काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबाटै धाँधली भएको आरोप लगाएको छ ।
संसदको ११ औँ अधिवेशनअन्तर्गत २०७९ जेठ ३ गते बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले उपमहाससचिव प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहेको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए ।
‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन । अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो,’ उपमहासचिव ज्ञवालीले भने– ‘चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’
सम्बोधन क्रममा नेता ज्ञवालीले वर्तमान गठबन्धन सरकारका कारण देश नै अफ्ठेरोमा पर्न थालेपछि एमालेले संसदको अवरोध हटाउने निर्णय गरेको बताए ।
अहिलेको सरकारका कारण महँगी बढेको, अर्थतन्त्र धरापमा परेको, विकास खर्च नभएको, प्रधानन्यायाधीश, गभर्नर, प्रहरी प्रमुख लगायतका व्यक्ति र संस्थामाथि हस्तक्षेप गरेको लगायतका कारण देश अफ्ठेरोमा परेको र यसलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले एमालेले संसदको अवरोध त्यागेको उनको भनाइ थियो । ‘देश झन्डै झन्डै सङ्कटतर्फ धकेलिँदै छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले विरोधको स्वरूपलाई परिवर्तन गरेका हौँ ।’ संसदमा सम्बोधन गर्ने क्रममा एमाले उपमहासचिव समेत रहेका सांसद ज्ञवालीको भनाई थियो –‘प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू सत्ताको सेटिङमै व्यस्त हुनुहुन्छ । उहाँहरूलाई यी कुराले सायद छुँदैन पनि होला । मेरो आग्रह छ– सम्माननीय प्रधानमन्त्रीज्यू निद्राबाबाट बिउँझिनुहोस् ।’