मस्को, १७ मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सेनामा करिब १ लाख ७० हजार सैनिकको संख्या बढाएर १३ लाख २० हजार पुर्याउन आदेश दिएका छन् । रुसले युक्रेन माथि आक्रमण गरेको २२ औं महिनामा चलिरहेकाे छ । पुटिनको आदेश तत्काल लागू हुने क्रेमलिनले आइतबार जनाएको छ ।
रूसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ । यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’ लाई सङ्केत गर्दैन ।
सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको छ । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए । यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो, तर युक्रेनमाथि चाँडै विजय हासिल गर्ने आशामा सङ्ख्या बढाइएको अन्तरराष्ट्रिय समाचारमा माध्यमले जनाएका छन् ।

