काठमाण्डौ । गाजामा जारी आक्रमण तत्काल रोक्न दबाव बढ्न थालेको छ । इजरायलले उत्तरी गाजामा आक्रमण तीव्र पारिरहेको छ । मानिसहरू दक्षिणतिर बसाइँ सर्न बाध्य भएको अवस्थामा बेलायत, फ्रान्स र क्यानडाले इजरायललाई गाजामा युद्ध रोक्न आग्रह गरेका छन् । युद्ध नरोके यी देशहरुले कडा कारवाही गर्ने चेतावनी दिइएको छ । तीन देशले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामा जनताहरुले पाइरहेको दुःख असनीय रहेको बताएको छ । विज्ञप्तिमा इजरायलले आइतबार गाजामा प्रदान गरेको सहयोगलाई अपर्याप्त भनिएको छ । इजरायलले गाजामा कडा नाकाबन्दी लगाएको छ । हमासलाई आफ्नो हिरासतमा रहेका बाँकी इजरायली बन्धकहरूलाई चाँडै रिहा गर्न पनि आग्रह गरिएको छ । गाजामा मारिने र घाइतेहरुको संख्या बढिरहेको छ । विस्थापितहरु खुला आकाशमा बाँच्न विवश छन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेदेखि यता ५३ हजार भन्दा बढी प्यालेस्टाइनीहरुलाई इजरायलको नेतन्याहुँ सरकारले हत्या गरिसकेको छ । प्यालेस्टाइन सहित मध्य पूर्वमा वर्षौंदेखि जुन तनाव छ, त्यसको मुख्य कारक अमेरिका हो । केही समय पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण प्यालेस्टाइनीहरुलाई प्यालेस्टाइनी भूमिबाट विस्थापित गरेर छिमेकी देशमा पठाउने र त्यसलाई पर्यटन केन्द्र बनाउने भनेका थिए । प्यालेस्टाइनी माथिको नरसंहारमा अमेरिकाले इजरायललाई सम्पूर्ण रुपले अमेरिकाले सहयोग गरेको छ ।

