काठमाडौं । डोनाल्ड ट्रम्प हिजो नोभेम्बर ५ मा सम्पन्न राष्ट्रपति निर्वाचनबाट अमेरिकामा दोस्रो पटक विजयी भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
यो चुनावको विभिन्न कोणबाट समीक्षा हुने गरेकोछ । यति लामो राष्ट्रपतीय चुनावको इतिहासमा अहिले सम्म एउटा पनि महिला राष्ट्रपति निर्वाचित गर्न नसक्ने अमेरिकी समाज अहिले पनि पितृसत्तावादी छ भन्ने एउटा मत देखिन्छ ।
ट्रम्प अमेरिकी पुँजीवादीहरूको स्वार्थको वकालत गर्ने खास प्रतिनिधि पात्र भएकाले उनलाई त्यस प्रकारको स्वार्थ समूहले निर्वाचन जितायो भन्ने अर्को मत देखिन्छ । ट्रम्पले चुनावमा खुलेरै रुस युक्रेन युद्धको अन्त्य गरिनु पर्दछ भन्ने धारणा राखेकाले उनलाई अमेरिकी जनताले मत दिए भन्ने पनि विश्लेषण गरिएकोछ । ट्रम्पको उपयुक्त प्रतिष्प्रधी नभएकाले उनलाई जीत्न सजिलो भयो भन्ने अर्को खालको मत छ। ट्रम्पको बहुलठ्ठीपूर्ण स्वभावले गर्दा अमेरिका र विश्वकै लागि खतरा हुन सक्ने आशंका गर्नेहरूको पनि ठूलै संख्या छ ।

