वर्तमान परिस्थिति र नौलो जनवादी क्रान्ति

  • गौरीलाल कार्की

चीनको हुनान प्रान्तमा २६ डिसेम्बर १८९३ मा नेता माओत्सेतुङको जन्म भएको थियो । एउटा सामान्य निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मेका माओ चिनियाँ कम्युनिस्ट आन्दोलनका उत्कृष्ट नेतृत्व थिए । चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइनको संघर्षमा उनले सम्पुर्ण खाले अवसरवादविरुद्ध सम्झौताहिन संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सबैखाले अवसरवादबाट जोगाउन सफल भएका थिए । उनले जापानी साम्राज्यवादबाट चिनियाँ राष्ट्र र जनतालाई मुक्त गर्ने र च्याङ काइसेकजस्ता प्रतिक्रियावादी शासकमाथि विजय हासिल गरी चीनमा कम्युनिस्ट सत्ता स्थापित गरेका थिए । चीनमा नयाँ जनवादी क्रान्तिको सफलता, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको प्रयोग र समाजवादको विकासमासमेत उनको महत्वोपुर्ण योगदान रहेको थियो । उनी एक विचारक, संगठक र सैन्य रणनीतिकारसमेत थिए ।

मार्क्सवाद लेनिनवादका तीन संघटक अंग हुन् – दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । चीनमा यी तीनवटै अवयवमा माओको नेतृत्वमा नवीनतम योगदान पु¥याएको मुल्यांकनपछि त्यसको विचारधारात्मक संश्लेसण गर्दै विश्वका क्रान्तिकारी कम्युनिस्टहरुले माओ विचारधाराको अनुसरण गरिरहेका छन् । मार्क्सवाद, लेनिनवादसँगै माओ–विचारधाराको स्वीकारोक्तिबिना आजको अन्तरविरोधको सही निदान, परिचालन र समाधान गर्न एवं क्रान्ति सम्पन्न गर्न सम्भव छैन । तर यसो भनिरहँदा माओपछि विचारको संश्लेषण, विश्लेषण एवं थप विकास गर्न जरुरी छँदै छैन भन्ने चाहिँ होइन ।

माओ विचारधाराले दर्शनशास्त्रका क्षेत्रमा ज्ञानसिद्धान्तलाई सँगसँगै जोडेको छ । सही र वैज्ञानिक ज्ञानमा तीन किसिमका सामाजिक व्यवहारहरू हुन्छन् । प्रथम उत्पादनका लागि संघर्ष, द्वितीय वर्गसंघर्ष र तृतीय वैज्ञानिक प्रयोग । यी तीन व्यवहारबाट ज्ञान हासिल हुन्छ । ज्ञानका दुई अवस्था एवं प्रकार हुन्छन् । एउटा इन्द्रियग्राह्य ज्ञान र अर्को तार्किक ज्ञान । माओले यसरी दर्शनलाई ज्ञान सिद्धान्तसँग थप संश्लेषण गरेका थिए ।

नेपालको नयाँ जनवादी क्रान्तिको प्रक्रियामा हुबहु चिनियाँ नयाँ जनवादी क्रान्तिको तौरतरिकाले गर्दा बेमेल हुने अवस्था सृजना भएको छ । दलाल तथा नोकरशाही पुँजीवाद एवं सामन्ती अवशेषविरुद्ध संघर्ष गर्नका लागि दीर्घकालीन सशस्त्र विद्रोह अनिवार्य शर्त त छदैछ तर त्यसको तौरतरिका, रोडम्याप र सफलताको लागि ठोस कार्यक्रम नेपालको विकसित अवस्था देश काल परिस्थिति एवं वस्तुगत अवस्था र अन्तर्राष्ट्रिय विकसित परिस्थिति अनुसार नयाँ ढंगलको हुनुपर्ने आवश्यक छ ।

मार्क्सवादी दर्शनशास्त्रको एउटा मुख्य विधा द्वन्द्वात्मक भौतिकवादका तीन नियमहरूमध्य विपरीत तत्वहरूको एकता–संघर्षको नियम नै आधारभूत नियम हो । यो द्वन्द्वात्मक भौतिकवादको मुटु हो । बाँकी मात्रात्मक परिवर्तनबाट गुणात्मक रूपान्तरण र निषेधको निषेध भन्ने नियम सहायक नै हुन् र यी नियममा पनि विपरीत तत्त्वको एकता–संघर्षको नियमको नै मुख्य भुमिका रहन्छ भन्ने माओको प्रवल जोड रह्यो । उनले चिनियाँ कम्युनिस्ट पार्टीको विजयपछि पार्टी र सत्ताभित्र कहिले तीन खराबी त कहिले पाँच खराबीजस्ता प्रवृत्ति पैदा भएपछि सर्वहारा सांस्कृतिक क्रान्ति वा सत्ता कब्जापछि हुनसक्ने सम्भावित प्रतिक्रान्ति र आदतीय रूढिवादि सत्ताविरुद्ध क्रान्तिको निरन्तरताको सिद्धान्तसमेत अगाडि सारेका थिए ।

राजनीतिक अर्थशास्त्रका क्षेत्रमा माओले चिनियाँ समाज र उत्पादन सम्बन्धको मार्क्सवादसम्मत व्याख्या गरे । चीन अर्धसामन्ती र अर्ध औपनिवेशिक चरित्रको भएको विश्लेषण गरे । आन्तरिक रूपमा सामन्तवाद, नोकरशाही पुँजीवाद र दलाल पुँजीवाद चिनियाँ जनताका मुख्य दुश्मन हुन् भन्ने विश्लेषण गरे । यो अन्तरविरोधलाई हल गर्न नौलो जनवाद अर्थात नयाँ जनवादको राजनीतिक कार्यक्रम अघि सारे । उनले नौलो जनवाद भनेको किसान र मजदुर एकता एवं जनवादी अधिनायकत्वमा आधारित, कम्युनिस्ट पार्टीको नेतृत्व र राष्ट्रिय औद्योगिक पुँजी निर्माण तथा समाजवादको पूर्वाधार निर्माण गर्ने संक्रमणकालीन सत्ता हो भन्दै पुरानो जनवाद र नयाँ जनवादका आधारभूत अन्तर र सीमारेखा खिच्ने महत्वपूर्ण कार्य गरे ।

माओले सर्वहारा सांस्कृतिक क्रान्तिको पुर्वसन्ध्यामा उत्पादक शक्तिको सिद्धान्तसहित अगाडी आएका पुँजीवादपन्थीहरूलाई पनि विचारधारात्मक संघर्षमा परास्त गरेका थिए । उनले क्रान्तिलाई पकड र उत्पादन बढाऊ अर्थात् राजनीतिक कमान्डमा मुख्य आत्मनिर्भर अर्थतन्त्र हो भन्ने मान्यता अघि सारेका थिए । लेनिनको निधनपछि जसरी सोभियत संघमा समाजवादको विकास र प्रयोग गरियो, यसको समेत आलोचनात्मक अध्ययन गर्दै माओले चिनियाँ अर्थव्यवस्था सुदृढ गरे । आज चीन जुन समृद्धि र उन्नतिको बिन्दुमा आइपुगेको छ यसका लागि अनुकूल हुने राजनीतिक एवं आर्थिक नीति र वातावरणको जग पनि माओत्सेतुङले नै हालेका हुन् ।                                

एकथरी बुद्घिजीवीहरूले भनेजस्तो चिनियाँ अर्थतन्त्र आजको स्थितिमा हुनु जसरी देङ स्याओ पिङलाई स्मरण गरिन्छ, त्यो गलत बुझाई हो र यो देङको योगदान नभई यसको प्रारूप नै माओले निर्माण गरेका थिए । देङले त केवल तत्कालीन विश्वको नवउदारवादी सिद्घान्तमा आधारित खुल्ला बजार अर्थनीतिको वेगलाई पक्रेका मात्र हुन् । स्मरण रहोस्, नवउदारवाद र खुला बजार अर्थनीति पनि देङको नयाँ रचना नभई उनीभन्दा कैयौँ पहिले शास्त्रीय अर्थशास्त्रीहरूले नै व्याख्या गरिसकेको नीति हो । यसैलाई देङको नयाँ सिद्धान्त भन्दै बढाइचढाइ गर्नु अवसरवादीहरूको अज्ञानता वा बेइमानी दृष्टिकोण हो ।

माओले नौलो जनवादी क्रान्तिका क्षेत्रमा मुख्य गरी कृषिप्रधान देश चीनमा गाउँबाट शहर घेर्ने र कब्जा गर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशा विकास गरे । जनताको सहभागितामा छापामार संघर्षद्वारा आक्रमण एवं उपलब्धि रक्षा, सन्तुलन र प्रत्याक्रमणको तीन चरण हुँदै क्रान्तिको विजय हुनसक्ने र चिनियाँ समाजवादी क्रान्ति रुसको क्रान्तिको अन्ध नक्कल हुन नसक्ने र यो आफ्नो चिनियाँ विशेषतामा अघि बढ्ने निष्कर्ष निकाले । माओले क्रान्तिका लागि पार्टी, संयुक्त मोर्चा र जनसेनालाई तीन जादुगरी हतियारका रूपमा परिभाषित गर्दै यसको अभावमा क्रान्तिको विजय असम्भव हुने ठहर गरे । यसरी माओले मार्क्सवादका तीनवटै संघटक अंगहरूमा थप विकास, प्रयोग र नयाँ उचाइ हासिल गरेको हुनाले उनका यी योगदानहारु सार्वभौम विचारधाराको रूपमा संस्थागत भएको छ ।

नेपालको सन्दर्भमा कतिपय शक्तिहरुले नौलो जनवादी क्रान्ति आवश्यक नभएको र कतिपय शक्तिहरुले नौलो जनवादी क्रान्तिको चरण पुरा भएकोले समाजवादतर्फ अगाडि बढ्नुपर्छ भन्ने खालका हल्लाखल्ला एवं प्रचारप्रसार गरिएको छ । माओवादीले नौलो जनवादी क्रान्तिको नाउँमा २०५० को दशकभर उग्रवामपन्थी नीतिमा आधारित सशस्त्र विद्रोह ग¥यो । त्यस परिस्थितिमा त्यो सफल हुने अवस्था थिएन र भएन । अहिले माओवादी चरम दक्षिणपन्थी शक्तिमा रुपान्तरण भएको छ । अब माओवादी पनि संसदीय शक्तिमा रुपान्तरण भइसकेको छ । आज कम्युनिस्ट भनिने यस्तै दक्षिणपन्थी शक्तिहरुले नेपालमा पुँजीवादी क्रान्तिको चरण पार भइसकेको र समाजवादतर्फ अगाडि बढ्ने कुरा गरिरहेका छन् । तर नयाँ जनवादी क्रान्ति पनि पुँजीवादी क्रान्ति नै हो र त्यो नेपालमा सम्पन्न भएको छैन । अहिले पनि राष्ट्रिय औद्योगिक पुँजीवाद विकासको बाधक दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवाद नै रहेको छ । त्यसैले नेपालमा अझै पनि नौलो जनवादी क्रान्तिको कार्यभार पुरा भएको छैन । दक्षिणपन्थीहरुले दलाल तथा नोकरशाही पुँजीवादसँग राजनीतिक सौदाबाजी गरेर आफ्नो रोटी सेक्न यस प्रकारको प्रचारप्रसार गरिरहेका छन् । तैपनि अहिले बहसको विषय के हुनसक्छ भने नेपालको नयाँ जनवादी क्रान्ति हुबहु चिनियाँ मोडेलमा नहुन पनि सक्छ । उतिबेलाको चीनको अवस्था र अहिलेको नेपालको अवस्थाको तुलनात्मक विश्लेषण गर्ने हो भने केहि समानता र केहि कुरा भिन्नता रहेको देखिन्छ । त्यसैले आजको परिप्रेक्ष्यमा नेपालको सन्दर्भमा कुन प्रकारले नयाँ जनवादी क्रान्तिको रोडम्याप निर्माण गर्नु पर्नेछ र त्यसको संचालन एवं सफल बनाउने कार्यविधि कस्तो हुन्छ भन्ने विषयमा छलफलको आवश्यकता भने परेको देखिन्छ ।

नेपालमा पुष्पलालको समयदेखि नै अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक भन्दै यहाँ गरिने क्रान्तिको स्वरूप नौलो जनवादी क्रान्ति हुने कुरा उल्लेख गरिदै आइयो । नेपालको उत्पादन सम्बन्धको चरित्र आधारभूत रूपमा तत्कालीन चिनियाँ विश्लेषणसँग मिल्दोजुल्दो रहेको विश्लेषण गरिएको छ । चौथो महाधिवेशन पछि नौलो जनवादी क्रान्ति न्युनतम कार्यक्रममा समेटिदै आएको पाइन्छ । नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा समस्या देखिएको छ र संघर्षको बीचबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि निर्माण होला तर नेपालको सन्दर्भमा तथ्य र तर्कका आधारमा अब हुनुपर्ने  क्रान्तिको कार्यक्रम अर्थात् नौलो जनवादी क्रान्तिको रुप रंगबारे बहस हुनु जरुरी छ ।

नौलो जनवादको राजनीतिक कार्यक्रम माओले सन् १९४० मा चिनियाँ राष्ट्रिय प्रतिरोध युद्घको समयमा अघि सारेको थेसिस हो । चीनमा जापानी साम्राज्यवादको हस्तक्षेप र नेपालमा अमेरिकी साम्राज्यवाद एवं भारतीय विस्तारवादको हस्तक्षेपको बस्तुस्थिति मिल्दोजुल्दो नै छ । तर सन् १९४० को चीनको समय र आजको नेपालको समयमा कैँयौ अन्तरहरू एवं फेरबदलहरू रहे देखिएका छन् । त्यसैले परिस्थिति र बस्तुलाई गति र परिवर्तनको प्रवाहमा बुझ्न र त्यस अनुसारको रोटम्याप कोर्न आवश्यक देखिएको छ ।

चीनमा नौलो जनवादी क्रान्ति सम्बन्धी अवधारणा अगाडि ल्याउँदा विज्ञान–प्रविधि र उत्पादन शक्तिको विकास निकै पिछडिएको थियो । वस्तुहरूको ओसार प्रसारका लागि सामान्य ट्याक्टरलगायत साधनको समेत अभाव थियो । चीनको भूगोल र जनसङ्ख्या विशाल थियो । भोकमरी, अशिक्षाका समस्याहरू निकै जटिल थिए । माओको मुख्य सरोकार नै कृषिमा आधारित अर्थव्यवस्थालाई कसरी औधोगिकीकरण गर्ने र भोकमारीबाट चिनियाँ जनतालाई मुक्त गर्न उत्पादकत्वमा वृद्धि कसरी गर्ने भन्ने थियो । यस्तो स्थितिमा त्यहाँको राष्ट्रिय पुँजीपति वर्ग साम्राज्यवादी उत्पीडनबाट पीडित थियो । आजको नेपालको परिस्थिति पनि राजनीतिक एवं उत्पादन सम्बन्धको आधारमा मिल्दोजुल्दो परिस्थितिमा नै रहेको छ । तर बिज्ञान–प्रविधि विकासको सन्दर्भमा परिस्थिति फेरिएको छ । सूचना एवं प्रविधिका हिसाबले बायो इन्जिनियरिङदेखि आर्टिफिसियल इन्टेलिजेन्सको विकाससम्म भएको छ, जुन चिनियाँ नौलो जनवादी क्रान्तिकालको भन्दा भिन्न स्थितिमा रहेको छ ।

कतिपय विषयको सन्दर्भमा तत्कालीन चिनियाँ अवस्थाभन्दा नेपालको हालको अवस्था अझै पिछडिएको देखिन्छ । चीनमा नौलो जनवादको अवधारणा ल्याउँदा राष्ट्रिय पुँजीपतिहरूको हिस्सा नेपालको भन्दा तुलनात्मक रूपमा धेरै थियो । तर अहिलेसम्म पनि नेपालको जीडीपीमा औद्योगिक क्षेत्रको ६ प्रतिशत मात्रै योगदान रहेकोछ । राष्ट्रिय पुँजीवादको विकास न्यून छ र झन्डै सम्पुर्ण अर्थतन्त्र दलाल पुँजीवादको कब्जामा नै रहेको छ । त्यसैले जुन वर्गको सङ्ख्या नै नगण्य छ र त्यो राष्ट्रिय पुँजीपतिसँग साझेदारी गरेर क्रान्तिको रुपरेखा कोर्नुपर्ने अवस्था जटिल देखिन्छ । आधारभुत वर्ग किसान–मजदुर भएकोले तिनीहरुको बलमा क्रान्तिको मुख्य मिसन पुरा गर्नुपर्ने अवस्था रहेकोछ । तर राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति वर्गको राजनीतिक इमानदारीतामा ह्रास आइरहेको स्थिति छ, त्यसैले संयुक्त मोर्चाको निर्माणको परिस्थिति चिनियाँ परिस्थिति अनुसार नेपालमा व्यवहारतः संभव हुने नहुने निश्चित अवस्था देखिन्न।

सन् १९८० पछिको दशकमा अर्थशास्त्री फ्रायडमेन, बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति रेमन्ड रेगनलगायतको अगुवाइमा विश्व आधारभूत रूपमा नवउदारवाद र भूमण्डलीकरणको प्रक्रियामा प्रवेश गर्यो । नेपालमा पाँचौ पञ्चवर्षीय योजना २०४२ मा (क्तचगअतगचब िबमवगकतmभलत उचयनचबm— क्ब्ए) ले प्रवेश पाएपछि नेपाल भूमण्डलीकृत पुँजीवादको अङ्ग बन्न पुग्यो । यहाँको उद्योग, व्यापार, वाणिज्य, शिक्षा, स्वाथ्य, संविधान र ऐनहरूसमेत त्यस अनुसार एड्जस्टमेन्ट गर्दै लग्नुपर्ने भयो तर ठीक यस्तै अवस्था माओकालीन चीनमा थिएन । हामीले नेपालमा कस्तो राजनीतिक कार्यक्रम अघि सार्ने भन्ने कुरा आजको विश्वपरिस्थिति र साम्राज्यावादको बदलिएको चरित्रले पनि प्रभाव पार्न सक्छ । माओकालीन चीनमा दलाल पुँजीवादी उत्पीडन भए पनि त्यसको चरित्र अहिलेको जस्तो भूमण्डलीकृत प्रकृतिको थिएन ।

नेपालको उत्पादन सम्बन्धको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक हो तर त्यसको साथसाथै हाल आएर नवऔपनिवेशिक र बहुध्रुवीय विश्वव्यवस्थाको पनि व्यापक प्रभाव परिरहेको अवस्था छ । अर्धसामन्ती र अर्धऔपनिवेशिक उत्पादन सम्बन्धसँगको प्रधान अन्तरविरोध हल गर्न छापामार संघर्ष अर्थात् दीर्घकालीन जनयुद्घको सामरिक कार्यदिशाको खाँचो पर्दछ । गाउँबाट शहर घेर्ने, गाउँमा स्थानीय जनसत्ता निर्माण गर्दै घेराभित्र पारि राज्यव्यवस्थाको केन्द्रमा प्रहार गर्ने कार्यक्रम रहेको हुन्छ । तर अब नेपालको उत्पादन सम्बन्धको चरित्र अर्धउपनिवेशको सट्टा  नवऔपनिवेशिक चरीत्र र प्रधान अन्तरविरोधको केन्द्रमा सामन्तवाद एवं राजतन्त्रको ठाउँमा दलाल तथा नोकरशाही पुँजीवाद भनिसकेपछि यसलाई नौलो जनवादको पुरानै कार्यक्रम, तौरतरिकाको फौजी कार्यदिशाले हल गर्न खोज्नु बस्तुगत हुन्छ वा हुँदैन ? मुख्य कार्यदिशा फौजी कार्यदिशा नै होला, त्यो स्पष्ट छ तर ठोस कार्यक्रममा परिवर्तन गर्नुपर्ने वस्तुगत अवस्था सृजना भएको देखिन्छ ।

यहाँ अन्तर्विरोधको मुख्य केन्द्रबाट सामन्तवाद गौण भयो भन्नुको अर्थ सम्पुर्ण सामन्ती शोषणको अवस्था अन्त्य भयो भन्ने अर्थ बिलकुलै होइन । महिलाहरूमाथि भैरहेका लैङ्गिक उत्पीडन, दलित÷श्रमिक समुदायहरूमाथि भैरहेका छुवाछूत र विभेददेखि सामन्ती उत्पादन सम्बन्धमा आधारित श्रम सम्बन्धलगायत सामन्तवादका थुप्रै अवशेषहरू बाँकी नै छन् । मुख्य गरि क्रान्तिकारी वैज्ञानिक भूमिसुधारको अत्यन्तै आवश्यकता रहेको छ । गाउँहरूमा खेतीपातीमा प्रयोग हुने काठको हलो र यन्त्रको सट्टा अझै गोरु जोत्ने दासयुगीन उत्पादनका साधनबाट समाज माथि उठ्न बाँकी नै छ । यी सबै सामन्ती उत्पीडन र उत्पादन सम्बन्धसँग सम्बन्धित छन् । यी सबै नौलो जनवादी क्रान्तिको ऐतिहासिक सफलतापछि नै पुरा हुन सक्दछ्न् ।

तर आज यो सामन्ती प्रवृत्ति नै मुख्य र डोमिनेन्ट भूमिकामा छैन । श्रमका सामन्ती स्वरूपका ठाउँमा जनसंख्याको ठुलो हिस्सा ज्यालादारी श्रममा आश्रित छ । वस्तुहरूको उत्पादन आफ्नो उपभोगका लागि भन्दा पनि विनिमय र नाफाका लागि गर्ने क्रम बढ्दो रहेको छ । देशको अर्थतन्त्र परम्परागत सामन्ती बालीप्रथामा आधारित होइन कि आयातित वस्तुको भन्सार महसुल, आन्तरिक राजस्व संकलन, विप्रेषण, एसियायी विकास तथा  विश्व बैंक र आईएमएफमा निर्भर छ । देशको शासकीय भूमिकाबाट राजा हटेपछि सत्ताको बागडोर दलाल पुँजीपतिहरूको हातमा पुगेको छ । स्थानीय सामन्तहरू, डिट्ठा, बिचारी, जिमुवाल, राजा रजौटाको हातबाट केही फटाहाहरूको हातमा गाउको शासन बदलिएको छ । धनी र गरिबबीचको आय असमानता चुलिँदो छ ।

उपरोक्त तथ्य र तर्कका आधारमा हेर्दा अब नेपालको नयाँ जनवादी क्रान्तिको प्रक्रियामा हुबहु चिनियाँ नयाँ जनवादी क्रान्तिको तौरतरिकाले गर्दा बेमेल हुने अवस्था सृजना भएको छ । दलाल तथा नोकरशाही पुँजीवाद एवं सामन्ती अवशेषविरुद्ध संघर्ष गर्नका लागि दीर्घकालीन सशस्त्र विद्रोह अनिवार्य शर्त त छदैछ तर त्यसको तौरतरिका, रोडम्याप र सफलताको लागि ठोस कार्यक्रम नेपालको विकसित अवस्था देश काल परिस्थिति एवं वस्तुगत अवस्था र अन्तर्राष्ट्रिय विकसित परिस्थिति अनुसार नयाँ ढंगलको हुनुपर्ने आवश्यक छ । अब खाली न्युनतम कार्यक्रम नौलो जनवादी क्रान्ति भनेर दस्तावेजमा लेख्ने कार्य भन्दा पनि अबको विकसित परिस्थितिमा जन संघर्ष र सशस्त्र संघर्षको ठोस रोडम्यापको रेखाचित्रको व्याख्या र त्यसको प्रचारप्रसारको साथै क्रान्तिकारी पार्टी निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित