बि क, सचिव नारायण शर्मा, सदस्य दयाराम खनाल, मिना शर्मा, दुर्गा सुवेदी, ज्योति नारायण शर्मा, हेमराज रिजाल, मोहन सिंह ठकुल्ला, क्षेत्रीय सदस्य जनकराज शर्मा र दक्षिण भारत क्षेत्रीय महिला विभाग सदस्यकी मिना बि क लगायतका अतिथिहरुले समेत सम्बोधन गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष मान बहादुर थापा (जापान) ले गरेका थिए । अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ शब्दबाट केन्द्रीय कोषाध्यक्ष हिमाल थापा (बेल्जियम)ले स्वागत गरेका थिए भने स्वागत गित रक्तिमका कलाकार राम सिंह बिकले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन महासचिव महेन्द्र बस्यालले गरेका थिए ।
काठमाडौं ः
विश्व सर्वहारा वर्गका महान नेता लेनिनको १५३ औ जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औ स्थापना दिवस काठमाडौंमा विशेष समारोहका बिच मनाइएको छ । नेकपा (मसाल) जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा २२ अप्रिल २०२२ अर्थात २०७९ बैशाख ९ गतेका दिन काठमाडौंको बागबजारमा एक विशेष समारोह गरि नेकपाको ७४ औ स्थापना दिवस तथा १५३ औ लेनिन जयन्ती मनाइएको हो ।
समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका प्रतिनिधि राम बहादुर बुढाले विश्व सर्वहारा वर्गका महान नेता लेनिनका बिचारहरुलाई सही प्रकारले आत्मसात गरेर अघि बढेमा मात्र क्रान्ति सम्पन्न गर्न सकिने बताए । “हामीले वर्ग संघर्षको मुल कडि र मर्मलाई छोड्नु हुन्न” – युवा कम्युनिस्ट नेता राम बहादुर बुढाले भने – “वर्ग संघर्षको धार छोडिसकेका कम्युनिस्ट नामधारी पार्टीहरुलाई लेनिन जयन्ती तथा नेकपा स्थापना दिवस मनाउने नैतिक अधिकार छैन ।” यही संसदीय ब्यवस्था भित्रबाट समाजवाद देशमा लागू गर्न नसकिने उनले सम्बोधनका क्रममा प्रष्ट पारे । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अहिले केही कमजोर देखिए पनि त्यो अस्थायी कुरा भएको र कालान्तरमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन शक्तिशाली भएर देशमा क्रान्ति सम्पन्न हुने बिश्वास नेता बुढाले ब्यक्त गरे ।
समारोहलाई सम्बोधन गर्दै बाम नेता तथा एमसिसि खारेज संयुक्त अभियानका संयोजक नारायण शर्माले लेनिनवादको रक्षा गर्नु अहिले क्रान्तिकारी कम्युनिस्टहरुको प्रमुख कर्तब्य भएको बताए । विश्व सर्वहारा वर्गका महान् नेता लेनिन संसारभरीका हरेक क्रान्तिकारी कम्युनिस्टहरुका निम्ति आदर्श नेता र साम्राज्यवादीहरुका निम्ति आखाँको तारो रहेको उनले बताए । अहिले अन्तरपार्टी संघर्ष भन्दा पनि वर्गीय संघर्ष अघि बढाउनु पर्ने बेला रहेको नेता शर्माको थप भनाइ रहेको थियो ।
वरिष्ठ वाम नेता तथा पत्रकार सेनानी गोबिन्द सिंह थापाले समारोहलाई सम्बोधन गर्दै बिचार सही भएमा अहिले सानो आकारको पार्टी भए पनि त्यो पछि फैलिएर ठूलो र शक्तिशाली बन्ने बताए । अनुशासित र मिलिटेण्ट पार्टी सङ्गठन बनाएर अघि बढेमा क्रान्ति छिट्टै सम्पन्न गर्न सकिने बिश्वास नेता थापाले ब्यक्त गरे ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका कोषाध्यक्ष ओम बहादुर केसीले समारोहलाइ सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा नेताको निर्माण सही नीतिले गर्ने बताए । सही नीति र सिद्धान्त लिएर अघि बढेमा नेतृत्व आन्दोलनबाट नै आउने उनको प्रष्ट भनाई थियो ।
समारोहलाई सम्बोधन गर्दै रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा पार्टी सङ्गठनहरुले सर्वहारा वर्गिय सांस्कृतिक मूल्य मान्यतालाई भुल्दै जाने प्रवृत्ति मुख्य कारण रहेको बताए । कुनै कम्युनिस्ट नाम गरेको पार्टीको सदस्यता लिदैमा ब्यक्ति कम्युनिस्ट बन्न नसक्ने भन्दै अध्यक्ष शर्माले कम्युनिस्ट नीति सिद्धान्त अनुरुपको आफ्नो आचरण र व्यवहार अपनाउन सक्ने ब्यक्ति नै वास्तविक कम्युनिस्ट हुने बताए ।
समारोहलाई राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिकी उपाध्यक्ष सुर्या थापा, काठमाडौं जिल्ला समितिका अध्यक्ष बलिभद्र शर्मा र काठमाडौं महानगरका अध्यक्ष यम प्रसाद शर्मा लगायतका अतिथिहरुले समेत सम्बोधन गरेका थिए । राजमो केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य नारायण सापकोटा र हाँक साप्ताहिकका ब्यवस्थापक कृष्ण आचार्यको समेत आतिथ्यता रहेको सो समारोह राजमो केन्द्रीय समन्वय समितिका उपाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता काठमाडौं जिल्ला समितिका सचिब टेकहरी न्यौपानेको स्वागत मन्तव्य र सचिवालय सदस्य सागर भण्डारीको संचालनमा अघि बढेको थियो ।
बेङ्लोर ः
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज बेँगलोर दक्षिणनगर समितिको आयोजनामा पनि नेकपाको ७४ औं स्थापना दिवस र लेनिनको १५३ औं जयन्ती भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ ।
मूल प्रवाहका केन्द्रीय प्रतिनिधि धर्म रामको अध्यक्षता र करन दयालको संचालनमा उक्त समारोहको कार्यक्रम अघि बढेको थियो ।
शहिद प्रति एक मिनेट मौनधारण पछि मुल प्रवाह केन्द्रीय सल्लाहकार शेर सिंह बिकले समारोहमा शब्दबाट स्वागत गरेका थिए भने रक्तिम साँस्कृतिक अभियान बेंङलोरका कलाकारहरूले जनवादी गीतबाट स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष मदन भण्डारीले मुल प्रवाहको क्रान्तिकारी इतिहासलाई धुमिल पार्न खोज्नेहरुलाई आफूहरुले परास्त गरेरै छाड्ने उद्घोष गरे । संगठनभित्र देखिएका कमीकमजोरीहरुलाई समय छँदै सुधार गर्नु पर्नेमा उपाध्यक्ष भण्डारीले जोड दिएका थिए । सम्बोधनका क्रममा नेता भण्डारीले लेनिनले दिएको ज्ञानलाई जनतासित घुलमिल गराउनु हरेक कम्युनिस्ट क्रान्तिकारीहरुको दायित्व भएको बताए ।
समारोहलाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सचिव रामसिंह बिकले पुष्पलालले काँग्रेससित मिलेर जनताको आन्दोलन सफल पार्न सकिन्छ भन्दा पुष्पलाल गद्दार हुन्् भन्नेहरुलाई अहिले कांग्रेस, सँगै घाँटी जोडेर चुनावमा हिंडेको देख्दा ‘महागद्दार’ भन्न मिल्ने कि नमिल्ने ? भनी प्रश्न गरे ।
मूल प्रवाहको विद्यार्थी विभागकी केन्द्रीय सल्लाहकार सदस्य प्रतिभा बिकले समारोहलाई सम्बोधन गर्दै लेनिनवादी संगठनात्मक सिद्वान्तलाई आत्मासात गर्दै अहिले संगठनमा देखिएको समस्या समाधान गर्नुपर्ने बताइन । लेनिन अल्पमतमा भएर पनि उहाँकै विचार सही भएका कारण अन्ततः उहाँकै नेतृत्वमा रुसमा क्रान्ति सम्पन्न भएको स्मरण गराउँदै विद्यार्थी नेतृ वि.क.ले मसाल पार्टीभित्र पनि त्यहि अबस्था आएको र लेनिनले झै मसाल भित्रका क्रान्तिकारी विचारका पक्षधरहरुले पनि अन्ततः बिजय हासिल गर्नेे विश्वास व्यक्त गरिन । समारोहलाई सम्बोधन गर्दै रक्तिम साँस्कृतिक बिभागका सचिव गणेश बि क ले साँस्कृतिक कला कौसल, साहित्य सम्बन्धी विषयमा जनतालाई दिने समाजिक चेतना महत्वपूर्ण रहने बताएका थिए ।
समारोहमा मुल प्रवाहका नगर सदस्य हरिश बिक, महिला विभाग नगरबाट द्रोपति बिक, नगर अध्यक्ष किसनबहादुर बिकले पठाएका लिखित शुभकामना सन्देश उद्घोषक करन दयालले पढेर सुनाएका थिए ।